३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

अनुशासित मार्गले सफल

'म त्यस्तो अनुशासनमा हुर्किएँ, जो अहिले कल्पना पनि गर्न सकिँदैन। परिवारको कडा अनुशासनकै कारण म अहिले यो स्थानमा छु,' आफ्नो बाल्यकाल सम्झँदै नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल यसो भन्छन्।


१४ वर्षको उमेरमै २०३८ सालमा एसएलसी दिएका पौड्यालले ०६९ साउनदेखि देशको स्थायी सरकारको नेतृत्व सम्हालिरहेका छन्। उनी इमान्दार र अनुशासित कर्मचारी मानिन्छन्। ०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका उनी विभिन्न मन्त्रालयमा उपसचिव, सहसचिव र सचिव हुँदै तीन वर्षअघि नेपाल सरकारको मुख्य सचिव बने।
पहाडी जिल्ला गुल्मीको बलेटक्सारमा उनी परिवारको चार दिदीहरूको भाइको रूपमा जन्मिए। उनको बाल्यकाल गाउँमै बित्यो। आठ वर्षकै उमेरमा उनको व्रतबन्ध भयो। बिहान उज्यालो हुन नपाउँदै उठ्नुपर्ने, घरआँगनमा फोहोरको छायासम्म देखा पर्न नहुने, साँझमा घरबाहिर निस्कनै नहुने, यस्ता धेरै कठोर पारिवारिक नियममा उनले बाल्यकाल बिताए। त्यस्तो बाल्यकाल गुजि्रए पनि उनी निकै माया र स्नेहमा हुर्कन पाए। उनको कुनै पनि इच्छा र आकांक्षा अधुरो रहेन। बुबाआमा सधैं उनको हरेक इच्छा र आवश्यकता पूरा गर्न लालायित थिए। 'पहिलो श्रीमतीबाट जन्मिएको पहिलो छोराको मृत्यु भएपछि बुबाले अर्को विवाह गर्नुभयो। छोरा पाउनको लागि दोस्रो विवाह गरे पनि पहिलो श्रीमतीका चार छोरीपछि म जन्मिएँ,' उनी भन्छन्, 'यसै कारण पनि मैले धेरै माया र स्नेह पाएँ।' यति धेरै मायामा हुर्के पनि उनको घरमा अनुशासनको उल्लंघन गर्ने अधिकार कसैलाई थिएन। 'हाम्रो घरमा अनुशासन र मायाबीच कुनै सम्झौता थिएन,' पौड्याल थप्छन्, 'बुबाआमाले आफ्नो क्षमताअनुसार मेरो हरेक इच्छा पूरा गरिदिनुभयो तर म कहिले पनि नराम्रो बाटोमा हिँडिनँ र हिँड्ने आँट पनि गरिनँ। सधैं बुबाको अनुशासनको पालना गरिरहेको हुनाले पनि त्यतातिर कहिले मन नै गएन।'
वरपर नेवार समुदायले घेरिएको स्थानमा उनको घर थियो। नेवार समुदायमा जात्रा धेरै हुने भए पनि छिमेकको जात्रा कहिल्यै हेर्न पाएनन्। 'रातभर बाजागाजा घन्किरहन्थ्यो तर हामीलाई मनोरन्जनमा सहभागी हुने अनुमति थिएन,' उनी सम्झन्छन् 'एक त ब्राह्मण परिवार हामी, त्यसमाथि पनि साँझ परेपछि घरबाहिर निस्कन कसैको हिम्मत नै नहुने।'
अहिले दैनिक दर्जनौं कार्यक्रमको निम्तो आइरहने पौड्याललाई बाल्यकालमा भने जम्मा दुई वटा कार्यक्रममा मात्र साँझ घरबाहिर जाने अनुमति थियो। एउटा सप्ताह वा पूजाको भजनमा र अर्को तीजको समयमा दिदीबहिनीको नाचगानमा। 'ती दुई कार्यक्रममा पनि कि आमा र दिदी कि बुबा साथमै जानुहुन्थ्यो,' उनी सम्झन्छन्।
