४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

झन् सलबलाए दलाल

देश ठूलो विपत्मा छ। तर, नियत खराब भएकाहरूका लागि यही विपद् सुनौलो मौका बनेको छ। भुइँचालोले जसको सबथोक भत्काइदिएको छ, उनैका छोरीचेलीमा आँखा गाढेर बसेका छन् दलालहरू। उनीहरू दुःखमा परेका युवती र किशोरीलाई अनेकन प्रलोभन दिएर आफ्नो जालमा फसाइरहेका छन्। उनीहरू टहरोमा बसेर जीवन निर्वाह गरिरहेका निर्दाेष चेलीलाई 'कोठी'मा पुर्याकउन उद्यत छन्। अम्मर जिसीको खोजीनीति।


.....
'धन्न जोगायौँ बहिनीलाई'
उनलाई घर जान हतार थियो। त्यसैले भक्तपुर प्रहरी परिसरमा बुधवार बिहान ७ बजे नै भेट्न बोलाइयो। टाढैबाट आएजस्तो पुट्ट झोला बोकेकी उनी फुपूको छोरा कुमार गिरीसँग निन्याउरो मुख लाउँदै प्रहरी कार्यालयको प्रतीक्षालयमा लुसुक्क आइन्। प्रहरी परिसरमै कार्यरत ठूलोबुबाको छोरा निरबहादुर खत्री व्यस्त रहँदा उनको अत्यास पोखिन्थ्यो। 'कता जानुभयो दाइ?' भन्दै उनी चारैतिर नियाल्थिन्।

सिन्धुपाल्चोककी कमला खत्री (नाम परिवर्तन) नुवाकोट, शिखरबेसीका सुमन तामाङसँग भागेकी थिइन्। सुमनले उनलाई फकाउँदै, फुलाउँदै पत्तो नदिएर भारत, मेघालय पुर्या एको थियो। त्यहाँ पुगेपछि थाहा पाइन्– उनको दुलाहा त दलाल रहेछ। उनी छाँगाबाट खसेझैँ भइन्।

सुमनले विवाहको बहाना बनाएर कमलालाई मेघालय पुर्यातएर बेचेको थियो। सुमनले कमलालाई दिल्लीबाट आएको अर्को दलाल समूहलाई बुझाउँदै गर्दा मेघालयमा होटल चलाउने संगीता श्रेष्ठले उनलाई जोगाएकी थिइन्। दाइहरू निरबहादुर र कुमार मेघालयमा बेचिएकी बहिनीलाई उद्धार गरी स्वदेश फर्काउन सफल भए। 'उहाँ (संगीता) ले पहल नगरेको भए बहिनीको अत्तोपत्तो हुन्थेन,' निरबहादुर बहिनीलाई सकुशल फर्काउन सकेकोमा खुशी छन्, 'मुख्य दलालको हातमा पर्न नपाउँदै धन्न बहिनीलाई जोगाउन सक्यौँ।'

एक छापाखानामा काम गर्दागर्दै परिचय भएको हो, सुमन र कमलाको। चिनजान भएको दुई महिनापछि सुमनले विवाहको प्रस्ताव राख्यो। धेरै पटकको प्रस्तावपछि स्विकारेकी कमलाले सुमन केटी बेच्ने दलाल होला भन्ने कल्पनासम्म गरिनन्। 'हेर्दा धेरै सोझो थियो,' उनी पछुताउँदै छिन्, 'उसलाई कुनै पनि नजरले गलत नठान्नु मेरो भूल भयो। अहिले चेत खुल्दै छ।'

