उनलाई यस्तो ईश्वरीय सामीप्य दिने स्थान हो- श्रीबाला त्रिपुरा सुन्दरी भगवती। डोल्पा सदरमुकाम दुनै बजारबाट करिब १६ कोस पूर्वमा अवस्थित छिन्, त्रिपुरा। उत्तरमा मुकुटेश्वर हिमाल, उँधो बग्दै गरेका भेरी, ताम्रवरणी र गल्लीगार। यी तीन नदीको संगमस्थल त्रिवेणीकोटको मध्य भागबाट उठेको कामारेडाँडाको टाकुरामा विराजमान छिन्— त्रिपुरा सुन्दरी। प्रकृतिको काखमा सदैव मुस्कुराइरहेकी भगवतीसँग 'मेरो इच्छा पूरा गरिदेऊ' भन्दै माथा टेक्ने भक्तजनको बाक्लो भिड हुन्छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक सुन्दरताले सम्पन्न यहाँ पुग्न डोल्पाको दुनै बजारबाट पाँच घन्टा पैदल यात्रा नाप्नुपर्छ। सुनजस्तै टल्किरहेको हिमालको काखमा बसेकी सुन्दरीले काँधमा हिमाल बोकिरहेकी छिन् भन्ने भान हुन्छ।
त्यस्तै त्रिपुराकोट वरपरका मोतीपुर, पहाडा लगायतका मनोरम डाँडाहरूले यस स्थानलाई थप सुशोभित बनाएका छन्। मन्दिरभनदा तल बग्ने विशाल भेरी नदीले मोहित नहुने को होला र? साथै वारिपारिका डाँडाबाट बग्दै गरेका खोला एवं झरनाले सबैको मनमा झंकार उत्पन्न गरिदिन्छ। मन्दिर परिसर वरपर आँखा घुमाउँदा अलौकिक आनन्द अनुभूति हुन्छ। वरिपरिका डाँडाहरू हिउँको सिरक ओडेर मस्त निदाइरहेका हुन्छन्। शीतल हावापानी, स्वच्छ वातावरणबीच शान्त मन्दिर क्षेत्रमा आध्यात्मिक वातावरणले बेग्लै संसारको अनुभूत गराउँछ। मानवनिर्मित भव्य मन्दिरमा दर्शनार्थीको कोलाज देख्दा त्यसको गरिमा र महिमा आकलन गर्न गाह्रो पर्दैन।
श्री त्रिपुरा सुन्दरी देवीको मन्दिर परिसरलाई आफ्नो तपस्यास्थल बनाएका थिए, खप्तड स्वामीले कुनै बेला। यस शक्तिपीठका केही मिथक प्रख्यात छन्। खप्तड स्वामी डोल्पाकी यी त्रिपुरा सुन्दरी भगवती नै वास्तविक स्वरूपा हुन् भनिठान्थे। कामकोटी पीठका शंकाराचार्यले पनि यस मन्दिरमा पूजाआजा गरेका थिए। महान् योगी खप्तड स्वामीले नै यस शक्तिपीठको जाज्वल्लयमान शक्ति विश्वमै विशिष्ट रहेको सन्देश बाँडेका थिए।
'खप्तड स्वामी शंकराचार्यको नाम जोडिएकाले पनि यस धार्मिकस्थल पर्यटकमाझ निकै परिचित छ,' मन्दिरका पूजा व्यवस्थापक सदस्य रामप्रसाद उपाध्याय बताउँछन्।
यस धार्मिक स्थलबारेको किंवदन्ती यस्तो छ।
त्रिपुरा नामको राक्षसलाई मारिएको हँुदा त्रिपुराकोट नामकरण गरिएको। यही कुरालाई हाम्रो धार्मिक पौराणिक ग्रन्थ श्री स्वस्थानीमा वर्णन गरिएको छ। स्वस्थानीमै उल्लेख भएअनुसार, भगवान् शंकरकी पत्नी सतिदेवीको अंग कन्ड्याउलो यही स्थानमा पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पत्ति भएको हो। उत्पत्तिकै कथाअनुसार यस त्रिपुराकोट गढीलाई सातौं शताब्दीमा राजा विक्रम शाहको राज्यका रूपमा पनि चिनिन्छ। विक्रम शाहीले यसै कोट गाउँमा १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए। अहिलेको बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिरपछाडि कोट परेको ठाउँमा विक्रम शाहीको दरबार थियो भन्ने जनकथन सुनाउँछन्, मन्दिरका सुरक्षा व्यवस्थापक नरसिंह कठायत।
