सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।
बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ भिडियो बनाउने चार जनालाई पुरस्कृत गरेको हो ।
भिडियो प्रतियोगितामा प्रथम हुने संगम पौडेललाई २५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ । यस्तै दोस्रो हुने सत्य राजवंशीलाई १८ हजार,तेस्रो हुने सीताराम कोइरालाललाई १० हजार र चौथो हुने अनिश हमाललाई ७ हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गरिएको छ ।
यस्तै सुरक्षित चालक अभियानमा सहयोग पु¥याउने विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । सिटी सफारीको लाइसेन्स प्राप्ति सहज बनाउन महत्वपूर्ण भूमिका खेलेबापत कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुनेहरूलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम, संस्थाका अध्यक्ष भेषप्रसाद धमालालगायतले नगद, प्रमाणपत्र र सममान पत्र प्रदान गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले ट्राफिक व्यवस्थापन, सवारी नियकको पालना लगायतका कामलाई थप प्रभावकारी बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सरकारको काम पारदर्शी, सुशासन र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सिटी सफारी चालकहरू, ट्राफिक प्रहरी,विभिन्न क्याम्पसका विद्यार्थी, अभियन्ताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित: ३० पुस २०८२ २०:२६ बुधबार





