'वृषभ बध'लाई पाठकले कसरी लिएका छन्?
पढ्नेहरू उत्साहित छन्। अनेकन् टिप्पणी सामाजिक सञ्जाल र मूल प्रवाहका पत्रपत्रिकामा महत्वका साथ व्यक्त भएका छन्।
तपाईंका अन्य रचनाभन्दा यो उपन्यास कुन मानेमा भिन्न छ?
परिवेश समान भए पनि हरेक रचनाको आफ्नै संसार हुन्छ।
'वृषभ बध'मा डढेसाँढेलाई पात्र बनाउनु र उसको हत्याको कथा लेख्नुको विशेष कारण?
— म सानो छँदा हाम्रो गाउँमा एउटा साँढे मारियो। त्यो विषयमा पूरा गाउँ दुई ध्रुवमा बाँडियो। साँढे मार्नेलाई जेल हाल्नुपर्छ भन्नेहरू एकातिर र गाउँको दाजुभाइलाई दण्डबाट जोगाउनुपर्छ भन्नेहरू अर्कातिर। यो दुर्घटना हुँदा म सात–आठ वर्षको थिएँ। पछि किशोरावस्थामा पुग्दा एउटा साँढेसँग गाढा संगत भयो मेरो। त्यसको नाम डढे नै थियो। २०१९ सालको संविधानका विसंगत अन्तरवस्तु र पञ्चायतका विरोधाभाषी व्यवहारलाई व्यक्त गर्न यिनै विम्ब र अनुभवले काम दिए। 'वृषभ बध'को रचनागर्भ यही हो।
डढेसाँढेको सामान्य वितण्डाले पछि राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्छ। र, साँढेलाई बिच्काउने १४ वर्षे ठिटो देवेन्द्र जेल पुग्छ। देवेन्द्र भन्ने चकचके (पछि गम्भीर) पात्रमा तपाईं आफ्नो किशोरावस्था भेट्नुहुन्छ?
म देवेन्द्र होइन। मेरो उमेर, रूप र स्वभाव देवेन्द्रसँग केही पनि मिल्दैन। म किशोरावस्थासम्म निकै लज्जालु थिएँ। रूपमा पनि म हाड र छालामात्रको पिण्ड थिएँ। एकदमै लुरे। हजुरबाले त मेरो बोलाउने नाम नै लुतुरे राख्नुभएको थियो। मलाई आफ्नो त्यस बखतको व्यक्तित्व मन पर्दैनथ्यो। मलाई जे मन पर्थ्यो, त्यो देवेन्द्रमा आरोपित गरेको हुँ।
'वृषभ बध'मा पञ्चायत र पञ्चहरूलाई निकै खराब व्यवस्था र पात्रका रूपमा चित्रण गर्नुभएको छ। उपन्यासमा सबै पञ्च बलात्कारी, अन्ध राष्ट्रवादी, षड्यन्त्रकारी र छुल्याहा छन्। 'सबै पञ्च नेपाली, सबै नेपाली पञ्च' भनिने जमानामा कोही पञ्च पनि 'सद्दे' थिएनन्?
पञ्चहरूलाई राम्रा र नराम्रा भनी वर्गीकरण गर्नु मेरो लक्ष्य होइन। म त इतिहासको पानामा पञ्चायतको खास अनुहार कस्तो थियो, त्यो दर्साउन चाहन्थेँ। मानिसलाई नायक वा खलनायक बनाउने राजनीतिक व्यवस्था हो। राजाले सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भने पनि यथार्थ कहाँ त्यस्तो थियो र? देशभित्र र बाहिर यसको खुला विरोध भइरहेकै थियो। यो सबैलाई थाहा भएको कुरा हो।
उपन्यासको एउटा खण्डमा एउटी विधवा परपुरुषसँग शारीरिक सम्बन्धमा लीन भएको भेटिएपछि छोराले उसलाई हदैसम्मको अश्लील शब्द प्रयोग गरेर गाउँनिकाला गरिदिन्छ। अरू कुनै 'सफ्ट' शब्द पनि प्रयोग गर्न सकिन्थ्यो होला नि।
तपाईंको यो प्रश्न निकै कमलो, भावुक र आदर्शवादी छ। हाम्रो समाजमा आमा 'महान्' हुन्छिन् र आमा 'तुच्छ' हुन्छिन् भन्ने दुवै खाले मानिस पाइन्छन्। 'वृषभ बध'मा रघुनाथ नामको पात्रले आमालाई लात्तैैलात्ताले कुटेको वर्णन छ। त्यो उडन्ते कल्पनामात्र कदापि होइन।
तपाईं 'रियल क्यारेक्टर'लाई ठाउ"को ठाउ" सिध्याउनेगरी लेख्नुहुन्छ। व्यक्तिगत जीवन व्यवहारका 'तुस'मा तपाईं किन 'साइको टाइप'मा उत्रिनुभएको?
