१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

ठूलो सपना देख्न आग्रह

ललितपुर- 'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म' र 'साक्षर संसारतर्फ' पुस्तकका लेखक तथा रुम टु रिड संस्थाका संस्थापक जोन वुडले आफ्नो पछिल्लो पुस्तकको प्रचार कार्यक्रममा युवापुस्तालाई ठूलो सपना पछ्याउन आग्रह गरेका छन्।

सोमबार होटल हिमालय कुपन्डोलमा आयोजित 'टेक द लिड' संवाद कार्यक्रममा अभियन्ता अनिल चित्रकारसँग कुरा गर्दै उनले आफूले पनि नेपालबाट पुस्तकालयका लागि काम गर्दै जाँदा सन् २०२० सम्म संसारका २० करोडभन्दा बढी महिला तथा बालिकाहरुका शिक्षाका लागि काम गर्ने दुरुह सपना पूरा गर्ने बाटोमा पुगेको बताए।

'मैले सुरुमा नेपालको एउटा विद्यालयबाट काम गरेको थिएँ र त्यहाँ जम्मा ४ सय ५० विद्यार्थी थिए, यतिबेला शिक्षामा पिछडिएका अफ्रिका र एसियाका ९० लाख बढी बालबालिकाका लागि काम गरिरहेको छु,' उनले गर्वका साथ सुनाए, 'यो क्रम बिस्तारै बढ्दैछ र यसमा पूर्व राष्ट्रपति बिल क्लिन्टन र अन्य हस्तीले पनि सघाएर सपना पूरा गर्ने लक्ष्यतर्फ बढिरहेको छु।'

उनले बेस्कन काम गर्दै सफलतालाई उत्सव मनाउन भुल्न नहुने पनि बताए। 'हामी मरेर काम गर्छौं र सानो सफलतालाई पनि हामी ठूलो उत्सवका रुपमा मनाउँछौँ,' उनले भने, 'यसले हामीलाई ताजा बनाउँछ, अझ बढी गर्न प्रेरित गर्छ।'

रुम टु रिडले बनाएका कैयौं स्कुल तथा पुस्तकालयलाई वैशाख १२ को भूकम्पले ध्वस्त बनाए पनि उनी आशावादी देखिए। उनले भने, 'हामीले बनाएको संरचनाहरुमध्ये ७ प्रतिशत मात्र भत्किए तर नेपाल सरकारले बनाएका ७० प्रतिशत संरचनाहरु ध्वस्त भए। यसबाट हामीले कति पुख्ता काम गरेछौँ भनेर सन्तोष लागेको छ।' उनले आफूले स्थानीय जनतासँग मिलेर गरेको काम र स्थानीय प्रविधि सरकारसँग साटासाट गरी सहयोग गर्न मन लागेको पनि जनाए।

भूकम्प जाँदा उनी आफू अमेरिकामै भएको र तत्काल आउन मन लागे पनि भूकम्पपछि पुनर्निर्माणका बेला आफ्नो आवश्यकता बढी पर्ने भन्दै स्कुल पुनर्निर्माणका लागि रकम र सहयोग जुटाउन लागिपरेको उनले बताए। उनले अमेरिकी जनताले स्कुल पुनर्निर्माणमा खुला दिलले सहयोग गरेको र केही समयभित्रै काम सुरु गर्ने बताए।

सन् २००० मा उनले स्थापना गरेको रुम टु रिडले नेपालका अतिरिक्त दक्षिण अफ्रिका, जाम्बिया, तान्जानिया, श्रीलंका, भारत, बंगलादेश, लाओस, कम्बोडिया र भियतनाममा काम गरिरहेको छ।

आफ्नो संस्था यति सशक्त रुपमा अघि बढ्न सक्नुमा आफ्ना सहकर्मीहरुको शिक्षाप्रतिको प्रतिवद्धताले ठूलो भूमिका खेलेको बताए। पछिल्लो कृति 'साक्षर संसारतर्फ'बारे बोल्दै उनले भने, 'किताब लेख्नु सबैभन्दा कठिन काम हो तर मैले यो कठिन काममा किन हात हालेँ भने, मैले सामाजिक क्षेत्रमा काम गर्दा धेरै अप्ठेरो भोगेँ र दुःख पाएँ। मैलेजस्तै दुःख नपाइयोस् र मजस्तै काम गर्न रुचि हुनेले ती समस्याबाट पाठ सिकून् भन्ने उद्देश्य हो।'

