९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

मनै त हो

अघिल्लो हप्ता गोरखाको बालुवा बजार पुगेका बेला यी वृद्धाको तस्बिर खिच्न खोजेको मात्र थिएँ, छेउमै रहेका वृद्ध हत्त न पत्त जस्ताको छाप्रोबाट निस्किए र चिच्याउँदै भन्न लागे, 'काँ त्यसको मात्र फोटो खिचेको...?' त्यसपछि महिलातिर फर्कंदै दागा धरे, 'मलाई छाडेर एक्लै फोटो खिच्चेस्, पख्लिस् तँलाई भरे!' बु‰दा थाहा भयो, यिनीहरू त ६७ वर्षदेखि सँगै दुःख–सुःख साट्दै बसेका श्रीमान्–श्रीमती पो रहेछन्— कैले र पार्वती गुरुङ।


यसपालिको भूकम्पको केन्द्रबिन्दु बारपाकको मान्द्रेबाट ३० मिनेटको बाटोमा पर्ने बालुवा गाउँमा भेटिएका यी दम्पतीमध्ये श्रीमतीचाहिँ १९९० सालको भूकम्प जाँदा दुई वर्षकी रहिछन् भने श्रीमान् त्यसै साल जन्मेका। १९९० सालको भूकम्पबारे दुवैलाई केही याद नभए पनि यसपालिकोले बेघर बनाइदियो।

तस्बिर खिच्दै गर्दा 'तपाईंले त बूढीलाई पख्लिस् तँलाई भरे भनेर किन थर्काउनुभएको' भनेर सोधेको मात्रै थिएँ, बूढाले त जोसिँदै भने, 'बेलुका बूढाबूढीले के गर्छन्, त्यही भनेको हो!' उनको उक्त प्रतिक्रियापछि दुवैको अनुहारमा देखिएको उन्मुक्त र निश्छल हाँसो हो यो। तन बूढो भए पनि मन बूढो हुँदैन भनेको यसैले होला सायद। आखिर मान्छेको मनै न हो, त्यति सजिलै कहाँ बूढो हुन्छ र!

प्रकाशित: १ श्रावण २०७२ २२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App