सुमनले १८ वर्षीया कमलालाई भक्तपुरबाट भगाएर काठमाडौँ ल्यायो। दाइको कोठामा दुई दिन राखेपछि 'सस्तो र राम्रो' कपडा किन्ने निहुँमा चितवन पुर्यालयो। त्यसपछि भारतमा दुई वर्ष बसेर फर्कने भन्दै फकाएर उता लग्यो। मेघालय पुर्यािएपछि दिल्लीबाट आएको दलाल समूहलाई थमाउन खोज्दै थियो। उनले बल्ल चाल पाइन्, आफू बेचिएको। 'दिल्लीबाट आएकी सुमनकी दिदी बताउने केटीले मलाई लान खोजी। म जान्नँ भन्दा उसले 'सुमनबाट ५० हजारमा तँलाई किनिसकेँ' भनी,' उनले त्यो क्षण सम्भि्कइन्, 'त्यसपछि मात्र म बेचिएछु भन्ने थाहा पाएँ।' उनीहरूले जबर्जस्ती लैजान खोज्दै थिए। होटल सञ्चालक संगीताले थाहा पाएर 'प्रहरीलाई भन्दिन्छु' के भनेकी थिइन्, दलालहरूले कुलेलम ठोके।

मेघालयमा बुझ्दा निरबहादुरले थाहा पाए, 'सुमन त खुंखार दलाल रहेछ।' उसको गिरोहले मेघालयलाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै नेपालबाट त्यहाँ पुर्या एका केटीलाई कलकत्ता, मुम्बई तथा दिल्लीतिरबाट आएका दलालहरूलाई बेच्ने गर्दो रहेछ। 'पटकपटक गाडीमा नेपाली केटी ल्याएर यहाँ बेच्छ भन्थे त्यहाँका मान्छेहरू,' उनले भने, 'सुमन भन्ने केटो केटी फकाउन पनि माहिर रहेछ। जागिर खोज्यो, एकदुई महिना काम गर्योह, त्यहाँ चिनजान भएका केटीलाई बिहेको निहुँ पारेर बेचिहाल्दो रहेछ।' उनकी बहिनीलाई पनि छापाखानामा सामान्य चिनजान भएकै आधारमा विवाहको बहानामा झन्डै कोठी पुर्यााइसकेको थियो।

एकै घरका तीन बहिनी
गत जेठ २२ गते महेन्द्रनगरको वनबासा नाकाबाट भारत लगिँदै गरेका एकै घरका तीन बहिनीसहित चारजना युवतीलाई प्रहरी र माइती नेपालको टिमले उद्धार गर्योा। अहिले उनीहरू माइती नेपालको काठमाडौँ सेल्टरमा छन्। काठमाडौँ, ढल्कुकी सुप्रिया (नाम परिवर्तन), उनकी एक दिदी, एक बहिनी र एकजना साथीसहित भारतीय दुई युवासँग पञ्जाब जाँदै थिए।

'म पञ्जाबमा हुँदा चिनेका केटाहरू घरमै आएका थिए,' एकजनालाई आफ्नो ब्वाइफ्रेन्ड बताउने सुप्रियाले भनिन्, 'दिदी र बहिनीहरू राम्रो कमाइ हुन्छ भन्ने सुनेर मसँगै जान खोजेका थिए। वनबासामा रोकिहाल्यो पुलिसले।' दलालले उनीहरूलाई छुट्टै रिक्सामा बसालेर बोर्डर पार गराउँदै थिए। शंका लागेर सोधपुछ गर्दा केटाहरू भागिहाले।

'बेचिएकै केही चेली दलाल बन्छन्'
माइती नेपालकी काउन्सिलर सुमित्रा श्रेष्ठको अनुभवमा बेचिएकै केही चेली दलाल बनेर अरू नेपाली चेलीलाई फकाउन थाल्छन्। वनबासाबाट उद्धार भएकी सुप्रिया लगायतलाई काउन्सिलिङ गर्दैगर्दा उनले भनिन्, 'उनीहरूले जे भनून्। दलालसँग लागेर उनीहरू नै दलाल बनिसकेका देखियो। आफू बेचिएको थाहा पाएर पनि दलालको प्रलोभनमा परेर अरूलाई फकाउन लाग्छन्। दलाललाई ब्वाइफ्रेन्ड बनाएर गाउँमै ल्याउने पनि गर्छन्।'

