३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

सांस्कृतिक विम्बहरूमा

अभय जुन पेसामा छन्, त्यो अति संवेदनशील र व्यस्त पेसा हो। नेपाल–भारतको सामाजिक, संास्कृतिक र राजनीतिक मामिला हेर्ने एक अधिकृतले नेपालको संस्कृतिलाई मिहिन ढंगबाट बुझे र कवितामा जीवन्तता दिए।
एउटा कविले मान्छेमात्र हेर्छ। मान्छेको परिवेश हेर्छ, यसपछि उसले त्यहाँका मान्छे र परिवेशलाई विश्वजनीन बनाउँछ। कवि अभय यसका ज्वलन्त दृष्टान्त हुन्। कविलाई आफू जन्मिएको माटो अनि भाषाले मात्रै प्रभाव पार्दैन। प्रत्येक मान्छेका श्वासप्रश्वासले जागरुक बनाउँछ।
उनी नेपाली साहित्यिक वृत्तमा भारतीय दूतावासका एक अधिकृतभन्दा उम्दा कविका रूपमा बढी चिनिए। विश्व कविता बजारलाई उनले यसअघि नै पाँच वटा कविता कृति दिइसकेका छन्। अंग्रेजी भाषाका कवि अभयको साहित्यिक कर्मसँग त नेपालका अंग्रेजीभाषी स्रष्टाहरू पहिल्यै परिचित थिए। कवितामै समर्पित नेपाली कविहरू पनि उनका कविताबाट टाढा थिएनन्। सामान्य नेपाली पाठकका दृष्टिमा समेत उनी पर्न थालिसकेका छन्। यो उनको नेपाली समाज र संसकृतिप्रतिको प्रेम अनि कवितामाथिको समर्पणका कारण नै हो।
काठमाडौं उपत्यका जात्रैजात्राको खाल्डो हो। पौराणिक मिथ बोकेका नेपाली विशेष जातजातका यी जात्रालाई कवि अभयले कति बेला यति गहिरो अध्ययन गर्न भ्याए होलान्, स्तुत्य कुरा यो छ।
उनका कविताको बुनोट भिन्न लाग्छ। उनले विषयको कविताभित्रै उत्खनन् गर्छन्। उनका कविताको आयाम अति छोटा छन्, तर विषयको लम्बाइ–चौडाइ व्यापक छ।
एक समयमा
वागमतीको किनारमा
दुई सुनौला मृगका रूपमा
हर उषाकालसँगै पार्वतीसँग क्रीडामग्न म
अहिले सघन वास्तुमा निर्मित...
(पशुपतिनाथ– १)
यसरी कवितामा आख्यानको काव्यात्मक लय तान्न सक्ने काव्यिक चेतना अभयस“ग प्रचुर देखिन्छ।
यहाँ न्यातपोलको छहारीमय चौडा धरतीमा
बत्सला मन्दिरको भीड छिचोल्दै
परम्परागत कलाकारहरू माटो मुछेर आकार दिइरहेकै छन्
हाकुपटासी पहिरिएका महिलाहरू
सुकुल पल्टाउदै ती भाँडाकुँडामा चित्रकारी भरिरहेकै छन्...
(भक्तपुर)
नेपाललाई विभिन्न विम्बमा बाँडेर काव्यिक दृष्टिले हेरेका छन्, कविले। ‘काठमाडौंका विम्बहरूमा' शीर्षकभित्र उनले काठमाडौंको अनेक रूपलाई हेरेका छन्। पहिलो आगमानमै काठमाडौं कचौराझैं लाग्छ, उनलाई।
काठमाडौंको पश्चिमी वृत्तमा
अष्टनेत्र भएका उपकारी र विचारशील देव,
सहरमा उउटा सुन्दर स्वप्न बगैंचा
र, एउटी सुन्दर बाला
आफ्नो प्रेमी फर्किने प्रतीक्षामा
स्वयम्भू अष्टनेत्र देव
सधैं भुइँमा दृष्टि फिँजाइरहेका छन्।
