बैशाख १२ पछिको पछिल्लो डेढ महिना विदेशी सञ्चारमाध्यममा नेपाल प्रमुख समाचार बनेर विश्वभर छायो। यदाकदा मात्र ‘नेपाल' हेडलाइन बन्ने समुद्रपारिका सञ्चारमाध्यमले धेरै दिनसम्म नेपाल लेखिरहे, कारण थियो— शक्तिशाली भूकम्प। वैशाख १२ गतेको भूकम्पपछि प्रमुख विदेशी सञ्चारमाध्यममा नेपाल हेडलाइन मात्र बनेन, हजारौंको संख्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू नेपाल भित्रिए।
नेपालमा भूकम्प गएको केही मिनेटमै त्यो खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रमुख हेडलाइन बनिसकेको थियो। विदेशी रेडियो, टेलिभिजन र अनलाइनले भूकम्पको लाइभ अपडेट दिन थालिसकेका थिए।
छिमेकी मुलुक भारतका मात्र होइन, बिबिसी, सिएनएन, गार्जियनजस्ता सञ्चारमाध्यमले आफ्नो अनलाइन संस्करणमा लाइभ पेज सिर्जना गरेर भिजिटरहरूलाई नेपालबाट प्राप्त हुने जानकारी तत्काल सम्प्रेषण गरेर सूचित गराइरहेका थिए। आफ्ना संवाददाता पुग्न नसकेका विदेशी सञ्चारमाध्यमले एपी, एएफपी, रोयटर्सजस्ता समाचार एजेन्सी र नेपालबाट गरिएका ट्वीटलाई आधार मानेर समाचार अपडेट गरिरहे।
बिबिसीले नेपालमा भूकम्प जानासाथ आफ्नो अनलाइन संस्करणमा नेपालका भवनहरू भत्किएको, दर्जनौं मानिस घाइते भएको र अज्ञात संख्यामा मानिसको मृत्यु भएको अपडेट गरेको थियो। राजधानी काठमाडौं र पोखराबीचको क्षेत्र गोरखामा मूल धक्का दिएको भूकम्पलाई नेपालस्थित भूकम्प मापन केन्द्रले ७.६ म्याग्निच्युड रेकर्ड गरेको थियो। ‘धक्काहरू पाकिस्तान, बंगलादेश र छिमेकी भारतमा समेत महसुस गरिएको' भन्दै बिबिसीले समाचार अपडेट गर्योट। एएफपीबाट प्राप्त काठमाडौंको धरहरा भत्किएको तस्बिर राख्दै बिबिसीको समाचारमा एक नेपाली मन्त्रीले केन्द्रविन्दुमा अत्यधिक क्षति भएको बताएको उल्लेख गरेको थियो।
बेलायतबाटै प्रकाशित दी गार्जियनको अनलाइन संस्करणले पनि आफ्नो लाइभ अपडेटमा पछिल्लो ८० वर्षमा नेपालमा सबैभन्दा ठूलो भूकम्प गएको, भवन भत्किएको र धेरै संख्यामा घाइते भएको उल्लेख गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई समेत दी गार्जियनले पहिलो समाचारमा उल्लेख गर्यो ।
भूकम्प गएलगत्तै नेपालमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूको ओइरो लाग्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री र उद्धार टोलीसँगै विदेशी पत्रकार आइपुगे। नेपालमा सीमित प्रतिनिधिमात्र भएकाले छिमेकी भारतमा ब्युरो राखिएका सञ्चारमाध्यमका संवाददाता सिधै भारतबाट नेपाल आए भने अन्य मुलुकबाट पनि पत्रकारहरू भित्रिने क्रम सुरु भयो।