सुनौली नाकाबाट उद्धार गरिएका तीनजना युवतीको केसबाट पनि थाहा हुन्छ, बेचिएकै चेली दलाल भएर गाउँ फर्कन्छन्। धादिङकी प्रमिला दुई वर्षअघि भारतमा बेचिइन्। गत फागुनमा गाउँ फर्केकी उनले आफू नबेचिएको र राम्रो जागिर गर्दै गरेको हल्ला चलाइन्। गाउँकै अन्य युवतीलाई पनि मासिक ३० हजारसम्म कमाउने जागिर दिलाइदिने प्रलोभनमा भारत लैजाँदै गर्दा प्रहरीको फन्दामा परिन्।

भूकम्पः एउटा अर्को कारण
चेलीबेटी बेचबिखन हुने धेरै कारकमा एउटा थपिएको छ, भूकम्प। घरबारविहीन भएकाहरू कामको खोजीमा जे पनि गर्न तयार हुने गरेकाले पनि दलालहरूको प्रलोभनको जालोमा चाँडै पर्छन्। 'बेचबिखन पहिला पनि हुन्थ्यो, अहिले पनि हुन्छ। अहिले सबैको चासो बढेर मात्र धेरै देखिएको हो,' माइती नेपालकी अनुराधा कोइराला भन्छिन्, 'भूकम्प एउटा अर्को कारण बनेको मात्र हो। विपत्का बेला कसैको संरक्षण नपाउने हरेक व्यक्ति जोखिममा हुन्छ। दलालहरूलाई फकाउन सजिलो भएको भने हो।'

सुप्रिया र कमला दुवैका सन्दर्भमा भूकम्पपछिको अत्यास एक कारण बनेको छ। 'भूकम्पले घर भत्कायो। बुबाआमा, भाइबहिनी पालमा छन्। जेठी छोरी भएकाले बहिनी (कमला) लाई अब के गर्ने भन्ने चिन्ता थियो,' कमलाका दाइ कुमारले भने, 'भूकम्पले पनि मन आत्तिएर बिहेको पासोमा पर्न सजिलो भयो।'

सुप्रियालाई फेरि उही पुरानो 'कोठी'तिर फर्कन बाध्य पार्ने अर्को कारण भूकम्प पनि हो। पहिला पनि बेचिएकी उनी घर फर्केर केही सीपमूलक काम गर्ने विचारमा थिइन्। तर, त्यसैबेला भूकम्प गइदियो। 'भूकम्पले मैले पहिला काम गर्ने वसन्तपुर दरबार भत्काइदियो। दिदीको स्कुल पनि बन्द भयो,' सुप्रियाले भनिन्।

भूकम्पपछि दलालहरू सलबलाएका छन्। बालबालिका, किशोरी र युवती उनीहरूको निशानामा परेका छन्। अवैधानिक तवरले भारत लैजान काठमाडौँ ल्याइएका धादिङ, रुकुम र दोलखाका गरी ८७ जना बालबालिका काठमाडौँमा उद्धार भए। गोरखाबाट धादिङ ल्याइएका १५ जना बालबालिका अवैधानिक तवरमा ल्याइएको पाएपछि फर्काइए।

अपरिचित व्यक्तिले ललाइफकाई पोखरा लैजाँदै गरेका दुई बालिका धादिङको मलेखुबाट उद्धार गरिए। भूकम्पपछि अभिभावक घरबारविहीन बनेको मौका छोपी पोखरा लाँदै गर्दा सिविस काठमाडौँ र प्रयास नेपाल धादिङको सहयोगमा गोरखाकी नौ वर्षीया आस्मा नेपाली र १२ वर्षीया रञ्जिता नेपालीलाई उद्धार गरिएको हो।

भारतमा बेचिएका भूकम्पपीडित युवती
राहत वितरणका नाममा भूकम्पपीडितका अस्थायी शिविर पुगेका दलालले रोजगारीको प्रलोभन दिएर नेपाली युवतीलाई भारतीय यौनबजारमा बेचेको खुलासा भएको छ।

वैशाख १२ को भूकम्पपछि सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेका हुन्। यसले भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी तथा युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि हुन्छ।

