२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

बल्झिएका सपनाहरू

दिउँसो चार बजे आँखा खुल्दा मानिसहरू सलबलाइरहेका थिए। तर को हुन्, के बोलिरहेका छन्, पत्तो पाइनँ। आँखा आधासरो खुल्थ्यो अनि फेरि मान्छे र बोली ठम्याउन नपाउँदै कताकता हराउन पुग्थेँ म। अर्धचेत अवस्थावाट सामान्य हुँदा करिब छ बजिसकेको थियो।बाहिर झमझम पानी परिरहेकाले दिन धुम्म थियो। नीरस दिनझैं मेरो मनचाहिँ ओइलाएको थियो। छेउमा निन्याउरो र उदास तर मेरा लागि हाँसिरहेका उनलाई हेरेर बल्लतल्ल हाँसिदिएँ। उनको मनमा शीतलता महसुस भयो होला। अलि चम्किलो भएझैं लाग्यो उनको मुहार। साह्रै माया गर्ने मेरी दिदी मैले आँखा खोलेको देखेर अलिकति मुस्कुराइन्। उनी मुस्कुराउँदा धुम्म परेको दिन पनि उज्यालोे जस्तो लाग्छ। काखे छोरी लिएर बिहानैदेखि मेरो वरिपरि घुमिरहेकी छन्, उनी पनि। दिदीबैनीको साइनोमात्र हो, आत्मीयताले हामीलाई त्यो साइनोभन्दा धेरैमाथि धेरै नजिक बनाइदिएको छ। उनलाई भेट्न नपाएको एक दिन महिना र महिना वर्ष दिनजस्तो लाग्छ मलाई। उनलाई त अझै बढी हुन्छ होला, व्यवहारले त्यस्तै लाग्छ।

चितवनवाट आमा पनि आउनुभएको छ। दुई वर्षअघि मात्र जेठो छोराको बुहारीको अकालमा ज्यान गयो। एक हप्ताको ज्वरोले लग्यो रे— सबैले त्यसै भन्छन्। दुई वर्षपछि कान्छी बुहारीलाई यो हालतमा देख्दा उहाँको मन पनि नआत्तिएको कहाँ होला र? करिब छ घन्टासम्म म बेहोस र झन्डैझन्डै लासजस्तै लडिरहेको देख्दा उहाँको मनले केमात्रै सोच्न भ्याएन होला? आखिर मन पापी नै त हो। मेलै आँखा खोल्दा उहाँ पनि मलिनो हाँसो हाँस्दै खुसी देखिनुभयो। दिदीकी काखे छोरी पनि तोतेबोलीमा सम्बोधन गर्दै मसँग लेपासिन आई। बोल्न र देखाउन जान्दिन तर मलाई लाग्छ यसले पनि मलाई साह्रै माया गर्छे। हुन त आफू कमजोर भएका बेला न हो मान्छेले अरूको माया खोज्ने। स्वार्थी मान्छे! म पनि अछुतो त कहाँ छु र? अर्धचेत के बोलेँ थाहा छैन। धेरैपटक भनेँ अरे, 'ममी–बुवालाई फोन गर। भाइलाई भन्देऊ— म ठिक छु।' ठिक त के हुन्थेँ।

...