छतमा स्याटेलाइन डिभाइस जोडिएका आउटडोर ब्रोडकास्टिङ भ्यान, प्रेस लेखिएका सवारी साधन र क्यामेरा बोकेका सञ्चारकर्मीको भिड काठमाडौंमा झन्डै एक साता रह्यो। सयौं विदेशी सञ्चारमाध्यमका हजारौं सञ्चारकर्मी काठमाडौंबाट रिपोर्टिङमा व्यस्त रहे। केही टोली केन्द्रविन्दु गोरखातिर लागे भने केही सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोक पुगे। केही काठमाडौंमै रहेर समाचार संकलनमा लागे भने केही सगरमाथामा हिमपहिरो गएपछि खबर संकलनका लागि त्यतै पुगे। नेपालमा आफ्ना प्रतिनिधि पठाउन नसकेका सञ्चारमाध्यमले पनि विभिन्न समाचार एजेन्सी वा नेपालका स्थानीय पत्रकारबाट समाचार संकलन गरेर पाठक, स्रोता र दर्शकलाई सुसूचित गराइरहे।
दोलखालाई केन्द्रविन्दु पारेर वैशाख २९ गते अर्को ठूलो परकम्प जाँदासम्म धेरै सञ्चारकर्मीले नेपाल छाडिसकेका थिए। त्यो परकम्पलगत्तै उद्धारमा उडेको अमेरिकी हेलिकोप्टर बेपत्ता भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान पुनः नेपालतर्फ सोझियो। शक्तिशाली मुलुक अमेरिकाले राहत तथा उद्धारका लागि पठाएको हेलिकोप्टर नै चार दिनसम्म हराएपछि धेरै विदेशी सञ्चारकर्मीको ध्यान मोडियो।
दुई साताअघि कालीगण्डकीमा गएको पहिरो र गत सातामात्र सिन्धुपाल्चोकमा दुर्घटना भएको माउन्टेन एयरको हेलिकोप्टरको बारेमा पनि विदेशी मिडियामा सामग्रीहरू आइरहे।
नेपाल कभरेज

सुरुका तीन दिन मिडियाहरू भूकम्प प्रभावित क्षेत्रहरूका लागि निकै संवेदनशील भए। बारम्बार आइरहने परकम्पले हल्लिरहेका कति नेपालीको घर भत्किसकेको थियो भने कतिपय राम्रै भए पनि भित्र जान डराइरहेका थिए। भूकम्पको प्रभाव, भत्किएका घर र बस्ती, मानवीय क्षति, घाइते, खोजी तथा उद्धार, जीवितै उद्धार गरिएकाहरूको बारेमा पर्याप्त समाचार आइरहेका थिए। सिएनएनले नेपालमा भूकम्प गएको पहिलो ७२ घन्टामा मेडिकल सीमितता र उद्धार सामग्री पुर्या उन कठिनाइ भइरहेकोमा जोड दियो।
नेपालमा भूकम्पको प्रभाव, मानवीय क्षति, खोज तथा उद्धारका विषयमात्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सामग्री भएनन्, नेपालमा कसरी पुुनःनिर्माण हुन सक्छ र यसका लागि के कस्ता सहयोग चाहिन्छ भनेर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बहस भयो। नेपालको वार्षिक बजेटभन्दा धेरै क्षति भएको भन्दै बिबिसीले पुनःनिर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीको योगदान विशिष्ट रहने समाचार बनायो। ‘देशको कुल ग्राहर्स्थ उत्पादनमा करिब एक तिहाइ योगदान दिने विप्रेषणले नेपालको पुनःनिर्माणमा ठूलो सहयोग हुनेछ,' बिबिसीले उल्लेख गर्योक।
केही वर्षअघि हाइटीमा गएको भूकम्प र त्यसबाट सिकेको पाठलाई नेपालको पुनःनिर्माणमा लागू गर्न सकिने खालका समाचार पनि विदेशी सञ्चारमाध्यममा आए। दी गार्जियनको विश्वव्यापी विकास खण्डमा हाइटीको भूकम्पपछि वैदेशिक सहयोगमा काम गरेका प्रोस्परी रेमन्डले नेपालको पुनःनिर्माणमा नेपालीकै भूमिका महŒवपूर्ण हुने बताए। सहयोगी निकायहरूले पनि नेपालीको सहभागितामा पुनःनिमार्णमा सहयोग गर्नुपर्नेमा उनको जोड थियो।
