तपाईंमा एक्कासि सेवाभाव कसरी जाग्यो?
आफूले सकेको पहिले पनि गर्थें । वद्धाश्रम गएर सहयोग गरिरहेको हुन्थेँ । अपांग, माग्ने देख्यो भने पाँच–दश रुपैयाँ होइन, एक हजार नै दिन्थेँ । किनभने, उसले लामो समय गुजारा चलाओस् भन्ने लाग्थ्यो। यो बेला धेरैलाई गर्न परेकाले सबैले मेरो यो काम थाहा पाए ।
भूकम्प जाँदा कहाँ हुनुहुन्थ्यो?
हनुमानढोका प्रहरी चौकीमा काम थियो। काम सकेर निस्किनै लागेको थिएँ, भूकम्प गयो। आफ्नै आँखाले वसन्तपुर ध्वस्त भएको देखेँ । अरू साथीहरूलाई घर पुर्यानएर फर्किंदा धरहरा पनि थिएन, वीर हस्पिटलमा लाश थिए। बाटोमा गाडी एक्सिडेन्ट भएर रक्ताम्य मान्छेहरू थिए। त्यसपछि म वसन्तपुर गएर च्यापिएका मान्छेको उद्धारमा लागेँ ।
भूकम्प आइरहेको थियो। त्यस्त्ाो भयावह अवस्था देखेपछि आफ्नै ज्यान तलमाथि हुने डर लागेन?
म जसरी दुनियाँले सोच्छ, त्यसरी नसोच्ने मान्छे हँु । सबै कुरा बिग्रेको र नेपाल नबनेको भनेकै आफ्नो चिन्ता आफूले गरेर हो। यदि हामीले अर्काको चिन्ता लिन थाल्यौँ भने उसले हाम्रो चिन्ता गर्छ। ममा यो भावना पहिलेदेखि नै छ। त्यसैले आफ्नो पर्वाह गर्न छाडेँ। सहयोगको जरुरत भएकाको चिन्ता गरेँ।
डान्स क्लब चलाउनुहुन्छ। रमाइलो जिन्दगी बिताउनुहुन्छ। यसरी अर्काको दुःख महसुस गर्नुहुन्छ होला भन्ने कसैले सोचेका थिएनन् होला, है?
हामी डान्स क्लब चलाउने मान्छे। सबै हाँसीखुशी र रमाइलो गर्ने मात्रै देखेका थियौँ। मान्छेका दुःख जब देखियो, सहयोगका लागि जे पनि गर्नुपर्छ भन्ने भावना आयो। उसो त दुःखी नदेखेको मात्रै हो, दुःख भित्रैबाट महसुस गर्न सक्ने मान्छे हुँ। किनभने, मैले सुख र दुःखका सबै सिमाना देखेको छु।
पहिलो सहयोगको गन्तव्य वीर अस्पताल नै कसरी छान्नुभयो?
एकजना वसन्तपुरमा खुट्टा भाँच्चिएर छटपटाएका व्यक्तिलाई स्कुटरमा राखेर हस्पिटलमा ल्याएँ । त्यहाँ त बेसहारा घाइते कति थिए, कति। पानी भनिरहेका थिए, पानी थिएन। ल्याएर दिने मान्छे थिएन । डाक्टर र नर्ससमेत पानी नपाएर हैरान थिए । मेरा लागि सहयोग गर्ने सही ठाउँ यही हो जस्तो लाग्यो। मैले वरिपरिका दोकानमा भएका सबै पानी किनिदिएँ। मसँग शुक्रवार राति क्लबमा कमाएको पैसा पनि टन्नै थियो। डाक्टर र नर्सलाई खानाको समस्या होला भनेर चाउचाउ किन्न गएँ। तर, भूकम्पले पसलहरू बन्द थिए। चाबहिलसम्म पुगेर चाउचाउ ल्याएर अस्पतालमा बाँडेँ । पैसा नपुग्ने देखेर घर गएर फेरि ल्याएँ।
तपाईंलाई सघाउन साथीहरू कति बेला कसरी जम्मा भए?