व्यावसायिक सफलताको सूत्र चाहनेका लागि पनि यो पुस्तकले काम गर्ने उनको दाबी थियो। उडले भने, 'आफूले गरेको काम पर्फेक्ट (पूर्ण) नहुन सक्छ, पहिलो काम कठिन हुन सक्छ तर तपाईंले बुझ्न जरुरी छ, तपाईंले गरेन भने कसैले पनि गर्नेछैन। त्यसैले त्यो कामका लागि तपाईंजत्तिको उपयोगी व्यक्ति अरु हुनै सक्तैन।' आफ्नो सपनाको काममा लागिपर्ने र त्यसलाई वृहद्स्तरमा सोच्ने व्यक्तिले ठूलो सफलता हात पार्ने आफ्नै जीवनबाट सिक्न सकिने पनि उनले बताए।

रुम टु रिडले विद्यालय भवन बनाउने मात्र होइन सन् २००४ देखि पुस्तकालयमा स्थानीय भाषामा पुस्तक पनि उपलब्ध गराउन थालेको छ। 'आफ्नै मातृभाषाका पुस्तकमा बालबालिका बढी रम्न थालेको पाएपछि हामीले स्थानीय भाषामा पुस्तक पनि छापेका थियौँ र यसको सफलताबाट म ज्यादै उत्साहित छु,' उनले भने।

नेपालमा भूकम्पपछि धेरै ठाउँ ध्वस्त भए पनि आफूले आफ्ना पुराना स्कुल निर्माणमा नै ध्यान केन्द्रित गर्ने बताए, 'मसँग भएको पैसाले ती स्कुल पुनः उठे भने मात्र म अन्य जिल्लातिर ध्यान दिन्छु तर मेरो प्राथमिकता चाहिँ पहिले काम गरिरहेका धादिङ लगायतका जिल्लामै केन्द्रित हुनेछ।'

उनले एक प्रश्नको जवाफमा बिल र मेलिन्डा गेट्स फाउन्डेसनले समाजसेवाका क्षेत्रमा ठूलो काम गरिरहेकाले प्रशंसा समेत गरे। 'केही सीमित धनीहरुले धमाधम मृत्युअघि नै दान गर्न थालेपछि अन्य अर्बपतिहरुलाई पनि यसले दबाब दिएको छ,' उनले पछिल्लो समय दानको रकम केही बढेकोमा आशावादी हुँदै भने, 'यो क्रम बिस्तारै अमेरिका र युरोपबाट बढेर एसियामा छिर्नेमा म आशावादी छु। खासगरी एसियाली विकसित देशहरुले शिक्षामा लगानी केन्द्रित गरे भने र त्यसको राम्रो परिणाम आए रुम टु रिड देश छाडेर जान इच्छुक छ।' उनले पछिल्लो समय भियतनामले गरेको आर्थिक विकासका कारण केही वर्षपछि आफ्नो संस्थाको आवश्यकता नपर्न पनि सक्ने जनाए।

उनले शिक्षाकै कारण सिंगापुरले विकास गरेको हुनाले अन्य देशले पनि उसबाट सिक्न सक्ने बताए। आफ्ना पूर्व राष्ट्रपति जिम्मी कार्टर ९० वर्ष कटिसक्दा पनि संसारभरको प्रजातन्त्र र शान्तिका लागि डटिरहेको देखेकाले आफ्नो जीवनको अन्तिम समयसम्म पनि जनहितका लागि संसारभर काम गर्न पाउँ भन्ने उनको इच्छा रहेको बताए। उनले भने, 'जुन दिन म पूरै संसार साक्षर भएको देख्नेछु, त्यो बेलामात्र मलाई चैन आउनेछ।'

प्रकाशित: २८ असार २०७२ २१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App