हाइटीको पुनःनिर्माणमा दातृ निकायबाट प्राप्त सहयोगको थोरै हिस्सामात्र फर्म र स्थानीय गैरसरकारी संस्थालाई दिइएको थियो। जम्मा राहत कोषको ०.६ प्रतिशतभन्दा कम रकममात्र हाइटीको स्थानीयहरूले प्राप्त गरेेको उनले लेखेका छन्। बेलायतकै अर्को सञ्चार संस्था दी इन्डिपिन्डेन्टले आफ्नो सम्पादकीयमा हाइटीमा सन् २०१० मा गएको भूकम्पपछि त्यहाँ सहयोगी संस्थाहरूको खेर गएको र अव्यवस्थित राहत प्रयास नेपालमा दोहोरिन नहुनेमा जोड दियो।
इजरायलबाट प्रकाशित दी टाइम्स अफ इजरायलमा मेलानाई लिडम्यानले नेपालको भूकम्पबारे केही समाचार र लेखहरू लेखिन्। सामान्यतः प्रकोपपछि लुटपाट, मूल्यवृद्धि, कृत्रिम अभाव र मानिसहरू अधैर्य हुने गरेको भए पनि नेपालमा आफूले यस्तो केही नदेखेको लेखिन्। ‘म नेपालमा नौ दिनसम्म बस्दा मूल्यवृद्धि, लुटपाट वा कानुनबाहिर काम भइरहेको एउटा पनि उदाहरण देखिनँ। निकै प्रभावित जिल्लामा धेरै दिनदेखि खान नपाएका मानिस पनि अनुशासित र शान्त थिए,' उनले लेखेकी छिन्। नेपाललाई सहयोग गर्न मन भए बिदा मनाउन नेपाल नै जान अनुरोध गर्दै उनले अर्को लेखमा भनेकी छन्, ‘नेपालका धेरै पदयात्रा मार्गहरू भूकम्पले प्रभावित भएका छैनन्। अन्नपूर्ण पदयात्रा मार्गमा पनि क्षति पुगेको छैन।'
वृत्तचित्र

डिस्कभरी नेटवर्क इन्टरनेसनलले नेपालको भूकम्पबारे एक घन्टा लामो वृत्तचित्र निर्माण गरी चार साताअघि प्रसारण गर्योभ। गत वैशाख १२ गते गएको भूकम्प र वैशाख २९ को परकम्पपछिको अवस्था देखाउन छायांकन गरिएको ‘आफ्टरसक : डिजास्टर इन नेपाल' नामको यो वृत्तचित्रका निर्माताहरूले नेपालका भूकम्प प्रभावित विभिन्न स्थानमा गएर छायांकन गरे। मे महिनाको २४ तारिखका दिन प्रसारण भएको यो वृत्तचित्रले भूकम्पका प्राविधिक कुरासहित यसबाट बाँचेकाहरूको बयान पनि समेटेको थियो। वृत्तचित्र उत्पादनको क्रममा डिस्कभरी च्यानलले कलाकार मिसेल योहसँग साझेदारी गरेको थियो। उनले यो वृत्तचित्रको होस्ट गरेकी थिइन्।
जुन ८ मा डिस्कभरी च्यानल इन्डियाले ‘अर्थक्वेक : डिजास्टर इन नेपाल' नाममा यही वृत्तचित्रको परिमार्जित संस्करण प्रसारण गर्योस। यसले भूकम्पको वैज्ञानिक कारण के हो भनी जानकारी दिने विशेषज्ञको अन्तर्वार्ता, काठमाडौंमा भएको उद्धार कार्यको दृश्य देखाएको छ। त्यस्तै, वृतचित्रमा संसारभर समेटिएका समाचार रिपोर्टहरू र भूकम्पजस्ता प्राकृतिक प्रकोपमा मानिसलाई अनुकूलन गर्नका लागि आविष्कार भएका नयाँ प्रविधि र अनुसन्धानबारेमा उल्लेख गरिएको छ। यसमा २२ घन्टासम्म पुरिएर जीवितै उद्धार भएका भक्तपुरका बालक सोनिस अवालकी आमा रश्मिला अवालको बयान, दरबार स्क्वायरको भवनमा पुरिएकी विद्यार्थी आरती कटुवाल र सगरमाथा क्षेत्रमा गएको हिउँपहिरोबाट बाँचेका एक जोडीको अनुभव पनि समेटिएको छ।
