११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्रा समाज नेपालले नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिएकाे छ।

नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईकाे अध्यक्षता र वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीले उपस्थित प्रियजनलाई शब्दमार्फत स्वागत गरेका थिए।

नियात्राकार व्यासलाई टीका, खादा, जरीवाल दुबोको आकर्षक माला पहिर्‍याउँदै रूपैयाँ ५० पचास हजार नगदराशि र सम्मानपत्रकाे साथ सम्मान अर्पिएकाे हाे।

कार्यक्रममा सभाध्यक्ष, पुरस्कार-सम्मान संस्थापक संरक्षक रेखा कँडेल, नियात्राकार पवन आलोक र प्रमुख अतिथिले एकैसाथ पुरस्कार अर्पिएका हुन्।

रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा ‘पवन आलोक नियात्रा पुरस्कार’ स्थापना गरेकी थिइन्। उक्त पुरस्कार कृतिगत रूपमा अर्पिंदै आएको थियो। यसै वर्षदेखि उक्त पुरस्कार ‘पवन आलोक नियात्रा सम्मान’ का रूपमा अर्पिएको हो।

सम्मानित व्यक्तित्व डा. व्यासले सम्मानित भएकाेमा आभार व्यक्त गर्दै नियात्रा लेखनको अनुभव प्रस्तुत गरेका थिए। अथक साधनाले आफूलाई सम्मानयाेग्य बनाएकाे पनि उनले बताए।

छनोट समितिका सदस्य तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सम्मानित व्यक्तित्व व्यासले नियात्रा क्षेत्रमा पुर्‍याएकाे योगदानबारे मन्तव्य प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा नियात्राकार प्रतीक ढकालले संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए।

नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले सञ्चालन गरेकाे कार्यक्रममा संस्थापक-संरक्षक रेखा कँडेल, नियात्राकारहरू चन्द्रप्रसाद भट्टराई, इल्या भट्टराईले बधाई तथा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

कृतिगत रूपमा यसअघि २०७७ मा नियात्राकार भीष्म उप्रेतीलाई ‘हिमाल शेर्पा र यती’ नियात्रासंग्रह, २०७८ मा नियात्राकार डा. दामोदर पुडासैनी किशोरलाई ‘ग्रीष्मको नीलो बतास’ नियात्रासंग्रहका लागि, २०७९ मा इल्या भट्टराईलाई ‘मिसर’ नियात्रासंग्रहका लागि र २०८० मा नियात्राकार तेजप्रकाश श्रेष्ठलाई ‘गंगचुलीको हिउँ’ नियात्रासंग्रहका लागि अर्पिएकाे थियाे।

काठमाडाैं, पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा भएकाे कार्यक्रममा सम्मानित व्यक्तित्व (प्राडा वेदव्यास उपाध्याय न्यौपाने) की जीवनसँगिनी वीणा पोखरेल, शुकदेव उपाध्याय, साहित्यकार दिव्य गिरी लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित: ९ माघ २०८२ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App