हुन्डाई मोटर कम्पनीको सबैभन्दा प्रमुख तीन-पंक्तिय एसयूभी नयाँ हुन्डाई पालिसेड ले प्रतिष्ठित २०२६ North American Utility Vehicle of the Year™ अवार्ड जित्न सफल भएको छ। यो सम्मान उत्तर अमेरिका कार, युटिलिटी तथा ट्रक अफ द इयर (NACTOY) निर्णायक मण्डलद्वारा प्रदान गरिएको हो, जुन स्वतन्त्र र विश्वसनीय अटोमोटिभ अवार्डमध्ये एक मानिन्छ।
५० जना अमेरिकी तथा क्यानाडेली अग्रणी अटोमोटिभ पत्रकारहरूको निर्णायक टोलीले लामो समयको वास्तविक ड्राइभिङ अनुभव, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, प्रविधि, सुरक्षा र मूल्यको विस्तृत मूल्यांकनपछि पालिसेडलाई उत्कृष्ट युटिलिटी भेहिकलको रूपमा छनोट गरेको हो।
हुन्डाईको फ्ल्यागशिप तीन-पंक्तिय एसयूभीका रूपमा रहेको नयाँ पालिसेडले हाइब्रिड तथा आन्तरिक दहन इन्जिन (ICE) दुवै विकल्प उपलब्ध गराउँदै आएको छ। यसको फराकिलो र प्रिमियम इन्टेरियर, प्रयोगमैत्री प्रविधि तथा परिवारकेन्द्रित सुरक्षा र सुविधा प्रणालीले निर्णायकहरूको विशेष प्रशंसा पाएको छ।
हुन्डाई मोटर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोसे मुन्योसले भने, “पालिसेडले हुन्डाईको दृष्टिकोण—सुन्दर डिजाइन, उन्नत प्रविधि, उच्च सुरक्षा र परिवारका लागि वास्तविक मूल्य—लाई प्रतिनिधित्व गर्छ। उत्तर अमेरिकाका प्रतिष्ठित ५० अटोमोटिभ पत्रकारबाट वर्षकै उत्कृष्ट युटिलिटी भेहिकलको मान्यता पाउनु हाम्रो लागि ठूलो सम्मान हो।”
नयाँ पुस्ताको हाइब्रिड भेरियन्टले करिब ३४ माइल प्रतिग्यालोन माइलेज र ६०० माइलभन्दा बढी दूरी दिने क्षमतासहित दक्षता र प्रदर्शनको सन्तुलन प्रस्तुत गर्छ। साथै, शक्तिशाली V6 इन्जिन र साहसिक यात्राका लागि डिजाइन गरिएको XRT PRO अफ-रोड ट्रिमले पालिसेडको लाइनअपलाई थप मजबुत बनाएको छ।
पालिसेडले सन् २०२५ मा अमेरिकामा कीर्तिमानी बिक्रीसमेत हासिल गरेको थियो, जहाँ खुद्रा बिक्री १७ प्रतिशत र कुल बिक्री १३ प्रतिशतले वृद्धि भएको थियो। यस सफलताले आधुनिक परिवारहरूका लागि बहुउपयोगी, प्रविधियुक्त र सुरक्षित एसयूभीप्रतिको बढ्दो मागलाई स्पष्ट देखाएको छ।
NACTOY का अध्यक्ष जेफ गिल्बर्टले भने, “हुन्डाई पालिसेडले २१औँ शताब्दीको पारिवारिक सवारी साधनको परिभाषा तय गर्छ। यो फराकिलो, चलाउन रमाइलो र अत्याधुनिक प्रविधियुक्त छ।”
१९९४ मा स्थापना भएको NACTOY एकल सञ्चार माध्यमसँग आबद्ध नभएको, सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको नयाँ सवारी साधन अवार्ड कार्यक्रम हो, जसले यसको विश्वसनीयता र प्रतिष्ठालाई थप बलियो बनाएको छ।
प्रकाशित: ९ माघ २०८२ १३:०१ शुक्रबार





