९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

प्रिन्सटनमा डुलिरहने प्रेत-मान्छे

यहाँनेर सिधै एउटा प्रश्न सोध्न सकिन्छ- कि त कोही प्रेत हुनपर्ने, कि त मान्छे। कोही कसरी प्रेत–मान्छे हुन सक्छ? प्रेतको अवधारणा तब सुरु हुने न हो, जब वास्तविकताभन्दा अवास्तविकताप्रतिको विश्वास गाढा भएर आउँछ।वास्तविकता र अवास्तविकता सँगसँगै हिँडे भनेचाहिँ के हुन्छ? प्रेत–मान्छे वा मान्छे–प्रेत सँगसँगै हिँडेजस्तो हुन्छ। ठिक त्यसरी नै, जसरी जोन न्यास हिँड्ने गर्थे अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीको प्रांगणमा। उनको तर्साउने पाराको जीवनशैली र असामाजिक गुनगुनलाई सम्बोधन गर्दै न्यासका विद्यार्थीहरूले उनलाई 'प्रेत' भन्न सुरु गरेका थिए। प्रिन्सटनमा डुलिरहने उक्त प्रेत–मान्छेको कुरा गर्नुभन्दा अगाडि एउटा अर्कै मान्छेको कुरा!

उनको नाम के थियो? भुसुक्कै बिर्सें। उनको चेहरा ठ्याक्कै कस्तो थियो? त्यो पनि बिर्र्सें। तथ्यांकशास्त्रमा स्नातकोत्तर उनी, अक्सर हाम्रो बिल्डिङमा अर्थशास्त्रका कक्षा लिन आउँथे। उनले हामीसँगै अर्थशास्त्रको परीक्षा दिए वा दिएनन्? त्यो पनि बिर्सें। घुर्मैलो घुर्मैलो याद बाँकी छ, जुन यादमा उनको असामान्य अग्लो उचाइ र 'झापातिर घर' भन्ने कुरा बाँकी छ। सबैभन्दा बढी बाँकी छ, उनले पढ्न भनेर सुझाव दिएको एउटा किताब अर्थात् 'अ ब्युटिफुल माइन्ड'।

साठीको दशक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको पेरिफेरी। कोर्सको होस् वा कोर्सबाहिरका, म किताबसँग यति गहिरो प्रेममा थिएँ कि डुब्नका लागि किताब र कुरा गर्नका लागि किताबबाहेक मसँग अरू कुरै हुन्थेन। प्रेमको यात्रा बरु कहिले रफ्तारमा, कहिले घच्याकघुचुक हुँदै चलिरहेछ। खुसी हुँदा अन द रोड, रिसाउँदा अफ द रोड चलिरहेछ। किताबसँगको प्रेमको यात्रा भने अद्यावधि उही गति, उही प्यासन र उही रफ्तारमै चलिरहेछ।

किताबप्रतिको मेरो लगावलाई देखेर होला, उनी अक्सर खाली पिरियडहरूमा मसँग बोल्न इच्छुक देखिरहन्थे। त्यति बेलाकी घोर अन्तर्मुखी मान्छे म सकभर उनीसँग बोल्न नपरोस् भनेर अभोइड गरिरहन्थे। अभोइड गर्दागर्दै पनि अभोइड गर्नै नमिल्ने अवस्थामा भने म बोल्दथँे उनीसँग। हो, उनैको मुखबाट मैले पहिलोपटक जोन न्यासको जीवनमा आधारित 'अ ब्युटीफुल माइन्ड' नामक किताबको नाम सुनेकी थिएँ।

