४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

मृत्यु दिवस

उसले एक थान चुरोटलाई दागबत्ती दियो। ओठबाट छिरेको धुवाँको मुस्ला बिस्तारै घाँटी हुँदै फोक्सोसम्म पुग्यो र बाहिर सुनगाभाका सुगन्धहरूमा मिसियो। ऊ मुसुक्क हाँस्यो। सायद सम्भि्कयो होला— साला चुरोट, मेरो फोक्सोसँग त घनिष्ट थियो, हँुदाहुँदै हावासँग पनि तेरो यत्रो दोस्ती?

उसले लामो स्वास फेर्योु र आकाशतिर हेर्योक। आकाश निःशब्द निलो गहिराइमा निर्लिप्त पायो। त्यो दृश्यबाट उसलाई अन्नतः सुखानुभूति भयो। सोच्यो— यो समय म अरू कुनै ठाउँमा थिएँ भने धेरै गुमाइसकेको हुने थिएँ।

उसले पुनः चुरोट सल्कायो।

०००

केहीपर निलो रङको घर टक्क उभिएको थियो। निलो अर्थात् शान्तिको प्रतीक। शान्ति मनमा हुनुपर्छ भन्ने गरिन्थ्यो। तर मनमा शान्ति ल्याउन रङहरूको भूमिका ठूलो हुँदो रहेछ। ऊ यस्तै यस्तै सोचिरहेको थियो। त्यसै बेला घरको माथिल्लो तलामा टाँगिएको पर्दा उघि्रयो। उसका आँखा झ्यालभित्र मोडियो। कपाल सपक्क पछाडि बाँधेको, सेतो कुर्ता–सलवार लगाएकी एक युवतीको धूमिल अनुहार उसको आँखाअगाडि देखा परे। युवती कापीमा केही कोरिहेकी थिई। ऊ निक्कै बेर घोत्लिई, केही लेखी, पानी पिई र फेरि लेख्न थाली। आफू बसेर लेख्दै गरेको टेबुललाई वर तानी, सिलिङतिर आँखा फकाई। त्यसपछि उसको हातमा नाइलनको डोरी देखियो। छिटोछिटो त्यसलाई सिलिङमा बाँधी। त्यसपछि कसिलो मुठी पारेर एक छिन त्यहीँ अडिई। केही सोचेझैं गरेर सिलिङमा बाँधिएको डोरी घाँटीमा लगाई। आफू उभिएको टेबुललाई लात मार्न खोजी तर सकिन।

ऊ परबाट करायो, 'पख्नोस्! म तपाईंलाई सघाउनेछु, हतार नगर्नुहोस्।'

युवती त्यही टेबुलमा अवाक् हुँदै टक्क अडिई।

ऊ युवती भएतर्फ दौडियो। टेबुलको सुसाइड नोट टिप्यो र अक्षरहरूमा आँखा डुलाउन थाल्यो—

'प्रिय प्रकृति, मलाई त्यो माथिको निलो आशाले पनि छुन सकेन। तिमीले छरेको सुनगाभाको सुगन्धले पनि अड्याउन सकेन। यो हरियालीले पनि मेरो निर्णयलाई रोक्न सकेन। लागिरहेछ, यो शरीर व्यर्थ हो। मलाई अब यसको केही पनि उपयोगिता छैन। सबैसबै भोगिसकेकेको छु। जब भोगेँ, थाहा भयो यो सबै व्यर्थता हो। त्यसैले म मर्न गइरहेको छु। मलाई जीवनप्रति कत्ति पनि लालसा छैन। आखिर जीवन त व्यर्थ हो। 'सिसिफस'को जस्तो। यो कुरा प्रायः मानिसलाई थाहा हुन्छ। तर पनि मर्न डराउछन्, उनीहरू। बाँच्नुको व्यर्थता बुझेर मर्न डराउने काँतरप्रति मलाई दया जागेर आउँछ। व्यर्थतालाई मिल्काउन कोही शरीर भोग्छन् त कोही रक्सी पिउँछन्। कोही एकान्तमा बसेर डाँको छोडेर रुन्छन्। तिनीहरूमाथि मर्ने आँट नभरिदिएकोमा मेरो तिमीप्रति खेद छ, प्रकृति! यो नै मेरो अन्तिम असन्तुष्टि हो। अल बिदा।'

नोट पढिसकेपछि उसले युवतीको अनुहार नियाल्यो। निर्विचार, कुनै सोचाइ नसल्बलाएको। मोह र रिस बिलाएको। उसले बुझ्यो— मृत्युअघि बडो शान्ति अनुभूत हुँदो रहेछ। उसले चुरोट सल्कायो र धुवाँ फुस्सफुस्स युवतीको अनुहारतर्फ फ्याँक्यो। युवती मौन देखिई। त्यसपछि उसले युवती उभिएको टेबुलतर्फ बढ्दै भन्यो, 'तपाईं यत्तिकै मर्न पाउनु हुन्न।' युवतीका हात समायो र तान्यो।

ऊ चर्को स्वरमा कराई, 'पख्नोस्! मेरो मृत्युलाई लम्ब्याउने को हो तपाईं? किन तानिरहनुभएको छ मेरो हात? कतै तपार्इंको गिद्धे दृष्टिको पराकाष्ठा त होइन?'

