५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

एक घुम्ती, एक पात्र : तीन महिनामै स्टार!

आयुषा राई चार वर्षदेखि नेपाली कला क्षेत्रमा छिन्। धेरै र्यामम्प नापेकी उनी विज्ञापन र म्युजिक भिडियोमा पनि उत्तिकै देखिन्छिन्। पछिल्लो समय रंगमञ्च र फिल्ममा पनि देखिन थालेकी छिन्। केही समयअघि मात्रै नाटक 'डिग्री माइला'मा अभिनय गरेकी थिइन्। त्यसअघि फिल्म 'बिर्खेलाई चिन्छस्'मार्फत ठूलो पर्दामा देखिएकी थिइन्। करिअरको एउटा घुम्तीमा आएर उनले एउटा कटु अनुभव सँगाल्नुपर्‍यो। के थियो त त्यो?

कास्टिङ काउच, अर्थात् काम दिएबापत वा दिनुअघि कलाकारमाथि हुने यौन दुर्व्यवहार। 'हुन्छ रे' सुने पनि मलाई 'वाहियात हल्ला रहेछ' भन्ने लाग्न थालिसकेको थियो। किनभने, त्यस्तो भोग्नुपर्ने भनिएका चरण पार गरिसकेकी थिएँ।
र्यारम्प मोडलिङ, एड मोडलिङ, रंगमञ्चमा अभिनय हुँदै मेरो अभिनययात्रा फिल्मसम्म पुगिसकेको थियो। तर, केही दिनअघि भइदियो, मैले सोचेभन्दा उल्टो।
म्युजिक भिडियोमा अभिनयका लागि अफर आयो। गीत राम्रै थियो। अभिनय गरेँ। भिडियोका निर्देशक मुनाल शिशिर कोइरालाले मलाई भेट्ने बेला भनेका थिए, 'एउटा भिडियोमा काम हेरिसकेपछि सल्लाह गरेर अघि बढ्नुपर्छ।' अभिनयकै लागि सुनील पोखरेलसँग मण्डला थिएटरमा तीन महिना ट्रेनिङ लिएकी मलाई काम देखाउने चुनौतीको सामना गर्नु ठूलो कुरा भएन। 'ओके' भनेँ।
एउटै शब्दको मान्छेका नियतपिच्छे फरक अर्थ लाग्छ। त्यो 'सल्लाह' भित्र लुकेका अनेक अर्थ मैले बुझ्ने कोसिस गरिनँ। काम गरेँ, तर पारिश्रमिक लिन बाँकी थियो। त्यसैले उनको सम्पर्कमा रहिरहेँ।
एकदिन उनले च्याटमा लेखे, 'मैले भनेको थिएँ नि, मलाई एउटामा काम गरेर सहज भयो भने सल्लाह गरेर अघि बढ्नुपर्छ।'
उत्तर फर्काएँ– 'हो'। निर्देशक मुनाल अघि बढ्दै गए, 'अब त्यो बेला आइसकेको छ, स्पष्ट कुरा राख्ने।'
'हस्, भन्नुहोस् न त?' मैले रिप्लाई गरेँ।
'आफ्नै मान्छे बनाएर अघि बढ्ने सोचमा छु म त!' उनले सीधै प्रस्ताव गरे।
विवाहको प्रस्ताव हो, मन पराए होलान् भन्ने हो भने उनी पहिल्यै विवाहित हुन्। कुरै नगरी एकैपटक यस्तो भनिदिँदा पारो तातिसकेको थियो। मनभित्र ठूलै उफान पनि उठिसकेको थियो।
तैपनि स्पष्ट हुन जरुरी ठानेँ, 'त्यो भन्या?'
'म चाहन्छु, तिमीसँग नियरेस्ट एन्ड डियरेस्ट रिलेसन पनि,' उनी अघि बढ्दै थिए। नजिक रहनु र प्रिय हुनु सोझो अर्थमा नराम्रो कुरो होइन। 'वी आर नियरेस्ट एन्ड डियरेस्ट एज वेल हैन त,' मैले उत्तर फर्काएँ।
यो च्याटमा भएको कुरा थियो। मलाई लागिसकेको थियो, गलत तरिकाले अघि बढ्दै छन् उनी। तर, तत्काल त्यही अनुसारको प्रतिक्रिया दिन उपयुक्त ठानिनँ।
पारिश्रमिक लिन बाँकी थियो। तुरुन्तै प्रतिक्रिया दिँदा पारिश्रमिक पनि नदिने र गलत व्यवहारको शिकार पनि भइने देखियो। मलाई लाग्यो– लामै समय म्युजिक भिडियोमा काम गरिसकेका उनको यो बठ्याइँ हुन सक्छ। यस्तै कुरा गरेर, तर्साएर पारिश्रमिक नदिने वा कोही तयार भयो भने आफू अनुकूल प्रयोग पनि गर्ने।
आँट गरेँ– सहेर बस्न उपयुक्त हुँदैन। योभन्दा अघि बढ्यो भने त्यसको प्रतिक्रिया दिनुपर्छ। पारिश्रमिक दिने मिति पर सार्दै गएका उनी च्याटमा 'चरित्र देखाउने मौका' दिएकाले उत्साही थिए, सायद। साथीहरूका अनुसार स्टार बनाउने सपना देखाउन उनी माहिर जो छन्।
