गत बुधबार राति आएको पहिरोमा परी २७ जनाको निधन भएको र एक जना बेपत्ता भइरहेको एक साता भयो। तुलनात्मक रूपमा सुरक्षित ठानिएको यो ठाउँमा यत्रो ठूलो विपत आएपछि धेरै जना आत्तिएको अवस्था थियो।
एउटै परिवारका छ जना पनि परे। संगीता विक घरबाहिर रहेका र पिता विदेश भएकाले मात्र बाँचे। संगीता केही बोल्न सकिनन्। उनका आँखाबाट अविराम साउन झरिरहेको थियो। बोलून् पनि के?
पहिरोमा जीवन गुमाएकाहरूका सम्झनामा आयोजना गरेको शोकसभामा किरियापुत्री र परिवारजन मात्र होइन अन्यसमेत भेला भएका थिए। स्कुले नानीहरू आएका थिए। बूढाबूढी, केटाकेटी सबै अवाक् थिए, पहिरोको अवस्था देखेर।
स्थानीय केही साहसी व्यक्तिहरूले पहिरोमा परेकालाई बचाए पनि। तर, यतिका धेरैलाई बचाउन सकिएन। जो भाग्न सके उनीहरू बाँचे। मस्त निद्रामा परेका धेरैले पहिरो आएको थाहा पनि पाएनन्।
'जन्मेर यत्रो भयो कहिल्यै केही भएको थिएन,' बाढीले बगाएर ल्याएको रूखमाथि बसेकी ७९ वर्षीय कला अधिकारीले भनिन्।
देवकोटाहरू उनका माइती। पहिरोमा देवकोटा गाउँकै धेरै परे। माइतीका घर परेको उनले बिहानमात्र थाहा पाइन्। त्यसो त उनका छोराबुहारी राति नै घटनास्थमा आएर फर्केका थिए।
'यस्तो अलच्छिन देख्ने बेलामा मलाई त कस्तो निद्रा लागेछ,' उनले भनिन्, 'मैले केही थाहा पाइनँ।'
यसपालि नसोचेको दुःख भोग्यो यो गाउँले। साँच्चै गाउँलाई 'अलच्छिन' लागेसरह भयो।
गाउँको बीचमा बगरजस्तो भएको छ। उराठलाग्दो समय छ। आसपासका घरहरूले भय मानिरहेका छन्। तैपनि कतै छाडेर जान सक्ने अवस्था छैन। थातथलो छाडेर हिँड्न सजिलै कहाँ सकिन्छ र?
पहिरो नगएको ठाउँ यसै पनि सुन्दर छ। हरियालीले मनै लोभ्याउँछ। माथि देउराली डाँडामा लागेको बादलले गाउँलाई थप सुन्दर बनाउँछ। तर, यसपालि यो विपतको बेलामा त्यहाँ पुग्नेले सौन्दर्य अनुभव गर्न सक्दैनन्।
बर्सातको मौसममा सधैं यस्ता विपत आउँछन्। कहिले कता कहिले कता। विपत सहनेको पीडालाई धेरै महसुस गरेको अनुभव भने हुँदैन। यसबाट जोगिन समयमै तयारी गर्न सके जिउधनको रक्षा हुने थियो। लुम्लेको यो विनाशलीलालाई बुझेर समयमै तयारी गर्न सरोकारवाला निकायको ध्यान जाओस्।
प्रकाशित: २२ श्रावण २०७२ २१:४७ शुक्रबार





