भारतसितको लामो र खुला साँध, सबैतिर सुरक्षादृष्टि पुर्याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरुमा हुने खुलमखुला बेचबिखनलगायतका कारणले झापा लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ। झापामार्फत धरान, इटहरी तथा पश्चिम नेपालका धेरै सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।
लागूऔषधकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका गैरसरकारी अभियन्ताहरु पनि झापा हुँदै अन्यत्र ओासरपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको बताउँछन्। 'झापामा प्रयोगकर्ताहरु पहिलेभन्दा धेरै घटेका छन्', अभियन्ता तिलक थापाले नागरिकसँग भने 'तर, झापामै धेरै कारोबारी पनि छन्। यसको अर्थ हाम्रो जिल्ला ट्रान्जिटका रुपमा बढी प्रयोग भइरहेको छ।' उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत् भइरहेको यस्तो कारोबार प्रहरीले दुई–चार जना कारोबारी समात्दैमा भत्काउन कठिन छ।
लगूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट झापा हुने गरेको छ। झापा प्रहरीले केही समयको फरकमा कारोबारीहरु समात्न थालेको लामो समय बितेको छ। तर, कारोबारीहरुको सक्रियता पटक्कै घटेको छैन। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरु नै बताउँछन्। डिएसपी अर्जुन तिम्सिनाका अनुसार भारतीय सीमावर्ती बजार पानीटं्याकीको एउटा गल्लीमा लागू औषधको मात्र कारोबार हुने गरेको छ। भन्छन्, 'भारत–नेपालको सीमामा त्यहींबाट कारोबार चलाउनेहरु सक्रिय छन्। भारतीय प्रहरीलाई कारबाही गर्न हामीले धेरैपटक भन्यौं तर सुनवाई भएन।' भारतीय बजारमा यही सहजताका कारण कारोबारीहरु उत्साहित बन्ने गरेका छन्।
मंगलबार बिहान मात्रै जिल्ला प्रहरी कार्यालय झापाको टोलीले दक्षिण झापाको चकचकी र राजगढबाट तीन जनालाई पक्राउ गर्यो। कारण थियो, उनीहरुको साथमा रहेको लागूऔषध। जिल्ला प्रहरी झापाका डिएसपी भीम दाहालका अनुसार चकचकी–९ का अलमुद्दिन मियाँ र कालुन मियाँ तथा राजगढ–८ का कुमारसिंह राजवंशीलाई ६ सय २५ ग्राम चरेश र ६ केजी ५० ग्राम गाँजासहित पक्राउ परेका छन्। उनीहरु आ–आफ्नै घरबाट पक्राउ परेको बताउने प्रहरीले उनीहरु कारोबारी गर्ने व्यापारी भएको दाबी गरेको छ।
यसरी लागूऔषधसहित पक्राउ पर्ने यी तीन जना पछिल्लो श्रृंखलाका पात्र मात्रै हुन्। यसरी महिनैपिच्छे पक्राउ पर्नेको संख्या जिल्लामा उल्लेख्य छ। तर, कारोबार घट्नुको साटो बढिरहेको छ। गएको असार ८ गते बिहान सुरुङ्गा कुमरखोद सडक खण्डमा एउटा सवारी साधन चेकजाँच गर्ने क्रममा एकसय थान कोरेक्स सिरप प्रहरीले बरामद गर्यो। भारत बिहारको डिगलबैंक बजारबाट ल्याइँदै गरेको बेला प्रहरीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा खुल्यो, उनीहरु नेपाली सहयोगीको माध्यमबाट झापा–मोरङमा धन्धा चलाइरहेका छन्।
लागूऔषधका भारतीय कारोबारीहरुलाई सघाएको अभियोगमा प्रहरीले लखनपुर–२ का कर्णबहादुर दाहाल, नेत्रबहादुर नेपाल, सञ्जीव अधिकारी, दीपक बगाले, खगेन्द्र राई, शिवसतासी नगरपालिका–७ का डिल्ली बिमलीलगायतलाई पक्राउ गर्यो। उनीहरुको साथबाट पनि ४१८ बोतल लागूऔषध कोरेक्स, १०० थान नाइट्रोजन ट्याब्लेट, ६ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरी दाबी छ। त्यस्तै असार ३ गते भद्रपुर नगरपालिका ७ स्थित रमेश राजवंशीको घरमा लुकाई छिपाई राखेको लागू औषध कोरेक्स ४८ थान वडा प्रहरी कार्यालयको टोलीले बरामद गरेको थियो। टोलीले भारत खोरीबारी बसस्टेण्ड बस्ने मनोज चौधरीलाई पनि पक्रेको थियो। 'भारतीय कारोबारीलाई बाटो देखाउने, पाटी मिलाइदिने काम नेपाली एजेन्टले गरेको देखिन्छ,' झापा प्रहरीको मुद्दा शाखाका एक प्रहरीले भने, 'यो रिले दौड जस्तो हुनेरहेछ। भारतीय बजारबाट एउटा समूहले, झापादेखि अर्को बजारसम्म अर्को समूहले ओसार्ने रहेछ।'
नेपाली बजारमा सहजै उपलब्ध नहुने लागूऔषधका लागि प्रयोगकर्ताहरु महँगै दाम हाल्न पनि राजी हुने गरेका कारण कारोबारीहरु राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोबार चलाइरहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएको आर्थिक वर्षमा मात्रै गाँजा करीब १९ केजी, हेरोइन करीब ८ सय ग्राम, नाइट्रोसन १४ सय ४३ वटा, लुपिजेसिक ५ सय ९१ वटा, फेनारगन ६ सय ६१ वटा, डाइजेपाम ७ सय ९ वटा, कोरेक्स १ सय ६ बोतल, स्पास्मोप्रोक्सिबन ३ सय १६ वटा, ब्राउन सुगर करीब १६ ग्राम बरामद भएको छ। जेठ महिनाको अन्त्यसम्ममा प्रहरीले लागुऔषधसहित १ सय १३ जना कारोबारीलाई पक्राउ गरेको जनाएको छ।
प्रकाशित: २ भाद्र २०७२ ०५:४३ बुधबार