गत एक सातामा मात्र मुम्बईको यौनअखडामा बेचिएका १२ र आग्रामा बेचिएका तीन नेपाली युवतीलाई मानव बेचबिखनविरुद्ध काम गर्ने भारतीय संस्था रेस्क्यू फाउन्डेसनको सहयोगमा उद्धार गरियो। संस्थाले जेठ १९ मा मुम्बईको यौनबजारबाट यसरी नै प्रलोभनमा पारेर नुवाकोट र सिन्धुपाल्चोकबाट लगिएका १२ युवतीको उद्धार गरेको थियो। उद्धार गरिएका युवती १७ देखि २० वर्È उमेरका छन्।

भूकम्पप्रभावित जिल्लाका युवतीहरू दलालबाट उच्च जोखिममा रहेको भन्दै प्रहरीले निगरानी बढाए पनि तस्करले सहजै नाका कटाइरहेका घटना सार्वजनिक भइरहेका छन्।

राहतकर्ताको भेषमा दलाल
भारतका कोठीबाट उद्धार गरिएका युवतीहरूले राहतकर्ताका रूपमा गाउ" छिरेका दलालको विश्वासमा परेर स्थलमार्ग हु"दै भारत पुगेको बताएका छन्। दलालले भारतमा बालबालिका हेर्ने कामका लागि भन्दै फकाएर ल्याएको सोधपुछमा खुल्यो। उनीहरूले दाल–चामलस"गै युवतीका आमा–बुबालाई केही रकमसमेत सहयोग भन्दै दिएका थिए।

सहयोग गर्न आएको सहयोगीले 'सजिलो काम पाइन्छ, सहयोग गर्छौं' भनेपछि परिवारका सदस्यले पनि पत्याएर उनीहरूकै साथ लगाएर छोरीलाई पठाइदिएको उद्धारमा सक्रिय भारतीय संस्था रेस्क्यू फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका अनुसार भारतका विभिन्न शहरमा रहेका कोठीमा एक लाखभन्दा बढी नेपाली यौनकर्मी छन्। अफ्रिकी र खाडी मुलुकका डान्सबारमा नेपाली युवतीको माग बढेपछि पछिल्लो समय भारतको दिल्ली हु"दै ती देश पुग्ने नेपाली युवतीको संख्या पनि बढ्दो छ। नेपालबाट वार्षिक १५ हजारको हाराहारीमा महिलाको बेचबिखन हुने गरेको विभिन्न संघसंस्थाको तथ्यांक छ।

अभिभावक नहुने बालबालिका मात्र होइन। अभिभावक हुने बालबालिका नै पनि यतिबेला बेचबिखनको जोखिममा छन्। छोराछोरी अर्काको जिम्मा लाउन चाहने अभिभावकका कारण तस्करहरूलाई सजिलो भएको छ।

धादिङबाट अवैधानिक रूपमा काठमाडौँ ल्याइँदै गरिएका ४६ जना बालबालिका उद्धार गरेर गाउँ फर्काइए। धादिङस्थित प्रहरी प्रशासनले अभिभावकको जिम्मा लगायो बालबालिकालाई। तर, सबै बालबालिका गाउँ नपुगेको पुष्टि भएको छ। 'सबै बालबालिका गाउँ पुगे भनेर भन्न सकिने अवस्था छैन,' धादिङका डीएसपी प्रकाश मल्लले भने, 'हाम्रो अनुगमन टोली गाउँ पुग्दा त्यहाँका केही अभिभावकले फेरि कुन संस्थालाई बच्चा जिम्मा लगाइसकेछन्।' बालबालिकालाई अनुमति नलिई काठमाडौँ पुर्याेउने सिपोरा लामा लगायतलाई कारबाही गर्न पनि समस्या छ भन्छन् उनी। 'कारबाही गर्न गाह्रो परेकै हो,' उनले भने, 'अभिभावकले उजुरी हाल्दैनन्। हामीले अर्को बाटो अपनाएर कारबाही गर्न प्रयास गरिरहेका छौँ।'

यता, डान्सबार, मसाज तथा होटलमा काम गर्ने महिलाहरू बच्चा अरूकै जिम्मा लाएर विदेशिन चाहन्छन्। जसले आमा र बच्चा दुवै बेचबिखनका शिकार बन्न सक्ने सम्भावना धेरै रहेको अधिकारकर्मीहरूको भनाइ छ।

