१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

बालबालिकामा डर

नेपालमा केही दिनअगाडि गएको भूकम्प अकल्पनीय एवं त्रासदीपूर्ण बनेको छ। जोकोही भूकम्पबाट नराम्रोसँग आत्तिएका छन्। फेरि आउने हो कि भन्ने डर अझै पनि मनमा लुकेको पाइन्छ।बालबालिकाको कुरा गर्दा प्रायः घर भत्किएर विभिन्न शिविरमा बस्ने केटाकेटीलाई बढी ध्यान दिएको र केही चोटपटक लागेका घाइतेलाई प्राथमिकता दिएको पाइन्छ। तर यो भूकम्पको मनोवैज्ञानिक प्रभाव सबै केटाकेटी त्यसमा पनि रोगी, बिरामी र बालबालिकामा समेत पर्ने कुरालाई बिर्सनु हुँदैन। बालगृहका बालबालिका र विभिन्न उपचार लिइरहेका बिरामी बालबालिका अन्यको तुलनामा बढी त्रसित, चिन्तित एवं प्रभावित भएको पाइन्छ।

बालगृहमा अधिकांशलाई सुत्न जान मन लाग्दैन, खेल्न र कुरा गर्न मन लाग्दैन। उनीहरू भन्छन्, 'मरिन्छ भन्ने डर लाग्छ।' कोही भन्छन्, 'हामी सबै जना मर्ने भए त हुन्थ्यो।' अर्को चिन्ता पनि सुनिन्छ, 'कोही मर्ने र कोही नमर्ने अथवा घाइते भइयो भने...।' शंकैशंकाले उनीहरूको मन र आत्मबललाई कमजोर बनाएको छ। कोही बाहिर खुला मैदानमा मात्र बस्न रुचाउँछन् भने कोही कोठाको कुनो भागमा डराएर बस्छन्। उनीहरूको दैनिकी, स्वाभाविक व्यवहार र जिम्मेदारी अस्तव्यस्त बनेको छ।

बाह्र वर्षका एक बालक भुइँचालो जाँदा आफ्नो धरको तेस्रो तलामा टिभी हेर्दै रहेछन्। त्यत्तिकैमा टिभी जोडजोडले हल्लिन थालेपछि के भयो भन्नेबारे सम्झन र भन्न रुचाउँदैनन्। उनको अहिलेसम्म पनि अनुहारको रङ उडेको छ। टोलाइरहन्छन्। टिभी हेर्दैनन् र त्यससम्बन्धी कुरै गर्न चाहँदैनन्। त्यतिमात्र होइन उनी कुनै घरभित्र पस्न मान्दैनन्।

एक बालिकाकी आमा भूकम्प आउँदा बालिकालाई कोठामा एक्लै छाडेर बाहिर दौडिएकी रहिछन्। अहिले ती बालिका आमाप्रति आक्रोश व्यक्त गरिरहन्छिन्। आमालाई देख्नासाथ पिट्ने, चिथोर्ने र ज्यादै दुःख दिन थालेकी छन्।

दस वर्ष भइसकेको बालकले ओछ्यानमा राति पिसाब फेर्न थालेको गुनासो एउटी आमाले गरिन्। एकदम शान्त, ज्ञानी छोरामा हालसाल आएर जिद्दी गर्ने, रिसाइरहने, धेरै चकचक गर्ने र निद्रामा तर्सने, पिसाब फेर्नेजस्ता समस्या देखिएको छ। यस्तै थुप्रैै समस्या अहिले बालबालिकामा देखिएको पाइन्छ। धेरै बालबालिका आफ्नो मनमा फेरि भुइँचालो जाला र घर भत्किएला, भाग्न नपाइएला, आफू र आफ्ना मानिस मर्लान् भन्ने चिन्ता हुने गरेको बताउँछन्। केही बालबालिकाले चाहिँ निद्रामा झस्कने, वान्ता होला जस्तो हुने, कसैलाई धेरै खान मन लाग्ने र कसैलाई खानै मन नलाग्ने कताकता हराउने अथवा टोलाएर बस्ने, झस्किरहने र के गरूँ कसो गरूँ जस्तो छटपटी चलिरहेको समस्या रहेको बताए। कुनै किसिमको दुर्घटना एवं विपद्पछि केटाकेटीको मनोविज्ञानमा पार्ने यस्ता प्रभाव सामान्य हुन्। समय र परिस्थिति सामान्य एवं सहज बन्दै गएपछि यी समस्या पनि बिस्तारै हराउँदै जान्छन्। यदी हराएनन् भने बालमनोविज्ञसँग भेट्ने र सल्लाह सुझाव लिने गर्नुपर्छ अन्यथा समस्या जटिल बढ्न सक्छ।

