४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

पत्‍नीको प्रहार

नेपाली समाज पुरुषको सर्वोच्चता कायम भएको समाज हो। यहाँ महिला पाइला–पाइलामा पीडित छन्। अनेक थरी विभेद र हिंसाको शिकार भएका छन्। वर्तमान सामाजिक संरचनामा पुरुष पीडक र महिला पीडित अवतारमा छन्। तर, पुरुषहरूको एउटा सानो तप्का पनि छ, जो पत्नीपीडित छ। उनीहरूका कथा–व्यथा उधिन्ने प्रयत्नमा छन्, अम्मर जिसीमनोज घर्तीमगर।तीन वर्षअघि राष्ट्रिय महिला आयोगले राजधानीमा 'घरेलु हिंसापीडित महिलाको समस्या र समाधान' विषयक अन्तर्क्रिया आयोजना गरेको थियो। कार्यक्रममा तत्कालीन शान्तिमन्त्री टोपबहादुर रायमाझीले आफू पत्नीपीडित भएको खुलाएपछि सबै अवाक् भएका थिए। उनले आफूतिर देखाउँदै भनेका थिए, 'यहाँ महिलामात्र होइन, पुरुषले पनि हिंसा खेपिरहेका छन्।' पत्नी सीमा बञ्जाडेसँग सम्बन्ध विच्छेद गरेका उनले थपेका थिए, 'शहरका केही महिलाको कामै विवाह गर्दै हिँड्नु हो।'

माओवादी नेता रायमाझीकै जस्तो पीडा भोग्ने पुरुष समाजमा मनग्य छन्। सुनसरीका श्याम हमाल यही सानो तप्काका सदस्य हुन्। उनका लागि त सम्बन्ध विच्छेदकै बाटो पनि सजिलो छैन। जागिरका क्रममा राजधानीमा ससुराली जोड्न पाएकोमा आफूलाई 'भाग्यमानी' ठान्थे उनी। तर, त्यो ससुराली उनका लागि मुस्किलले तीन वर्ष टिक्यो।

काठमाडौँमा किनेको घरमा बूढा आमाबुबासँगै श्रीमती जानुकालाई छाडेर जागिरकै क्रममा नवलपरासी गएका थिए। 'बुहारी हप्तौँ घर आउँदिनन्' भन्दै उनकी आमाले फोनमा सुनाइन्। 'सधँै फोन सम्पर्क हुँदा उनी घरमै छु भन्दै मलाई ढाँटेर कता हराउँदिरहिछन्,' उनले दुखेसो पोखे, 'बूढा आमाबुबालाई हेरचाहका नाममा उनले मनलाग्दी गरेको थाहा पाउँदा मलाई एकदम पीडा भयो।' अहिले छुट्टै अपार्टमेन्ट लिएर एक्लै बस्दै आएकी जानुका किन यसो गर्दै छिन्? श्याम अनुत्तरित छन्। उनी अनुमानमात्र गर्न सक्छन्, 'सायद उमेर फरक परेर हो कि! उनको र मेरो कुरै मिल्थेन।' उनीहरूको उमेर १० वर्षले फरक थियो।

सम्बन्ध विच्छेदका लागि बाटो खोलिदिन जानुकासँग अनुनय गरिरहेका उनी भन्छन्, 'छोटो परिचयमै बिहे भएको हो। उनको आफ्नै पारा रहेछ क्यारे। मैले चिन्न सकिनँ भनौँ। अहिले उनी तेरो हरेक सम्पत्ति मेरा लागि पनि नछुट्याए त्यो (सम्बन्ध विच्छेद) सम्भव छैन भन्छिन्। मेरो पुर्ख्यौली सम्पत्ति उनलाई किन बुझाउने? अनि मेरो जागिरमा पनि उनको हिस्सा किन हुने?' श्यामका अनुसार काठमाडौँको घरजग्गा जानुकाकै नाममा छ। एक वर्ष बितिसक्यो सम्बन्ध बिग्रेको। महानगरपालिका धाउँदै बित्छन् उनका दिन। 'बल्लतल्ल बिदा मिलाएर यहाँ आउँछु। महानगर गयो। खाली हात फर्कनुबाहेक केही हुँदैन। मेलमिलाप गराउने भनेको एक वर्ष बिति पनि सक्यो,' उनी आफूहरूबीच मेलमिलाप अब सम्भव छैन भन्छन्।