किताबका पानाहरूलाई छुँदा यसरी छुन मन लाग्छ कि त्यो छुवाइ आफूले पढेको किताब र आफूबीचमा मात्र रहिरहोस् भन्ने लाग्छ। त्यो छुवाइको मिठास र सौन्दर्य हराउँला भन्ने डरले लाइब्रेरीबाट वा कसैसँग सापटी मागेर म किताब पढ्दिनँ पनि प्रायः। फरर्र पानाहरू पल्टाउँदा आफूले पढ्ने प्रत्येक किताबबाट काँचोपनको जुन गन्ध आउँछ, मलाई सबैभन्दा बढी त्यसैले लठ्याउँछ। त्यो गन्धसँग साटिएको आफ्नो स्पर्श र नितान्त आफ्नोपनको यहसासलाई आफैंभित्र सुरक्षित राखिराख्न मन लाग्छ।

जमलको मण्डला बुक पोइन्टमा सिल्भिया नासरले लेखेको जोन न्यासको जीवनीमा आधारित उक्त किताब किनेपछि म अर्को नशाको निम्ति तयार हुँदै थिएँ, मानसिक रूपमा। मलाई त्यति बेला थाहा थिएन, त्रिभुवन विश्वविद्यालय ईश्वरी कन्या छात्रावासको ब्लक 'क' को रुम नं सातमा पढेको त्यो किताबको नशा आज एक दशकपछि पनि उत्तिकै र उस्तै गाढा बनिबस्नेछ। कुनै वाइन, टकिला वा स्कचको झैं भोलिपल्टै छोडिहाल्ने नशा होइन। राम्रो किताबको नशा नै यस्तो हुन्छ, एकपटक लागेपछि सधैं लाग्ने स्थायी नशा हुन्छ त्यो। कुन आवेगमा रमाउँदै पढेकी थिएँ मैले त्यो किताब? त्यो आवेगको सम्झना बाँकी छ। हरे म हुस्सु! जसले त्यो किताब पढ्नु भनेर भने, उनको नाम भने बिर्सें।

'अ ब्युटीफुल माइन्ड' पढ्नुअघि जोन न्यासको विम्ब भन्नु 'न्यास इक्विलिबरियम'को प्रवर्तक बाहेक केही थिएन मेरो दिमागमा। 'अ ब्युटिफुल माइन्ड' पढेपछि न्यासको जीवनका उतारचढावले मलाई यसरी छोएको थियो, आज पनि त्यति बेला पढेको कुरा सम्झँदा मेरो शरीरमा काँडा उम्रेझैं रौहरू उम्रन्छन्। एक तमासको हुरी चल्छ मन–मष्तिष्कमा र सम्पूर्ण आँत नै झसङ्–झसङ् हुन्छ।

रमाइलो कुरा त के छ भने सिल्भिया नासरले जोन न्यासको जीवनीलाई 'अ ब्युटिफिल माइन्ड'मा उतारिन्। न्यासले अर्थशास्त्रको गेम थ्योरीमा पुर्याजएको योगदानका लागि सन् १९९४ मा नोबेल पुरस्कार पाएका थिए। न्यासकै जीवनीमाथि आधारित किताब 'अ ब्युटिफुल माइन्ड'माथि रोन होबार्डले फिल्म निर्देशन गरे। उक्त फिल्मले सन् २०११ मा उत्कृष्ट फिल्मको अलावा उत्कृष्ट निर्देशन, स्त्रि्कनप्ले एडप्टेसन र सह–अभिनेत्री गरी चार वटा ओस्कार अवार्ड जित्न सफल भएको थियो।

आज आएर 'अ ब्युटिफुल माइन्ड' किताब र फिल्म दुुवै एक–अर्काका परिपूरक भएका छन्। किताबमाथि बनेका कतिपय फिल्महरूले किताबलाई यति अन्याय गर्छन् कि सुन्दर किताबमाथिको असुन्दर धब्बाबाहेक केही हुँदैन फिल्म। कतिपय चलचित्रले किताबको औसत उचाइ ह्वात्तै बढाएर चाहिनेभन्दा अलि बढी नै न्याय गर्छन्। पछिल्लोपटक 'द बुक थिप' एउटा यस्तो फिल्म हो, जसको वजन वास्तविक किताबको वजन र सौन्दर्यभन्दा बढी नै भएको महसुस जो कोहीलाई हुन्छ।