आज बुधबार हो। असारको अन्तिम दिन। सोमबार बेलुकादेखि पेटमा चारो परेको छैन। शरीर शिथिल छ। तर पनि अबचाहिँ लाग्दै थियो— उठेर कतै कुद्न पाए हुने। कुनै अर्कै संसारमा। खुला आकाशमा। तर सकिनँ। पखेटा काटेको पन्छीजस्तो भएको थिएँ म। सबेरैदेखि ओछ्यानसँगको मित्रता, नसानसामा औषधिको प्रवाह। झरीले बाहिर शीतल भए तापनि मेरोे शरीरबाट बाफ निस्किरहेकेा थियोे। पाकिरहेको थियो— शरीर अनि मन। घाँटीमा ठूलो लुँडोले बेस्सरी कसेझैं भएको थियो। बोल्ने हिम्मत थिएन। अर्धचेत अवस्थामा बोल्दा पनि सबैले नबोल्न इसारा गर्दै थिए। तर मैले केके बोलेँ अरे। अरूले नबोल्न भन्दा पनि मलाई चाहिँ साह्रै खसखस भइरहेको थियो— बोल्न नपाएर। मान्छेलाई नगर भनेको काम गर्न मन लाग्छ अरे। मनै त हो मेरो पनि। शरीरको शिथिलताले गर्दा बोल्ने जाँगर मर्नमात्र बाँकी थियो। जाँगरै लागेे के नै पो गर्न सक्थेँ र म?

ममीले भनेको सम्झेँ— ज्यानमा बल र उमेर थप्न पाए म कति काम गर्थें। औधि जाँगर लाग्छ तर खुबी नै छैन। म सोच्थँे— जाँगर लागेपछि पनि काम गर्न नसक्ने हुन्छ? आफू परियो सहरले अल्छी बनाएको मान्छे। रहरले होइन। शिथिलताले गर्दा ममीको याद झनै आयो। मन अत्तालिएझंै भयो। भक्कानो छोडेर रुन मन लाग्यो। तर, के गर्ने छातीमा परेको गाँठो पनि त आखिर घाँटीबाट नै बाहिर निस्कने रै'छ।

काठमाडांैको शिक्षण अस्पतालमा बिरामीको चाप उत्तिकै। तथापि शान्त नै थियो हाम्रो कोठा। मनचाहिँ थिएन। दुई दिनपछि डाक्टरले घाँटीको पट्टी खोल्दा उनले अनुहार अमिलो बनाए। म भने घाँटीमा बेस्सरी कसिएको त्यो लुडो झिकेर फाल्न पाए सन्चो हुन्थ्यो भन्ने सुरमा थिए। दुई दिनदेखि झोल खाना र सलाइनको रसमा अडिएको मेरो शरीर। ऐनामा आफूलाई हेर्दा नीरस पाउँथे। केही बोल्न खोज्थेँ। बस्, मुख चल्थ्यो आवाज आउँदैनथ्यो।

आफ्नो प्रयासमा केही गर्न पाउँदा साह्रै खुसी लाग्छ मलाई। बुवा–ममीलाई विश्वास थियो— नराम्रो काम गर्दिनँ। विश्वास टुट्न पनि दिएको थिइनँ मैले। आफूले गरेको कामको प्रसंशा बटुल्न पाए फुरुंग हुन्छु। घरकी कान्छी छोरी, भाइको पनि कान्छी म। सबैले फुरुंग पारिदिँदा म झनै हौसिन्छु।

