जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ स्थित हाटसिँजा गडडाँडाको भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
गाउँपालिका-६ का वडाध्यक्ष प्रेम पछाईकाअनुसार वडा नं. –६ लाहर्ज स्थायी घर भएका ३२ वर्षीय चन्द्रसिंह सुनार बिहीबार वडा नं. १ बाट सिमी बोकेर घर फर्किँदै गर्दा गडडाँडाको भिरबाट लडेका थिए।
भिरालो र साँघुरो गोरेटोमा चिप्लिँदा उनी ७० मिटर जति तल खसेको बताइएको छ। स्थानीयले घटनाको जानकारी पाएलगत्तै उद्धारको प्रयास गरे पनि सुनारको घटनास्थलमै मृत्यु भइसकेको वडाध्यक्ष पछाईले बताए।
दुर्गम क्षेत्र र जोखिमपूर्ण पैदलमार्गका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। मृतकको शव पोस्टमार्टमका लागि बिहीबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याइएको थियो।
पोस्टमार्टमपछि शव परिवार तथा आफन्तको जिम्मा लगाइएको छ। घटनापछि मृतक परिवार शोकमा डुबेको छ भने स्थानीयले ग्रामीण भेगका जोखिमपूर्ण बाटोप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: ९ माघ २०८२ १२:३० शुक्रबार





