१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौ-अमेरिका जान प्रयासरतलाई नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी बनेर ठगी गरेको आरोपमा केदार खड्का पक्राउ परेका छन्। उनी काठमाडौंस्थित अमेरिकी दूतावासको कर्मचारी भएको भन्दै ४ वर्षदेखि ठगीमा सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।


ब्युरोका अनुसार सिन्धुपाल्चोक ज्यामिरे–१ का उनी कागेश्वरी मनहरा नगरपालिका–७ मा बस्दै आएका थिए। ब्युरोको टोलीले उनलाई निवासबाट नियन्त्रणमा लिँदा अमेरिकी भिसाको प्रक्रियाका लागि आवश्यक भनी विभिन्न व्यक्तिबाट संकलित राहदानी, पासपोर्ट साइजका तस्बिर, दीपक कार्कीको नाममा बनाएको अमेरिकी दूतावासको नक्कली कर्मचारी परिचय पत्रलगायत कागजपत्र फेला पारेको छ।
ब्युरोका अनुसार फिल्म निर्माण प्राविधिकका रुपमा कार्यरत खड्काले ठगीका लागि दीपक कार्कीको नाममा अमेरिकी दूतावासको नक्कली परिचय पत्र बनाएका थिए। उनले फोनबाट मिसकल दिएर अपरिचित व्यक्तिसँग परिचय गरी ठगीको जालो विस्तार गर्दै आएका थिए।
मिसकलबाट परिचयपश्चात् उनीहरूसँग निकट सम्बन्ध बनाएर अमेरिका जाने चाहना भए–नभएको एकिन गरेर आफू अमेरिकी दूतावासको कर्मचारी भएको भन्दै अमेरिका जान सहयोग गर्ने आश्वासन दिने गर्थे।
अनुसन्धान अधिकारीका अनुसार खड्काले अमेरिकाको भिसा लिन सघाउने तर त्यसका लागि रकम खर्च गर्नुपर्ने भन्दै मोलमोलाई गर्ने गरेका थिए।सघाउने भन्दै रकम लिएपछि भने उनले आफ्नो फोन नम्बर परिर्वतन गर्ने गरेका थिए।
अनुसन्धानमा उनले अनाथ बालबालिकासम्बन्धी कल्याणकारी संस्था स्थापना गरी अमेरिकाबाट दान ल्याई सञ्चालन गर्ने आश्वासन दिएर पनि ठगी गरेको खुलेको छ ।
ब्युरोका अनुसार खड्काले ठगेका ७ जना पीडित ब्युरोको सम्पर्कमा आएका छन्। तीमध्ये ४ जनाबाट उनले २० लाख रकम ठगेको खुलेको छ भने ३ जनालाई अमेरिका पठाउने प्रलोभन दिएर कागजपत्र लिए पनि पैसा लिन भ्याएका थिएनन्।
अनुसन्धानमा उनले ४ वर्षदेखि ठगी गर्दै आएको खुलेकाले पीडितको संख्या बढ्न सक्ने भन्दै ब्युरोले उनीबारे जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको छ। ब्युरोले उनीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको जानकारी दिएको छ।

प्रकाशित: १८ श्रावण २०७२ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App