त्यो राति त म एक्लै थिएँ। राति ७ बजे मैले फेसबुकमा स्ट्याटस लेखेँ। त्यो राति नै एक हजार पल्ट सेयर भएछ। क्लब चलाउने भएकाले धेरै युवाले चिनेका हुन्छन्। भोलिपल्ट सहयोगका लागि साथीहरू आए। केही मान्छेले पानी ल्याएर छाडे। तेस्रो दिनदेखि त तीन सयभन्दा बढी भोलेन्टिएर हामीसँग थिए । हेल्प डेस्क नै राखेर सहयोग गर्न सकियो ।
स्वयंसेवकलाई परिचालनमा कत्तिको समस्या भोगियो?
पहिले पार्टीहरू अर्गनाइज गर्थें । त्यो सुखको अनुभव यो दुःखमा काम लाग्यो। पहिले साथीहरूलाई जसरी काममा खटाइन्थ्यो, यो समयमा पनि त्यस्तै गरियो। त्यहाँ पुगेका बिरामीमध्ये कसलाई कस्तो सहयोग चाहिन्छ भन्ने कुरा पहिल्याएर त्यहीअनुसार अघि बढियो। घाइते बोक्ने, बिरामीको बेड मिलाउनेदेखि महँगो औषधि किन्नेसम्मका काम हामीले गर्यौँह।
डिस्को जाने, पाटी गर्ने तपाईंहरूजस्ता युवालाई 'निकम्मा' ठान्थ्यो समाजले। संकटमा तपाईंकै पुस्ता काम लाग्यो है?
पाकाहरू धेरै सोच्छन्। यस्तो अवस्थामा सोच्ने समयसम्ममा कतिले ज्यान गुमाइसक्छन्। हामीसँग जोश थियो, गर्ने भने पछि गर्ने भनेर लागियो, गरियो। धेरै भोलेन्टिएर २० वर्ष नकेटका भाइहरू थिए। उनीहरूका आमाबुबा आएर मसँग खुशी प्रकट गर्थे । तपाईंका कारण हाम्रा छोराहरू पनि समाजलाई परेका बेला आफूखुशी खटिए भन्थे। उनीहरू पनि सघाउँथे। राहतका पोका बनाउन धेरैका आमाबुबाले सघाए पनि। पैसा पनि सहयोग गरे। मलाई लाग्छ– यिनीहरूले केही गर्नै सक्दैनन् भन्ने समाजको सोचाइका कारण युवाहरू केही गरिरहेका छैनन्। उनीहरूलाई सक्छौ भनेर हौस्याउनुपर्छ, धेरै गर्न सक्छन्।
अहिले तपाईंको समूह के गर्दै छ?
हामी पुनर्निर्माणतिर लागेका छौं । विभिन्न ठाउँमा अस्थायी बसोबास बनाइदिन जुटेका छौंँ। अहिले गाउँ अस्थायी टहराले कुरूप हुँदै छ। हामी सुन्दर बस्तीसमेत बनोस् भन्ने सोचिरहेका छौँ। मुख्य कुरा, उनीहरूमा एकता कायम रहोस् र परनिर्भरता नबढोस् भन्नेमा ध्यान दिएका छौँ। त्यसैले हामी केही गर्ने आशा देखाउँछौँ र त्यसका लागि त्यो समुदायलाई एक भएर आउन आग्रह गर्छाैं । हामी अहिले काठमाडौंको रामकोटको बस्ती निर्माणमा छौँ। त्यहाँ नियम छ, आफ्नो घरमा आफैँले श्रम गर्न नपाइने । उसले छिमेकी घर बनाउन सहयोग गर्छ र छिमेकीले उसको। यसले गर्दा भविष्यमा उसले मेरो घर बनाइदिएको हो भन्ने भावनाले मनमुटाव हुन पाउँदैन। अर्को शर्त पनि छ, त्यो गाउँ हामीले बनायौँ। अब अर्को गाउँ त्यो गाउँका मान्छे गएर बनाउँछन्। अर्को गाउँका मान्छे त्यहीँ नजिकको अर्को गाउँ बनाउँछन् । यसरी एकअर्का गाउँका मान्छेका मनसमेत जोड्न खोजिरहेका छौँ।
तपाईं धेरै गाउँमा पुग्नभएको छ । वास्तवमा गाउँलाई केको खाँचो छ?