०००

हो, पितृसत्तात्मक दिमागको शिकार छन् महिला। महिलाविरुद्ध हिंसाका घटना चरम उत्कर्षमा छन्। असीमित पीडाका भारी थोपरिएका छन् महिलामाथि। 'यसो भन्दैमा पुरुषहरू पीडित छैनन् भन्न मिल्दैन,' राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा भन्छिन्, 'संख्यात्मक रूपमा कम होलान्। तर, पत्नीबाट हिंसा भयो भन्ने पतिहरू छन्।' उनका अनुसार आयोगमा 'म हिंसामा परेँ' भन्ने 'पुरुष आवाज'हरू सुनिने क्रम बढेका छन्।

'सर्वस्व गुमाउँदा पनि सुख पाइनँ'

नुवाकोटका प्रेम शर्मा सात वर्ष दुबई बसे। त्यो अवधिमा कमाएको सबै पैसा श्रीमतीलाई पठाउँथे। घर फर्केपछि शहरमा जग्गा किन्ने योजना बुनेका थिए।

घर फर्के। तर, उनका लागि सबै गुमिसकेको थियो। श्रीमती, पैसा र सपना पनि। 'गाउँकै अर्को केटासँग भागि'छ,' विदेशबाट पैसा पठाएको 'स्लिप' देखाउँदै उनले भने, 'ल हेर्नुस्। मसँग यी कागजभन्दा अरू केही रहेनन्।' सात वर्षमा १८ लाख रुपैयाँ घर पठाएको हिसाब देखाउँछन् उनी। अब के गर्ने होला? उनले विकल्प भेटेकै छैनन्। 'डिभोर्स सीधै गर्न पाइन्न। त्यत्रो पैसाको माया मार्नु पनि भएन,' उनी भन्छन्, 'आमाबुबालाई भन्दा ज्यादा विश्वास उनैको गर्थें। उनैले आज मलाई यसरी फसाइन्। मेरो सम्पत्ति फिर्ता देऊ भन्दा उनी 'केको सम्पत्ति भन्दै उल्टै हकार्छिन्।' आठ वर्ष भयो उनीहरूले बिहे गरेको। 'यत्रो वर्षसम्म तेरो घरमा बसेर काम गरेको बराबर भयो भन्छिन्,' उनी भन्छन्, 'मलाई त अचेल अरूलाई फोन गर्न लगाएर धम्क्याउन पनि थालेकी छिन्।' उनी सर्वस्व गुमाउँदा पनि सुख नपाएको भन्दै आत्तिएका छन्।

०००

काठमाडौँ महानगरपालिकाको कानुनी महाशाखा प्रमुख वसन्त आचार्य पुरुषहरू पत्नीबाट पीडित भयौँ भन्दै आउने क्रम बढेको बताउँछन्। उनका अनुसार धेरैजसो वैदेशिक रोजगारीमा गएका पुरुष यसरी आउने गर्छन्। 'भौगोलिक रूपमा टाढा भएपछि सम्बन्धमा पनि खटपट हुँदो रहेछ,' उनी भन्छन्, 'स्वदेशमा हुनेले अर्कैसँग नाता जोड्ने। विदेशमा हुने पनि के कम? अझ शंकैशंकाले पनि लंका जलाएका घटना आउने गर्छन्।'

सम्बन्ध विच्छेद चाहने पुरुष सीधै अदालत जान पाउँदैन। उसले सुरुमा गाविस वा नगरपालिकामा निवेदन दिनुपर्छ। एक वर्षसम्म मेलमिलापको प्रयास सफल हुन नसकेमात्र गाविस वा नगरपालिकाको सिफारिसमा अदालत जान पाउँछ ऊ।

