२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

हिरोइन भनेको मन पर्दैन : ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले अघिल्लो साता चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। उनीसँग धनबहादुर खड्काअनिल यादवले अन्तरंग कुराकानी गरेका छन्।दुब्लाउनु भएछ!

हो नि। पहिले ६१ किलो थिएँ। घटेर ५७ किलोमा झरिसकेँ। दिन प्रतिदिन फिट हुँदै छु।

वजन घट्नुको रहस्य के हो?

दैनिक जिम जान्छु। डान्स क्लास लिइरहेकी छु। त्यही भएर होला।

अहिले आएर बल्ल डान्स सिक्न खोजेको हो?

होइन। पहिले पनि सिकेकी थिएँ। अहिले आफूलाई डान्सका नयाँ–नयाँ फर्मसँग परिचित गराउँदै छु।

हिरोइन भएपछि स्लिम हुनैपर्छ है?

अहँ, मलाई त त्यस्तो लाग्दैन। तर, फिटचाहिँ हुनुपर्छ। मलाई एकदम स्लिम मान्छे पनि राम्रो लाग्दैन।

मोटोघाटो नै ठीक भन्न खोज्नुभएको हो?

होइन। बाहिरबाट मोटाएर मात्र के गर्नु? भित्र खोक्रो भइन्छ भने। भित्रबाटै बलियो हुनुपर्यो ।

तपाईं त बलियो हुनुहुन्छ। 'हाम्रो टिम' टेलिसिरियलमा फुटबल कोच हुँदा देखिसके दर्शकले!

बलियो त बलियो नै छु। तर, प्रत्येक वर्ष उमेर बढ्दै जाँदा मान्छेको 'स्टामिना' घट्दै जान्छ।

उमेर बढ्यो, कमजोर हुँदै गएँ भन्न खोज्या हो?

कसले त्यस्तो भन्यो? भर्खर त २८ वर्ष लागेँ।

उमेर नि भनिदिएको?

अँ। के हुन्छ र भन्दा?

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा कस्तो लाग्दैछ?

एकदम धेरै खुशी लाग्दो रहेछ। राष्ट्रिय अवार्डको गरिमा नै अर्कै हुँदो रहेछ। राष्ट्रपतिको हातबाट यो अवार्ड पाउनुलाई मैले मेरो करिअरकै 'माइलस्टोन'का रूपमा लिएकी छु।

हरेक वर्षझैँ यो वर्ष पनि राष्ट्रिय अवार्डप्रति टीकाटप्पिणी भइरहेका छन्। किन यस्तो हुन्छ?

नेपालमा मात्र होइन, विश्वभर अवार्डप्रति असन्तुष्टिहरू आउँछन्। त्यही भएर बलिउडमा आमिर खान कहिल्यै पनि अवार्ड थाप्न जाँदैनन्। सबैभन्दा ठूलो पुरस्कार अस्करमा पनि विवाद हुन्छ। त्यसैले कुनै पनि अवार्ड विवादमुक्त हुन्छ भन्ने मलाई लाग्दैन। यहाँ पनि त्यस्तै भएको हो। तर, आफू विवादको पात्र हुनुपर्दा दुःख लाग्दो रहेछ।

तपाईंले अवार्ड हुने कुरा अन्तिम समयमै थाहा पाएको हुँ भनेपछि झन् शंका उब्जिएको छ नि?

हो नै त्यस्तो। म आइतवारसम्म देशबाहिर थिएँ त कसरी थाहा पाउनु? आइतवार बेलुका नेपाल आइपुगेकी हुँ। मंगलवार राष्ट्रिय अवार्ड हुँदै छ भन्ने कुरा सोमवार बेलुकामात्र थाहा पाएँ। राति ९ बजेतिर सहभागी हुनका लागि खबर आयो।

'अभिनेत्रीका हकमा एकजनालाई मात्र अवार्ड दिइने कुरा थियो, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालको हस्तक्षेपका कारण दुईजनालाई दिनुपर्योन' भनेर जुरीका सदस्यले नै भनिरहेका छन् नि?