गाउँ भूकम्पले बेसहारा भएका छन्। तर, अहिले जस्ता पठाएर उपकार गर्न खोजिँदै छ । जस्ताको ठाउँमा त पराल र छ्वालीले पहिलेदेखि नै काम चलाइँदै आइएको छ । 'केही पर्दा हामी छौँ है' भन्ने सहाराको खाँचो छ । हामी जुन गाउँ बनाउँछौँ, त्यहाँ रोजगारीको सम्भावना खोज्ने र पर्यटकको गन्तव्यसमेत बनाउने सोच बनाएका छौँ। किनभने अब गाउँलाई चारो होइन, पखेटा दिनुपर्छ । पखेटा दिने भन्नाले गाउँलाई गरिखाने मेसो उपलब्ध गराउने। पखेटा भएपछि उडेर दुःखबाट छुटकारा पाउन सकिन्छ।
यो अल्लारे उमेरमा यति गम्भीर ढंगले सोच्ने प्रेरणा वा क्षमता कसरी प्राप्त भयो?
कक्षा १२ पढ्दासम्म कामको नाममा सिन्को भाँच्नु परेन । आमाबुबाले त छ महिनाको हुँदै छाडेर जानुभयो । तर, हजुरआमा र हजुरबाले ठमेलमै सुखसँग हुर्काउनुभयो । असाध्यै मायाममता दिनुभयो। नढाँटी भन्दा पढेर डाक्टर र इन्जिनियर जस्तो ठूलो मान्छे बन्नु मेरो वशको कुरा थिएन। सबैले पढ्न सक्छन् भन्ने पनि छैन । त्यो सुखमा जिन्दगी बिताउने हो भने मेरो जुनी यत्तिकै जान्छ जस्तो लाग्यो र म सुखसयल भएको घर छाडेर हिँडेँ। खानका लागि जब संघर्ष गर्न थालेँ, असली जीवनका भोगाइ सुरु भए । मैले दुःखको अन्तिम सिमाना देखेँ, भोकको 'भ्यालू' बुझेँ । भात पकाउन नजान्ने मान्छेले पकाएको खाना कस्तो हुन्थ्यो होला, त्यसको स्वाद पनि लिएँ। कल सेन्टरमा जागिर पाएँ । मेरा दुःख देखेर घरमा फिर्ता गर्ने खूब प्रयास भयो। मैले मानिनँ।
डान्सर बन्ने, डिजेइङ गर्ने र डान्स क्लब चलाउने सोच र अवस्थासम्म कसरी आइयो?
दुःखकै दिनमा एकपल्ट म डान्स क्लब छिरेको थिएँ । नाच्दानाच्दै दिनभरिका सारा दुःख बिर्सेछु। डान्सप्रति रुचि बढ्यो। मैले इन्टरनेटमा गएर बिबोइङ डान्स हेरेँ । युट्युब थिएन। त्यहाँ लेखिएको डिस्त्रि्कप्सनकै आधारमा बिबोइङ सिकेँ । नेपालको पहिलो बिबोइङ डान्सर मै थिएँ सायद । त्यसपछि कार्यक्रम र एडमा काम पाउन थालेँ । मेरो आम्दानी बढ्यो । फेरि डिजेइङतिर झुकाव बढ्यो। लाग्यो– अरूलाई नचाउनु पो त ठूलो कुरा । त्यो पनि इन्टरनेटकै सहारमा सिकेँ। आफैँ डान्स पार्टी अर्गनाइज गर्न थालेँ। त्यो कहिलेकाहीँ हुन्थ्यो। दिनहुँ नचाउने बिजनेस गर्नुपर्योै भनेर डान्स क्लब सञ्चालन गरेको हुँ।
तपाईंले भूकम्पपछि थालेको 'आई टू वी' अभियानमा १२ सय युवा स्वयंसेवक छन्। उनीहरू पनि तपाईंजस्तै गरी खट्न कसरी उत्साहित भइरहेका छन्?
मैले एउटै लाइन भनेको छु– ९० सालको भूकम्प झेल्ने जीवितहरूलाई अहिले अनुभव सोधिन्छ। हामीलाई पनि हाम्रा नाति पुस्ताले सोध्नेछन्। एक ग्रुप हुनेछ, 'म त ज्यान जोगाउन एक महिना पालमा बसेँ' भन्ने। अर्को हुनेछ, 'यति ठाउँमा पुगेर यतिको सेवा गरेँ' सगर्व भन्ने। कुन ग्रुपमा बस्ने रोजाइ? आफ्नै गरे हुन्छ । यी सब दोस्रो ग्रुपमा बस्ने चाहनेहरू हुन्।
प्रकाशित: १४ असार २०७२ ००:५४ सोमबार