महानगरपालिका आउनेमध्ये आधाजति मात्र पुरुष अदालत जाने गरेका छन्। 'धेरैलाई प्रतिष्ठाको कुराले रोक्छ,' आचार्य भन्छन्, 'परिचय गोप्य राखेर मुद्दा लड्ने कुरा गर्छन्। यहाँ त त्यो सम्भव छैन।' २५ प्रतिशत जति लामो छलफल गराउँदा मिल्छन्। केही भने अदालत नगई महिलाको माग पूरा गराएर टाढिने गरेको उनले बताए।

चितवनका अधिवक्ता चुडामणि सापकोटा पनि पत्नीबाट हिंसामा परेँ भन्ने पुरुषहरू खुल्ने क्रम बढेको बताउँछन्। 'शहरी क्षेत्रका केही पुरुषहरू पीडित भयौँ भनेर अदालतसम्म जान खोज्छन्,' चितवन बारका अध्यक्षसमेत रहेका उनले भने, 'तर, झन्झटिलो प्रक्रियाका कारण धेरैजना पछि हट्छन्।'

अधिवक्ता गोकुल भण्डारीको अनुभव पनि उस्तै छ। 'जति अदालतसम्म जान्छन्, त्यसको तेब्बर संख्या पछि हट्नेहरू हुन्छन्। त्यसलाई हामी 'हिडेन केस' भन्छौँ,' उनी भन्छन्, 'अदालत महिलाका पक्षमा हदैसम्म लचक भइदिन्छ। जसले गर्दा नगन्य मात्रामा पीडित पुरुषका 'केस' सफल हुन्छन्।'

अधिवक्ता गोपालकृष्ण घिमिरे पनि अदालतमा पुग्ने मुद्दाकै आधारमा पुरुषहरू पीडित हुने संख्या आकलन गर्न नसकिने बताउँछन्। 'पुरुष हुनुको कारणले पनि उनीहरू अदालत पुग्न आँट्दैनन्,' उनी भन्छन्, 'फेरि स्वाभाविक रूपमा अदालत महिलाकै पक्षमा बढी लचक हुन्छ। यस्ता अभ्यासले पनि पुरुष जतिसुकै पीडा पनि लुकाउन खोज्छ।'

०००

महिला आयोगकी अध्यक्ष शेख चाँदतारा महिलामाथि भएको हिंसासँग पुरुषमाथि हुने हिंसा तुलनै गर्न नमिल्ने बताउँछिन्। 'सबै महिला सही हुन्छन् भन्न सकिन्न,' उनी भन्छिन्, 'तर, अधिकांश पुरुषले महिलामाथि नै हिंसा थोपरिरहेका छन्।' उनको भनाइमा पुरुषमाथि हिंसा नभएको भने होइन। 'धेरै ठाउँबाट फोनमा 'तपाईंहरू महिलाको पक्षमा मात्र बोल्नुहुन्छ, हाम्रो पीडा कसले सुन्ने?' भन्दै आक्रोश पोख्ने गर्छन् पुरुषहरू,' उनी भन्छिन्, 'हामी हाम्रो जिम्मेवारी नै महिलाको पक्षमा बोल्ने हो भन्छौँ।'

पत्नीपीडितको संख्या बढ्दो

मनोज घर्तीमगर

पोखरा, लामाचौरका नरजंग गुरुङ झन्डै १० वर्ष विदेश बसे। दुःखजिलो गरी कमाएको पैसाले घरबारी जोडे। पत्नी अनितालाई फ्यान्सी पसल खोलिदिए। घरमा कुनै पनि चिजको अभाव हुन दिएनन् उनले।