त्यस्तै, जुन १० मा नेसनल जियोग्राफिक च्यानलले ‘ट्याप्ड इन नेपाल' नामक वृत्तचित्र प्रसारण गर्योा। डिस्कभरी च्यानलले जस्तै यसमा पनि प्रभावित र विज्ञका कुरा समेटिएका थिए। डिक बलरले निर्देशन गरेको यो वृत्तचित्रले भूकम्पको विज्ञान देखाउनका लागि सिजिआई प्रयोग गरेको थियो भने अर्को भूकम्प कहिले कहाँ जान सक्छ भनी पहिचान गर्न के गर्न सकिन्छ भनी विश्वभरका भूगर्भविद्को अध्ययनको निष्कर्ष पनि समेटिएको थियो।
‘गो होम इन्डियन मिडिया'

बिस्तारै पुनःनिर्माणसम्मको समाचार कभरेज हुँदै जाँदा भारतीय सञ्चारमाध्यम भने भूकम्पपछिको एक सातासम्म नेपालीहरूको तारो बने। नेपालमा भारतीय टेलिभिजन च्यानलहरू हेर्न सजिलो र हिन्दी भाषा बुझ्ने धेरै भएकाले यसका विषयवस्तु नेपालीले पचाएनन्। अन्य मुलुकका सञ्चारमाध्यम संयमित भएर विभिन्न कोणबाट समाचार सम्प्रेषण गरिरहदाँ भारतीय सञ्चारमाध्यमले भने नेपाल पूरापूर ध्वस्त भएजसरी समाचार संप्रेषण गरेका थिए। नेपाली दर्शककै भनाइमा विभिन्न असान्दर्भिक प्रश्न तेर्स्याएर पीडितलाई थप पीडा पुर्याचउने काम भारतीय सञ्चारमाध्यमहरूले गरे। त्यसमाथि, भियतनाममा दुई जना बालबालिका अंगालो हालेको तस्बिरलाई नेपालको भूकम्पमा आमाबुवा गुमाएका दाजु–बहिनीको कथा बनाएर भारतीय सञ्चारमाध्यमले प्रसारण गरेपछि झनै आलोचना भयो।
भारतीय सञ्चारमाध्यम उनीहरूको समाचार सामग्रीले मात्रै आलोचित भएनन्, नेपालका विमानस्थल र उद्धार टोली खटिएका क्षेत्रमा उनीहरूको ‘दादागिरी'ले पनि उनीहरू आलोचित भए। भारतबाट उद्धार र राहतका लागि दिइएका हेलिकोप्टर भारतीय सञ्चारकर्मीलाई ओसार्न प्रयोग भएपछि सर्वसाधारणमात्र होइन, सम्बन्धित अधिकारीहरूमा पनि आक्रोश थपियो। अनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुरु गरे— गो होम इन्डियन मिडिया अभियान।
ट्वीटर प्रयोगकर्ता उज्ज्वल ढुंगानाले गो होम इन्डियन मिडिया ह्यास ट्याग प्रयोगमार्फत सुरु गरेको ट्वीटको ट्रेन्ड ट्वीटरको ग्लोबल ट्रेन्ड नै बन्यो। वैशाख १२ मा गएको भूकम्पपछि नेपालमा समाचार संकलन गर्न आएका भारतीय सञ्चारमाध्यमले अनावश्यक अफवाह फैलाएको र नेपालका भूकम्पपीडित र नेपालीलाई समेत होच्याएको भन्दै वैशाख १९ गते उनले ट्वीटरमा पहिलोपल्ट यो ह्यास ट्याग प्रयोग गरेका थिए।