के सोध्न खोज्नुभएको हो? मैले बुझिनँ। यदि तपाईंले सोध्न खोज्नुभएको कुरा कुनै वास्तविक मान्छेलाई पात्र बनाएर मानमर्दन गर्छस् भन्ने हो भने म त्यसो गदिनँ। लेखनमा शालीनता हुनुपर्छ भन्नेमा म सधैँ होशियार छु।
८. 'दुर्भिक्ष' उपन्यासमा तपाईंले एकजना नाम चलेको पत्रकारलाई 'भिलेन' बनाउनुभएको छ। 'वृषभ बध'मा पनि असली क्यारेक्टर छन् कि?
'दुर्भिक्ष'को पात्र बोधराजको कुरा गर्नुभएको हो? त्यो 'बोधराज' भनेको तपाईंले बुझ्नुभएको 'बोधराज' पटक्कै होइन। बरू त्यस पात्रमा त मेरा आफ्नै कमजोरी र दुर्गतिका छाया पो छन् त। अरूलाई उडाउनभन्दा आफैँलाई खसाल्न मजा लाग्छ मलाई।
९. तपाईं प्रायः विरोधाभासपूर्ण कुरा गर्नुहुन्छ। मसँगकै अन्तर्वार्तामा 'मालेबाट एमालेमा जानु नरक यात्रा थियो र राजनीति छाडेर नरक यात्रा त्यागेँ' भन्नुभएको थियो। अर्को अन्तर्वार्तामा 'राजनीतिमा लागेपछि सक्रिय हुने र लेखनको विषय पनि पाइने भएकाले म फेरि राजनीतिमा जोडिएँ' भन्नुभयो। अब तपाईं लेखक कम, पूर्ण राजनीतिक कार्यकर्ता बढी हुने सम्भावना छ?
विरोधाभास मेरो परिचयजस्तै भइसक्यो। यस्तो किन हुन्छ म राम्ररी व्याख्या गर्नै सक्दिनँ। सायद म मानिस भएर नजन्मेको भए यस्तो हुने थिएन। तर, म गल्ती–कमजोरीसहितको मानिस भएँ।
पछिल्लो समयमा राजनीतिक कार्यकर्ता हुन खोजेर एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेको पनि हो। तर, त्यहाँ मेरो शर्मनाक हार भयो र अयोग्य साबित भएँ। त्यसपछि यता अन्योलमा छु। म राजनीतिमा रहे पनि मेरो वास्तविक सत्ता यतै साहित्यमा छ।
एउटा सिद्धहस्त लेखक र कुशल संगठक भएर पनि तपाईं असफल रानीतिज्ञ हुनुहुन्छ है?
ठीक भन्नुभो। यसमा अरू के गर्न सकिन्छ र?
कोही मान्छे वाक्पटुता र भाषण कला फिटिक्कै नभएर पनि राजनीतिमा टिकिरहेका छन्। तपाईंचाहिँ बोल्न, विश्लेषण गर्न उत्तिकै तगडा भएर पनि राजनीतिबाट पूरै किनारा लाग्नुभएको छ। किन?
वास्तवमा म राजनीतिक भाषण गर्नै जान्दिनँ। अरूले जस्तो बोल्छन्, मलाई त्यस्तो नक्कल गर्न मन लाग्दैन र मैले आफ्नै खालको मौलिक आविष्कार पनि गर्न सकेको छैन। यसैले म एउटा झुर वक्ता हुँ।
वामपन्थीहरू महिलासँग सम्बन्ध गाँस्न निकै माहिर हुन्छन् भनिन्छ। तर, परस्त्रीगमन, प्रेमका कुरा स्विकार्न सक्दैनन्। तपाईंले 'दुर्भिक्ष' उपन्यास, 'इन्द्रजाल' कथासंग्रहमा घुमाउरो ढंगबाट परस्त्रीगमनलाई स्विकार्नुभएको छ। तपाईंमा त्यत्रो हिम्मत कसरी आयो?
पहिलो कुरा, युवतीहरूसँग सम्बन्ध राख्नेमा वामपन्थीहरूमात्र माहिर हुन्छन् भनेर कुन अध्ययनका आधारमा निष्कर्ष निकाल्नुभएको हो? म स्पष्ट हुन सकिनँ। परस्त्रीगमन र प्रेमका कुरा को–को वामपन्थीले स्विकारेनन्, यसको हिसाब पनि मैले गरेर बसेको छैन। जुनसुकै मानिसले पनि प्रेम गर्छ, एक प्रकारले यो शाश्वत सत्यजस्तै हो। अर्को कुरा, समाजमा स्त्रीलाई निजी सम्पत्ति मान्ने व्यवस्था बनेपछि स्त्रीहरूलाई आफ्नो र अर्काको भनेर भागबन्डाको नैतिक अनुशासन बनेको हो। यस विषयमा फ्रेडरिक एंगेल्सको 'परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति' शीर्षकको ग्रन्थ आज पनि स्मरणीय र सान्दर्भिक छ।
परिआउँदा तपाईं आफैँमाथि पनि निर्मम प्रहार गर्नुहुन्छ। यस्तो किन गर्नुहुन्छ? बजारमा 'हिट' हुन कि सबैसँग 'फिट' हुन?
