४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

पाटनको वैभवमा

कोही हातमा नेपालको झन्डा बोकेका, कोही गेरुवस्त्र लगाएका, कोही कालो तुल बोकेर बसेका, कोही रिले अनसनमा। कात्तिक महिना भएकाले विवाहको मौसम थिएन। तर, भद्रकालीनिरको भिड देख्दा लाग्यो— फिल्मको छायांकन होला!शान्तिवाटिकाबाट हटाइएकाहरू ‘हिन्दुराज्य नेपाल'को माग राखी जम्मा भएका रहेछन्। लुँमधि भद्रकाली अजिमाले यसैगरी सबै समूहलाई आाश्रय दिने गरेकी छन्; जहाँ परेवादेखि कुकुर, अनसनकारीदेखि मगन्तेसम्म घुसि्रन पाएका छन्। डा. रामकुमार भौकाजी त्यहीँ आइपुगेपछि हामी ललितपुर यातायात सेवाको बस चढी अन्तिम बिसौनी पाटनढोकामा ओर्ल्यौं।
ढोकाबाट पस्दैदेखि कलाका विभिन्न सामग्रीसहितका पसल लस्करै देखिन्छन्। अशोक हल पार्टी प्यालेस भइसकेको धेरै भइसक्यो। अझैअगाडि बढ्दा पाटन दरबार स्क्वायर। घाम झलमल लागिरहेको थियो। घाम ताप्ने, रमिता हेर्ने र पर्यटकको भिड त्यत्तिकै। 
ढोकाबाट भित्र पस्नासाथ ठूलो जाँतो बीचैमा राखिएको छ— चुना, इँटाको धुलो, मास, सुर्की पिँध्ने। आराम गर्नका डिलडिलमा सुकुल पनि राखिएको रहेछ। कर्मचारी परितोष तिमिल्सिना थिए, काउन्टरमा। उनैले घुमाइदिए पाटन दरबारको सेरोफेरो। सर्वप्रथम मूलचोक नै आउँदो रहेछ तलेजुबाट सुरु गर्दा। बीचमा सानो मन्दिर। उत्तरपट्टि बलि दिइने मौलो। दक्षिणको भित्तामा सुनकै गंगा–जमुनाको मूर्ति। त्यहीँको एक कोठाभित्र दसैंमा तलेजुको मूर्ति ल्याइने रहेछ, र बलि दिइने रहेछ। भित्ताभरि बुट्टैबुट्टा खापिएका मूर्ति नै मूर्ति। चोकको एक कुनामा भित्रपट्टि राखिएको तरबारको रखबारी गर्दै रहेछन्, एक पुजारी। उनी सयपत्रीको माला पनि बेच्दा रहेछन्। 
अझ भित्र पस्दा विशाल भण्डारखाल बगैंचा। दक्षिणतिर छ, ठूलो तलाउ जसको बीचमा हरियो कमल उमि्ररहेको। तलाउको एक कुनामा दुई किमिसम्म पस्न सकिने सुरुङ, जसलाई सानो ढोकाले बन्द गरिएको छ। तलाउकै स्तरमा उत्तरतिर रानीहरूले लुगा फेर्ने कुनो, त्यसकै ठिकमाथि बगैंको स्तरमा आराम गर्न बनाइएको सानो कलात्मक छहारी। एकपल्ट पाटन दरबार संग्रहालय पस्यौं। यत्रतत्र रहेका जीर्ण थामहरूमा टाँसेर केही तस्बिर प्रदर्शनीमा राखिएका रहेछन्। संग्रहालयभन्दा जीवन्त चोकहरूकै भ्रमण रमाइलो लाग्यो।
