२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन्। अब उनको ५० घारमा मात्र मौरी बाँकी छन्।

अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालनमा लागेकी उनको समूहसँग कुनै बेला ९०० घारसम्म मौरी थिए। वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै आएको उनले सम्झिन्।

मौरीपालनकै कारण राष्ट्रपति पुरस्कारसमेत पाएकी उनी रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि अब मौरीपालनलाई निरन्तरता दिन कठिन भइरहेको बताउँछन्।

“रोग सङ्क्रमणले ठूलो क्षति भयो”, उनी भन्छन्, “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो। किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन।” 

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन्।

कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए। कनकाई मौरीपालन उद्योगका सञ्चालक उनले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो गरे।

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ। उनले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराई बताउँछन्।

मौरीपालनप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या नै प्रमुख कारण रहेको छ।

वार्षिक दुई हजार केजीससम्म मह उत्पादन गर्दै आउनुभएको शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताए।

किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउनसके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ।

प्रकाशित: २३ कार्तिक २०८३ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App