तर 'अ ब्युटीफुल माइन्ड' किताबको वजन र फिल्मको वजनमा कतैकुनै भिन्नता महसुस हुँदैन। वास्तविक किताबलाई फिल्मले न बढी न्याय गरेको छ, न अन्याय नै। तराजुको एकातिर किताब र अर्कोतरि किताबमाथि बनेको फिल्मलाई राखेर हेर्दा 'अ ब्युटिफुल माइन्ड' हर अर्थमा सन्तुलित र तारिफयोग्य छ। भलै फिल्ममा देखाइएका सत्यहरूले न्यासको जीवनको सत्यलाई पूर्णतः उतार्न नसकेको आरोप निर्देशकमाथि नलागेको होइन।

गेम थ्योरीअन्तर्गत कोअपरेटिभ र नन्–कोअपरेटिभ मोड्स, न्यास इक्युलिबरियम, बार्गेनिङ थ्योरी अर्थात अनेकन् गणितीय थ्योरीहरू। यी थ्योरीहरूको आडमा आजका कतिपय अर्थशास्त्र, राजनीतिशास्त्र र कम्प्युटर विज्ञानका उपलब्धि आँकलन गरिन्छन्। गेम थ्योरीले बजार र उपभोक्ताको मनोविज्ञानलाई यसरी केस्राकेस्रा केलाउँछ कि यसलाई अझै पनि 'सेक्सिएस्ट थ्योरी' मान्नेहरूको जमात ठूलै छ। जोन न्यासलाई बु‰न उनले प्रतिपादन गरेका गणितका अवधारणा र सूत्रमात्र होइन, उनले बाँचेको जीवनको अप्ठेरो गणित पनि सँगसँगै बु‰न जरुरी हुन्छ।

आम बच्चाले झैं जुन उमेरमा साथीहरूसँग निष्पि्कक्री खेल्दै, उफ्रँदै रमाउनुपर्ने हो, त्यो उमेरमा उनी एक्लै खेल्न रुचाउँथे। अन्य साथी फुटबल, भलिबल, लुकामारी खेलिरहेको बेला उनी किताबमा डुबिरहेका हुन्थे। गजधम्म बसेर एकान्तमा केके–केके सोचिरहेका हुन्थे। आफैंसँग बोलिरहेका हुन्थे। अन्य पिताहरूले आफ्ना बच्चाहरूलाई कलर गर्ने किताब ल्याइदिँदा उनको रुचिलाई मध्यनजर राखेर जोनका पिता उनलाई विज्ञानका किताब पढ्न ल्याइदिन्थे।

उनीभित्रको प्रतिभाको स्कुलमा कदर हुँदैनथ्यो। घोर एकांकी स्वभावको कारण उनलाई असामाजिक बच्चाको रूपमा हेरिन्थ्यो र उनी त्यही मनोविज्ञानमा हुर्कंदै गए। उनी स्कुलमा अरूहरूसँग बोर हुन्थे। अरूहरू उनीसँग बोर हुन्थे। अरू त अरू, उनकी आफ्नै बैनी मार्था पनि उनीसँग बोर हुन्थिन्। १२ वर्षको उमेरमा घरैमा वैज्ञानिक परीक्षण गर्न रुचाउने उनको डरलाग्दो स्वभावसँग अन्य बच्चाहरूको स्वभावको तालमेल नमिल्नु स्वभाविकै थियो। उनले एक्लैले घरमा जे सिके, दर्जनांै शिक्षकले स्कुलमा त्यसको एक अंश पनि सिकाएनन्, उनलाई।

