२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

साइकल महाजात्रा

बादल फाटेको सफा आकास। उपत्यका अबेरसम्म निदाएकाले शनिबार चहलपहल पातलै छ। टम्म ईंटा छापेको पटाङ्गीमा टेकाको भरले अडिएका मठ मन्दिर। शिखर शैलीको कृष्ण मन्दिर पनि टेकाकै भरमा। अघिल्तिर ढुङ्गे धारो। सपक्क खास्टो ओढेका महिला गाग्रीमा हतार हतार पानी ओसार्दैछन्।

डिलमा हार्मोनियम, तवला, मुजुराको धुनमा व्यस्त बुढापाका। तिनको सामुन्ने रातो गन्जी ठाँटिएका युवा। तिनको गन्जीमा साइकल र सम्पदा झल्काउने सेतो बुट्टा। मुन्तिर 'काठमाडौं कोरा साइकल च्यालेन्ज २०१५' लेखिएको छ। टाउकामा छिरविरे हेल्मेट, आँखामा कालो चस्मा। हातमा पञ्जा। पछाडी झोला भिरेका।

उत्साहले चम्केका साइकलेको प्रवेशले कृष्ण मन्दिर परिसरको शान्त वातावण भङ्ग गर्दै जान्छ। कोहि हात मिलाउँदैछन् त कोहि गला। खुसी साटासाट। कोहि भने केरा र बिस्कुट टोकेर आँत शान्त गर्दै। छैन कसैलाई फुर्सद। कोहि भने लामा घोचाका टुप्पामा राखेर फटाफट खिच्दैछन सेल्फी।

पहेंलो गन्जी, हँसीलो मुहारमा टुप्लुक्क झुल्किए विश्व साइकल यात्री पुस्कर शाह। भिडको ध्यान उतै तानियो। 'आज त जन्म दिन हो नि' प्रशंसकहरुसंग ठट््यौलो पारामा भन्दै थिए उनी। रसिक स्वभावका मृदु भाषी शाहका कुरामा मन्त्रमुग्ध छन् साइकले। माझमा बसेर जन्मदिनको शुभकामना लेखिएको रंगी चंगी बेलुन बाँधेर सिंगारिएको साइकल। उनीसँग फोटो खिच्न लोभिएकाहरुको लाम। झोलाबाट थरी थरीका मुखुण्डो फुत्त फुत्त दिन्थे। भिड बढ्दै गयो आदर्श कन्या निकेतन को प्राङ्गण।

डवलीमा उभिएर चारैतिर हेरें। जीन्दगीमै पहिलो पटक साइकलेको यत्रो भिड देखें। खुसी उम्लिएर आँखाबाट झण्डै पोखिएकोे। मुस्किलले सम्हालें। छिचोल्न मुस्किल भिड। उत्साह, उमंग र जाँगरले चम्कीएका रोमाञ्चकारी तन्नेरी। टमक्क मिलेका छोटा पहिरनमा सजिएका साइकल सुन्दरीहरु। हाँसो, उन्माद, चहल पहल। तमासा हेर्दा बुढाका मनमा पनि १६ बर्षे जवानी भरीने।

साउन २ गते कर्मा फाउण्डेशन र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा पाँचौं 'काठमाडौं कोरा सुरु हुँदा यस्तै दृश्य देखियो। बिगतमा जस्तै साइकलेले प्रति किमि सय रुपैयाँका दरले रकम संकलन गरेर बीस लाख पुर्या उने लक्ष्य थियो। उठेको रकम विश्व साइकल यात्री जन्मिएको गाँउ दोलखा, मकैबारीको भूकम्पले ध्वस्त स्वास्थ्य चौकी पुनः निर्माण गर्ने योजना।

सात लाख पच्चीस हजार रुपैयाँ उठि सकेको र उठ्नेक्रम जारि रहेको आयोजक विश्वराज ज्ञवालीले बताए। विपद् तथा जोखिमयुक्त परिस्थितिमा रहेकाहरुलाई सहयोग जुटाउन आयोजित कार्यक्रममा पाँच बर्ष देखि पचास बर्ष माथिका तीन हजार ८३ जनाले नाम दर्ता गराएका थिए। ५० किमि तर्फ दुई हजार तीनसय बीस, ७५ किमि तर्फ छ सय ५६ र सय किमि तर्फ एक सय सात जना थिए।

