९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

ग्राहकको भेषमा बैंकमा सुराकी

काठमाडौं-बैंकबाट पैसा झिकेर स्कुटरमा चढ्न लाग्दालाग्दै १८ लाख ८४ हजार लुट्ने घटनामा संलग्न दुई लुटेरा टीका थापा मगर र तेजबहादुर तामाङ पक्राउ परेका छन्।


चार महिनाअघि राजधानीको मध्यबानेश्वरस्थित ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर कलंकी जान स्कुटी चढेलगत्तै सरस्वती आचार्य लुटिएकी थिइन्।
मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेको खुले पनि लुटेरा फेला परेका थिएनन्। महानगरीय प्रहरी अपराध महाशाखाले आचार्यको रकम लुटेकोलगायत उपत्यकामा भएका दर्जनौं आपराधिक घटनामा संलग्न रहेको आरोपमा टीका थापा मगर र तेजबहादुर तामाङलाई पक्राउ गरेको हो।
२०७१ माघ २१ गते बिहान मध्यबानेश्वरस्थित बैंकबाट १८ लाख ८४ हजार रुपैयाँ निकालेर पार्किङमा राखेको स्कुटर चढ्ने क्रममा मोटरसाइकलमा हुत्तिँदै आएका दुई जनाले उनको ब्याग लुटेर लगेका थिए।
कलंकीमा आइएमईको काउन्टर चलाउँदै आएकी आचार्यले सेवाग्राहीलाई दिन बैंकबाट रकम निकालेकी थिइन्। अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा लुटेरामध्ये टीकाले निलो मोटरसाइकल चलाएको र तेजले आचार्यको ब्याग थुतेको देखिएको छ।
डिएसपी ओम अधिकारीका अनुसार यी दुवै पाँच वर्षयता काठमाडौंमा लुटपाट, गाडि र मोटरसाइकल चोरीमा सक्रिय देखिएको छ। प्रहरीले उनीहरूका साथबाट चोरी गरेको बलेरो, बुलेट मोटरसाइकललगायत सुनका विभिन्न गहनासमेत बरामद गरेको छ।
डिएसपी अधिकारीका अनुसार रामेछापका टीका र तेज काठमाडौंबाट गाडि र मोटरसाइकल चोरी गरी चितवन पठाउँदै आएका थिए। चितवनमा प्रेम महतो चौधरीले उनीहरूले चोरेर पठाएका सवारीसाधन बेचेर पैसा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरूले चोरेका सवारीसाधन बिक्री एजेन्टको काम गर्ने चौधरीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ। चौधरीबाटै चोरीको मोटरसाइकल २५ हजारमा बिक्री गर्ने गरेको खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चौधरीले यी दुवैलाई आइएमईबाटै चोरीका सवारीसाधन बेचेको रकम पठाउँथे। चौधरीले पठाएको रकम निकाल्न मध्यबानेश्वरस्थित ग्लोबल आइएमई बैंक जाने क्रममा उनीहरूको नजर आचार्यमा परेको थियो।
वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रकम उनीहरूको परिवारलाई दिन आचार्य कलंकीबाट दैनिक मध्यबानेश्वर आएर रकम निकाल्ने र उनी एक्लै आउने गरेको देखेर दुवैले एक साता उनलाई नियमित पच्छ्याएपछि माघ २१ मा पैसा लुट्न सफल भएका थिए। 'दैनिक २०–२२ लाख पैसा निकाल्ने र एक्लै आउने देखेपछि उनीहरूले आचार्यलाई टार्गेट गरेका थिए,' डिएसपी अधिकारीले भने, 'एक साता पच्छ्याएर उनीहरूले योजना कार्यान्वयन गरेको खुल्यो।'
प्रहरीले अनुसन्धानबाट टीका र तेज मध्यबानेश्वरको लुटमा मात्रै हैन उपत्यकामा भएका आधा दर्जन बढी लुटपाट र चोरीका घटनामा समेत संलग्न रहेको खुलेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू दुवै आठ ठाउँबाट मोटरसाइकल चोरी, एउटा बलेरो गाडी चोरी र चारभन्दा बढी लुटपाटका घटनामा संलग्न रहेको देखिएको छ।
२०७१ कात्तिकमा प्रेरणा राईको १ लाख ५५ हजार रुपैयाँ कपनबाट लुटिएको थियो। सो घटनामा समेत टीका र तेज दुवै जना संलग्न रहेको प्रहरीले जानकारी दिएको छ। महाशाखाका अनुसार २०७१ पुस ६ गते बौद्धको रामहिटीमा सुमित्रा अधिकारीको ६९ हजार लुटपाट समेत उनीहरूले नै गरेका हुन्।
रकम मात्रै हैन दुवै लुटेरा सिक्री लुटपाटमा समेत संलग्न देखिएका छन्। कोहिनुर हाउजिङमा सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री, २०७२ जेठ २७ मा बुद्धनगरमा उर्मिला कँडेलको ३ तोलाको सुनको सिक्री लुटपाटमा यी दुवैको संलग्नता खुलेको महाशाखा प्रमुख एसएसपी खनालले जानकारी दिए।
खनालका अनुसार उनीहरूले यसबीच आठ वटा सवारीसाधन चोरेको खुलेको छ। बौद्ध टुसालस्थित भाटभटेनी सुपर मार्केटको पार्किङमा रहेको विष्णु बहादुर गुरुङको बा ६ च ७६९८ नम्बरको बलेरो गाडी उनीहरूले चोरेर बिक्री गर्न मकवानपुर पुर्यािएका थिए। उनीहरूले २०७२ जेठ २० मा पुरानो बानेश्वरबाट बा ६८ प ९०१८ नम्बरको मोटरसाइकल, २०७१ चैत ६ गते ओम अस्पताल चाबहिलबाट बा ६७ प ८४६८ नम्बरको पल्सर मोटरसाइकल र टुसालस्थित भाटभटेनी सुपर मार्केटको पार्किङबाट अर्को एक मोटरसाइकल चोरी गरेको खुलेको छ।
उनीहरूको साथबाट फेला परेका आठमध्ये चार सवारीसाधनका धनी फेला परेको र बाँकीको खोजी भइरहेको महाशाखाका डिएसपी अधिकारीले जानकारी दिए।
एसएसपी खनालका अनुसार टिका यसअघि डाँका र चोरी मुद्धामा पक्राउ परिसकेका छन्। उनी चार वटा चोरी र किर्ते मुद्धाका फरार अभियुक्तसमेत हुन्। तेज पनि डाँका र चोरीमा पक्राउ परेका र तीन वटा मुद्धाका फरार अभियुक्त हुन्। चितवनमा बसेर उनीहरूको एजेन्टका रुपमा काम गर्ने चौधरीको आपराधिक पृष्ठभूमी भने खुलेको छैन।

प्रकाशित: ८ असार २०७२ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App