त्यतिमात्रै होइन, विद्यार्थीहरु कुखुरा बनाएर सजाय दिँदा पनि व्यङ्ग्य गर्थे र भन्थे, 'हामी मान्छे बन्न आउँछौं, सरहरु हामीलाई कुखुरा बनाउँछन् ।' विद्यार्थीका त्यस्ता कुराले शिक्षक अमर न्यौपानेलाई उकुसमुकुस बनाउँथ्यो । विद्यार्थीका तिनै कुराहरुले छोएपछि उपन्यास 'करोडौं कस्तुरी' लेखे।
अमरले शिक्षक भएर धेरैका कपी जाँचेका थिए । उत्तर हेरीहेरी कतिलाई फेल र कतिलाई पास बनाउँथे । अहिले भने उनी उपन्यास लेखेर पाठकहरुका सामु जाँच दिइरहेका छन् । आइतबार पोखरामा सयौं विद्यार्थीमाझ उभिएर न्यौपानेले आफूलाई फेल वा पास गराउने जिम्मा विद्यार्थीलाई दिए । स्कुलको परीक्षामा फेल हुनेहरु जिन्दगीमा भने सफल भएको भन्दै उनले विद्यार्थीहरुलाई किताबहरु मात्रै पढेर पुग्दैन, सबैभन्दा पहिला आफूलाई पढ्नुपर्छ भन्ने सुझाव दिए । 'वनको कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाए पनि मान्छेले आफ्नो योग्यता थाहा पाउन सक्षम हुन्छ,' उनले भने ।
उपन्यास लेखनको जस न्यौपाने आफू शिक्षक हुँदाका विद्यार्थीहरुलाई दिए । 'मैले १२ वर्ष पढाउँदा जे सिकेँ, त्यसैलाई करोडौं कस्तुरीमा अभिव्यक्त गरेको छु,' ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालले गरेको कार्यक्रममा न्यौपानेले खुलाए ।
उनले अक्षर जानेकासँग भन्दा नजानेका र विश्वविद्यालय गएकाभन्दा नगएकाबाट धेरै सिक्न पाएको पनि खुलाए । विद्यार्थीहरुलाई कक्षामा मात्रै सीमित नबनी बाहिरी दुनियाँ चिन्न पनि सुझाए । 'कक्षामा सय वाटको बत्ती हुन्छ,' उनले भने, 'बाहिर सूर्य हुन्छ ।' त्यति भन्दाभन्दै पनि अमरले विद्यार्थीहरुलाई धेरै नम्बर ल्याएर पास हुनु भने अत्यन्तै राम्रो भएको बताए । 'पढाइमा राम्रो गर्नाेस्, तर पढाइमा असफल भएँ भनेर चिन्ता नलिनोस्,' उनले भने, 'पढाइमा राम्रो नहुँदैमा, जाँचमा पास नहुँदैमा जिन्दगीमा फेल भइन्न ।' त्यस्तै उदाहरण कलाकार हरिवंश आचार्यलाई भेटेकैले उनलाई छायाँपात्र बनाएर करोडौं कस्तुरी उपन्यास लेखेको पनि उनले बताए ।
विद्यार्थीलाई उत्साहित पार्दै न्यौपानेले पढाइमा अब्बल हुनेबाहेक पनि मान्छेमा अरु प्रतिभा हुनसक्ने बताए । 'संसारमा त्यस्तो कोही हुँदैन, जोसँग केही नहोस्,' उनले भने, 'संसारमा सबैथोक भएको पनि कोही हुँदैन ।'
कलाकार हरिवंश आचार्यले विद्यालयका शिक्षकहरुबाट भन्दा फिल्महरुबाट जिन्दगीका लागि धेरै शिक्षा पाएको अनुभव सुनाए । विद्यार्थीलाई जबरजस्ती कुनै पेशा वा व्यवसायमा जानलाई दबाब दिनुभन्दा प्रकृतिले दिएको शक्तिअनुसारको बाटोमा हिँड्न दिनुपर्ने बताए । १५ सयजना अट्ने क्षमताको पोखरा सभागृहको खचाचख हलमा हरिवंशले सम्बोधन गर्दा विद्यार्थीहरुले तालीले उत्प्रेरित गरेका थिए ।
प्रकाशित: २४ श्रावण २०७२ २२:५७ आइतबार


-600x400.jpg)