तीन छुट्टा छुट्टै दुरी समूहमा विभाजित सहभागी लामबद्ध भए। साइकलप्रेमी प्रधान सेनापति गौरव सम्शेर जबराले झण्डा हल्लाए। सय किमिका सहभागिहरु राष्ट्रिय खेलाडि अजयको पछि पछि दौडिए। क्रमैसँग ७५ किमिका पनि आफ्नै बाटो लागे।

अत्यधिक सहभागी भएका ५० किमि समूहको रौनक अरुको भन्दा बेग्लै थियो। कानून व्यवसायी, लेखा परिक्षक, संचारकर्मी, फोटोग्राफर, पर्यटनकर्मी, अन्य व्यवसायी लगायत विविध पेशाकर्मी र विद्यार्थीले भरिएको समूह। कतिपयले त स–साना छोराछोरीलाई साथमै ल्याएका थिए।

अभियन्ता भूषण तुलाधर छोरी शुभेच्छा र श्रीमती सहित थिए। सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठ मातहतका अन्य अधिकारी सहित सहभागी थिए। यो समूहको शूरुवात विश्व साइकल यात्री शाहले गरे। कागजको पड्का पड्काए। रंगीचंगी कागजका धुलोले आकास रंगीयो। हजारौको संख्यामा लामबद्ध साइकल यात्री पाटन दरबार हाताबाट बाहिरिँदा निकैबेर अस्तव्यस्त भयो मंगल बजार।

आकर्षणका अर्का पात्र थिए रमेश चन्द्र क्षेत्री। उनी व्यवसायीक साइकले हुन्। उनको गुड्नै चुनौतीपूर्ण हुने एक पांग्रे साइकलले चकित बनायो। सजिलै सिंढि ओर्लिएको देख्दा अचम्म नमान्ने कोहि थिएन।

लाम यति थियो कि ७५ किमिको अगुवा टोली नख्खु,चोभारहुंदै किर्तिपूर पुगिसक्दा पुछारको टोलीसंगै चक्रपथमै थियौं सन्तोष राई र म। हाम्रो जिम्मेवारी समूहको सुरक्षा। पाँगा, मच्छेगाँउ, सतुङ्गल, बलम्बु, पुरानो नैकाप, हुँदै रामकोट, ईचंगु पुग्दा मद्यान्ह भयो। घामको तेज बढ्दो, साइकलेको घट्दो। साइकलेका भाडाका साइकल बिमारी पर्न थाले। औजार उपकरण, जगेडा पुर्जाले भ्याए सम्मका मर्मत गरी दियौं। मर्मत हुन नसक्ने केहिलाई बिचबाटै फर्कायौं।

दिउसो दुई बज्यो। अन्तिम टोली भर्खर मुड्खु। २५ जनाको समूह लिएर यहाँसम्म आइपुगियो। नास्ता गराएर तीनपिप्ले हुँदै काभ्रेस्थली तिर लागियो। जोसीला नव साइकलेसँग साइकल चलाउने ज्ञान र सीप खाँचो देखियो। साइकल शक्तीले होइन सोंचले चलाउने हो। सहयात्री भाइ बहिनीलाई सजिलोसंग साइकल चढ्ने, लामो यात्रामा शक्ती बचत गर्ने र शरिरका अंगलाई आराम दिने तरिका सिकायौं।

अदम्य आँट र उत्साह भएका यी जमातलाई कसरी साइकल पे्रमी बनाउने? कसरी नियमीत साइकले बनाउने? पल्सर कल्चरबाट निरुत्साहित गरी प्रकृतीमा रम्ने बनाउने। डाँडा पाखा, उकाली ओह्राली, भिरालो भञ्ज्याङ्ग अनि चौतारी संग माया बसाउने। कसरीसाईकलमा देश दर्शन गराउने, मनमा भूमरी चलि रहयो। यो शक्तीलाई सहि दिशा निर्देश गर्न सिकाउने ठाँउ खोई? यो शक्ति पचिालन गरे नेपाल उठ्न बेर लाग्दैन।

शिवपूरी फेदिका झोर, महाँकाल, काभेस्थली असाध्यै रमाइलो छ। खेत, बारी, डाँडा, पाखा हरीयालीले। उखान त्यसै बनेको होइन रहेछ। साउनमा आँखा फुटेको डिङ्गो संधै हरियो देख्छ रे। खेतका डिल डिलै साइकल कुदाउदै गर्दा भ्यागुता ट्वार ट्वार गर्दै कुर्ली रहे। लाग्छ छिटो छिटो कुद, शिवपूरी माथि कालो बादलले घेरीसक्यो भने तिनले।