यतिबेला डान्सबारलगायत मनोरञ्जन क्षेत्रको जागिर प्रभावित भएपछि त्यहाँ काम गर्ने सयौँ युवती घर न घाटका भएका छन्। भूकम्पबाट अति प्रभावित जिल्लाकै धेरै युवती मनोरञ्जन क्षेत्रमा कार्यरत थिए। उनीहरू अहिले विचलित छन्। यस्तो बेला गिरोह सक्रिय हुने भएको आकलनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेललगायत क्षेत्रमा निगरानी बढाएको छ।

डान्सबार, मसाज तथा होटलमा काम गर्ने अधिकांश महिला पछिल्लो पटक अफ्रिका तथा खाडी मुलुकमा पुग्ने गरेका छन्। गाउँका गरिब, अशिक्षितहरूलाई शहर ल्याई क्याबिन, डान्सबार, मसाजमा काम लगाउने र काम सिकेपछि विदेश पठाउने सपना देखाएर बेच्ने गरिन्छ।

लगभग सफल 'अपरेसन इगल'
नेपाली युवतीलाई विभिन्न प्रलोभनमा अफ्रिकी, खाडी तथा अन्य मुलुकमा बेचबिखन गर्ने गिरोहविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'अपरेसन इगल' थाल्यो। पोहोरको असोजमा थालिएको यो अपरेसन यस वर्षको जेठमा 'लगभग सफल' भन्ने चरणमा पुग्यो। मानव तस्कर जालोका सात जना गत फागुन २८ गते प्रहरीको जालोमा परे। वैशाख ७ गते अरू एक जना र जेठ १४ गते अरू दुईजना पक्राउ परे। 'नेपालमा रहेका सबै १० जना पक्राउ परे,' सीआईबीका डीएसपी ज्ञानेन्द्र फुयालले भने, 'अपरेसन इगल लगभग सफल भएको ठानेका छौँ। अब विदेशमा रहेका सातजना जतिलाई कूटनीतिक च्यानलबाट पक्राउ गर्ने प्रयासमा छौँ।'

दलालहरूले मलेसिया, अफ्रिकी मुलुकहरू तान्जानिया, केन्या, युगान्डा, खाडी मुलुक यूएई, बहराइन, ओमानलगायत देशका डान्सबारमा आकर्षक तलब सुविधाको प्रलोभन दिएर नेपाली युवती बेच्ने गरेका थिए।

सीआईबीका अनुसार ललितपुरमा रहेको माउन्टेन टुर्सका सञ्चालक राजन भन्ने राजेन्द्र सुवेदी खत्री नेपाल र दुबईमा डान्सबार खोली नेपाली युवतीलाई अफ्रिकी र खाडी मुलुकमा पठाउन सक्रिय थिए। मैतीदेवीका सविन श्रेष्ठ भन्ने सविन राजा मानन्धर कस्मेटिक र फोटो स्टुडियो सञ्चालकको आवरणमा 'युवती कारोबार' गर्थे। विदेशका एजेन्टबाट युवतीको डिमान्ड लिएर त्यहीअनुसार युवती खोजी रोजगारीको प्रलोभनमा पारी डान्सबार पठाउनु उनको काम हो। यही धन्दाबाट उनले केन्या र तान्जानियामा डान्सबारमा लगानीसमेत गरेका थिए।

केन्या र तान्जानियमा डान्सबार चलाउने नयाँ दिल्लीका रियान भन्ने तरुण रोजन खनगवाल इमाडोलमा बसेर विदेश पठाउने युवती छान्थे। स्वयम्भूस्थित ठूलो भर्याेङमा कम्प्युटर पार्ट्स बेच्ने ललितराज सिंह सुवा र सविन राजा साझेदारीमा युवती पनि बेच्ने काम गर्थे। ललितपुर एकान्तकुनाका सुनील अधिकारी राजेन्द्रको ट्राभल्समा मार्केटिङ स्टाफ देखिए पनि उनी युवती खोज्ने र मागअनुसार छनोट गर्न सघाउँथे। सिनामंगलमा होटल चलाउने आशिष भन्ने केदारबहादुर खड्काको असली धन्दा युवतीलाई विदेश जान विमानस्थलमा सहजीकरण गर्नु रहेको खुल्यो।

