३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

पुस्तकको अमरता

विसं १९९० को भूकम्पबारे इतिहास शिरोमणि बाबुराम आचार्यले अर्का इतिहासकार दार्जिलिङ निवासी सूर्यविक्रम ज्ञवालीलाई भूकम्पको दुई–तीन हप्तापछि पठाउनुभएको चिठी अहिलेको सन्दर्भमा महत्वपूर्ण छ।त्यतिखेर के कस्तो भएको रहेछ भन्ने त्यसबाट केही थाहा हुन्छ। त्यो चिठी ‘बाबुराम आचार्य र उहाँका कृति' भन्ने त्रिभुवन विश्व विद्यालयको नेपाल र एसियाली अध्ययन संस्थानबाट प्रकाशित किताबमा छापिएको छ। तर, १९९० सालको भूकम्पबारे बढी जानकारी दिने किताब मेजर जनरल ब्रह्मशमशेर जंगबहादुर राणाको ‘नेपालको महाभूकम्प– १९९० साल' भन्ने हो। त्यसको प्रथम संस्करण १९९१ मा र दोस्रो संस्करण १९९२ मै निस्किएको थियो। त्यसमा त्यतिखेरका चित्रहरू र उद्धार, राहत र पुनःनिर्माणका कामको आम्दानी र खर्चसहित विस्तृत वर्णन छ। दोस्रो संस्करणको केशरलालले गरेको अंग्रेजी अनुवाद भने रत्न पुस्तक भण्डारले छापेको थियो। त्यो पाइन सक्छ। त्यसबाट पनि निकै जानकारी पाइन्छ। यसपालिको भूकम्पपछि ब्रह्मशमशेरको किताबलाई विभिन्न प्रकाशनले निकालिरहेका छन्। 
बाबुराम आचार्यको संक्षिप्त चिठीमा पनि कुनकुन ठाउँमा के कति धनजनको क्षति भयो भन्ने धेरै महत्वपूर्ण कुरा समावेश गरिएका छन्। घन्टाघर, धरहरा ढलेको कुरा र अरू धेरै भवनहरूमा भएको क्षतिबारे उल्लेख छ। त्यस संक्षिप्त चिठीमा भएको एउटा कुरा विशेष उल्लेखनीय छ। त्यसमा लेखिएको छ— घन्टाघरले पुस्तक खानाको ठूलो टेबिल जम्मैसम्म मिचिदियो। पुस्तक हानि हुन पाएनन्। ...माहिला गुरुज्यूको घर पनि साह्रै चिरिएको छ। तर पुस्तकहरू उहाँको पनि बचेको छ। स्मरणीय छ, हालको नेपालको राष्ट्रिय पुस्तकालयका धेरै किताब माहिला गुरुज्यू हेमराज पाण्डेको पुस्तकालयबाट ल्याइएका हुन्। 
बाबुराम आचार्यले घन्टाघर ढल्दा पुस्तकमा हानि नभएको पुस्तकालयको जुन उल्लेख गर्नुभएको छ, त्यो वीर पुस्तकालय हो। त्यो हाल सिंहदरबार नगिच रामशाहपथमा राष्ट्रिय अभिलेखालय बनेर रहेको छ। त्यो हाम्रो राष्ट्रको अमूल्य निधि हो। त्यहाँ त्यस्ता केही पुस्तकहरू छन्, जुन संसारकै सबैभन्दा पुराना हस्तलिखित पुस्तकहरू मध्येमा पर्छन्।
वीर पुस्तकालय र अन्य महत्वपूर्ण ग्रन्थहरूका संग्रहबारे ब्रह्मशमशेर राणाको किताबमा यस्तो लेखिएको छ— पहाडमा खासगरी उत्तरी हिमाल क्षेत्रमा दुई–तीन प्रसिद्ध गुम्बाहरू छन्। बौद्ध दर्शनका विद्वानहरू ती गुम्बालाई विशेष महत्व र आदर दिन्छन्। त्यहाँका लामाहरूलाई त्यस क्षेत्रका मानिसहरूले धेरै सम्मान गर्छन्। नाम्चे बजारको थेङ्बोचे गुम्बा सबैभन्दा प्रसिद्ध छ। ती बौद्ध गुम्बाहरू भत्कनाले प्राचीन हस्तलिखित ग्रन्थहरूको ठूलो क्षति भएको छ। यो ठूलो दुर्भाग्य हो। सरकारले राजधानीमा संग्रह गरेका पुराना हस्तलिखित ग्रन्थहरू भाग्यले सुरक्षित छन्। यी पुस्तकहरू ज्यादै पुराना र दुर्लभ हुनाले धेरै विदेशी विद्वानहरू बेलाबेलामा ती पुस्तक पढ्न आउँछन्। त्यसकारण यो वीर पुस्तकालय ती विद्वानबीच धेरै लोकप्रिय छ। पुस्तकालय जोगियो। यही सन्तोषको कुरा छ।