त्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा विभिन्न मूर्ति छन्। ब्राह्मणी, इन्द्रिय, वैष्णवी, वाराही, चामुण्डा, चण्डीका, अष्टदल, अष्टनागका साथै विक्रम शाहीको रानी अग्रवती, युवराज बद्री शाही सबै दश विधाका मूर्ति विराजमान छन्। हाल भगवती मन्दिरको अस्तित्व र महŒव डोल्पामा मात्र सीमित छैन। संसारभर नै प्रख्यात छ। लाग्छ, त्रिपुरा सुन्दरी आफ्नो उचाइ विश्वलाई देखाउन चाहन्छ। मन्दिर स्थापनाको केही वर्षपछि विक्रम शाही र काजी विष्टले न्यौपाने थरका पुजारीलाई जुम्लाबाट ल्याएका थिए। हालसम्म पनि यहाँको पूजा–परम्परा न्यौपाने वंशले चलाउँदै आएको छ।
किंवदन्तीअनुसार, त्रिपुराकोट उत्खनन् गर्दा त्रिपुरा सुन्दरी देवीका नौ बहिनी उत्खनन् भएका थिए। अन्य बहिनीहरू कालीकोट, बाजुरा, जुम्ला, सल्यान, बाँके, बैतडी गई बसे भने बाला त्रिपुरा बहिनीचाहिँ यस त्रिपुराकोट मन्दिरमा शक्ति प्रदत्त भएको मन्दिरका कोष व्यवस्थापक लक्ष्मीकान्त ढकाल बताउँछन्। विभिन्न ठाउँमा विभाजित भएका नौ बहिनी भगवती एकै रङका छन् भन्ने भनाइ प्रसिद्ध छ।
धार्मिक ग्रन्थमा पनि यस पुण्यभूमिलाई प्राकृतिक सुन्दरता र जैविक विविधताले सम्पन्न रहेको भूमिको संज्ञा दिइएको छ। ऐतिहासिक कालखण्डदेखि धार्मिक महŒवका कारण स्वतःस्फर्त निर्मित यस स्थान हाल पर्यटकीय क्षेत्रका रूपमा पनि प्रख्यात छ। यो ठाउँ जुम्लाको गेट–वे पनि हो। यहाँबाट जुम्ला हँुदै कर्णालीका अन्य जिल्ला पुगिन्छ। धार्मिक, सांस्कृतिक धरोहर त्रिपुरा सुन्दरीको शक्ति आराधाना गर्न पूर्वराजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रदेखि देशका प्रमुख बागडोर सम्हालेका प्रधानमन्त्री, मन्त्रीदेखि उच्च पदस्थ व्यक्ति पनि पुग्ने गरेकोे मन्दिरका प्रमुख पुजारी भानुचन्द्र न्यौपाने बताउँछन्।
स्थानीय रूपमा पनि देवीप्रति सबै धर्मावलम्बीको समान आस्था रहेको पाइन्छ। त्यसैगरी देश र देशबाहिरका हिन्दु धर्मावलम्बीले अगाध आस्थाका लागि त्रिपुरा सुन्दरीलाई आराध्यदेवीका रूपमा सम्मान प्रकट गर्छन्। मन्दिरको कलाले त्यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्छ। मन्दिरको मूर्ति र मन्दिर सुरक्षाका लागि विसं १९१८ देखि सुरक्षा व्यवस्थापक नियुक्त गरी रेखदेख गरिँदै आइएको छ।
