२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

युगका आँखा

भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका एक अविस्मरणीय नक्षत्र हुन्। उनको व्यक्तित्व र कृतित्वका समग्र पाटाहरूलाई केलाउन थाल्ने हो भने एउटा युगको सिंगो अवतरण हुन सक्छ। समय सीमालाई अगाडि राखेर हेर्न थाल्ने हो भने उनको द्विशतवार्षिकी पनि सम्पन्न भइसकेको छ। अर्थात् दुई सय वर्षको अवधि सामान्य अवधि होइन। अहिलेको प्रविधि सम्पन्न दुनियाँका चस्माले भानुभक्तलाई हेर्दा उनी एउटा मिथक वा किंवदन्तीजस्ता लाग्छन्।तनहुँदेखि काठमाडौंसम्मको पैदल यात्रा, तत्कालीन समाजमा रहेका असंगत पक्षप्रतिको तिखो दृष्टि र आध्यात्मिक एवं नैतिक चेतनाको शंखघोषजस्ता कुराहरूमा उनको जीवन भोगाइ, युगीन कविचेत र सोद्देश्य लेखनको सुन्दर तादात्म्य रहेको देखिन्छ।

आदिकवि भानुभक्त आफैंमा एउटा मिथकजस्ता बने पनि उनको जीवन चरित्र उत्प्रेरणाको विशिष्ट नमुना हो। घासीसँगको उनको प्रसंग तत्कालीन समाजका लागि कति सत्य कुरा हो? आजभन्दा दुई सय वर्षअगाडि तनहुँमा घाँस बेच्ने र पैसा कमाउने प्रचलन थियो कि थिएन? घाँस बेचेको पैसाले कुवा खनाउन पुग्थ्यो कि पुग्दैनथ्यो? यी प्रसंग मोतीराम भट्टले उनको जीवनी लेखनका क्रममा भावुकतावश थपिदिएका पो हुन् कि? जस्ता प्रश्न पनि नउठेका होइनन् तर उनको जीवनसँग जोडिएको घाँसीको प्रसंग यदि किंवदन्ती नै रहेछ भने पनि त्यसले नयाँ पुस्तालाई भने राम्रो उत्प्रेरणा प्रदान गरेको छ। हरेक मान्छेमा एउटा संकल्प हुनुपर्छ, लगनशीलता, साधना, धैर्य र गन्तव्य हुनुपर्छ भन्ने कुरामा आधारित यो प्रसंग आफैंमा पूर्ण जीवनका लागि युगौंयुगदेखि मार्गदर्शक बन्दै आएको छ।

भानुभक्त नेपाली भाषाका विस्तारक र उन्नायक पनि हुन्। सरल भाषा, विश्वसनीय प्रस्तुति एवं व्यावहारिक दृष्टान्तका कारण उनी यति छिटो जनजिब्रोसम्म पुगे कि जहाँबाट उनी कहिल्यै पछाडि हट्नु परेन। अनपढ हजुरआमाका मुखमा झुन्डिएका रामायणका श्लोकहरू एकपछि अर्को हुँदै मुखान्तरित भएर मेचीदेखि महाकालीसम्म मात्र होइन, जहाँजहाँ नेपाली पुगे त्यहीँ झुन्डिएर फैलन पुगे, जसले नेपाली जातिलाई एकताको सूत्रमा बाँध्नका लागि विशेष सहयोग पुर्या एको देखिन्छ। रामायणमात्र होइन, भक्तमाला र प्रश्नोत्तर मालामा समेत गरिएको पूर्वीय दर्शनको सरलीकरणले नेपाली जातिलाई आफ्नोपनको पहिचान गर्न, आफ्नो धर्म, संस्कृति, परम्परा र सभ्यताप्रति गर्व गर्न र सत्मार्गानुकूल जीवनबोध गर्न पनि निकै ठूलो सहयोग पुर्याहएको देखिन्छ। अध्यात्म रामायणको मूल कथास्रोतलाई नबिगारी तर नितान्त मौलिकताको जलप दिएर नेपाली जीवनको वास्तविक चित्र खिच्ने कार्यमा भानुभक्त त्यस युगमा पनि सफल बनेका छन्। उनको राम अध्यात्म रामायणबाट नेपाली पाखा–पखेरामा ओर्लिसकेको छ र उनकी सीतामा नेपाली ग्रामीण नारीहरूका जीवन पद्धतिको विम्बांकन राम्ररी भएको देखिन्छ। सीताले गरेको सिँगारपटार, पारिवारिक रहनसहन, बोलीचाली र वनमा हातको तकिया लगाएर सुतेको प्रसंगमा नेपालीपनको स्पष्ट र सुन्दर चित्र देख्न पाइन्छ।