गणितज्ञको रूपमा उनको उदय केही वर्षपछि मात्र भयो। तर त्यो उदयको बीजारोपण चौध वर्षको उमेरमा भएको देखिन्छ। इटी बेलको मेन अफ म्याथम्याटिक्स नबुझे पनि त्यो किताबले उनको गणितप्रतिको लगावलाई यसरी जगाइदियो, जुन लगावमा आरोहणमात्र थियो, अवतरण थिएन। बिस्तारै त्यो लगाव यस्तो प्यासनमा बदलियो, जुन प्यासनको आदि थियो, तर अन्त्य थिएन।

त्यसो त गणितसँगसँगै रसायनशास्त्रमा पनि उनी उत्ति नै रुचि राख्थे। सन् १९४१ मा ब्लुफिल्ड कलेजमा गणितसँगै रसायनशास्त्र पढ्न भर्ना भए उनी। पछि रसायनशास्त्रभन्दा बढी गणिततर्फ ढल्किए र जीवनभर ढल्किरहे। नन्–कोअपरेटिभ गेममा २७ पेज लामो थेसिस लेखेर २१ वर्षकै उमेरका उनले पिएचडीको उपाधि हासिल गरे। ३० वर्षको उमेरमै एक गणितज्ञको रूपमा उनको उदयलाई फोरच्युन म्यागेजिनले समेत 'अबको समयको स्टार गणितज्ञ' भनेर उनलाई प्रस्तुत गरेको पाइन्छ। ३० को उमेरमै सबैको ध्यान तान्दै स्पट लाइटमा हुन सानोतिनो प्रतिभाको बसको कुरै थिएन। आफ्नो उमेरभन्दा दोब्बर गतिमा अगाडि बढिरहेको उनको हिँडाइको गतिलाई भेट्न उनका साथीलाई त हम्मे पर्थ्योपर्थ्यो, स्वयं उनी पनि आफ्नै गतिसँग रन्थनिन्थे, कैयौंपटक।

आफ्नो समयमा समकालीनहरूमाझ प्रशंसा बटुल्न तीक्ष्ण दिमागबाहेक अरू केही थिएन उनीसँग। उनलाई मन नपराउनका लागि मन नपराउनेहरूसँग सयौं कारण थिए। उनलाई मन पराउन भने उनको एउटै कारण काफी थियो— तीक्ष्ण दिमाग।

होइन भने उनी यति साह्रो अक्कडे र बाउँडिएका थिए कि कुन बेलामा उनले के गर्ने हो, कसैले अनुमानसम्म गर्न सक्थेन। जोनको पहिलो प्रेम आफूभन्दा पाँच वर्ष जेठी नर्स एलेनोर स्टिअरसँग भएको थियो। जब एलेनोर गर्भवती भइन्, न्यासले उनलाई छोडिदिए। यतिसम्म कि उनीबाट जन्मिएको बच्चालाई आफ्नो नामसमेत दिएनन्। न्यासको जीवनको क्रूरताको यो पाटोलाई सायदै व्याख्या गर्न सकिन्छ। कतिपयले अत्यन्तै गरिब परिवार र कमजोर पारिवारिक स्थिति भएकै कारण न्यासले एलेनोरलाई छोडेको भन्ने पनि आरोप छ।

लगत्तै एमआइटीमा प्रोफेसरको रूपमा पढाउँदा पढाउँदै एक मेधावी र अत्यन्त सुन्दर छात्रा एलिसियासँग उनको प्रेम सुरु भो। एलिसिया जोनको डरलाग्दो महŒवाकांक्षालाई मन पराउँथिन्। आफूभित्र जमेर बसेका कतिपय महŒवाकांक्षालाई समेत जोनमा नै प्रक्षेपित गरेर एलिसियाले फरक खाले बाटो रोजिन्। फरक स्वभावको मान्छे रोजिन्।