बालमनोविज्ञानमा भूकम्पले पारेको असरबारे प्रत्येक अभिभावक सचेत बन्नुपर्दछ। केटाकेटीले सबभन्दा बढी माया र विश्वास आफ्ना आमाबुबा र शिक्षक–शिक्षिकालाई गर्ने भएकोले यस परिस्थितिमा आमाबुबा र शिक्षक वर्गलाई अब निर्वाह गर्नुपर्ने भूमिकाको सम्बन्धमा सचेत गराउनुपर्छ। बालबालिकाको मनमा परेको नकारात्मक असरलाई कसरी न्युन गराउन सकिन्छ भन्नेबारेमा विज्ञसँग परामर्श लिनु आवश्यक छ। साना केटाकेटीले वस्तुस्थितिलाई बु‰न नसक्ने भएको हुनाले अभिभावकको सामीप्यता, संयमता र विशेष सम्बन्धको महŒव हुन्छ। त्यसैगरी सात वर्ष उमेरभन्दा माथिका केटाकेटीले आफ्नै तरिकाबाट परिस्थितिको बुझाइ र व्याख्या गर्छन्, जुन सत्य नहुन पनि सक्छ। यस अवस्थामा केटाकेटीमा 'ट्रमा' हुन सक्छ। तसर्थ अभिभावकले केटाकेटीले बु‰नेगरी सहज र वैज्ञानिक सत्य तथ्यलाई बुझाउने गर्नुपर्छ। मनमा लुकेको डर र चिन्तालाई अभिव्यक्त गर्न सक्ने वातावरणमा खेल्न, कथा भन्न, चित्र कोर्न, रङ भर्न, नाचगान र मनोरन्जनात्मक क्रियाकलापमा व्यस्त हुन प्रेरित गराउनुपर्दछ। यदि यस्ता कुरालाई प्राथमिकताका साथ अवलम्बन गर्न सकेनौं भने मनोवैज्ञानिक असर जटिल बन्न पुग्दछ जसलाई 'पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर' भनिन्छ। यसले बालबालिकाको मानसिक एवं शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पुग्छ। तसर्थ अभिभावकले तलका कुरामा ध्यान दिन सके बालबालिकाको मनोविज्ञानमा परेको असरलाई केही हदसम्म कम गराउन सकिन्छ।

–केटाकेटीसँग सामीप्यता बढाउनुपर्दछ, जसले गर्दा असुरक्षाको भावनालाई कम गराउँछ।

–केटाकेटीको अगाडि नै आफू रुने, कराउने र विचलित हुने गर्नु हुँदैन। यसले उनीहरूमा अझ बढी चिन्ता र त्रास पैदा गराउँछ, जुन पछि गएर मानसिक रोग सिर्जना हुन सक्छ।

–केटाकेटीसँग निरन्तर कुरा गर्नुपर्छ। उनीहरूको मनमा दबिएको डर र चिन्तालाई अभिव्यक्त गराउने वातावरण बनाउन सक्नुपर्छ, जसले गर्दा मनोविज्ञानमा नराम्रो दबाब रहिरहँदैन।

–केटाकेटीको दैनिकी सामान्य बनाउन मद्दत गर्नुपर्छ। खेल्ने र साथीहरूसँग अन्तक्रिया गर्ने अवसरबाट वञ्चित गराउन हुँदैन।

–यदि उनीहरूमा मूर्च्छा पर्ने, टोलाइरहने, धेरै टाउको दुख्ने, शरीर दुख्ने, निद्रामा झस्कने, रुने, चिच्याउने, नखाने र वान्ता गरिरहने अस्वाभाविक व्यवहार देखिए बालमनोविज्ञसँग भेटेर सल्लाह लिनु राम्रो हुन्छ।

–नकारात्मक सोचको सञ्चार गर्नुहुँदैन र सक्दो सकारात्मक सोच र आत्मबल बढाउने किसिमको व्यवहार गर्नुपर्छ।

सह–प्राध्यापक, ‐त्रिचन्द्र कलेज

प्रकाशित: २५ असार २०७२ २३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App