सीतापुर गाविसका सचिव अर्जुन ओलीले अन्योल पोखे, 'सात वटाजति मस्यौदा गाविस कार्यालयमा आएको छ, यसलाई के गर्ने नगर्नेबारे केही भनिएको छैन।' नौ वडा रहेको सीतापुरमा आफूहरूलाई सातप्रति मस्यौदा प्राप्त भएको भन्दै ओलीले राजनीतिक दलका सबै प्रतिनिधिलाई वितरण गर्न नपुग्ने बताए।
लहान नगरपालिकाका कार्यकारी अधिकृत तथा क्षेत्र नम्बर–१ को मत संकलन केन्द्रका अधिकृत कृष्णबहादुर कार्की भने मत संकलन ४ र ५ गते हुने भएकोले २ गतेबाट काम थाल्ने बताउँछन्। 'हामीसँग भएको २५ थान मस्यौदा दलका नगरस्तरीय प्रतिनिधिलाई वितरण गछर्ौं,' उनले भने, 'सबै जनतालाई मस्यौदा दिन सम्भव छैन।' विभिन्न माध्यमबाट आफैं थाहा पाएर साउन ५ गते मत संकलन केन्द्रमा आउन उनले सर्वसाधारणलाई आग्रह पनि गरेका छन्।
कार्कीले भनेजस्तै सीमित मस्यौदाका कारण सबै जनताले हो हेर्न पाउनेछैनन्। 'मत संकलन केन्द्रमा मस्यौदाको मूल अंश वाचन गर्ने र सुनेर सहभागीले मत जाहेर गर्ने व्यवस्था मिलाउँछौं,' उनी भन्छन्।
साउन ४ गते राजनीतिक दल, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरूको मत संकलनका लागि बिहान ११ बजेदेखि कर्मचारी र सभासदहरू उपस्थित हुनेछन्।
सदरमुकाममा चहलपहल
जिल्ला सदरमुकाम सिरहामा यति बेला मत संकलन केन्द्रमा खटिने कर्मचारीहरूको प्रशिक्षण कार्यक्रम चलिरहेको छ। मत संकलन केन्द्रको सुरक्षा व्यवस्थापनबारे सुरक्षा अधिकारीहरूको बैठक पनि दिनहुँजसो भइरहेका छन्। जिल्ला प्रशासन र जिल्ला विकास समितिको समीक्षलयमा मस्यौदाबारे हुने कार्यक्रमले चहलपहल निकै बढेको छ।
प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माका अनुसार केही दलले मत संकलन केन्द्रमा अवरोध गर्ने सूचना आएको छ। 'मत संकलन केन्द्रको पाँच सय मिटर घेरामा आन्दोलन र विरोधका कार्यक्रमलाई पूर्ण रूपमा रोक लगाइनेछ,' उनले भने, 'मत जाहेर गर्न आउने, मत संकलनमा खटिने कर्मचारी र सभासदहरूको सुरक्षामा कुनै समस्या आउनेछैन।' जिल्लाभरिका सरकारी कार्यालयको सवारी साधनलाई मत संकलन केन्द्रमा खटिने कर्मचारी र सभासदका लागि प्रयोग गरिने उनले जानकारी दिए।
सदरमुकाममा चहलपहल बढे पनि सिरहा क्षेत्र नम्बर–४ फुलकाहाकट्टीका वैद्यनाथ साहलाई जनमत संकलन टोली खटिएको बारे जानकारी छैन। 'संविधान बन्दै छ भन्ने सुनेको छु,' उनले अनभिज्ञता जाहेर गरे, 'हाम्रो सुझाव लिन टोली आएको बारे अहिलेसम्म थाहा भएन।'
धेरै वर्षपछि देशले नयाँ संविधान पाउने भएपछि साह खुसी छन्। खबर भए आफ्नो मत राख्ने योजना छ, उनको। 'मधेसीको हकअधिकार सुनिश्चित होस्,' उनले विचार राखे, 'हरेक निकायमा समानुपातिक प्रतिनिधित्व र संघीतामा मधेस प्रदेश राखे राम्रो हुन्छ।
संविधानको मस्यौदाप्रति जनताको उत्साह त छ तर सबै ठाउँमा खबर पुगेको छैन। सफटेक कलेजका संस्थापक डा.महादेव साह भन्छन्, 'मत संकलन कार्य मस्यौदामा तकनिकी सुधारका लागि हो। सबैको सुझाव लिनुभन्दा पनि प्रतिनिधिमूलक सहभागिता भए पुग्छ।' अब सैद्धान्तिक सुधार सम्भव नभएकाले मस्यौदालाई जनतामा लग्ने प्रक्रिया औपचारिकता मात्र भएको उनको भनाइ छ।
