३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

'मिस्टर नेपालः गतिलो प्लेटफर्म'

एक्सपोज नेपाल डटकमले हरेक वर्ष आयोजना गर्दै आएको मिस्टर नेपाल प्रतियोगिताको नयाँ संस्करण आगामी फागुनमा सम्पन्न हुँदै छ।
आयोजक संस्थाले देशका विभिन्न भागबाट मिस्टर नेपालमा भाग लिन चाहने युवाका लागि आवेदन खुला गरेको छ। नयाँ मिस्टर नेपालको तयारी भइरहेका बेला यसअघिका दुई मिस्टर नेपालले शुक्रवारसँग आफ्नो अनुभूति बाँडेका छन्।
 
dr.aaushmanडा. आयुष्मान घिमिरे, मिस्टर नेपाल २०११
एमबीबीएसको पढाइ सकेर एमडी गर्दैगर्दा सन् २०११ मा आयोजना भएको मिस्टर नेपालमा भाग लिएको थिएँ। मोडलिङमा काम गर्ने मेरो सानैदेखिको रुचि थियो। तर, मैले पढाइकै कारण आफूलाई मोडलिङमा लगाउन पाएको थिइनँ। मेडिकलको पढाइ अलि 'हार्ड' नै हुने र घरपरिवारबाट पनि पढाइ बिग्रेला भनेर मलाई एमबीबीएस नसकुन्जेल पढाइबाहेक अन्य क्षेत्रमा मन डुलाउन हुँदैन भन्ने गर्नुभएकाले मैले पढाइमै ध्यान दिएको थिएँ। जब एमडी गर्ने अवस्थामा पुगेँ, त्यसपछि आफूलाई म्यानेज गर्न सक्छु भन्ने लागेर म मिस्टर नेपालमा सहभागी भएँ।
मिस्टर नेपाल प्रतियोगिताको प्लेटफर्मबाट मैले धेरै सिक्ने मौका पाएँ। मेडिकलको विद्यार्थी भएकाले पढाइमा अब्बल भए पनि मैले आफूलाई जुन रूपमा ग्रुमिङ गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेको थिइनँ। तर, जब म मिस्टर नेपालको ग्रुमिङ सेसनमा सहभागी भएँ, त्यसपछि ममा मोडलिङका लागि चाहिने आत्मविश्वास धेरै नै बढ्यो। मिस्टर नेपाल बनेपछि त मैले थुप्रै अवसर पाएँ। नाम चलेका र स्थापित अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनको विज्ञापनमा काम गर्ने अवसर पाएँ। केही फिल्मका अफर पनि आएका थिए। तर, म चिकित्सक भएरै काम गर्ने मनस्थितिमा भएकाले त्यतिबेला फिल्ममा काम गरिनँ। अहिले निर्मला शर्माले निर्देशन गर्नुभएको फिल्म 'चकलेट स्विटर द्यान लाइफ' भन्ने फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको छु। सडक बालबालिकामाथि यो फिल्म बनेको छ।
मोडलिङ भन्नेबित्तिकै केटीहरूको लागि मात्रै हो भन्ने सोचाइ छ। वास्तवमा केटा र केटी दुवै यो क्षेत्रका लागि उत्तिकै महŒवपूर्ण छन्। हिजोआज दिनमै तीनचारवटा सुन्दरी प्रतियोगिता आयोजना भइरहेको समाचार पत्रपत्रिकामा प्रकाशित भइरहेको हुन्छ। तर, केटाहरूलाई लक्ष्य गरेर यस्ता प्रतियोगिता हुने गरेका छैनन्। मिस्टर नेपालजस्तो प्रतियोगितालाई व्यापक बनाउन सक्ने हो भने यसबाट नयाँ प्रतिभा जन्मन सक्छन्। आफूमा भएको प्रतिभामा निखार ल्याउन मिस्टर नेपालको प्लेटफर्म निकै उपयोगी हुन सक्छ। यस्ता प्रतियोगितामा भाग लिँदा दुईचारवटा नयाँ कुरा सिक्न पाइन्छ। यो गतिलो प्लेटफर्म हो।
 
surajसुरज चिलवाल, मिस्टर नेपाल २०१४
म मिस्टर नेपाल हुनुभन्दा अघि नै फिल्ममा हिरो भइसकेको थिएँ। 'ब्ल्याक नाइट' भन्ने फिल्ममा अभिनय गरेको छु। जुन फिल्म रिलिज पनि भइसकेको छ। म फिल्म खेल्न थालिसक्दा पनि मेरो खासै परिचय बनेको थिएन। जब म मिस्टर नेपाल भएँ, त्यसपछि मलाई समाजका अन्य मानिसले पनि 'नोटिस' गरेको पाएको छु। कतै गएका बेला 'म मिस्टर नेपाल हुँ' भन्दा 'ए!' भन्नेहरू बढेका छन्। 'तपाईंको तस्बिर पत्रिकामा छापिएको थियो है?' भन्नेहरू भेट्ने गरेको छु। मिस्टर नेपाल प्रतियोगिताको प्लेटफर्मले मलाई कलाकारिताको क्षेत्रमा केही गर्न चाहने हो भने आफूलाई कसरी तयार पार्नुपर्छ भन्ने ज्ञान दिएको छ। म अहिले आफूमा भएको प्रतिभालाई तिखार्न विभिन्न तालिम लिइरहेको छु। मिस्टर नेपाल प्रतियोगिताले मलाई नयाँ बाटो देखाइदिएको छ। युवाको प्रतिभा प्रस्फुटनका लागि यो राम्रो फोरम हुनसक्छ। केटीहरूका लागि सुन्दरी प्रतियोगिताको भेल उर्लेका बेला युवाहरूले आफ्नो प्रतिभा देखाउने योमात्र एउटा फोरम छ। त्यसैले मिस्टर नेपाल प्रतियोगितामा सक्षम र प्रतिभावान् युवा सहभागी भएर यसको विश्वसनीयता अझै बढाउनुपर्छ। यसमा भाग लिँदा जो कोहीले पनि केही नयाँ कुरा सिक्ने मौका पाउने र आफूमा भएको प्रतिभा निखार्न पाउने भएकाले यसबाट सबैलाई फाइदा नै हुन्छ। मोडलिङमा केही गर्छु भन्ने प्यासन भएकाका लागि मिस्टर नेपाल एउटा खुड्किलो हुन सक्छ।
 

प्रकाशित: १ माघ २०७१ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App