यतै बस्नेगरी परदेशबाट फर्किएपछि परिवारमा नरजंगको मिल्ती हुन सकेन। कारण थियो, श्रीमतीको मनपरी। परिवार मिलाउने नरजंगका हरेक प्रयास असफल बन्दै थिए। अनिताले 'डिभोर्स दिन्छु' भन्दै घरमै छिर्न मनाही गर्न थालिन्।

घरको न घाटको महसुस गरेका नरजंगले प्रहरीमा उजुरी दिन खोजे। तर, पाएनन्। 'प्रहरीमा ममाथि हिंसा भयो भनेर उजुरी दिन खोज्दा मिल्दैन भनेर फर्काइयो,' नरजंग पीडा सुनाउँछन्, 'महिलालाई जस्तो सीधै प्रहरी वा अदालत जान पाउने अधिकार हामीलाई कहाँ रहेछ र?'

उता, अनिताले उल्टै नरजंगका विरुद्ध कास्की अदालतमा सम्बन्ध विच्देछसहित अंश दिलाइदिन मुद्दा हालिन्। 'सबै सम्पत्ति उसकै नाममा छ। मसँग केही छैन। उल्टै अंशदाबीसहित मुद्दा हालेपछि मैले के गर्नु?' उनले भने।

०००

कास्की, सिद्धका शेरबहादुर वंशी पनि आफूलाई 'पत्नीपीडित' बताउँछन्। दुई वर्षअघि घर छाडेर निस्किएकी श्रीमती नभेटिएपछि उनी 'पत्नी खोजी पाऊँ' भन्दै निवेदन बोकेर प्रहरी कार्यालय पुगे। प्रहरीले पनि 'खोजी कार्य जारी छ' मात्र भनेर झुलायो।

गत वैशाख १२ को भुइँचालोपछि उनकी श्रीमती टुप्लुक्क घर आइन्। सोधपुछ पछि थाहा लाग्यो, उनी त काठमाडौँमा रहिछन्। 'अर्कै केटोसँग भागेकी रैछ,' शेरबहादुरले सुनाए, 'भूकम्पले बसेको घरै भत्काएपछि फेरि पुरानै घरमा आई। अझ उल्टै मलाई खान लाउन दिएन भनेर पुलिस केस गरिछ। पुलिसले बोलाएपछि मैले सबै थाहा पाएँ। गाउँ, समाज, माइती सबैले उसको चाला थाहा पाएका छन्। तर, पनि पुलिसले उल्टै मलाई 'खान लाउन व्यवस्था गरिदिनू' भनेपछि म बसेको घर छोडिदिएँ।'

प्रहरीको करबलपछि शेरबहादुरले पत्नीलाई बस्ने व्यवस्था गरिदिए। आफूखुशी चल्न बानी परेकी उनकी पत्नी एक हप्ता पनि टिकिनन्। फेरि 'घरमा बस्न नदिएको' भन्दै उजुरी गरेपछि शेरबहादुरको घरमा प्रहरी पुग्यो। प्रहरीले आफूलाई नै त्यो महिलाले बेवकुफ बनाएको ठहरसहित त्यसपछि वास्ता गर्न छाड्यो।

'दुई वर्ष हराएर आउनेलाई मैले श्रीमती स्विकारेँ,' शेरबहादुर दुखेसो पोख्छन्, 'अब त अति भइसक्यो। सम्बन्धै तोड्न चाहन्छु। तर, मैले चाहेर नहुँदो रैछ।'

०००

कास्की, चापाकोटकी सम्झना काखेबालक च्यापेर जिल्ला प्रहरी कार्यालयको महिला सेल पुगिन्। 'सासु, ससुराले सुत्केरी भएको १५/१६ दिनमै घरबाट निकाले' भन्दै उनले उजुरी दिइन्। वास्ताविकता अर्कै भेट्यो प्रहरीले।

पति विदेशमा हुँदा अर्काको गर्भ बोकेर बच्चा जन्माएपछि उनलाई घरबाट निकालिदिएछन्। सम्झनाले उल्टै घरमा बस्न नदिएको, खान लाउन नदिएको भन्दै अंशदाबीसहित मुद्दा हालिन्।

'गल्ती उसले गर्ने मैले किन मेरो सम्पत्ति दिने? ऊ छोडेर जान्छे भने जाओस्,' सम्झनाका पति निर्मल मगरले भने, 'महिलालाई हिंसा भयो भने दुनियाँभाँती कानुनका धारासारा लाएर न्याय दिने। हामीचाहिँ न्याय नपाउने?'

