पाँचथरको दक्षिणी भेग वलनेको सोक्पाभन्दा माथि पर्ने तुमेवा डाँडा पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ। त्यहाँको वन क्षेत्र राताम्मे भएको छ। ढकमक्क गुराँस फूल्दा वन रंगीन देखिन्छ।
घाँसदाउरा गर्नेका हातमा पनि गुराँस हुन्छ। तुमेवा डाँडाको मन्दिरका पुजारी शेरबहादुर आङदेम्बेका अनुसार केही सातादेखि बिहानी पूजामा पनि गुराँस प्रयोग हुँदै आएको छ।
बाटोभरि हावाले उडाएका गुराँसका फूल देख्न पाइन्छ। तुमेवा डाँडामा मात्रै होइन, पाँचथरका अरू डाँडामा पनि गुराँस फक्रिइसकेको छ। उचाइअनुसार गुराँस फूल्ने समय फरक–फरक हुन्छ। यति बेला दुई हजार मिटर उचाइसम्म गुराँस फूलेको जैविक विविधताको क्षेत्रमा काम गरिरहको दीपज्योति युवा क्लबका निर्देशक सुनील बान्तावले बताए। उनका अनुसार माघ अन्तिमदेखि वैशाख पहिलो सातासम्म गुराँस फुल्छ।
गुराँस वन सजाउने मात्र होइन दृश्यावोलकन गर्नेलाई समेत प्रफुल्लित तुल्याउँछ। घुर्मिला डाँडामा गुराँसका होचा रूख रंगीन बनेका छन्। बस्ती नजिक वन क्षेत्रमा गुराँस टिप्नेहरू बाक्लो भेटिन्छन्। पाँचथरमा २८ प्रजातिका गुराँस पाइने बान्तवाले बताए।
मेची राजमार्ग आसपासमा गुराँस देख्न पाइन्छ। कतैकतै बालबालिका गुराँस बेच्न बसेका भेटिन्छन्। लोब्रेकुटी, सिलौटी क्षेत्रसम्म गुराँस फुल्दै गरेको स्थानीयले बताए। पुग्ने सजिला बाटा भएका ठाउँतिर मान्छेको जमघट हुने गरेको छ।
घुम्न आउनेले हातैभरि वन क्षेत्रवाट गुराँस टिपेर ल्याउन थालेको पौवाभञ्याङका व्यवसायी दाबा शेर्पा बताउँछन्। जिल्लाका तुमेवाडाँडा, मिक्लाजुङ, सिलौटी, लोब्रेकुटी, सुकेपोखरी, छिन्तापु, रानीटार, लामपोखरी, तिम्बुपोखरी, फालोट, गोरुवाले, चिवा भञ्याङ, चित्रे, भैंसे, सराङडाँडा लगायत धेरै क्षेत्रमा गुराँस फुल्छ।
सबैभन्दा धेरै तिम्बुपोखरी–लामपोखरी–फालोट क्षेत्रमा फुल्छ। उचाइमा रहेका यी क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ। तिम्बुपोखरी–लामपोखरी–फालोट पर्यटन विकास समितिका अध्यक्ष विश्वेश्वर बेघाका अनुसार यस क्षेत्रमा चैत सुरुदेखि गुराँस बढी फुल्छ। त्यस क्षेत्रमा विगतमा तीनपटक लालीगुराँस महोत्सव गरिएको थियो।
गुराँसे डाँडामा वनभोज खाने र रमाइलो गर्ने चलन छ। सुविधा भएका ठाँउमा गुराँससँग रम्नेको संख्या बढी देखिन्छ। भौगोलिक विकटता भएका ठाउँमा मानिस कमै पुग्छन्। गुराँसलाई घरेलु औषधिका रूपमा समेत लिइन्छ। विडम्बना! कतिपय जंगलका गुराँस काटिएका छन्। फडानी बढ्दै गएको छ।
गुराँसले राताम्मे भएका डाँडातिर उक्लँदा मनमा आनन्द हुन्छ। आँखा शीतल हुन्छन्। तपाईं पनि डुल्नुस् है, गुराँस फुलेका डाँडामा।
प्रकाशित: २९ फाल्गुन २०७१ १९:५० शुक्रबार