सीमित केन्द्र
छ वटा निर्वाचन क्षेत्र रहेका सिरहा जिल्लामा सुरक्षाको कारण देखाउँदै छ वटामात्र मत संकलन केन्द्र तय गरिएको छ।
क्षेत्र नम्बर–१ का लागि लहानस्थित मारवाडी सेवा सदन, २ का लागि माध्यमिक विद्यालय महेशबारी, ३ का लागि जिल्ला विकास समीक्षालय, ४ का लागि धनगढी प्राकृतिक चिकित्सालय, ५ का लगि मोहन उच्च मावि मिर्चैया र क्षेत्र नम्बर ६ का लागि कल्याणपुर कृषि बजारलाई सुझाव संकलन केन्द्र निर्धारण गरिएको छ। यी स्थानमा जनता आफंै पुगेर मस्यौतामा मत दिनुपर्नेछ।
मधेसी लगायतका दलहरूले मत संकलनमा अवरोध गर्ने गरी कार्यक्रम घोषणा गरेकाले सीमित केन्द्र बनाइएको प्रजिअ मानबहादुर विश्वकर्माले जानकारी दिए। मत संकलन केन्द्रमा सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति हुने र कुनै पनि अवरोधका कार्यक्रमलाई निस्तेज पारिने उनको भनाइ छ।
अहिले संविधानको प्रारम्भिक मस्यौदा जिल्ला शिक्षा कार्यालयमार्फत स्रोत व्यक्तिहरूलाई जिम्मा लगाउने काम भइरहेको छ। जिल्ला विकास समितिमार्फत गाविसका सचिवहरूलाई गाउँगाउँमा मस्यौदा पुर्यालउने जिम्मेवारी दिइएको प्रजिअ विश्वकर्माले बताए।
मस्यौदामा मत पेस गर्न आउनका लागि गाविस सचिवहरूले विभिन्न माध्यममार्फत जनतालाई अनुरोध गर्नेछन्। मस्यौदासहित गाउँमा पुगेर गर्ने कार्यबारे सदरमुकाममा प्रशिक्षण दिइएको स्थानीय विकास अधिकारी गोपालप्रसाद अधिकारीले बताए।
स्थानीयस्तरमा गाविस र नगरपालिका अधिकृतले सर्वपक्षीय भेला बोलाएर साउन २ गते मस्यौदाउपर छलफल गराई लिखित रूपमा सुझाव संकलन गर्ने कार्यक्रम तयार गरिएको छ। गाविस सचिव र नगरपालिका अधिकृतमार्फत प्रत्येेक वडामा मस्यौदा वितरण गर्ने तयारी छ। 'वडामा वितरण गरिएको मस्यौदाबारे वडाभरका जनतालाई जानकारी गराउनेछौं,' अधिकारीले भने, 'मस्यौदाबारे धारणा बनाएर जनताहरू सुझाव संकलन केन्द्रमा आउनेछन्।'
पहिलो मस्यौदामाथि सुझाव संकलनमा जनता जुटाउन स्थानीय रेडियो र पत्रपत्रिकामार्फत प्रचारप्रसारको जिम्मेवारी जिविसलाई तोकिएको छ।
सभासद कहाँकहाँ
क्षेत्र नम्बर–१ को मत संकलन केन्द्र मारवाडी सेवा सदनमा सभासदहरू पद्मनारायण चौधरी, अजयशंकर नायक, निर्जला राउत र ममता गिरी। क्षेत्र नम्बर–२ को मावि महेशबारीमा सभासदहरू रामचन्द्र यादव र अमियकुमार यादव। ३ को जिविस समीक्षालयमा सीतादेवी यादव, आशा यादव, सरिताकुमारी यादव र पवन कुमार शारडा। ४ को धनगढी प्राकृतिक चिकित्सालयमा उषा यादव, रामचन्द्र यादव र धनो महतो। ५ को मोहन उच्च माविमा पुष्पकमल दाहाल, धर्मनाथ प्रसाद साह, प्रदीप गिरि, वीरेन्द्रप्रसाद महतो। र, क्षेत्र नम्बर– ६ को कल्याणपुर कृषि बजारमा गणेश मण्डल, मोख्तार अहमद र विश्वेन्द्र पासवान सहभागी हुनेछन्।
प्रकाशित: १ श्रावण २०७२ २०:२४ शुक्रबार