परदेशीको बिल्लीबाठ
अरबबाट आठ वर्षपछि फर्केका प्रह्लाद थापा घर आउँदा उनले न श्रीमती भेटे, न सम्पत्ति नै। श्रीमती खोज्दाखोज्दा हैरान भएपछि उनले गत सोमवार कास्की प्रहरीमा पत्नी खोजीका लागि निवेदन दिए। 'यतिका वर्ष अर्काको देशमा पसिना बगाएर जोडेको सबै सम्पत्ति स्वाहा पारेर कहाँ गएकी होली?' उनको बिलौना छ, 'अर्कैसँग भागेकी भनेर गाउँलेले सुनाए। तर, कहाँ गई? भेट्न सकिएको छैन।'

वैदेशिक रोजगारीमा जानेहरूले श्रीमती र बालबच्चा शहरमा ल्याई डेरामा राख्दा वा भरपर्दो आफन्तको साथ नहुँदा पुरुषले दुःख पाएका घटना कास्की प्रहरीमा धेरै छन्। 'श्रीमती–छोराछोरीकै लागि भनेर विदेशमा दुःखजिलो गर्छ। तर, घर फर्कंदा न श्रीमती न सम्पत्ति। छोराछोरीको त बेहाल भइरहेको छ,' अधिकृतस्तरकी एक महिला प्रहरी भन्छिन्, 'विदेशबाट फर्केका धेरै पुरुष पीडित भयौँ भनेर आउने क्रम बढेको छ।'

कानुनी रूपमा पुरुषलाई भन्दा महिलालाई सहज छ। यसले पनि पुरुषहरू धेरै पीडित बनेको बताउने गरेका छन्। अधिवक्ता गिरीधारी सुवेदीको भनाइमा महिलामाथिका कानुनी विशेषाधिकारले पीडित पुरुषहरू कानुनी प्रक्रियामा जान हिचकिचाउँछन्।

'पुरुषमाथि ठ्याक्कै देखिने खालका हिंसा हुँदैनन्,' सुवेदी भन्छन्, 'किनभने महिलाले न हातपात गरेको भेटिन्छ। न अन्य कुनै उद्योग। तर, महिलाले पुरुषमाथि दिने हिंसा यति खतरनाक छ कि जसले बाहिर नदेखिए पनि भित्रभित्रै पुरुषलाई जलाइरहेको हुन्छ।'

'पुरुÈले घरमा श्रीमती हु"दाहु"दै परस्त्रीस"ग पत्नीवत व्यवहार गरेमा बहुविवाहको कसुरमा कारबाही हुन्छ। उसले मानाचामल भर्नुपर्ने, अंश दिनुपर्नेजस्ता कानुनी व्यवस्था छन्। तर, महिलाले बालबच्चा छाडेर परपुरुÈस"ग गएमा ऊ कुन सजायको भागीदार हुने?' अधिवक्ता सुवेदी भन्छन्, 'कानुनले महिलाबाट भएका त्यस्ता यातनामाथि कुन कारबाही गर्ने भन्नेबारे केही पनि नबोल्दा यसप्रकारको यातनाको संख्या दिनदिनै बढ्दै गइरहेको छ। महिलाले कति पटकसम्म बिहे गर्न पाउने र अंशदाबी गर्न पाउने भन्ने पनि कानुुन हुनुपर्छ।'