नेपालीहरूले गो होम इन्डियन मिडिया भन्ने ह्यास ट्याग प्रयोग गरेपछि भारतमा पनि यसको व्यापक समर्थन भयो। भारतीय ट्वीटर प्रयोगकर्ताहरूले आफूहरू भारतीय सञ्चारमाध्यमबाट आजित भइसकेकाले भारत फिर्ता नपठाउन भन्दै ‘डन्ट कम ब्याक इन्डियन मिडिया' भन्ने टे्रन्ड सुरु गरे। सिएनएनमा सुनिता शाक्यले भारतीय सञ्चारमाध्यम र सञ्चारकर्मीले नेपालको भूकम्पलाई पारिवारिक सिरियल खिचेको जसरी खिचिरहेको भनी एउटा ब्लग लेखिन्। धेरै ट्वीटर प्रयोगकर्ताले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भारतीय सञ्चारमाध्यमलाई आफ्नो देश फिर्ता बोलाउन आग्रह गरे। त्यस्तै, भारतीयहरूले नेपालीहरूको भनाइलाई साथ दिँदै नेपाली आफ्नो दाजुभाइ, दिदी–बहिनीजस्तै भएको र भारतीय सञ्चारमाध्यमले भारतीय जनताको प्रतिनिधित्व नगर्ने बताए। त्यसलगत्तै, भारतीयहरूले सरी नेपाल ट्वीट सुरु गरे भने नेपालीहरूले थ्यांक यु इन्डिया भने।
सपोर्ट नेपाल

भूकम्पपछि हार्ड न्युजको क्रम बिस्तारै कम हुँदै गएपछि पनि विदेशी सञ्चारमाध्यममा नेपालबारे लेख्न छाडेका छैनन्। पुनःनिर्माणमात्र होइन नेपालीलाई गर्न सकिने सहयोगबारे पनि सामग्रीहरू आइरहेका छन्। केही साताअघि टाइम म्यागाजिनको अनलाइन संस्करणमा ‘नेपाललाई सहयोग गर्न चाहनुहुन्छ भने बिदा मनाउन नेपाल जानुहोस्' भनेर सामग्री छापिएको थियो।
दुई साताअघि पाँच दिनका लागि नेपाल आएकी ओस्कार अवार्ड जितेकी हलिउड अभिनेत्री सुसन सारान्डनले पर्यटकहरूलाई नेपाल घुम्न आउन अनुरोध गरेको सामग्री एपीले संकलन गरेको थियो। उनले सेप्टेम्बरमा वर्षा ऋतु समाप्त भएपछि पर्यटकहरूले नेपाल घुम्न आउन रिजर्भेसन गर्नुपर्ने आग्रह गरिन्। ‘यसले प्रकोपमा परेका नेपालीहरूलाई सहयोग हुनेछ,' उनले भनिन्। एपीको यो सामग्रीलाई अन्य सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ स्थान दिएका थिए।
गत आइतबारदेखि खुल्न थालेका विद्यालयको बारेमा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै कभरेज भयो। राजधानी र राजधानीबाहिरका विभिन्न विद्यालयमै पुगेर संवाददाताहरूले स्थलगत सामग्री प्रकाशित गरे। उनीहरूले भत्किएका विद्यालयहरू कसरी पुनः सञ्चालनमा आए भनेर मात्र सामग्री प्रकाशित गरेनन्, विद्यार्थीको मनस्थितिबारे पनि सामग्री सम्प्रेषण गरे। विद्यालय भत्किएपछि बनाइएका अस्थायी सिकाइ केन्द्रमा पढिरहेका वा खेलिरहेका बालबालिकाका तस्बिर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाए।
पछिल्लो समय नेपालको पुनःनिर्माणमा कसरी सहयोग हुन सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बहस भइरहेको देखिन्छ। विदेशी सहयोग कसरी सदुपयोग हुन सक्छ वा पुनःनिर्माणको मोडेल के कस्तो हुने भन्ने विषय पनि एजेन्डाको रूपमा उठेको छ। यससँगै विभिन्न मुलुकबाट नेपालमा अनुसन्धानका लागि आएका अनुसन्धाताले पत्ता लगाएका सामग्रीबारे पनि विदेशी मिडियाहरूमा खबर आइरहेका छन्।
प्रकाशित: ४ असार २०७२ २१:५४ शुक्रबार