मैले पनि सुनिरहेकी छु, एकजना निर्णायकले 'नचाहेको मान्छेले पायो' भन्नुभएछ। तर, जुरी संयोजक राजेन्द्र सलभले भने 'हामीले जसलाई छान्यौँ, उसले नै पाएको हो' भनेर अभिव्यक्ति दिइसक्नुभएको छ। अर्को कुरा, मैले व्यक्तिगत रूपमा सञ्चारमन्त्रीलाई राम्रोसँग चिनेको छैन। हाम्रो भेट अहिलेसम्म तीन/चारवटा कार्यक्रममा मात्र भएको होला। अब म कसरी मन्त्रीको नजिक भएँ? मन्त्रीले मेरा लागि किन हस्तक्षेप गर्ने? म आफैँ चकित छु, यस्ता भ्रामक कुरा सुनेर। अवार्डका मामिलामा मलाई जहिले पनि एउटा कुरा खडि्करहन्छ। हिरोका नाममा कहिले पनि विवाद हुँदैन। हिरोइनका नाममा अनेकथरी शंका गरिन्छ। यो सामाजिक मनोविज्ञानमा परिवर्तन नआएसम्म हामी अभिनेत्रीले पाउने अवार्डमा यस्ता आशंका भइरहनेछन्।

फिल्म क्षेत्रमा जो बढी देखिन्छ र जसको बढी चर्चा हुन्छ, उसैले अवार्ड पाउने अपेक्षा राखिन्छ। तपाईं कम देखिनु र कम चर्चामा आउनुका कारण पनि यस्ता टीकाटिप्पणी भएको हो कि भन्ने लाग्दैन?

मैले अघि नै भनिसकेँ, टीकाटिप्पणी त भइरहन्छन्। तर, मलाई अवार्ड पाएकोमा एकरत्ति पनि 'गिल्टी फिल' भएको छैन। म अवार्डप्रति पूर्ण सन्तुष्ट छु। मलाई त्यो अवार्डका लागि म उपयुक्त छु जस्तो लाग्छ। किनभने, 'टलकजंग भर्सेस टुल्के' मा मैले अभिनय गरेको 'फुली' पात्रबाट धेरै प्रशंसा बटुलेकी थिएँ। मैले यस पात्रलाई जीवन्त बनाउन धेरै मेहनत गरेँ। मेरो कामको सही मूल्यांकन भयो भन्ने लागेको छ।

तपार्इं प्रायः अवार्डमा नोमिनेसनमा पर्नुहुन्छ तर अवार्ड कम पाउनुहुन्छ नि?

हो। यस्तै हुन्छ। अघिल्लो वर्ष पनि फिल्म 'उमा' बाट क्रिटिक्स अवार्ड मात्र जितँे। नोमिनेसन कहिल्यै नछुट्नु नै मेरा लागि खुशीको कुरा हो। यति धेरै अभिनेत्री भएका ठाउँमा जहिले पनि टप फाइभमा पर्नु पनि जित्नु नै हो जस्तो लाग्छ।

'टलकजंग भर्सेस टुल्के' मा तपाईं एक थारु युवतीको भूमिकामा हुनुहुन्थ्यो। यो भूमिका निर्वाह गर्न कत्तिको गाह्रो भयो?

यो फिल्ममा 'फुली' को भूमिका मैले अडिसनमा पास भएर पाएकी हुँ। मलाई यो भूमिका निर्वाह गर्न त्यति गाह्रो पनि भएन। किनभने, म धनगढीमा हुर्किएकी हुँ, जहाँ थारु समुदायकै बाहुल्य छ। उहाँहरूको लवाइखुवाइ, भाषा र संस्कारका विषयमा जानकार थिएँ, परिचित थिएँ। त्यसैले मलाई सजिलो भयो।

तपाईं कम फिल्ममा काम गर्नुहुन्छ। योजनाबद्ध हो या नपाएर हो?

योजनाबद्ध नै हो। मलाई धेरैले 'नन–कमर्सियल' हिरोइन पनि भन्दा रहेछन्। तर, हलमा लागेको फिल्म, जसलाई दर्शकले टिकट काटेर हेर्छन्, त्यो कमर्सियल नै हुन्छ जस्तो लाग्छ। म नौ महिनासम्म फिल्ममा काम नगरेर बसेको अवस्था थियो। किनभने, ढिट भएर बसँे। जस्तो पायो, त्यस्तो फिल्म गर्नुभन्दा खाली बस्न उपयुक्त ठानेँ। १० वटा नराम्रो फिल्म अस्वीकार गर्दा ११ औँमा राम्रो पनि आउँदो रहेछ। हतार नगर्ने हो भने राम्रो फिल्मको अफर पनि आउने रहेछ। यो 'टलकजंग भर्सेस टुल्के'ले साबित गरिदियो।

फरक–फरक भूमिका निर्वाह गर्न रुचाउनहुन्छ है?