नवीन दाहालको देखिने व्यापार कस्मेटिक भए पनि उनी भारतीय नागरिक तरुणको मुख्य सहयोगी रहेको खुल्यो। पक्राउ परेका सबै प्रतिवादी काठमाडौँ जिल्ला अदालतको आदेशमा अहिले पुर्पक्षका लागि विभिन्न जेलमा थुनामा छन्।

युवती बेचेर करोडपति
यी १० जनाको कारोबार असुन्धानका क्रममा विदेशबाट युवती बेचेर करोडौँ रुपैयाँ नेपाल भिœयाएको खुल्यो। वैधानिक तवरले अर्थात् रेमिट्यान्समार्फत साढे तीन करोड रुपैयाँ भिœयाएको सीआईबीले जनाएको छ। 'हुन्डीजस्ता अवैधानिक तवरले पठाउने पैसाको त केही लेखाजोखा नै छैन,' अपरेसनमा सामेल डीएसपी फुयालले भने, 'चारैतिर फैलिएको उनीहरूको जालो एकदम बलियो रहेछ। जुन तोड्न हामीलाई कम्ती कठिन भएन।'

उनका अनुसार युवतीलाई गाउँबाट शहर ल्याउने र यहाँका बारहरूमा 'ट्रेन्ड' बनाई मोडलिङ गराउँथे उनीहरू। उनीहरूका फोटो खिचेर विदेशमा पठाउँदै मूल्यमा बार्गेनिङ गर्दा रहेछन्। 'एक जनाको मोबाइलमा सयौं केटीको फोटो संकलित थियो,' डीएसपी फुयालले भने। आकर्षक शरीर देखाउँदै उनीहरूले लाखौँ रुपैयाँ असुल्ने र केही एडभान्स भन्दै केटीहरूलाई फकाउन दिने गरेका थिए। 'गाउँबाट शहर आउनेबित्तिकै ८० हजार, एक लाख रुपैयाँ एडभान्स मात्र पाए पछि कस्तो आकर्षक होला जागिर?' उनले भने, 'केटीलाई दंग पार्ने उनीहरूको रणनीति हो यो।'

युवतीहरूले उता गएपछि मालिकले जबर्जस्ती मानसिक तथा शारीरिक शोषण गर्दै तलब नदिने गरेको उजुरीमा उल्लेख गरेका छन्। 'तिमीहरूका एजेन्टलाई बुझाएको पहिलेकै पैसा असुल्न बाँकी छ' भन्दै एक रुपैयाँ नदिएर काममा लगाएको पाइयो। लाखौँ कमाउने आशमा विदेश हानिएका युवतीहरू उल्टै शोषणमा परेर एक सुका नपाएपछि नेपाल फर्कन हारगुहार गर्थे। अहिले पनि द्वन्द्वग्रस्त देश सिरियालगायत मुलुकबाट उद्धारका लागि बेचिएका चेलीहरूले आग्रह गर्ने गरेका छन्।

'ट्रेन्ड' बदलेको बदल्यै
सीआईबीका अनुसार गाउँबाट अशिक्षित केटी ल्याएर सीमा कटाएर भारत पुर्यादउने र त्यहाँबाट अन्य शहर तथा देशमा पठाउने शैली पुरानो भइसक्यो। दलालहरूले केही समय डान्सबार, मसाजमा तालिम दिएर गोष्ठी, सेमिनार, कलाकार भन्दै शिक्षित युवतीलाई नै विदेश पठाउँदै बेच्ने 'ट्रेन्ड' अपनाए। त्यसपछि मनोरञ्जन क्षेत्र बेचबिखनको उच्च जोखिममा रहेको भनियो। अहिले भने फेरि पुरानै ट्रेन्ड फलो गर्दै छन् तस्करहरू। गाउँबाट अशिक्षित, विपत्मा परेका, गरिब परिवारका युवतीहरूलाई फकाएर भारतीय सीमा नघाउने कोसिस गर्दै छन्। अफ्रिका र खाडी मुलुकमा नेपाली युवतीको माग बढेको भनिए पनि पछिल्लो पटक भारतकै विभिन्न शहरतिर लैजाने गरको तथ्य सार्वजनिक भएको छ। भारतीय सीमा क्षेत्रमा १४ वटा चेकपोस्ट थपेको छ प्रहरीले। विवाहको आवरणमा विदेश लैजाने क्रम पनि चलेको थियो। म्यारिज ब्युरोहरूले विदेशीसँग विवाह गराएर चीन, कोरियालगायत देश पठाएर चेली बेच्ने गरेको पनि यसअघि खुलिसकेको छ।