आत्मालोचना गर्ने कुरा मैले कम्युनिस्ट पार्टीमा सक्रिय रहँदा सिकेको हो। आफ्ना गल्तीहरूलाई सहजै स्वीकार गर्ने र अर्को गल्ती नगर्ने त्यो पद्धति मलाई अझै पनि मन पर्छ। बजारमा 'हिट' हुने वा 'फिट' हुने मेरो स्वभाव नै छैन। बजार अनुकूलको स्वभाव ममा हुँदो हो त म अर्कै किसिमको नारायण ढकाल पो भइसक्थेँ कि? अर्थात्, राजनीतिक रामहरूको आदर्श हनुमान नारायण ढकाल। के म त्यस्तो देखिन्छु र?
राजनीतिक आख्यान लेख्नुहुन्छ। त्यो पनि 'का"ठ'को। तर, राष्ट्रिय राजनीतिमा का"ठे नेताहरूको प्रभाव जिरो नै छ भन्दा हुन्छ। का"ठबाट आएका सम्झनलायक नेताहरूको त खडेरी नै परेको छ नि है?
हाम्रो इतिहासमा काँठ धेरै समयसम्म सीमान्तमा रहँदै आयो। शक्ति संरचनामा त्यसको प्रतिविम्ब झल्किनु स्वाभाविक हो। तर, राष्ट्रिय राजनीतिमा काँठे नेताहरूको प्रभाव नै नभएको भने होइन। 'वृषभ बध'मा वियोगी श्रेष्ठको उदाहरणले यो तथ्य खुलाउँदैन र?
तपाईं काँठ क्षेत्रबाहेक अन्य विषयमा एकदम कम आख्यान लेख्नुहुन्छ। समाजमा लेख्नुपर्ने कुरा अरू छैनन्?
काँठबाहेक अन्यत्रको समाजलाई मैले कम बुझेको छु। नबुझेको समाजलाई लेख्नु भनेको असक्षम कलाकारले भद्दा किसिमको अभिनय गरेजस्तै लाग्छ मलाई।
तपाईंलाई कसैले 'झुर' भनिहाले पनि तपाईं 'ए हो र? ठीकै छ नि त' भनेजस्तो गरेर मौन समर्थन जनाउनुहुन्छ। यो स्वभावले तपाईंलाई फाइदै गरेको छ होला है?
धेरै विषयमा म बढी सम्झौतावादी छु। मलाई कसैले 'झुर' भन्छ भने त्यो उसको तनावको विषय हो, मेरो होइन। तर, जति नै सम्झौतापरस्त भए पनि मलाई शुभलाभ चाहिँ भएको छैन।
तपाईंका प्रायः किताबले पाठक, समीक्षकको व्यापक प्रशंसा पाएका छन्। तर, तपाईंका किताबहरू बिक्रीको हिसाबले कमजोर साबित भएका तथ्यांक भेटिन्छन्। यो कमजोरी बजारको हो कि तपाईंको?
नेपालका केही बिकाउ लेखकभित्र म पनि पर्छु। तर, म सर्वाधिक बिकाउ हुने काँटको चाहिँ होइन। मेरो लेखनको मूल अभीष्ट समाजको रूपान्तरण हो। यसैले मेरा रचनाहरू रूपान्तरणका पक्षधर जागरुक पाठकबीच धेरै पुगेका छन्। उनीहरूको संख्या जति थपिँदै जान्छ, मेरो बजार पनि बढ्दै जाने हो।
तपाईंका किताब आएपिच्छे बजारमा मदन पुरस्कार तपाईंकै पोल्टामा आउँछ भन्ने हल्ला सुरु हुन्छ। न तपाईं पुरस्कार पाउनुहुन्छ, न हल्ला मत्थर हुन्छ। फेरि मदन पुरस्कारलाई बेलाबेला आलोचनात्मक ढंगले व्याख्या पनि गर्नुहुन्छ। तपाईंको उपन्यास 'प्रेतकल्प'ले मदन पुरस्कार नपाएको हल्ला अहिलेसम्म सेलाएको छैन। 'वृषभ बध'ले पाउला कि भन्ने आश तपाईंभित्र कतै छ कि छैन?
'प्रेतकल्प'ले किन मदन पुरस्कार पाएन भन्ने कुरा अब पुरानो र असान्दर्भिक भइसकेको छ। 'वृषभ बध' र कुनै पनि पुरस्कारबारे कुरा गर्नु पनि अहिले अर्थहीन हुन्छ। पुरस्कार कसलाई दिने भन्ने निर्णय पुरस्कार गुठीले गर्ने हुँदा यस विषयमा म केही भन्नसक्ने सामर्थ्य राख्दिनँ। मदन पुरस्कार गुठीका सन्दर्भमा मैले यति भनेको हुँ कि मदन पुरस्कारलाई समाजले इज्जत गर्छ, यसको इज्जत अरू बढाउने हो भने पुरस्कार प्रदान गर्दा मूल्यांकन गर्ने आधार लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ। यो मान्यतामा म अहिले पनि कायमै छु।
प्रकाशित: ६ असार २०७२ ०२:१० आइतबार


-600x400.jpg)