(काठमाडांैका अष्टनेत्र देव)
उनले कविताका लागि छानेका ठमेल, आर्यघाट, स्वप्न बगैंचा, बबरमहल, त्रिभुवन विमानस्थल, दरबारमार्ग र पशुपति वृद्धाश्रम जस्ता ठाउँ सिंगो नेपालको संस्कृति, इतिहास, सभ्यता, विकास र राजनीतिसम्म जोडिन आउँछन्। यस्ता विषय छनोटले पनि कवि अभयको काव्यिक चेतना भिन्न र सचेत छ भन्ने देखाउँछ।
जीवनको अन्तिम गन्तव्य हुँ म
यस धरतीमा
यद्यपि कोही आउँदैनन् आफंै हिँडेर
मेरो शरणमा
(आर्यघाट)
त्यसो त काठमाडौंमात्र नभई नेपालका विभिन्न ठाउँ जस्तैः चितवन, धुलिखेल, नगरकोट, लाँकुरी भन्ज्याङ, दामन, शिवपुरी, पोखरा, मनकामना, जनकपुर, मुस्ताङ, बर्दिया, बन्दीपुर र भेडेटारको दृश्य पनि उनको कवितामा छ।
क्षितिजमा झुन्डिएको एउटा आँखा
तल
जनता र तिनका सहरको गाथा
मेरो बाक्लो हरित
आधुनिकताले घायल
वनभोज तीर्थाटनमा आएका
प्लासिटकका फोहर थैला
(लाँकुरी भन्ज्याङ)
लाँकुरी भन्ज्याङ काठमाडौंबाट धेरै टाढा छैन। ललितपुर जिल्लामै पर्छ। तर पनि कैयौं राजधानीवासीका लागि लाँकुरी भन्ज्याङ टाढा छ। काठमाडौं उपत्यकाको उनेक हत्कण्डा हेरिरहने लाँकुरी भन्ज्याङ राजधानीले नपत्याएको ठाउँ हो तर कवि अभयले यसैलाई धेरै पत्याए र लेखे— कविता।
उनको कविदृष्टि सगरमाथा हुँदै रारा तालसम्म पुग्छ। नेपाली मन र जनको जिन्दगी छाम्ने क्रममा डान्स बारकी केटी हुँदै शेर्पासम्म पुग्छन्। नेपाललाई सधैं जगाउने र सधैं उँचो राख्ने सिद्धार्थदेखि अरनिकोसम्मको स्पर्शमा कवि रमाएका देखिन्छन्।
लामो समयदेखि
आफ्नै पुर्खाको भूमिमा विस्मृत
चैंग जु फुका ठेलीमा जीवित हुन पुग्छ।
(अरनिको)
नेपाली माटोका सुगन्ध अरनिका अहिले नेपाली बस्ती विस्मृत बन्न पुगेकामा कविको मन कुँडिएको छ। कविले सिंगो धरतीलाई आफ्नै ठान्छ र प्रेम गर्छ, यसैले पनि होला उनको प्रेम नेपालका भानुभक्त, देवकोटा, बिपी र नारायण गोपालसम्म फैलिएको छ।
छोटा–छरिता कविता लेखनमा अभयले आफूलाई पृथक् राखेकै छन्। विषयमाथिको काव्यिक चिन्तन पनि नितान्त भिन्न लाग्छ। अभयको मूल भाषा अंग्रेजी हो। यो कविता पनि वरिष्ठ पत्रकार एवं साहित्यकार किशोर नेपालद्वारा अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो। अनुवादलाई अझ चिल्लो पार्न कवि मोमिलाको साथ लिएको पनि कविले कृतज्ञतामा उल्लेख गरेका छन्। सिद्धहस्त लेखक–सर्जकको अनुवाद कलाले अभयका कवितामा नेपालीपन पाइन्छ।कृति : कविता 
लेखक : अभय कुमार 
प्रकाशक : वी रिड
पृष्ठ : १२२, मूल्य : ३९९ रुपैयाँ

प्रकाशित: ४ असार २०७२ १९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App