खोटाङ–सुस्तमनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा खोटाङमा एक बृद्ध पक्राउ परेका छन्। सुस्तमनस्थितिकी २४ वर्षीय महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा बाक्सिला–५ का ६१ वर्षीय लाखमान तामाङ पक्राउ परेका हुन्।घरमा कोही नभएको मौका पारेर महिलालाई जबरजस्ती गरिरहेको अवस्थामा भेटिएपछि तामाङलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बाक्सिलालाई बुझाएको प्रहरीले जनाएको छ। बलात्कृत महिलाकी दिदीले दिएको उजुरीको आधारमा आरोपितलाई जवरजस्ती करणी महल अन्तर्गते मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताए।
जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परिक्षण पछि बलात्कृत महिलालाई घर पठाइएको प्रहरीले जनाएको छ। गम्भीर अवस्थाकी पीडित महिलालाई महिला तथा बालबालिका कार्यालयले बुधबार दश हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उनको स्वास्थ्य उपचारकालागि रकम दिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ।
प्रकाशित: १० असार २०७२ ०६:२८ बिहीबार