बाबुराम आचार्यले लेख्नुभएको छ— श्री ५ महाराजाधिराज लगायतका दरबार महलहरूमा नभत्केको केशरमहल मात्र हो। यो विशेष ध्यान दिनयोग्य कुरा छ, किनभने केशर महलमा केशर लाइब्रेरी पनि थियो र अहिले पनि छ। त्यो पनि नेपालको एक अमूल्य निधि हो। त्यहाँ स्कन्द पुराणको अम्बिकाखण्डको झन्डै पन्„ सय वर्ष पुरानो ताडपत्रमा लेखिएको पाण्डुलिपि लगायतका धेरै अमूल्य ग्रन्थ छन्। स्कन्द पुराणको त्यति पुरानो पाण्डुलिपि संसारमा अन्त कतै पनि पाइन्न।
भीमसेन थापाका पिता काजी अमरसिंह थापाले आफू पाल्पाको गभर्नर हुँदा उनको मातहतमा काम गरेका भानुभक्त आचार्यका पिता खरिदार धनञ्जय आचार्यलाई दिएको २०३ वर्ष पुरानो बकसपत्र। स्पष्ट छ यो कागज भानुभक्त जन्मनुभन्दा दुई वर्षअघिको हो। यसले नेपालको इतिहासका धेरै पक्षमा प्रकाश पार्छ। यस्ता ऐतिहासिक कागजपत्र धेरै हुन सक्छन्। 
विसं २०७२ को महाभूकम्पमा राष्ट्रिय पुस्तकालय पुल्चोक क्षतिग्रस्त भएको कुरा अखबारमा आएको छ। कति क्षति भयो थाहा छैन। पुस्तकको र अन्य ऐतिहासिक कागतपत्रको क्षति हुनु ज्यादै ठूलो क्षति हो। त्यस्तै अधिकांश संग्रहालयहरू हालैको भूकम्पबाट क्षतिग्रस्त एवं बन्द भएको अवस्थामा छन्।
नेपाली वाङ्मयको सर्वाधिक व्यापक संग्रह मदन पुरस्कार पुस्तकालय २०७२ को महाभूकम्पबाट भाग्यले बच्न सकेको छ र सुरक्षित छ। सो पुस्तकालयमा कमलमणि दीक्षित र उहाँका साथमा गजेन्द्रनाथ रेग्मीले काम गरेको आज करिब साठी वर्ष भयो। त्यस पुस्तकालयका दुर्लभ पुस्तक उपयोग गरेर धेरै नेपाली विद्वानले अनेक अनुसन्धान गरे, ग्रन्थ लेखे, विद्यावारिधि गरे। ती सबै विद्वान उहाँहरूका ऋणी छन्। त्यस पुस्तकालयका निमित्त अब नयाँ भूकम्प प्रतिरोधक भवन बनाउन सरकारले पनि मद्दत दिनुपर्छ। 
संसारका सबैभन्दा ठूला पुस्तकालयहरू लाइब्रेरी अफ कांग्रेस वाशिङ्टन डिसी, ब्रिटिस लाइब्रेरी लन्डन, नेनिनग्राद लाइब्रेरी मास्को; ती देशका मात्र होइन, विश्वका नै गौरव र निधि हुन्। एकपल्ट लाइब्रेरी अफ कांग्रेस हेर्न जाँदा त्यहाँका अफिसरले भनेको कुरा याद आउँछ। सन् १९८४ मा उनले सगौरव भनेका थिए— यहाँ करिब दुई करोड ५० लाख किताब छन्। हरेक वर्ष एक लाखजति किताब थपिन्छन्। पुस्तकहरू तीन ठूला भवनमा जमिमुनि तीन–चार तलासम्म वाटरप्रुफ, फायरप्रुफ र बमप्रुफ अवस्थामा छन्। किताबहरू मात्र होइन, त्यहाँ संगीतका लाखौं रेकर्डहरू र १६ सय किसिमका त बाँसुरीमात्र छन्। संसारका जुनसुकै भाषाका पनि सारा महत्वपूर्ण पुस्तक त्यहाँ छन्। 
आज मनुष्यले जे जति प्रगति गरेको छ, त्यसको आधार पुर्खाहरूले आर्जेको ज्ञान नै हो। त्यो ज्ञान पुस्तकहरूमा संगृहीत हुन्छ र पुस्तकहरू पुस्तकालयमा संगृहीत हुन्छन्। तिनको संरक्षण गर्नु सबैभन्दा ठूलो काम हो। भूकम्प आए पनि, नआए पनि मानिसहरू एक दिन कालगतिले मर्छन्। तर पुस्तकमा संरक्षित ज्ञान अमर हुन्छ। त्यसलाई जोगाउनुपर्छ। त्यो कुरा बुझेका धनी र विकसित राष्ट्रहरू संसारमा पाएजति पुस्तकहरू जम्मा गर्छन् र जतनसाथ राखेर पढ्छन्। हामी अति अविकसित र गरिब देशमा छौं। हामीहरूमा त्यस्तो चेतना कम देखिन्छ। यस कुरामा पनि हाम्रो ध्यान जानु जरूरी छ।

प्रकाशित: ४ असार २०७२ १९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App