६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

अन्तर्राष्ट्रिय अपराधी कोरियन महिला नेपालमा कसरी 'सेटल' भइन्?

काठमाडौं— इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेकी एक अन्तर्राष्ट्रिय अपराधी दक्षिण कोरियाली महिला नेपालमा पाँच वर्षदेखि बस्दै आएको पुष्टि भएको छ। ह्वान जु ली, ४८ पहिलो पटक पर्यटकको रुपमा २०१० जनवरीमा नेपाल आएकी थिइन्। पछि उनले आफ्नो टुरिस्ट भिसालाई स्टुडेन्ट भिसामा बदलिन्। ६ महिनादेखि ली काठमाडौंको नक्सालमा कोरियन रेष्टुरेन्ट चलाइरहेकी छिन्।

 

अन्तर्राष्ट्रिय अपराधीको नेपालमा खुलेआम 'सेटलमेन्ट'ले नेपालको अध्यागमन प्रणालीमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ। अन्तर्राष्ट्रिय अपराधीको भिसा नविकरणको घटनाले अध्यागमन विभाग कर्मचारीको नियतमाथि पनि गम्भीर प्रश्न खडा गरिदिएको छ।

अध्यागन विभागको रेकर्डअनुसार पाँच वर्षअघि पर्यटक भिषामा आएकी लीले यहीँबाट विश्व भाषा क्याम्पसमा नेपाली भाषा पढ्ने अनुमती पाएकी थिइन्। पछि उनलाई सरकारी निकायले रेष्टुरेन्ट व्यवसाय गर्न अनुमति दिए।

'जसरी नेपालीलाई अन्य देशको भिसा आवेदन गर्न पुलिस रिपोर्ट बुझाउनु पर्छ। नेपालको भिसा पाउन अरु मुलुकका नागरिकले पुलिस रिपोर्ट बुझाउनुपर्ने व्यवस्था छैन', अध्यागमनका एक कर्मचारीले नागरकिन्युजसँग भने, 'त्यसैले लीको अपराधिक पृष्ठभूमि खुल्न नसकेको हो।'

विभागका महानिर्देशक केदार न्यौपाने सबै विदेशीहरुको रेकर्ड राख्ने नयाँ प्रविधि र त्यस्तो सफ्टवेयर सञ्चालन गर्नसक्ने जनशक्तिको अभाव रहेको बताउँछन्। 'अब हाम्रोमा पनि विकसित मुलुकहरुको जस्तै फिङ्गर प्रिन्ट लिएर विदेशीको रेकर्ड राख्ने प्रविधिको आवश्यकता टड्कारो देखिएको छ', उनी भन्छन्।

अध्यागमन विभाग स्रोतले पाँच वर्षअिघ नेपाल छिरेकी उनले पछिल्लो समय नेपाली नागरिकसँग बिहे गरेको र आफ्नो अपराधिक पृष्ठभूमिको पूरै हटाएको शंका गरेको छ। त्यही आधारमा उनले काठमाडौंमा व्यवसाय थालेको हुनसक्ने सक्ने विभाग स्रोत बताउँछ।

लीले कोरियामा गरेको अपराध प्रकृति र ठगी रकमबारे नेपाल प्रहरीलाई अझै स्पष्ट थाहा छैन। इन्टरपोल पोल नेपालकी प्रमुख बसुन्धारा खड्का ठगी मुद्दामा लीले कोरियामा १० महिना जेल जीवन बिताएको बताउँछिन्।

प्रहरीले गत मंगलबार उनलाई नक्साल स्थित आफ्नै रेष्टुराँबाट पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो। विभागले आज सोमबार उनलाई दक्षिण कोरिया फर्काउँदैछ। 'केही दिनअघि प्रहरीले हामीलाई जिम्मा लगायो आज उनलाई डिपोर्ट गरिँदैछ', विभाग महानिर्देशक न्यौपानले भने।

प्रकाशित: २५ जेष्ठ २०७२ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App