भानुभक्त आचार्यको आदिकवित्वलाई लिएर किन बेलाबेला विवादहरू आइरहन्छन्?
भानुभक्त सुरुदेखि नै एक विवादस्पद कविका रूपमा चिनिन्छन्। आदिकवित्वदेखि लिएर यिनको जन्मसाल, पहिलो कविता, वधूशिक्षा र भक्तमालाको श्लोक संख्यामा उठेको मतभेद आदिले यिनी नेपाली साहित्यमा निकै चासोको विषय बने। यीमध्ये अत्यधिक विवाद उठेको प्रसंग हो— यिनलाई आदिकवित्वको उपाधिले विभूषित गर्नु उचित हो वा होइन भन्ने। मैले ...भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन' शीर्षकमा शोध गरेकी हुँ। भाषिक दृष्टिले अध्ययन गर्ने क्रममा मैले पनि उनलाई आदिकवि भनेर समर्थन गरिनँ।
इतिहासले उनलाई आदिकविका रूपमा स्थापित गरिसक्यो। अब नमान्न पाइन्छ र?
नेपाली साहित्येतिहासमा भानुभक्तले बाँचेको काल र यिनको सिर्जनात्मक कालको आधारमा उनीपूर्वका वीरकालीन एवं भक्तिकालीन कविहरूको उपस्थितिलाई अनदेखा गर्न सकिँदैन। त्यस दृष्टिले यिनी नेपाली साहित्यका आदिकवि होइनन्। तर, कवितामा पाइने सुन्दर भाव र कलात्मक शिल्प, काव्यात्मक माधुर्य र सौन्दर्य, मिठो, सरल, सरस नेपाली भाषाको प्रयोगका आधारमा उनी एक अग्रणी कवि हुन्। कविता रचनामा पाइने भाषिक शुद्धता, सरलता, समय सचेतता, काव्यात्मकता, गेयात्मकता र मौलिकताले आफ्ना पूर्वकविहरूको दाँजोमा उनी निश्चय आदिकवि हुन् भन्न सकिन्छ।
गोर्खाल्यान्ड आन्लोनका बेला दार्जिलिङ चौरस्तामा रहेको भानुको सालिकमाथि तोडफोड भएको थियो नि। त्यसको भित्री कारण के थियो नि?
असीको उत्तरार्धतिर दार्जिलङबाट थालिएको माटोको आन्दोलनले सम्पूर्ण भारतीय नेपालीलाई प्रत्यक्ष–परोक्ष प्रभाव पारेको हो, त्यसबाट समाज र राजनीतिमात्र होइन साहित्यिक जगत पनि प्रभावित रह्यो। साहित्यमाथि राजनीतिकरण गरिएर कविको सालिक १० जुलाई १९८२ मा तोडफोड गरियो। यिनी भारतका नभएर नेपालका कवि हुन् भन्ने निच सोच भएकाहरूबाट नै सालिक तोडफोड भएको हो। उक्त अनैतिक कार्यमा जो सामेल छन्, तिनीहरू नेपाली भाषा, साहित्य, जाति र समाजसित कुनै सरोकार नभएका हुन् भनेर आम जनताले चित्त बुझाएका थिए। नेपाली साहित्यमा कवि भानुभक्तलाई नपढेका र नचिनेकाहरूले सालिकलाई नोक्सान पुर्या उने जुन दुस्साहस गरे, यसलाई एउटा लज्जास्पद घटनाको रूपमा मानिन्छ।
वर्तमान पुस्ताका कविहरूले भानुको योगदानलाई कुन रूपमा सम्मान गर्न जरुरी छ?
वर्तमानमा नेपाली भाषा र साहित्यको स्थिति हेर्दा यो भाषा बोल्ने समुदायले जति नेपाली साहित्य पढ्नुपर्ने हो त्यो सुखद स्थिति छैन। नेपाली साहित्य पढ्ने पाठकको संख्या प्रतिदिन घट्दै गइरहेको छ। यस अवरोह स्थितिको ग्राफलाई आरोहमय स्थितिमा पुर्या उनका निम्ति नेपाली समाजका हरेक स्तरबाट उचित पहल हुनुपर्छ। विशेषतः अचेलका युवा लेखकहरूले आफ्नो मातृभाषा नेपालीलाई सधैं प्रेम र सम्मान दिनुपर्छ। यही नै भानुभक्तबाट लिने मूल प्रेरणा हो।
प्रकाशित: २५ असार २०७२ २२:१५ शुक्रबार



-600x400.jpg)

