नेपाली आख्यानमा एउटा बेग्लै र उच्च परिचय बनाइसकेका गौतमका दर्जनौं उपन्यास प्रकाशित छन्, केही नाटक पनि लेखेको छन्। अलिखित, कट्टेल सरको चोटपटकजस्ता उत्कृष्ट उपन्यास नेपाली साहित्यले उनकै हातबाट पाइसकेको छ। एउटा लेखकले लेखेका सबै रचना उस्तै वा एउटै कोटीका नहुन पनि सक्छन्। सबै कृतिका आ–आफ्नै महŒव भए पनि पाठकीय दृष्टिमा उत्तिकै रुचिकर नहुन सक्छन्। यद्यपि, धेरै लेखेर पनि धेरै प्रशंसा पाउने लेखक हुन सहज छैन। त्यो असहजतालाई गौतमले सहजै पार लगाएका छन्।
यस संकलनमा रहेका कथा पनि सबै उत्तिकै स्वादिला बनेका छैनन्। तर, केही कथा यस्ता छन्, जसलाई पाठक एकपटक पढेरमात्र सन्तुष्ट हुँदैन। ती कथाले यसरी आकर्षित गरिदिन्छन्, पाठक तिनमा आफूलाई आरोपित गर्न थाल्छन्। आफ्नो छरछिमेक वा आफन्तमा गौतमका कथाका पात्र भेट्न थाल्छन्। एउटा लेखकको सफलता यही नै हो। 'हेम सुब्बाले पान खाए', विशाखादत्त तिम्रो नाउँ के हो?', 'नीलडाम', 'साठी वर्षमा हृदयाघात', 'काफ्काको कीरो वधशालामा', 'हेल्लुस', 'ढुंगा'जस्ता कथाले पाठकको मस्तिष्कमा गम्भीर हस्तक्षेप गर्छन्।
गौतमका बारेमा नेपालका धेरै समालोचकले कलम चलाइसकेका छन्। तीमध्ये केही समालोचकले उनलाई 'स्याम व्यंग्य' (ब्ल्याक ह्युमर) का सफल प्रयोक्ताका रूपमा चर्चा गर्दै आएका छन्। सामाजिक, राजनीतिक वा प्रेमकै पनि विसंगति नकेलाई र त्यसमाथि व्यंग्य नगरी राम्रा कथा कसरी लेख्न सकिएला र!
गौतम झिनामसिना विषयलाई पनि प्रयोगका माध्यमबाट रुचिकर विस्तृतीकरण गर्दै उत्कृष्ट कथा लेख्ने क्षमता भएका लेखक हुन्। उनका उपन्यास र नाटकमा पनि यस्तै अवस्था देख्न पाइन्छ। प्रयोगको नमुनाका रूपमा यस संकलनमा राखिएका केही सूत्र कथालाई पनि लिन सकिन्छ।
बीसको दशकलाई नेपाली कथा लेखनको उर्वर समय मानिन्छ। उक्त दशकमा नेपाली कथाले समातेको मोड र त्यस समयमा उदाएका कथाकारले नेपाली कथाको जमिन मजबुत पारिदिएका छन्। गौतमभन्दा केही अघिका बिपी कोइराला, पारिजात, रमेश विकल, गोविन्द मल्ल गोठाले, विजय मल्ल, भवानी भिक्षुका साथै परशु प्रधान, ध्रुव सापकोटा, भाउपन्थी, नारायण ढकाल, मनु ब्राजाकी लगायतले कोरेको नेपाली कथारूपी गोरेटोमा अझै पिच भने हुन सकेको छैन। गोरेटो केही फराकिलो त भएको छ, तर त्यो राजमार्ग बन्नका निम्ति अझै केही समय लाग्नेछ।
गौतम लेख्नुलाई सास फेराइसँग तुलना गर्छन्। एउटा मान्छे जीवित रहन सास फेर्नु जति महत्वपूर्ण छ, गौतम आफ्ना लागि लेख्नु पनि उत्तिकै महŒवपूर्ण मान्छन्। एउटा लेखकले साहित्यप्रति गरेको समर्पणको योभन्दा अर्को उदाहरण के हुन सक्ला र! स्थापित मान्यतामा अल्झेर कथा लेख्नु आवश्यक लाग्दैन उनलाई। अब नयाँ परिभाषा वा मुक्त ढंगमा नेपाली कथा हिँड्नुपर्ने उनको ठहर छ। उनले आफू र आफ्ना कथालाई नयाँ बाटोमा हिँडाउने प्रयास गरेका छन्। केही नेपाली कथाकार उनको बाटो समातेर कथा लेखनको यात्रा गर्ने प्रयासमा लागेको पनि देखिएका छन्। त्यसैले त कथाकार गौतमका कथा अरू कोहीका जस्ता छैनन्। यी 'धु्रवचन्द्र गौतम'का जस्ता नै छन्। यी कथाले नेपाली कथा साहित्यको एउटा सफल र रोचक बान्की प्रस्तुत गर्ने सामर्थ्य राख्छन्।
उनको पहिलो कथा छापिएको समय र अहिलेको समयमा ठूलो अन्तर छ। मान्छेका आजीविका, आम्दानी, राजनीतिक, सांस्कृतिक मान्यता सबैसबै परिवर्तन भइसकेका छन्। ती परिवर्तन, मान्छेका स्वभाव, जीवन शैलीलगायतका सन्दर्भलाई आत्मसात गरी आख्यानमा आफूलाई समर्पित गर्नु सानो काम होइन। गौतमले जोकोहीले गर्न नसक्ने ठूलो काम गरेका छन्। यो ठूलो कामको मूल्यांकन कथा पाठक, भोलिको समय र उनका अनुज पुस्ताका लेखकले पनि गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ।
प्रकाशित: ५ भाद्र २०७२ ००:२९ शनिबार