तत्कालीन नेपालको भौगोलिक परिवेशसँग जोडेर हेर्ने हो भने भानुभक्त आचार्यको योगदानलाई अद्वितीय र अद्भुत नै भने पनि फरक पर्दैन। जति बेला सूचना, सञ्चार, विद्युत्, बाटो, यातायात, शिक्षा, स्वास्थ्य, सन्दर्भ सामग्री, कापी, कलम आदि केही पनि थिएनन् त्यस बेलामा भानुभक्तले गरेको नेपाली भाषाको सेवालाई अहिलेका प्रविधिको आँखाले हेरी खोट लगाउनु कत्तिको न्यायोचित छ? पहिलोपटक बालाजुलाई देख्दा उनका मनमा उत्पन्न स्वर्गीय कल्पनामा प्रकृतिप्रेम र जीवनबोधको उदात्त रेखांकन भएको छ। साथै उनको 'अमरावती कान्तिपुरी नगरी' कवितामा एकातिर स्थान परिचय छ भने अर्कातिर कल्पित संसारको अलौकिक तर सत्यान्वित जादूगरी पनि छ। भोट, लन्डन, चीन, दिल्ली, लखनउ, पटना, मद्रासजस्ता ठाउँहरूसँग कान्तिपुरीको तुलना गर्दा कवि भानुभक्तको कवि चेतना कति फराकिलो थियो र उनी अन्तर्राष्ट्रिय युगीन यथार्थ र आफ्नो भूमिको सम्भाव्य विकासका बारेमा कतिसम्म चिन्तनशील थिए भन्ने कुरा स्पष्ट हुन्छ। यो उनको राष्ट्र, अन्तर्राष्ट्र, प्रकृति, जीवन पद्धति, योजना र सपनाको युगीन दस्तावेज पनि हो।

भानुभक्त जैविक विविधता, खाद्यवस्तु र स्वास्थ्यका विशिष्ट ज्ञाता पनि थिए। अहिलेको चाउचाउ युगमा उनले संकेत गरेका खाद्यवस्तुहरू पाखे लाग्न सक्लान् तर उनले भनेका मुंग्रे केरा, मही, सेता मुला, मुलाको साग, भुटेको मकै आदि खाद्यवस्तुहरू कति धेरै स्वस्थकर छन्? यस कुरालाई गम्भीरतापूर्वक मनन गर्ने हो भने समयानुकूल खानेकुराको कति सुन्दर शिक्षा उनको यस फुटकर कवितामा पाइन्छ। प्राकृतिक विनाशले हाहाकार अवस्थालाई निम्त्याइरहेका बेलामा र कृत्रिम खाद्यान्नहरूले सबैतिर ढाकेका बेलामा भानुभक्तको 'असल मुुंग्रे केरा...' कविताको युगीन महŒव कति धेरै देखिन्छ। यसरी नै उनले आफ्ना काव्यहरूमा ठाउँठाउँमा गरेका प्राकृतिक चित्रणमा कृत्रिम जीवन र अपत्यारिलो भड्कावप्रति विमति नै रहेको देखिन्छ।

भानुभक्त व्यंग्य चेतनाका सशक्त प्रयोक्ता पनि हुन्। उनको व्यंग्य योजना तत्कालीन समाजका लागि सिस्नोपानी नै थियो भन्ने कुरा उनका फुटकर कविताहरूबाट थाहा पाइन्छ। त्यसका साक्ष्य यी दुई कविताहरू हुन्-