सन् १९५७ मा उनीहरूको बिहे भयो र लगभग दुई वर्ष यो जोडीको 'प्रेमविवाह' प्रेमविवाह नै रहिरह्यो। १९५९ मा जति बेला एलिसिया गर्भवती थइन्, जोन 'सिजोफ्रेनिया'जस्तो डरलाग्दो रोगको सिकार हुन पुगे। उक्त दिमागी रोगले उनी यतिसम्म पीडित भए कि वास्तविक संसार कुन हो? काल्पनिक संसार कुन हो? छुट्याउन असमर्थ हुन्थे। रेड टाईमा कसैलाई देख्यो कि कम्युनिस्ट भन्दै आफूलाई जासुसी गर्न आएको आरोप लगाउँथे।

सिजोफ्रेनिया रोग नै यस्तो हो, जुन रोगका बिरामी कुनै अज्ञात बाह्य शक्तिले आफ्नो मस्तिष्कभित्र घुसेर आफूलाई दास बनाइरहेको भ्रम र भयले ग्रसित हुन्छन्। न्यास पनि कुनै अज्ञात शक्तिले आफ्नो मस्तिष्कमा मेसिन फिट गरेर आफ्नो सोचाइमाथि राज गरिरहेको छ भन्ने आरोप लगाइरहन्थे। कहिले अर्कै ग्रहका मान्छेहरूले आफूलाई कोड भाषामा म्यासेज पठाइरहेको भ्रम, कहिले अमेरिकन म्याथम्याटेसिन सोसाइटीले आफ्नो गणितका सूत्रहरूलाई मस्तिष्कमै छिरेर ध्वस्त बनाइरहेको भ्रम, कहिले सिआइएले आफूलाई पछ्याएर आफूविरुद्व गम्भीर षडयन्त्र गर्दै छ भन्ने भ्रम। सिजोफ्रेनियाले सताइरहँदा उनी वास्तविक संसारमा कम, अवास्तविक संसारमा ज्यादा बाँच्थे।

सन् १९५८ मा जति बेला एलिसियाले हस्पिटलमा बच्चा जन्माइन्, त्यति बेला जोन आफ्नी सुत्केरी श्रीमती र नवजात शिशुलाई हेर्न जानसमेत सकेनन्। उनी सिजोफ्रेनियाले सिकिस्त भएर बोस्टनको मेन्टल हस्पिटलमा भर्ना गरिएका थिए। यसैबीच विवाहको लगभग छ वर्षपछि नै एलिसियासँग उनको डिभोर्स भइसकेको थियो। १० वर्षसम्म बारम्बारको इन्सुलिन कोमा थेरापी र एन्टिसाइकोनिक मेडिकेसनपश्चात् सन् १९७० बाट जोनले उपचारका सम्पूर्ण विधिलाई त्याग्ने निर्णय गरे।

डिभोर्सपश्चात् पनि एलिसियाले जोनको साथ भने छोडिनन्। सन् १९७० पश्चात् उनीहरू फेरि सँगै बस्न थाले। त्यसताका प्रिन्सटन युनिभर्सिटीमा रातबिरात जोन ओहोरदोहोर गरिरहन्थे। कोही नभएको बेला खाली कक्षाकोठाका भित्ता र ब्ल्याकबोर्डमा गणितका सूत्र लेखिरहन्थे। कहिलेकाहीँ त युनिभर्सिटीका भित्ताहरू रातभरिमै अनेक कोडहरूले भरिएका हुन्थे र प्रिन्सटनका विद्यार्थीलाई थाहा हुन्थ्यो, यो हर्कत अरू कसैको नभएर जोन न्यासकै हो भन्ने कुरा।

प्रेतझैं यताउता डुलिरहने र प्रेतकै अन्दाजमा प्रिन्सटनमा उनले गर्ने उटपट्याङ कुरालाई मध्यनजर गर्दै उनलाई प्रेेत उपनाम दिइएको थियो। असमान्य बौद्धिकताले भरिएको असमान्य प्रेत। मानसिक रोगले ग्रस्त तर अद्वितीय र अद्भूत प्रेत।