उनलाई तीन कक्षामा पुगेपछि बुबाले एउटा घडी किनिदिएका थिए। 'घडी किनिदिनुको पनि एउटा कारण थियो,' पौड्याल बाल्यकालतिर फर्किए, 'घडी हेर्दै बिहान साढे नौ बजे विद्यालय जान घरबाट निस्कथेँ, विद्यालय छुट्टी भएपछि ठिक साढे चार बजे घरमा उपस्थित भइसक्नुपर्थ्यो।' किन त्यस्तो भएको होला त? पौड्याल थप्छन्, 'बाटोमा नराम्रो संगतमा पर्ला र बरालिएला भन्ने पीर बुबालाई थियो।'
बुबाले सिकाएको अनुशासन र आमाको उदार भावनाकै प्रेरणाले उनी अहिलेको जीवन अपनाइरहेका छन्। 'आमाले आफू जस्तो दुःखमा भए पनि व्यक्तिगत स्वार्थभन्दा सधैं परोपकारी भावनालाई आत्मसात गर्नुभयो,' उनी भन्छन्, 'मेरो लागि ठूलो शिक्षा मेरो आमाबाट नै प्राप्त भयो।' सरकारी सेवामा रहँदा कहिले विवादमा नमुछिएका उनी आफ्नो स्कुले जीवन सम्भि्कँदै भन्छन्, 'विद्यालय जीवनमा हरेक विद्यार्थी एकदम जिज्ञासु, हरेक कुरामा जानकारी राख्न चाहने उत्सुक स्वभावका हुन्छन्। हरेक कुरा छिटोछिटो ग्रहण गर्न सक्ने हुन्छन्।' पौड्याल पनि यस्तै जिज्ञासु र उत्सुक थिए। हरेक कुरा चाँडोचाँडो बु‰थे। चलाख भएपछि परिवारका सदस्य र विद्यालयका शिक्षकहरूको प्रिय हुने त भइहाले। 'टाठो थिएँ, त्यही भएर पनि मलाई सबैले माया गर्थे,' उनी बालापन सम्भि्कन्छन्।
कुनै पनि विद्यार्थीको व्यक्तित्व विकासका लागि शिक्षक, शिक्षिका र अभिभावकको मायाको अहम् भूमिका रहने बताउँछन्, उनी। 'जब शिक्षकहरूले माया र अपनत्व देखाउँदैनन्, विद्यार्थीमा पढ्ने र केही गर्ने भन्ने भावना हराउँदै जान्छ,' उनको बुझाइ छ, 'त्यसैले पनि बच्चामा कुरा सिक्नु र बु‰नुमा शिक्षक–शिक्षिकाको हात हुन्छ। विद्यार्थीलाई कस्तो व्यक्तित्वको रूपमा विकास गर्ने भन्ने उनीहरूको हौसला र मायामा भर पर्छ।'
विद्यालयमा बालकले सिकेको कुराले उसको व्यक्तित्वमै प्रभाव पर्ने भएकाले असर आचरण र स्वभावका लागि परिवार पनि संवेदनशील हुनुपर्ने बताउँछन्, उनी। 'शिक्षक र अभिभावकको मायाले बालबालिको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने भएकाले त्यसाट वञ्चित हुनेहरूको व्यक्तित्व विकास हुँदैन,' उनी थप्छन्, 'काँचो माटोजस्तै बालबालिका पनि जस्तो आकार दियो त्यस्तै हुने भएकाले शिक्षक र अभिभावकले पर्याप्त माया दिनुपर्छ।'
कुरा जान्नेहरू ज्ञानी बनेझैं ज्ञानको निरन्तर प्रयोग गर्ने शिल्पी र त्यही सिपको प्रयोग भरिरहने दक्ष बन्ने धारणा छ, उनको। त्यही सिप र ज्ञान निरन्तर प्रयोग गर्दै गएपछि मान्छे त्यसमा अभ्यस्त हुँदै जान्छ। 'त्यसलाई फेरि टुटाउन असाध्यै गाह्रो हुन्छ,' पौड्याल जोड दिन्छन्, 'त्यसकारण जीवनलाई सार्थक बनाउन र उपलब्धिमूलक समाज निर्माणका लागि विद्यालय जीवनमा सही शिक्षा पाउन जरुरी छ।'

प्रकाशित: १८ असार २०७२ २१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App