मिस्टिका कस्तो उपन्यास हो भनेर प्रतीक्षाले सोधेको प्रश्नको जवाफमा उनले स्वैरकल्पनामा आधारित आख्यान भएको स्वीकारे। 'मिस्टिका मेरो कल्पना हो,' उनले भने, 'यो पात्रमा वैदिक चेतनामा पनि छ र आधुनिक ज्ञान पनि।' अक्षरगन्ज, मोक्षान्तः काठमाडौं फिभर र फोसिल कृतिका लेखकको पहिलो उपन्यास मिस्टिका प्रकाशन संस्था बुक हिलले साउन अन्तिमदेखि बजारमा ल्याउने भएको छ।
उपन्यास लेख्छु भन्ने थाहा नहुँदा नहुँदै लेखेको नगरकोटीले बताए। 'जीवनमा उपन्यास लेख्छु जस्तो लागेको थिएन,' उनले भने, 'लेख्छु भनेर थालेपछि लेख्छु भन्ने त भयो, तर के लेख्छु भन्ने थाहा नहुँदा नहुँदै ९ महिनामा तयार भयो।'
बुक हिलका भूपेन्द्र खड्काको अनुरोधपछि नै उपन्यास लेखन सुरु गरेको जानकारी उनले दिए। उपन्यास लेख्दा अदभूत आनन्द मिलेको सुनाउँदै उनले पूर्णकालीन लेखक बन्नुअघि आफू शिक्षक थिएँ भन्ने नै अनौठो लाग्न थालेको बताए।
आफू शब्दप्रेमी भएको पनि नगरकोटीले प्रष्टोत्ति दिए। 'शब्दहरु जीवित प्राणी हुन् जस्तो लाग्छ,' उनले भने, 'शब्दहरुलाई बन्धनमा राख्नुहुन्न भनेर म डिका दिन मन पराउन्न। पूर्ण विराम देख्दा त बाँध लागेजस्तो लाग्छ।' नयाँ परिवर्तनको खोजी गर्ने चाहनाले नै आफूलाई असामान्य विषयको सधैं चासो रहने नगरकोटीले प्रस्ट्याए।
सेक्स, रक्सी लगायत प्रसंग लेखनमा धेरै आउने गरेको आरोपमा नगरकोटीले भागवत गीताजस्तो किताब लेख्ने पक्षमा आफू नरहेको पनि हाकै भनिदिए। दिमागमा धेरै सेक्स भएकैले लेखनमा त्यस्तो आएको हो कि भन्ने कवि प्रतीक्षाको अर्को प्रश्न थियो।
शब्दहरुको स्वतन्त्रता र जिन्दगीको स्वतन्त्रताको प्रसंगमै उनले आफूलाई अन्डरवेयर लगाउन मन नलाग्ने खुलासा पनि गरिदिए। 'मिस्टिका उपन्यासका मेरा पात्रहरु कसैले पनि वन्डरवेयर लगाउँदैनन्,' उनले भने, 'पाठकले त्यो कुरा मज्जाले थाहा पाउँछन्।'
घरभन्दा घाटको चिन्तन बढी गर्नुहुन्छ नि जिन्दगीदेखि किन भाग्नुहुन्छ? सरस्वती प्रतीक्षाले पहिलो प्रश्न गरेकी थिइन्। नगरकोटीले जवाफ दिए, 'भाग्ने कुरै आउँदैन। तर, घाटको शून्यता मन पर्छ। मौनम् शरणम् गच्छामि भन्छु। मलाई घटनाभन्दा दुर्घटना मन पर्छ। दुर्घटनाले बाँच्न प्रेरित गरिरहन्छ।'
कार्यक्रममा उपन्यास मिस्टिकाको बुकलेट (प्रचार पुस्तिका) र पम्प्लेटको साहित्यकार गनेस पौडेल र प्रकाशक संस्था बुक हिलका निर्देशक पवन आचार्यले सार्वजनिक गरेका थिए। धेरै पाठकले रुचाउने लेखक नगरकोटीलाई उनको उपन्यास आउनुअघि नै पाठकहरुमा ल्याउन पाएकोमा बिग एफएमका अध्यक्ष महेश भण्डारीले खुसी व्यक्त गरे।
प्रकाशित: १० श्रावण २०७२ २०:१८ आइतबार