उसले मन्द स्वरमा भन्यो, 'अब यो शरीर मेरो भयो। के तपार्इंलाई अझै लोभ छ र शरीरको? लुटिन्छु भन्ने डर छ तपाईंमा? तपाईंले त त्यो शरीरलाई त्यागिसक्नुभएको छ। त्यसमा अब तपाईंको के अधिकार? यदि शरीर बचाऊँ भन्ने अझै लाग्छ भने किन गर्न खोज्दै हुनुहुन्छ आत्महत्या?'

युवती निःशब्द भई। केही समयपछि घाँटीमा लगाएको डोरी बाहिर निकाल्दै भनी, 'कृपया मलाई तर्क गरेर भुलाउन नखोज्नुहोस्। बरु भन्नुहोस्, के चाहनुहुन्छ मबाट?'

'तपार्इंको जीवन–व्यर्थताप्रतिको दर्शनबाट म प्रभावित छु। लागिरहेछ, तपार्इंले जीवनमा अझै केही चिज भोग्नै बाँकी छ। ती चिजहरू भोगिसकेपछि तपार्इं स्वेच्छाले मर्न सक्नुहुनेछ।'

उसको यस्तो भनाइ सुनेर युवतीको प्रश्नवाचक अनुहारले यताउता हेर्यो ।

उसले मन्द आवजमा फेरि भन्यो, 'म तपाईंलाई जीवनको अन्तिम क्षणमा उपहार दिन चाहन्छु। स्विकार्न सक्नुहुन्छ?'

'के त्यस्तो उपहार छ तपाईंसँग, जसले मेरो इच्छामरणको निर्णयलाई बदलोस्? यदि त्यस्तो कुनै चिज मैले भोग्न बाँकी छ भने भोगेर मर्न तयार छु,' युवतीले सोधी।

उसले भन्यो, 'तर, त्यो उपहार तपार्इंले केही वर्षसम्म जतनसाथ राख्न जरुरी छ। मेरो तर्फबाट सर्त भयो। एक–दुई वर्षपछि हामी यही ठाउँमा पुन भेट्नेछौं— तपाईंको मृत्यु दिवस मनाउन।'

युवती केही समय घोत्लिई र भनी, 'मन्जुर छु तपाईंको सर्तमा। आखिर के हो त्यस्तो उपहार?'

उसले मन्द मुस्कानसहित भन्यो, 'म तपाईंलाई मेरो जीवनभर सँगालेर राखेका बहुमूल्य शुक्रकिटहरू दिन चाहान्छु।'

दुवैका आँखा टक्क अडिए। त्यसपछि झ्यालको पर्दा बन्द भयो।

०००

केही वर्षपछि।

उसलाई केही अनौठो अनुभूति भइराखेको थियो। किनभने ऊ आज कसैको मृत्यु दिवस मनाउन गइरहेको थियो। हातमा सल्किरहेको चुरोटतर्फ हेर्योऊ। टुप्पोबाट आएको आगो उसलाई मृत्युजस्तै लाग्यो, जो बिस्तारै–बिस्तारै सल्कँदै माथिमाथि आइरहेछ। अखिर यो चुरोट र जिन्दगी उस्तैउस्तै त हो नि, बिस्तारै सल्किएर खरानी बन्ने। मानिसहरू किन हतार गर्छन् मर्नको लागि? किन पर्खन सक्दैनन् मृत्युलाई; जुन जरुर आउनेछ एकपटक।

त्यसै बखत एक सानो बालक उसको अगाडि देखापर्योन। हातमा बोकेको चुरोट मिल्काउँदै लरखराउदै आएको बालकतर्फ हेर्दै सोच्यो— कति निर्दोष छ, यो बालक। आज उसले जीवन पाएको छ।

असीम प्रेम उर्लिएर आएपछि उसले बालकलाई अँगालो हाल्यो। चुम्बनको वर्षा गर्योो। त्यतिकैमा बालकले उसको हातमा एक टुक्रा कागज थमायो। कागच तर्फ आँखा डुलाउँदै उसले पढ्यो—

'दुःख–सुख पढाउनेहरू त धेरै भेटिए जीवनमा। तर तिमीले प्रेम सिकायौ। आमा हुनु धर्ती हुनुरहेछ, अर्थात् सहनु। हो म बाँच्न चाहन्छु र चाहन्छु— मेरो मृत्यु दिवसमा उपस्थित हुने अवसर तिमीलाई कहिल्यै प्राप्त नहोस्।

पढिसकेर उसले यताउता हेर्योच, त्यहाँ कुनै बालक फेला परेन। सायद ऊ गइसकेको थियो। उसले अघि फ्याँकेको बेवारिसे चुरोटको ठुटो पुनः समायो। धुवाँका मुस्लाहरू सुनगाभाको सुगन्ध सँगसँगै रङमङिन थालिसकेका थिए।

प्रकाशित: ५ भाद्र २०७२ ००:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App