पाँगा, मच्छेगाँउ, माता तिर्थ, रामकोट, इचंगु, बालाज्यू, हुदै काभ्रेस्थली सम्म आइपुग्दा भूइँचालोले कन्त विजोग बनाएका बस्ती नजिकबाट नियालियो। ध्वस्त छन् हाम्रा मौलिक पहिचान झल्काउने गाँउले घरहरु। शंकै छ अब यस्ता संरचान बन्नेमा।

साउने झरी। भत्कीएको घर, गोठ। कसरी कटाउने होला बर्षा? कहाँ राख्ने अन्न पात, कुखुरा बाख्रा गाई बस्तुहरु। बिचल्ली छ। कोहि घर भत्काउदै छन्। कोहि सामान ओसार्दै।

अपरान्ह पाटनबाट प्रमेश, शैलेन्द्र र चक्षुले तारन्तार सोधे, 'कहाँ पुग्नुभयो दाई?' 'सपनतिथ' भनें मैले। उनीहरु आत्तिए, 'त्यसो भए अन्तिम समूहलाई बाटो छोट्याएर ल्याउनु।'

अघि बढ्दै जाँदा २५ जना समूहका भाइ बहिनी कता कता अलप भए टुंगो भएन। टोखा सम्म आइपुग्दा जम्मा १० जना भयौं। टोखाबाट गोल्फुटार हुदै बाँसबारी छेकटो मार््यौा। चाबेलका उदय मिश्र भाइले त्यहिं बिट मार्ने निंधो गरे। बिदा गर््यौं । अरु दुई भाइ कता लागे भेउ पाइएन। बाँकी ५ जनालाई लिएर शंखमूलको बाटो हुदै पाटन दरबार स्क्वायर पुग्यौं। मनमा हुट हुटि चलीरह््योे जिम्मेवारी पुरा भएन की?

अन्तमा

निकै अगाडि प्रकाशित, कार्टुन सम्झन्छु। जसमा जोय स्टिक हातमा लिई दलानमा बसेर कोठा भित्र टेलिभिजनमा मस्त भिडियो गेम खेलेर बसेको छोराको हरकत देखेर अचम्म मान्दै गरेकी आमाले सोध्छिन् , 'बाबु के तमासा देखाएर बसी रा हँ?' छोरोले झर्कदै भन्छ , 'अनि तपाईले नै भन्नु भा होइन आमा, खालि घर भित्रै मात्र कत्ति खेली रा' बाहिर गएर खेल भनेर।'

चोटिलो र सान्दर्भिक थियो त्यो काटुन चित्र। अहिलेको शहरी तथा अर्ध शहरी क्षेत्रका बाल बालिकालाई सुरक्षित स्थान अभाव छ। बाल मैत्री वातावरण छैन। खेल्ने खुल्ला ठाँउ छैन। समाजका सदस्यसंग घुलमिल हुने, चिनिने, अरुको प्रतिभा हेर्ने, आफ्नो देखाउने अवसरवाट टाढिएका छन्। व्यक्तित्व, क्षमता, शारिरिक र मानसिक स्वास्थ्य विकास गर्ने मौकाबाट विमूख हुदै छन्। स्मार्ट फोन, ट्यावलेट, ल्यापटप जस्ता बिद्युतीय उपकरणका अम्मली भएका छन्।

कोठामा निरस जीवन विताउन बाध्य नयाँ पिंढिलाई बाहिरी वातावरणमा घुलमिल गराउन साइकल उपयोगी छ। मनोरञ्जन र खेलकूद प्रतिभा प्रष्फुटनको माध्यम बनेको छ। साइकलका लागि न कुनै विशेष ठाँउ चाहिने न कुनै मैदान। बाटो भए पुग्ने।

अखवार भन्छ, कूल निर्यात ७७ अर्ब ७४ करोड, कूल आयत ६ खर्ब ९४ अर्ब २० करोड जसमध्ये ११ महिनामा इन्धन मात्र १ खर्व १४ अर्बको। साइकल प्रबर्द्धन भए पेट्रोलीयम पदार्थ उपभोगमा कटौती हुन्छ! योजनाकारले नाति पुस्ताको चाहना बुझेर साइकल मैत्री सहरको योजना बनाउनु पर्छ।

काठमाण्डौं कोराले साइकल महाजात्राको रुपमा निरन्तरता पाइराखोस्।

प्रकाशित: २२ श्रावण २०७२ २२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App