भूकम्पपछि तहसनहस भएको मनोरञ्जन क्षेत्र फेरि जुर्मुराउँदै गर्दा दलालहरूले बेचबिखनको उही आधुनिक ट्रेन्ड पछ्याउने आकलनसहित सीआईबीलगायत सुरक्षा संयन्त्र ठमेललगायत क्षेत्रतिर सक्रिय हुन थालेको छ।

बालबालिका ओसारपसार तीव्र

भूकम्पको मौका छोपेर भारतसम्म बालबालिका पुर्यालउने गिरोह सक्रिय रहेको सरकारी निकायकै भनाइ छ। केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले केही संस्थाले सरकारको निर्णयसमेत नमानेका कारण बालबालिकालाई जोगाउन गाह्रो परेको बताए। संरक्षणको आवरणमा बालबालिकाको अवैध ओसारपसार बढेको भन्दै उनले यसकै नियन्त्रणका लागि नयाँ बालगृहको अनुमति बन्द गरिएको बताए। तीन महिनाका लागि धर्मपुत्र/पुत्री लैजान पनि रोक लगाइएको छ। अहिले देशभर छ सय बालगृह सञ्चालनमा छन्।

अभिभावक गुमाएका बालबालिका जोखिममा छन्। आन्तरिक रूपमै एक जिल्लाबाट अर्को जिल्लामा बालबालिकालाई अनुमति नै नलिई ओसारपसारका घटना बढेका छन्। धर्मको आडमा गुम्बा, चर्चले पनि बालबालिकाको ओसारपसार गरिरहेको कार्यकारी निर्देशक धितालले बताए।

'दलालहरू दाउ हेरिरहेका छन्'
अनुराधा कोइराला, मानव बेचबिखनविरुद्ध सक्रिय अभियन्ता

विपत्मा परेको हरेक व्यक्तिलाई अरूले आफूअनुकूल प्रयोग गर्न सक्छन्। यस्तोे बेला मानव बेचबिखनको गिरोह सक्रिय हुने नै भयो। भुइँचालोले अभिभावक गुमाएका बालबालिका, किशोरी, युवती अझ बढी जोखिममा रहन्छन्। उनीहरूलाई फकाउन सजिलो हुने मौका छोपेर दलालहरू दाउ हेरिरहेका हुन्छन्।

भूकम्पपछि यति नै संख्यामा मान्छे बेचिए भनेर तथ्यांक देखाउन सकिने अवस्था छैन। गिरोह सक्रिय भएका बेला धेरै बेचिएका हुन सक्छन् भन्ने मात्र हो। हाम्रो संस्था माइती नेपालले पनि नाका–नाकामा निगरानी बढाएको छ। उद्धार हुने क्रममै छन्, बेचिएका थुप्रै युवती।

अभिभावक गुमेकाहरू बेचिने त अवश्य भए। किनभने, राज्य आफूले पनि हेर्दैन, संघसंस्थालाई पनि नहेर् भन्छ। विभिन्न बहानामा संघसंस्थालाई खट्न नदिने प्रयासमा छ। कि त राज्यले नै शिविर बनाएर संरक्षण गर्नुपर्योघ। होइन भने सहज तवरबाट हामीलाई पनि काम गर्न दिनुपर्योस। हैन भने भूकम्पपछि केटी बेचिने क्रम बढ्यो भनेर कराउनुमात्र भएन।


प्रकाशित: ६ असार २०७२ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App