मन्दिरको गर्भगृहमा प्रस्तरको ठूलो धातुको मूर्ति छ, जसलेे यसको गरिमालाई उजिल्याएको छ। प्यागोडा शैलीमा निर्मित मन्दिर परिसरमा धर्मशाला पनि निर्माण गरिएको छ। त्यहाँ पुग्नेलाई निःशुल्क भोजन एवं बासको व्यवस्था मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ। मन्दिर वरिपरि चौघेरै बत्ती बाल्ने पालाको व्यवस्था छ भने दक्षिणतर्फ पशुको भोग दिने गरिन्छ। मन्दिर प्रवेशद्वारसँगै मन्दिरमा टुँडाल एवं देवतामा ब्रह्मायणी, कौमारी, अष्टमातृका, भैरव, गरुड, नाग, कलश निर्माण गरिएको छ। यी कलात्मक टुँडालले दर्शनार्थी र पर्यटकलाई थप आकर्षित गर्छ। मन्दिरको गजुर सुनद्वारा निर्मित छ।
मन्दिरमा चैते दसैं र बडा दशैंमा ठूलो मेला लाग्छ। सयौंको संख्यामा विधिपूर्वक बाजागाजासहित पूजाआजा गरी बलि चढाइन्छ। यसबाहेक दैनिक पूजा–अर्चना गरिन्छ। राजगुठीका तर्फबाट बर्सेनि पञ्चबलि दिने परम्परा छ। त्यस अवसरमा मन्दिर व्यवस्थापन समितिले पूजा र महादीप बाल्ने गर्छ। ०५७ सालमा मन्दिरमा चोरी भएको थियो। पछि प्रहरीको सक्रियतामा मूर्ति रुकुमको रारीज्युलामा फेला पारी पुनः मन्दिरमा ल्याई पुनःस्थापना गरिएको थियो।
मन्दिरमा छिमेकी जिल्ला रुकुम, जुम्ला, हुम्ला, मुगु र भारतका हजारौं भक्तजन आउँछन्। बडा दसैंमा १५ दिनमा करिब एक लाखभन्दा बढी भक्तजन पूजाका लागि आउने गरेको मन्दिर व्यवस्थापन समिति बताउँछ। दसैं अवधिभर मन्दिर वरपर मेला लाग्छ, यस मेलालाई यहाँका नानीहरू 'राम्रो लगाउने र मिठो खाने' अवसरका रूपमा लिन्छन्। धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय विविधताको केन्द्रविन्दु यस स्थलको विकासमा राज्यको उपस्थिति भने उदासीन छ।
अहिले भारत सरकारको लगानीमा मान्दिरको आकार र स्वरूप नै बदल्ने गरी करिब पाँच करोड रुपैयाँ लागतमा मन्दिर पुनःनिर्माण गरिएको छ। तीर्थयात्रुको सुविधाका लागि सम्पूर्ण कोटगाँउवासी अग्रसर छन्। मन्दिर विकासका लागि पटक–पटक राज्यसँग ताकेता गरे पनि राज्यले प्रायः बेवास्ता गर्ने गरेको सार्वजनिक गुनासो छ। स्थानीय जनसहभागिता, चन्दादाता, शुभचिन्तक, श्रद्धालु भक्तजनको सहयोग र सहाराले नै मन्दिर व्यवस्थापन गरिँदै आएको कोषका अध्यक्ष ढकाल बताउँछन्।
राज्यको उपस्थिति शून्य
भानुचन्द्र न्यौपाने
पुजारी
त्रिपुरा सुन्दरी भगवती डोल्पाको मात्र नभई देशकै अनुपम सौन्दर्य र प्रमुख धार्मिक शक्तिपीठ हो। यसको समुचित विकास र योजनामा राज्यको उपस्थिति शून्य छ। हामी भक्तजनको सहयोग र सद्भावले चलिआएका छौं। यसको संरक्षण, प्रवर्द्धन र सहयोगमा राज्यले उपयुक्त कदम चाल्नुपर्छ। यति भयो भने आराध्यदेवीप्रति सच्चा सम्मान हुनेछ।
प्रकाशित: ११ वैशाख २०७२ २१:१३ शुक्रबार