अधिकारकर्मी माया गुरुङ पछिल्लो समय पीडित पुरुष खुल्ने क्रम बढेको बताउँछिन्। 'लामो समय सम्पर्कविहीन हुने, छोडपत्र पनि नदिने र अर्को विवाह गरे बहुविवाहमा मुद्दा हालिदिने धम्की दिएर पुरुÈलाई मानसिक हिंसा दिने क्रम बढेको छ।'

वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन, कास्की संयोजकसमेत रहेकी गुरुङ भन्छिन्, 'पुरुषमाथि हिंसा गरेको देखिँदैन। तर, उनीहरूमाथि यस्ता अदृश्य हिंसा धेरै भएका छन्। जो समाजमा कमजोर हुने डरले खुल्दैनन्। समाजिक परिवेश पनि पुरुषमाथि हिंसा भयो भन्दा पत्याउने अवस्था भइसकेको छैन।' उनका अनुसार विदेशमा रहेका धेरै श्रीमान्हरू श्रीमतीको बेइमानीले आजित छन्। यसमा दोष पुरुषको पनि छ भन्छिन् उनी, 'सम्बन्धलाई कसरी सुमधुर राख्न सकिन्छ? यसबारे पुरुषले नसोचेर पैसा कमाउनुलाई मात्र महŒवपूर्ण ठान्दा खटपट सुरु हुन्छ। महिलालाई एक्लो हुनुपर्दाको पीडा महसुस गर्न सकेकै हुँदैन पुरुषले। यसले पनि महिलालाई टाढिन सघाउँछ।'

अधिवक्ता जुनाकुमारी गुरुङ भन्छिन्, 'पुरुष पीडित भएका घटना बाहिर आउनुले महिला अधिकार बढी भएकै कारण पुरुष हिंसा बढेको त होइन भन्ने प्रश्नहरू धेरै उठ्न थालेका छन्। तर, त्यसो होइन। महिलाको तुलनामा पुरुष धेरै कममात्र पीडित छन्। लैंगिक रूपमा महिलामाथि धेरै पीडा रहेकाले केही हदसम्म विशेषाधिकार पाउँछन् महिलाले।'

बढदै पुरुषविरुद्ध हिंसाका उजुरी
कास्की जिल्ला अदालतका स्रेस्तेदार दिनबन्धु बरालले पुरुष पीडित भयौँ भनेर अदालतसम्म आउने क्रम बढेको बताउँछन्। 'ममाथि हिंसा भयो भन्दै पुरुषले उजुरी दिए समाजले आफ्नै श्रीमती तह लाउन नसक्ने, हुतिहारा भन्दै खिसी गर्छ भन्ने डरले धेरैजना आफूमाथि भएका हिंसा सहन बाध्य हुन्छन्,' बराल भन्छन्, 'तर, पछिल्लोपटक बढेको देखिन्छ अदालतसम्म आउने पुरुषको संख्या।'

नेपालको कानुनअनुसार महिलालाई सम्बन्ध विच्छेद गर्न जति सजिलो छ, पुरुÈका निम्ति त्यति सजिलो छैन। महिलाले स्थानीय निकायदेखि सीधै अदालत पुगेर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्छन्। पुरुषले गर्न चाहे गाविस वा नगरपालिका हुँदै अदालत धाउनुपर्छ। जहाँ एक वर्षसम्म मिलापत्र गराउनका लागि भन्दै कुर्नुपर्छ। 'एक वर्षमा मुद्दा टुंगो नलागे मात्रै अदालत पठाउनुपर्ने हुन्छ। यस्तो झन्झट बेहोर्नुभन्दा त्यत्तिकै बस्छु भनेर फर्कनेहरू कति छन् कति। दर्ता गर्दा समाजले हेयले हेर्ने भएकाले पनि डराउँछन् उनीहरू,' पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा भन्छन्, 'सज्जन पुरुषमाथि अनेकन हिंसा भएका देखिन्छन्।'
(सामग्रीमा उल्लिखित पति र पत्नीका नाम परिवर्तन गरिएका छन्।)

प्रकाशित: ३१ श्रावण २०७२ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App