सुन्दरीचोक त झन् आकर्षक छ। बीचमा खाल्डोमा सुनको टुटी भएको धारो। वरिपरि ठूलो नाग र ससाना मूर्ति नै मूर्ति। केही समयअघि धाराको टुटी चोरी भई पछि अर्काे टुटी राखिएको परितोषले बताइरहेथे। अहिले मूल टुटीचाहिँ काठमाडौं संग्रहालयमा राखिएको छ रे। धाराको डिलमा उत्तरपट्टि कृष्णमन्दिरकै प्रतिरूप। चोकका वरिपरि कोठामा, ढोकामा, चोटामा जताततै मूर्ति नै मूर्ति। 
परितोषले भने, ‘यहाँ तेत्तीस कोटि देवता नै कुँदिएका छन्।' एक मूर्ति हेर्योल, अर्काेे हेर्योम, हेरेरै नभ्याइने; मूर्तिको नाम पनि सम्झन नसकिने। सबभन्दा आश्चर्य त धाराको दक्षिणपट्टि रहेको दुई–चारपाटे कुँदिएका ढुंगा, जुन एकमाथि अर्काे खप्टिएका छन्। ओहो, यो त उही हामीले गर्मीमा पञ्चाग्नि ताप्ने र जाडामा चिसो ढुंगामा तपस्या गर्ने सिद्धिनरसिंहकै ढुंगा पो रहेछ— उहिले पाँच छ कक्षामा पढेको। त्यो ठाउँ छाड्नै मन लागेन। एक महिला पथप्रदर्शक तथा त्यहीँ उभिएर पनि ध्यान गर्न लागिन्। वरपर केही जीर्ण थामहरू थन्क्याइएका रहेछन्, त्यहीँ मर्मत पनि हुँदै रहेछ। त्यसपछि लाग्यौं केशवनारायण चोकतिर।
बीचैमा नारायणको मूर्ति। दायाँबायाँ चित्रकला प्रदर्शनी हुँदै रहेछ, एउटा स्थानीय कलाको अर्काे कात्तिक नाच प्रदर्शनीको। इँटा छापेको भुइँ, थाम, टुँडाल, ढोकाहरूको भव्यता र आकर्षण छँदै थियो। भित्रपट्टि सानो बगैंचाजस्तो रहेछ। थुप्रै शिलालेख ठड्याएर राखिएका रहेछन्, कुनै स्पष्ट कुनै खिइएको। बीचमा एक चौतारोमा केटाकेटीहरू आराम गरिहेका थिए। त्यहीँबाट संग्रहालयको भर्यािङ चढ्न मिल्ने रहेछ। हामी बाहिर फर्क्यौं तीन चोकको अवलोकन गरेर।
बाहिर स्वदेशी–विदेशी, महिला–पुरुष, वृद्ध, युवा घुमिरहेका/बसिरहेका थिए। कृष्ण मन्दिर नहेरी/नचढी पाटन दरबार स्क्वायर घुमेको तृप्ति कहाँ मिल्छ? कृष्णाष्टमीको दिन आएर दर्शन गर्न त निकै सास्तीको कुरा। विश्वप्रसिद्ध ढुंगैढुंगाको एक्काइस गजुरको कृष्णमन्दिर सानो सिँढी उक्लेर चढ्नुपर्छ। मेरो छालाको जुत्ता बाहिरै राख्न भनिन् एक भक्तिनीले। डा. भौकाजी कपडाको जुत्ता लगाएर उक्ले। बीचमा कृष्णको मूर्ति माला र गहनाले परिपूर्ण थियो, टाउकोमात्र देखिने। चारैतिर महाभारतका कथा झल्कने ससाना मूर्ति असंख्य थिए। चारैतिर घुम्दा नारायण, नरसिंह अवतार र बुद्ध र कल्कीको मूर्ति देखियो। एक भक्तिनीले सबै चिनाइदिइन्, कहिले नेपाली र कहिले नेपाल भाषामा। मन्दिरबाहिर काशीनाथ, भीमसेन र शिवका मन्दिर पनि चिनाइन्। मानिसहरू मन्दिरमा आनन्दसँग घाम तापिरहेका। दरबारको झ्यालबाट पर्यटकहरु तस्बिर खिचिरहेका थिए। तलेजु भव्यतासँग उभिरहेको थियो।