हो। मलाई फरक–फरक भूमिकामा अभिनय गर्न मन लाग्छ। 'उमा', 'टलकजंग भर्सेस टुल्के' त्यसकै उदाहरण हुन्। मैले अन्य तीन फिल्म पनि गरिसकेँ। जुन रिलिजका तयारीमा छन्। 'जंगे' भन्ने फिल्ममा नेगेटिभ भूमिका गरेको छु। 'बाटोमुनिको फूल २' मा दिलिप रायमाझीको अपोजिटमा काम गर्ने मौका पाएकी छु, जुन मेरो चाहना थियो। यो फिल्ममा म यश कुमारकी आमा भएकी छु। 'को आफ्नो' फिल्ममा मलाई दर्शकले 'फुली' को भन्दा पनि बिलकुलै फरक र सशक्त भूमिकामा देख्नुहुन्छ। यसमा पनि म आमाकै भूमिकामा देखिएकी छु। खास भन्नुपर्दा म हिरोइन बन्न चाहिरहेकी छैन। कसैले हिरोइन भनेको मन पनि पर्दैन। म त कलाकार बन्न खोजिरहेकी छु।

सिंगल हुनुहुन्छ। जम्मा २८ वर्ष पुग्नुभएछ। आमाको भूमिकामा देखिन अप्ठ्यारो लाग्दैन?

म अभिनयको मामिलामा 'चुजी' छैन्। त्यसैले म आमाको भूमिकामा देखिनुलाई निर्देशकले अपमान गरेको भन्ने ठान्दिनँ। म त यसलाई फरक भूमिकामा काम गर्न पाउने अवसरका रुपमा लिन्छु। मलाई पर्दामा फोहोरी र नराम्री युवतीको रुपमा देखाउँदा मलाई कुनै अप्ठेरो महसुस हुँदैन, गुनासो हुँदैन। किनकी म अभिनेत्री हुँ। म भिन्न–भिन्न भूमिकामा अभिनय गर्न रुचाउँछु। मलाई निर्देशकले आमाको भूमिकामा देखिन सक्छौ? भनेर सोधे। मैले उल्टै प्रश्न गरे, 'के तपाईँ मलाई आमाको रुपमा देखाउन सक्नुहुन्छ? ' उहाँले सक्छु भनेपछि काम गरेकी हुँ।

तपाईंका लागि हिरोइन र अभिनेत्रीमा के फरक छ?

मेरा लागि बलिउडकी सोनाक्षी सिन्हा हिरोइन हुन् भने कंगना रनोट अभिनेत्री हुन्।

'कंगना' बन्ने रहर हो तपाईंलाई?

त्यस्तो हुन त सक्दिनँ होला। तर, कंगना बन्ने इच्छा चाहिँ हो। मलाई उनको, प्रियंका चोपडाको जस्तो जीवन्त अभिनय गर्न मन लाग्छ।

हिरोइनको 'प्रचलित इमेज'प्रति तपाईंको असन्तुष्टि हो?

त्यस्तो पनि होइन। मलाई चाहिँ 'एक्ट्रेस' हुँ भन्ने लागेको मात्र हो। मैले कस्ता फिल्म गर्ने भन्ने मेरो व्यक्तिगत कुरा हो। म अर्थपूर्ण फिल्ममा काम गर्न रुचाउँछु। हलबाट फर्किने दर्शकले ऋचा शर्मालाई सम्भि्कऊन् भन्ने लाग्छ। उनीहरूको मनमा बस्न सक्ने कलाकार बन्ने मेरो चाहना हो।

तपाईंको नजरमा हिरोइन बन्न सजिलो र अभिनेत्री बन्न गाह्रो हो?

हो नि। हिरोइन भएको भए त मसँग यसरी मज्जाले कुरा गर्ने समय नै हुँदैनथ्यो। म अभिनेत्री हुँ, त्यही भएर त कम फिल्म गर्छु। छानेर गर्छु। यसरी नआत्तीकन कुरा गर्न भ्याइरहेको छु। हिरोइनहरू त व्यस्त हुन्छन् नि।

भनेपछि तपाईं 'हिरोइन' होइन?

