२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

बढेन साख

पोखरा- पोखरा उद्योग वाणिज्य संघको पहलमा २०४३ असार ४ गते एउटा समिति गठन भयो। संघकै अध्यक्ष रामचन्द्र बास्तोलाको संयोजकत्वमा गठित उक्त समिति पोखरामा विश्वविद्यालय (पियु) स्थापनाको पहलका लागि बनाइएको थियो। समिति गठन भएलगत्तै पानी पर्योख। त्यो देखेर समितिका सबैले भने— यो शुभ संकेत हो, अब पोखरामा विश्वविद्यालय खुल्छ।

लगातारको प्रयासपछि सरकारले पोखरेलीलाई १० हजार विद्यार्थी, १ सय बिघा (१३ सय रोपनी) जमिन र २ करोड रुपैयाँ जम्मा भएमात्रै विश्वविद्यालय खुल्न सक्ने बताइदियो। सरकारले १३ सय रोपनी भनेको थियो तर स्थानीयले शिशुवा गाविसमा २७ सय ४० रोपनी जमिन खोजे। त्यति गरिसकेपछि २०५४ सालमा त्यो शुभसाइत आयो। २०५४ मा मात्रै पोखरा विश्वविद्यालय खुल्यो।

विश्वविद्यालय गठनको पहल गर्दा पानी पर्नुलाई शुभसाइत मानेका पोखरेलीलाई विश्वविद्यालय स्थापनापछि भने आफ्नो सपनामा चिसो पानी खनिएजस्तो भएको छ।

किन त? उद्योग वाणिज्य संघका तत्कालीन महासचिव तथा विश्वविद्यालय स्थापनाको पहलका लागि गठित समितिका सचिव अशोक पालिखे भन्छन्, 'विश्वविद्यालयले पोखरा र आसपासमा शैक्षिक विकास गर्र्नै सकेन।'

पश्चिमाञ्चल क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्या उने हेतुले स्थापित विश्वविद्यालयले क्षेत्रीय विश्वविद्यालयको अवधारणा नै लत्याएको बताउँछन्, उनी। भन्छन्, 'पोखराभन्दा बाहिर–बाहिरका कलेजलाई मात्रै सम्बन्धन बाँडेको छ, अनि कसरी हुन्छ पश्चिमाञ्चलको शैक्षिक विकास?' हुन पनि पियुले सम्बन्धन दिएका ५८ कलेजमध्ये ५ वटामात्रै पोखराका हुन्। ती सबै कास्कीमा मात्रै छन्। पश्चिमाञ्चल क्षेत्रका ३ अञ्चलमध्ये गण्डकीको कास्कीभन्दा बाहिर पियु जान सकेको छैन। 'धौलागिरिमा त झन् एउटा कलेज पनि छैन,' विश्वविद्यालयमा सभासद् (सिनेटर) समेत रहिसकेका पालिखे भन्छन्, 'लुम्बिनीका पनि ३ जिल्लामा मात्रै छन्, कलेज।'

पोखरा आसपासमा कलेजहरू खोल्नुपर्ने विश्वविद्यालयले सुदूरपश्चिमसम्म पुगेर सम्बन्धन बाँड्नुलाई सम्बन्धनमा हुने चलखेलसँग जोड्छन्, पालिखे। उनी आफंै अध्यक्ष रहेको नेपाल होटल मेनेजमेन्ट एन्ड टुरिजम कलेज पियुबाट सम्बन्धन पाउने पहिलो कलेज हो। तर, आफ्नै कलेजले ७ वर्षअघि ३० हजारको आवेदन टिकट र १ लाख दस्तुर तिरेर निवेदन दिएको भए पनि अहिलेसम्म एमबिएको सम्बन्धन पाउन नसकेको उनी बताउँछन्। 'पोखरामा कलेज खोल्नपर्योद भने ३ रोपनी जग्गा चाहिन्छ रे,' उनले गुनासो गरे, 'काठमाडौंमा भने तल ममः पसल र ब्युटीपार्लर अनि माथि कलेज भएकालाई पनि सम्बन्धन दिइएको छ।' आफूहरूले भने प्रक्रिया र सर्त पूरा गर्दा पनि सम्बन्धन नपाएको उनले बताए।

पियुको साख उठाउने खालका कलेज कुनै छैनन्। गएको वर्ष यसले वितरण गरेको ९ वटा कलेजको सम्बन्धनमा पनि विवाद आएको थियो। आवेदन गरेका बेलाभन्दा पनि पहिल्यैको आवेदनवालालाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालयको आलोचना भएको थियो।

पोखरा विश्वविद्यालय आफैंले पनि ७० जना विद्यार्थीलाई बिबिए पढाउँछ। त्यसबाहेक पोखरामा पृना, जनप्रिय, लाग्रान्डी, नोबेल र होटल मेनेजमेन्टमा गरी ४ सय ५० विद्यार्थी बिबिए पढ्छन्। तीमध्ये आधामात्रै पास भए पनि तिनले स्नातकोत्तर तह पढ्ने पोखरामा कलेज छैन।

सेमेस्टर प्रणालीअनुसार पढाइ हुने पियुका विद्यार्थीले निर्धारित अवधिमा पढाइ पूरा गर्न सक्दैनन्। ३ वर्ष भनेको कोर्स ४ र ४ भनेकोलाई ५ वर्ष लाग्दै आएको विद्यार्थी रवीन्द्र रोका बताउँछन्। 'आन्दोलन हुन्छ, अनि पढाइ बिथोलिन्छ र सकिन धेरै समय लाग्छ,' उनले भने। अर्का विद्यार्थी सुवास मल्ल पोखरामा अपनत्व सिर्जना गर्न नसक्नुलाई विश्वविद्यालयको कमजोरी ठान्छन्। 'पोखराको शैक्षिक विकास गर्न सकेको भए अपनत्व हुन्थ्यो होला,' उनले भने, 'त्यस्तो भएन।'

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार अहिले विश्वविद्यालयले आफैंले चलाएका कलेज (आंगिक क्याम्पस) ४ वटा छन्। बाँकी ५८ वटालाई यसले सम्बन्धन दिएको छ। फार्मेसी, नर्सिङलगायत विषयका आंगिक कलेज छन्। तर, नर्सिङका लागि चाहिने अस्पताल विश्वविद्यालयसँग छैन।

कात्तिक २३ गते यो विश्वविद्यालयका भिसी, रजिस्टारसमेत २३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो। तर, विश्ोष अदालतले यसै साता उनीहरू सबैलाई सफाइ दिएको छ। भिसी खगेन्द्र भट्टराईले फेरि पदबहाली गरेको २ दिनपछि पदावधि सकिएकाले गत सातादेखि अवकास लिएका छन्। भट्टराई निलम्बित रहँदा भिसीको जिम्मेवारी सम्हालेका निमित्त भिसी विष्णु तिवारी सोचेजस्तो गरी संस्थाको विकास नभएकाले विश्वविद्यालयलाई टिमवर्कबाट अगाडि बढाउनुपर्ने बताउँछन्।

प्रकाशित: २९ श्रावण २०७२ २१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App