गाउँघरमा हुने कार्यक्रम होस् या स्कुल, बालक्लव जताततै भ्याउने बानीले अरूको अगाडि बोल्नु मेरा लागि नौलो थिएन। प्लस टु पास हुँदासम्म म, मेरो परिपक्वता जति विकसित भएको थियो, बानी पनि उत्ति नै। प्लस टु सक्दा नसक्दा मलाई हतार भइसकेको थियो— काम गर्न त्यो पनि सबैलाई देखाउने काम। मेरो मिसन गएर ठोक्कियो चितवनको कालिका एफएममा। कालिका एफएममा समाचार पढ्दै सुरु गरेको पत्रकारिता आठौं वसन्त पार गर्दै थियो। यही आठौं हिउँद–बर्खा बिताएको पत्रकारिताले शल्यक्रियाका लागि बाध्य बनाइदियो। घाँटीको भित्रपट्टि पलाएको सानो गिर्खा मेरो दैनिक जीवनमा एउटा ठूलो पहाड बनेर ठडिएको थियो। बोल्न भनेपछि फाल हालेर जाइलाग्ने म रेडियो र टेलिभिजनमा बोल्न नपरे हुन्थ्यो भन्ने अवस्थामा पुगिसकेको थिएँ। त्यही त हो समाज— जहाँनिर घाउ लागेको छ, त्यहीँ कोट्याउदा बडा मज्जा आउँछ उनीहरूलाई। जसले गर्दा पाइनविनाको हतियार भनेझैं भएको थियो, मेरो पत्रकारिता। त्यसैले डाक्टरको सल्लाहबमोजिम अपरेसन गर्ने निधो भयो। सोचेको थिएँ, नर्मल अपरेसन होला।
...
ऐनामा हेर्दै गर्दा आफ्नो घाँटीमा एक दर्जनभन्दा बढी टल्किएका टाँका देखेँ। फिल्मका डरलाग्दा दृश्यजस्तै अगाडिबाट लगभग आधाभन्दा बढी काटिएको थियो, मेरो घाँटी। छाँगाबाट खसेझैं भएको थिएँ, त्यो बेला। फिल्मका पर्दाका दृश्यजसरी मेरो विगत, वर्तमान अनि भविष्य पनि देखियो मैले हेरेको ऐनामा। ती टाँकाहरूले मेरो सपनालाई अनि भविष्यलाई जिस्काइरहेका थिए। अब रेडियो, टेलिभिजनमा बोल्न त के दुई–चार जना मान्छेको अगाडि बोल्न सक्ने पनि बाँकी रहिनँ म। यति धेरै निराश जिन्दगीमा पहिलोपटक भएको थिएँ। घाँटीमा एकै ठाँउमा गहिरो चिर्न नमिल्ने भएकाले यति धेरै काट्नुपरेको रे, डाक्टरको जवाफ थियो। हाम्रो गाउँका कसाईको भन्दा पनि कट्टर छ जस्तो लाग्छ, यी डाक्टरहरूको मन। मेरो घाँटीअगाडिबाट आधाभन्दा बढी सेरिएको छ। देख्दैमा चक्कर लाग्यो। अमिलो भयो मन। सात रेक्टर स्केलभन्दा माथिको भूकम्पले बेस्सरी हल्लाएझैं भयो मलाई। उठ्नै नसक्ने गरी थेचारेझैं भयो शरीर।

एक वर्षअगाडिको त्यो समय सम्भि्कँदा अझै पनि कहाली लाग्छ। करिब एक महिनासम्म ओछ्यानमा थलिनुको विकल्प थिएन। जिन्दगीका साढे दुई दशकलाई यसरी गन्ने फुर्सद नै कहाँ थियो र? तैपनि दिन, महिना र वसन्त फेरिएझंै मन पनि फेरिँदै जाँदो रहेछ। मनको घाउमा मल्हम लगाउने आफन्त र साथीसंगीले गर्दा कहिले कसो समय छोटिएझंै लाग्ने रहेछ। मानसिक रूपमा विक्षिप्त नभए पनि भौतिक रूपमा देखिएको विक्षिप्तताले मनमा चसक्क हुन्छ कहिलेकाहीँ। समयले भौतिक घाउमा मल्हम लगाएर निको हुनै लाग्दा फेरि बल्भि्कएका छन्, सपनाहरू। चौतारीमा विश्राम लिनका लागि रोकिएको यात्रीजस्तै अब फेरि गन्तव्यमा लाग्नुछ। धेरै टाढा छ गन्तव्य। नेपथ्यमा हेर्छु— अब नहिँडे कहाँ पुगिन्छ र? बल्भि्कएको घाउभन्दा त सपनाहरू पो चर्कंदा रहेछन्। चर्किएका सपनाहरूले अत्तालिएको मनलाई आफंै ढाडस दिन्छु। पुरानै यात्राको निरन्तरताको लागि।

प्रकाशित: १ श्रावण २०७२ २२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App