पारिश्रमिक माग्नका लागि फोन गर्दा उनले अरू काम गरेर एकैचोटि लैजान पनि भने। तर, मलाई साह्रै खाँचो परेको बहाना बनाएँ । मुनालले मैतिदेवीस्थित क्वालिटी रेस्टुरेन्टमा बोलाए।
उनले भन्दै गए, 'एउटै क्याम्प (समूह) मा बसेर काम गर्नुपर्छ। मसँग धेरै म्युजिक भिडियो बनाउने मान्छे आउँछन्। मेरो अनुसार चल्यौ भने हिट हुन्छौ।' आफूले अवार्ड कार्यक्रम पनि गर्ने भएकाले धेरैले म्युजिक भिडियो आफूलाई दिने उनले बताए। भने, 'मैले भनेको मान्यौ भने म तीन महिनामा स्टार बनाइदिन्छु।'
लाग्यो, कसैले यसरी स्टार बनाइदिने भए सुनील पोखरेल, राजन खतिवडाहरूको के काम? अभिनयका विविधता सिक, हाँस्न सिक, रुन सिक, कराऊ! यी सबै गराउन जानेका सुनील सरहरू कहिल्यै भन्दैनन्, 'स्टार बनाइदिन्छु।'
नयाँ केटी भएकी भए त्यो लोभमा पर्थी पनि। तर, मैले केही समयअघि मात्रै मण्डलामा तीनमहिने अभिनय कक्षा लिएकी थिएँ। र्या म्प मोडलिङ, एड मोडलिङ, कोरियोग्राफीसम्म गर्दैगर्दा मलाई लागेको थियो, जान्ने भइसकेँ। तर, अभिनय सिकेपछि थाहा भयो, केही जानेकै छैन। सिक्न धेरै बाँकी छ।
यसकारण कसैले स्टार बनाइदिन्छ भन्ने भ्रमबाट मुक्त थिएँ। आफूलाई गलत मार्गमा डोर्या उन खोजिँदैछ भन्ने थाहा भइसकेको थियो। तुरुन्तै केही भनिनँ। जिज्ञासु बनेर उनलाई चरित्र देखाउने मौका दिइरहेँ, 'के गर्ने?'
मुनालको असली चरित्र देखियो। उनले भने, 'मसँग सुत्नुपर्छ, त्यो पनि बेडमा फिलिङ्ससहित।' तुरुन्तै प्रतिक्रिया जनाइनँ। मलाई प्रतिक्रिया जनाउने लेभलको सोच भएको मान्छे हो जस्तै लागेन। पारिश्रमिक लिन पनि बाँकी थियो। तत्काल केही भनिनँ, पारिश्रमिक मागेँ। १५ हजार रुपैयाँमा छ हजारमात्रै दिए, थप एक हजार जबर्जस्ती मागेँ।
गलत व्यवहार सहेर बस्दा नै गलत मान्छेहरू यो क्षेत्रमा राज गरिरहेका छन्। बाहिर राम्रो मुकुन्डो भिरेर हिँड्नेहरूको असली रूप मजस्तैले बाहिर ल्यादिनुपर्छ। ममाथि भएको यस्तो दुर्व्यवहार फेसबुकमार्फत सार्वजनिक गरेँ।
नेपाली कला क्षेत्रमा रहेका कमैले यस्तो आँट गर्ने रहेछन्। किनभने तर्साइएको हुन्छ, 'यस्ता कुराले अघि बढ्न अप्ठ्यारो पर्छ।' मलाई पनि केही साथी र अग्रजहरूले यस्तो भने। मन दुःखी बनाएर बाहिर मुस्कुराउन मन पर्दैन मलाई। मेरो सपना जसरी पनि स्टार बन्ने होइन, हिँड्दै गर्दा बनेको बाटो हो यो। क्षमताको मूल्यांकन गर्नेहरूले काम दिइरहेका पनि छन्। जो गलत सोच राख्छन्, तिनीहरूको काम गर्नु पनि छैन।
वास्तविकता सार्वजनिक गरेपछि प्रशस्तै प्रतिक्रिया आइरहेका छन्। धेरै प्रतिक्रिया ती म्युजिक भिडियो डाइरेक्टरसँग काम गरिरहेका मोडलका छन् । उनीहरूले मेरो फेसबुक र मोबाइलको इनबक्समा म्यासेज गरेका छन्, 'मलाई पनि त्यस्तै व्यवहार गरेकाले टाढिएकी हुँ। अघि बढ्नू! प्रमाण हामीसँग पनि छ।'
महिलामाथि यस्ता दुर्व्यवहार सबै क्षेत्रमा हुन्छन्, तर सार्वजनिक गर्ने आँट सबैमा हुँदैन। र, यो प्रवृत्ति मौलाइरहेको छ।
प्रस्तुतिः डिबी खड्का

प्रकाशित: १ माघ २०७१ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App