जोन न्यासलाई केही कुराले जोन न्यास बनायो भने सिजोफ्रेनियालाई जित्छु भनेर उनले आफंैसँग गरेको संघर्षले बनायो। गर्दागर्दैको उपचारलाई छोडेर उनी चौबीसै घन्टा आफैंसँग र आफैंभित्रको रोगसँग लडिरहे। वषर्ौंवर्ष लडिरहे। सिजोफ्रेनियाबाट पूर्ण रूपमा मुक्त हुन उनलाई लगभग तीन दशक लाग्यो।

फिल्ममा जस्तो जीवनले रि–टेकको मौका कमैलाई मात्र दिन्छ। जसको आत्मविश्वासको मात्रा दोब्बर हुन्छ, सायद उसैलाई मात्र दिन्छ। जोनको जीवनको रि–टेक आफंैमा गज्जब थियो। सिजोफ्रेनियाबाट मुक्त भएपछि उनले आफ्नो अध्ययन र अनुसन्धानलाई फेरि नयाँ दिशा दिए। अर्थशास्त्रको नोबेल पुरस्कारसमेत पाए। डिभोर्स भएको ३८ वर्षपछि सन् २००१ मा एलिसिया र जोनले पुनर्विवाह गरे। उक्त पुनर्विवाह समारोहमा जोन आफंैले आफ्नो विवाहलाई फिल्ममा जस्तै वास्वतिक जीवनको दोस्रो रि–टेक भनेर सबैको सामु स्वीकारेको पाइन्छ।

अफसोसको कुरा, जोन सिजोफ्रेनियाबाट मुक्त हुनासाथ उनको छोरा जोनीमा यो रोग देखापर्योो, जो आफैं एक चर्चित गणितज्ञ थिए। साधारण भएर साधारण जीवन बाँच्ने कुरा जोनको जीवनको प्याट्रनसँग मेल खाने कुरै थिएन। कुनै असाधारण कथाको असाधारण नायक बाचेझैं बाँचुन्जेल आफ्नो असाधारण नायकत्वले उनले सबैलाई सम्मोहित गरिरहे। उनी आफ्नो समयका एक विलक्षण अपवाद थिए, अधिकांशतः पचाउनै गाह्रो पर्ने हदसम्मको अपवाद। अफसोस, तिनै अपवाद अर्थात् जोन न्यास भर्खरै यो संसारबाट बिदा लिएर गएका छन् । ८६ वर्षको उमेरमा अमेरिकास्थित न्युजर्सीमा पत्नी एलिसियासँगै एउटा कार दुर्घटनामा परेर गत मे २३ गते उनले ज्यान गुमाए।

जोनको मृत्युको खबर सुन्नासाथ अभिनेता क्रोबेले एक अद्भूत साझेदारी, सुन्दर दिमाग र सुन्दर मन भएको प्रतिभा गुमाएको स्तब्धभावमा ट्वीट गरे। त्यो ट्वीट केवल क्रोबेको ट्वीट थिएन, जोन न्यासप्रति नतमस्तक करोडौं मनमुटुको साझा ट्वीट थियो।

जहाँ जोन न्यासका चेतन, अवचेतन मनका थुप्रै लिपि पोतिएका छन्, यति बेला प्रिन्सटन युनिभर्सिटी पक्कै मौन होला। न्यासका अत्यधिक पागलपन र सद्देपनका साक्षी त्यहाँका चौर र बाटाहरू, रूखहरू, कक्षाकोठा र कुर्ची, टेबलहरू सबैसबै मौन होलान्।

मौनताहरू बीच मौनताले नै भन्दै होला, 'आफंैभित्रको हत्यारा मानसिक रोगलाई पछारेर आफू उठ्न सक्ने साहसको पर्याय बनिसक्यो, मिथक बनिसक्यो।'

हेर्दाहेर्दै प्रिन्सटनमा डुलिरहने प्रेत–मान्छे आफैंमा एक किवंदन्ती बनिसक्यो।

Twitter @saraswati_prati

प्रकाशित: २५ असार २०७२ २२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App