१. बिन्ती डिट्ठा बिचारीसित कति म गरुँ चुप् रहन्छन् नबोली

बोल्छन् ता ख्याल गर्या् झैँ अनि पछि दिनदिन् भन्दछन् भोलिभोलि

की ता सक्दीनँ भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यी भोलि

भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।

२. रोज्रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछु

रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू

लाम्खुट्या, उपिञा, उडुस् यि सँगि छन् इन्कै लहड्मा बसी

लाम्खुट्याहरू गाउँछन् र उपिञा नाच्छन् म हेर्छू बसी।

यी उद्धरणमध्येमा पहिलोमा भोलिवादी प्रवृत्तिमाथि चोटिलो प्रहार पाइन्छ। यसले विगतदेखि वर्तमानसम्मको कानुनी व्यवस्थामा देखिने ढिलासुस्ती र सास्तीको यथार्थ स्वरूप झल्काएको छ। यसरी नै दोस्रो पद्यमा तत्कालीन शासकहरूले जनतामाथि गर्ने दमन र अत्याचारको चित्र खिचिएको छ। सकारात्मक सन्देशका माध्यमबाट नकारात्मक अवस्थाको बोध गराउँदै शासन व्यवस्था र प्रशासनिक क्रियाकलापप्रति शालीन विद्रोहको आवाज ओकल्न भानुभक्त कति सफल थिए भन्ने कुरा यिनै श्लोकहरूबाट थाहा पाइन्छ।

भानुभक्त केवल भावनाप्रधान कविमात्र नभएर खोज अनुसन्धानमूलक सिर्जनाका स्रष्टा पनि हुन्। उनका कवितामा ज्ञान, सूचना र मनोरञ्जनको त्रिकोणात्मक उपस्थिति पाइन्छ। उनले एउटा कवितामा मानव शरीरमा ...क'बाट सुरु भएका बीस वटा अंगका नामहरू स्वाभाविक रूपमा यसरी अटाएका छन्-

केश् कञ्चेट् कुहुनू कपाल् र कलजो काखी, करङ् कन्सिरी

कान्यागूजि र कुर्कुचा कटि र कान् कम्मर् र कापा पनि

कान्छीअम्लि र काँध कुम् पनि भया कण्ढो र कोखो समेत्

कम्पारो जियमा कदेखि उठन्या बिस्थोक् यिनै हुन् बुझ।

आदिकवि भानुभक्त बहु विषयका ज्ञाता, प्रस्तोता र व्याख्याता पनि हुन्। उनी युगानुकूल सिर्जनामा अत्यन्त सफल बनेका देखिन्छन्। उनको सिर्जनाको अभीष्ट नैतिक चरित्र निर्माण नै हो। यसका लागि उनले गृहस्थ जीवन सुधारलाई पहिलो प्राथमिकतामा राखेका छन्। गजाधर सोतीका घरको प्रसंग होस् वा मित्र तारापतिसँगको संवाद र सिर्जनामा होस्, उनले एउटा असल समाजको निर्माणमा सच्चरित्रवान् नारीहरूको भूमिकालाई पहिलो प्राथमिकतामा राखेर व्याख्या गरेका छन्। नारीको सच्चरित्र निर्माणलाई पहिलो लक्ष्य बनाएर लेखिएको उनको बधूशिक्षालाई हेर्ने अनेकौं दृष्टिकोण पाइन्छन्। यसका आधारमा भानुभक्तले नारी जातिको अपमान गरे भन्ने आवाजहरू पनि प्रशस्त उठेका छन्। यस खण्डकाव्यभित्रको ...हाँस्नू छैन कदापि नारिहरूले वेश्या हुन्या हाँस्तछन्' भन्ने एउटा हरफलाई आधार मानेर भानुभक्तमाथि नांगो आक्रमण गर्ने गरेको पाइन्छ। यसको विरोध गर्ने अधिकांश व्यक्तिलाई त्यसको दोस्रो हरफ के छ भन्ने कुरा नै थाहा छैन। त्यस प्रसंगमा आएको सिंगो पद्यलाई हेर्ने हो भने भानुभक्तसँग रिसाउनुपर्ने कुनै कारण छैन। यो तत्कालीन समयका लागि मात्र होइन, वर्तमानमा पनि उत्तिकै सान्दर्भिक बनेको देखिन्छ। त्यसको पूर्ण रूप यस्तो छ—