कृष्ण मन्दिरको टीका लगाएर ओर्लिंदा मन्दिरका पेटीपेटीमा किशोर–किशारी गफगाफमा व्यस्त थिए, अस्ति वसन्तपुर इलाकामा जस्तै। अब पालो आयो कार्तिडबलीको, जहाँ भर्खरै बाथ प्याखँ र युद्ध नाच सकिएको थियो। अहिलेसम्म नाच हेर्न नपाए पनि डबलीको बसाइले केही तृप्ति दियो। त्यसपछि योगनरेन्द्र मल्लको मूर्तिछेउ उभिएर खिचियो अर्को तस्बिर। त्यहाँबाट पनि राम्रो नआएकाले छेवैको मन्दिर उक्लिइयो। पहेँलो रङका, सुनको त हैन होला, राजा रानीसँगै तलेजुलाई हात जोडेर बसिरहेका थिए। तल हनुमानको मूर्ति वसन्तपुरको हनुमान नै राताम्यै उभिएर बसिरहेको थियो। सानो चरो र मल्लको सम्बन्ध बुझ्न सकिएन। किन यो चरो नउडेसम्म म बाँचेकै छु भन्ठान्नू भनेर उनी गए, थाहा पाउन सकिएन। अहिले पनि उनका लागि बिछ्यौना मिलाएर राति हुक्का छाडिँदो रहेछ। त्योचाहिँ हेर्न नमिल्ने रहेछ हामीले। मन्दिरमै एक छिन थकाइ मारी लाग्यौं मन्दिर नजिकै श्रीमद्भागवत लगाइएको ठाउँमा। छेवैमा एक रिम्पोचेको मूर्तिजस्तै लाग्यो, फोहोराहरू समेतको बगैंचा जस्तोमा। यो निर्माण नयाँझैं लाग्यो। 
‘कहाँ रिम्पोचे हुनू, भीमशमशेरको मूर्ति हो,' भौकाजीले भने। त्यहाँ कोही बताउन सक्ने मान्छेजस्तो देखिएन। बरु श्रीमद्भागवत् सुन्नपट्टि लागियो। युवा वाचक सपना श्रेष्ठ भव्य आसनमा बसी दायाँबायाँ गायक र संगीतकार राखेर वाचन गर्दै थिइन्। व्यासले १७ पुराण लेखेर पनि शान्ति नपाउँदा नारदले कलियुगका मानिसलाई श्रीमद्भागवत रच्न सल्लाह दिएको कुरा नाटकमार्फत मञ्चन हुँदै थियो। त्यही कुरा व्यासका छोरा शुकदेवले राजा परीक्षितलाई सुनाएर मुक्त गराएका थिए। भीमसेन मन्दिर छेवैमा महिला भवनका लागि त्यो यज्ञ गरिएको रहेछ। 
हाम्रा अनगिन्ती कथा, मिथक र इतिहास यस्तै सम्पदाका भित्ताभित्तामा, कुनाकुनामा लुकेका छन्, जसको उजागर गरी पर्यटन विकास गर्न सके नेपाल कति धनी हुन्थ्यो? त्यो चरो, त्यो चिसो ढुंगा, त्यो हुक्का र कार्तिकनाचको कथा कति पर्यटकले थाहा पाए, कतिले पाएनन्। मलाई भने अलिकति भए पनि तृप्ति मिल्यो। 
अफसोस, भूकम्पले ती सम्पदा अहिले तहसनहस भएका छन्। मलाई भने पाटन दरबार स्क्वायर र योगनरेन्द्र मल्लको चरोको झलझली सम्झना आइरहेको छ।

प्रकाशित: ११ असार २०७२ २१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App