अरूले त मलाई 'हिरोइन' पनि भन्छन्। तर, म आफूलाई हिरोइन भन्न रुचाउँदिनँ। मलाई राम्री देखिनभन्दा अभिनय गर्न मज्जा आउँछ।

यो क्षेत्रमा आउन त हिरोइन बन्न नै आउनुभएको होला नि?

आउन चाहिँ म हिरोइन बन्न नै आएकी हुँ। सानैदेखि धेरैले 'तँ त हिरोइन बन्छस्' भन्थे। मलाई पनि हिरोइन बन्न मन लाग्थ्यो। तर, काम गर्दै गएपछि 'एक्टर' को अर्थ थाहा पाएँ। त्यही भएर अहिले अभिनेत्री बन्न मन लाग्छ।

फिल्म छानेर गर्दा जीवन कसरी निर्वाह गर्ने?

यहाँ फिल्ममा काम गरेर पैसा कमाउँला र घर बनाउँला भन्ने त सम्भव नै छैन। त्यही भएर मैले मेरो करिअर 'अप्सन' छानिसकेकी छु। मैले गाडी सम्बन्धी ड्राइमान्डु नामको रेन्टल कम्पनी चलाइरहेको छु। यसले मेरो जीवन निर्वाहमा सहयोग गरिरहेको छ। दिदीहरूले देश बाहिरबाट पनि सपोर्ट गरिरहनुभएको छ। ममीका लागि बाले जे छाडेर जानुभएको थियो, त्यो पनि छ। त्यसैले फिल्ममा काम नगर्दा खान नपाएर मरिएला भन्ने त लाग्दैन। तर, अभिनय मेरो 'प्यासन' हो। यसलाई छोड्न सक्दिनँ।

तपाईंलाई गर्न मन लागेको तर अहिलेसम्म नपाएको भूमिका कुन हो?

मलाई 'डबल रोल' गर्न मन छ। हरेक मान्छेसँग दुइटा चरित्र हुन्छ। ऊ फरक–फरक मान्छेसँग फरक तरिकाले प्रस्तुत हुन्छ। मलाई पनि मेरो दुइटा भूमिका पर्दामार्फत देखाउन मन छ । यस्तो फिल्मबाट अभिनय देखाउने मौका पाउनेछु।

बिहेबारे केही सोच्नुभएको छैन?

बिहे गर्ने त हो। तर, जुरेको छैन। बिहेको प्रस्ताव लिएर मसँग डाइरेक्ट कोही नआए पनि घरमा आमासँग कुरा गर्न आउँदा रहेछन्। तर, अहिले नै बिहे गरिहाल्ने विचारमा छैन।

मन मिल्ने साथी नपाएर पो हो कि?

त्यो पनि हो। मैले मेरो श्रीमान् यस्तो होस् भन्ने कुनै मापदण्ड त बनाएकी छैन। तर, ऊसँग क्षमताचाहिँ होस्। केही गर्न सक्ने होस् भन्ने चाहन्छु। जीवनभर साथ दिनसक्ने होस् भन्ने चाहन्छु। यस्तो साथी अहिलेसम्म मसँग ठोक्किएको महसुस भएको छैन।

परिवारबाट बिहेको दबाब आउँदैन?

उमेर पुगेकी छोरी मान्छेलाई अलिअलि दबाब त आइहाल्छ नि। ३० वर्षचाहिँ नकटोस् भन्ने उहाँहरूको चाहना छ। म पनि यही चाहन्छु।

भनेपछि ३० कट्दैन?

त्यस्तो पनि होइन। लगन जुर्‍यो भने भइहाल्ला। नत्र कट्न पनि सक्छ। तर, बिहेचाहिँ अवश्य गर्नेछु।

फिल्मनगरीमा तपाईंलाई गेटअप गर्न नआउने हिरोइन भन्छन् नि?

त्यो त म जान्दिनँ। तर, म ठूलठूला केही कार्यक्रमबाहेक अन्य स्थानमा सिम्पल नै भएर पुग्ने गर्छु। ग्ल्यामरस र हट भएर हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन। मेरो पहिरनभन्दा पनि मान्छेले मलाई हेरून् भन्ने लाग्छ। गेटअपमा होइन, मेरो अभिनयमा आँखा टिकाऊन् भन्ने लाग्छ।

प्रकाशित: २२ श्रावण २०७२ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App