हाँस्नू छैन कदापि नारिहरूले वेश्या हुन्या हाँस्तछन्

वेश्या लौ नहउन् तथापि घरको काम् ता सबै नास्तछन्

एक्लै हाँस्न हुँदैन कोहि नभई आर्को सँगि भो जसै

हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै।

यसले त नारीको अपमान होइन, समयप्रतिको सचेतता र कर्तव्य निर्वाहको सुन्दर पाठ सिकाएको छ। एक ठाउँमा भेला भएर दिनभर हाँसेर बस्नुलाई नारी वा पुरुष कुनै पनि समाजमा राम्रो मानिँदैन। समयको सार्थक सदुपयोग यसको मूल माग हो।

आज भानुभक्त नेपालभित्र मात्र होइन, जहाँजहाँ नेपालीहरू पुगेका छन्, त्यहाँत्यहाँ सँगै पुगेका छन्। आज नेपाली जातिमात्र होइन, महाजाति बनेको छ र भानुभक्त नेपाली जातिका साझा कवि बनेका छन्। हामी देशभित्र विभिन्न जात, धर्म, सम्प्रदाय आदिमा बाँडिए पनि देशबाहिर सबै नेपालीका रूपमा चिनिएका छौं। आज नेपालीले नछोएको भूमि विश्वमा भेट्टाउन मुस्किल पर्छ। नेपालबाहिर भारतका दार्जिलिङ, सिक्किम, आसाम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाञ्चल आदि राज्यहरूमा र भुटान, बर्मा आदि देशमा बस्ने नेपालीहरूका लागि त भानुभक्त जातीय स्वाभिमानका एकमात्र धरोहर बनेका छन्। नेपालभित्र भानुभक्त बाहुन हुन् तर बाहिर उनी नेपाली हुन्। यहाँ उनी पण्डित, संस्कृत भाषाका ज्ञाता र नेपाली भाषाका मात्र प्रचारक र प्राचीन सोच भएका व्यक्ति हुन् भने नेपालबाहिर नेपाली जातिका गौरव, स्वाभिमानका धरहरा र एकताका एकमात्र सूत्र हुन्। यसरी भानुभक्त भौगोलिक रूपमा र दृष्टिकोणमा विभक्त छन्। यो कत्तिको उचित कार्य हो? भन्ने युगको महत्वपूर्ण प्रश्न अहिले उठ्ने गरेको छ।

अहिले हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुने प्रक्रियामा छ। अहिलेको आँखाले भानुभक्तलाई हेर्ने हो भने उनी पुरातनवादी, रुढिवादी, प्राचीनताका पुजारी, यथास्थितिवादी र प्रगतिका वाधक पनि देखिन सक्छन् तर उनलाई गणतान्त्रिक चस्माले हेर्ने होइन, युगीन महŒवका दृष्टिले हेर्नुपर्छ। आजभन्दा दुई सय वर्षअगाडि उनले भोलिवादको विरोध गरे, कानुनी ढिलासुस्तीको धज्जी उडाए, प्रशासनिक अत्याचारमाथि धावा बोले, मान्छेको अमानवीय व्यवहारप्रति कर्के नजर लगाए र समाजलाई शिष्ट, सभ्य, भव्य र अनुशासित बन्नका लागि मार्ग निर्देश गरे। यहाँभन्दा ठूलो क्रान्ति त्यस युगका सन्दर्भमा अरू के हुन सक्छ? त्यसैले उनका कविताको एउटा हरफलाई आधार मानेर वा उनले त्यस समाजका लागि अनुकूल बन्ने देखेर पोखेका विचारहरूलाई वर्तमान अनुकूल भएनन् भन्ने ठानेर विरोध गर्नु वा भानुभक्तलाई वर्णाश्रम धर्मानुसारको जातमा छुट्याएर संकुचित बनाउनु नेपाली महाजातिको गौरवमाथि प्रहार गर्नु हो। भानुभक्त त्यस युगका अद्वितीय महामानव हुन् भने वर्तमान युगका जात, धर्म, भूगोल, सम्प्रदाय, राजनीति आदि सबै कुराभन्दा माथि उठेका नेपाली महाजातिका एकमात्र गौरव हुन्। यस अर्थमा पनि उनी सिंगो युगलाई हेर्न सकिने एक तेजस्वी आँखा हुन् भन्दा फरक पर्दैन।

प्रकाशित: २५ असार २०७२ २२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App