इन्टरपोलले परशुराम गुरुङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध रेडर्कनर नोटिस जारी गरेको हो।
रेडकर्नर नोटिसमा परेका अधिकांशविरुद्ध बैंकक, अमेरिका, कोरिया, अफगानिस्तान, युरोपेली र आफ्रिकी राष्ट्रमा रोजगारी दिलाइदिने प्रलोभनमा रकम लिई ठगी गरेको अभियोग छ।
नेपालस्थित इन्टरपोलको समन्वय शाखाका अनुसार परशुराम र किशोरमाथि थाइल्यान्ड, दक्षिण कोरिया र अस्ट्रेलियाका होटल तथा जहाजमा आकर्षक रोजगारी दिने भन्दै पैसा लिई पीडितलाई होटलमा राखी मानसिक यातना दिएको तथा वैदेशिक रोजगारसम्बन्धी नक्कली सम्झौतापत्र र मागपत्र दिएको अभियोग छ।
अमेरिकामा रोजगारी दिलाउने भन्दै १३ लाखभन्दा बढी रकम ठगेको अभियोगमा ओमप्रकाशविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो। बुटवलका ओमप्रकाशमाथि करुणाकार घिमिरेलाई ठगेको अभियोग छ।
काठमाडौं बालाजुका दुर्गा, सोमनाथ र अजन्तामाथि अफगानिस्तान पठाउने प्रलोभन देखाएर जनही ३ लाख ५० हजार लिएर नक्कली सम्झौतापत्र दिई करोडौं ठगेको अभियोगमा रेडकर्नर नोटिस जारी भएको इन्टरपोलको नेपालस्थित समन्वय शाखाले सार्वजनिक गरेको छ।
युरोप र अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न व्यक्तिसँग ६६ लाख ठगेको अभियोगमा वैदेशिक रोजगार विभागको आग्रहमा सञ्जिवविरुद्ध रेडकर्नर जारी भएको हो। विनोद पाण्डेविरुद्ध पनि वैदेशिक रोजगारी ठगीमै रेडकर्नर जारी भएको हो।
प्रकाशित: १६ श्रावण २०७२ १९:४६ शनिबार





