५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

कैँची चिकित्सक

बोर्डमा लेखिएको छ– 'कैँची अस्पताल'। काठमाडौँ, चाबहिलको व्यस्त सडक छेउमा रहेको एक पुरानो घरमा छ यो कैँची अस्पताल।
'कैँची अस्पतालको डाक्टर को हुनुहुन्छ?' शुक्रवारकर्मीले सोध्यो।
'मैँ हुँ हजुर! यहाँको डाक्टर भने पनि, नर्स भने पनि,' च्यातिएको जिन्स पाइन्टबाट बनेको एप्रोन लगाएर कैँचीकै उपचारमा व्यस्त पाको पुरुषको आवाज आयो। 'यहाँलाई के सेवा दिन सक्छ हाम्रो अस्पतालले?' सेवाभाव तुरुन्तै प्रकट गर्छन् उनी।
उनी हुन्, कैँचीमिस्त्री रौतहट गौरका ५५ वर्षे रामचन्द्र ठाकुर। उनको कैँचीको धार लगाउँदा सानबाट फैलिने झिल्काजस्तै कहाँ–कहाँ फैलिएनन् उमेरमा उनी पनि। 'पाखुरामा बल हुञ्जेल काँधमा मेसिन बोकेर शहरका प्रत्येक गल्ली र टोल पुगेको छु,' उनी भन्दै थिए। सान बोक्ने पाखुरा गल्दै गएपछि यहीँ आएर थन्किएका छन्, 'ज्यानले साथ नदिएपछि मेसिन बोकेर कुद्न सकिएन। पसलै थापेर बस्नुपर्योन।'
उनले 'कैँची अस्पताल' खोलेको १० वर्ष भयो। बाउबाजेले गर्दै आएको काम भएकाले उनले अर्काे पेशा सोचेनन्। आफ्नो पेशाप्रति गर्व पनि छ। स्वाभिमान प्रकट गर्छन्, 'हातको सीप बेचेर आजको दिनसम्म जिन्दा छु।'
पन्ध्र वर्षे ठिटौले उमेरमा काठमाडौँ आइपुगेका थिए उनी। ठ्याक्कै ४० वर्ष भएछ, बिग्रेका कैँचीको उपचार गर्न थालेको। कैँचीका सानाभन्दा साना अंग (पाटपुर्जा) नियालेर उपचार (मर्मत) गर्न सक्छन्। विशेषज्ञ डाक्टरको भन्दा कम्ता शान छैन, 'कैँचीको डाक्टर हुँ, हर कैँचीको उपचार गर्न सक्छु। बच्चैदेखि गरेको काम हो। कैँची मर्मतको मैले नजान्ने काम के होला र!'
पसललाई अस्पताल, आफूलाई डाक्टर किन भन्छन् उनी? 'यो त रमाइलो मात्र हो,' उनले खुलाए, 'कैँचीको उपचार गर्न सक्ने भएर यसो सबैको आँखा पर्ला भनेर नि।' रसिक स्वभावका उनी पसलको बोर्डमा धेरैको आँखा परेको देख्दा दंग छन्। आफ्नो 'टेक्निक' सफल पनि भएको ठान्छन्। पसलको मासिक भाडा एक हजार रुपैयाँ तिर्छन्। मोटर जडान गरिएको मेसिनले कैँचीमा धार लाउँछ।
लोडसेडिङले उनको काम प्रभावित छ। 'दिनमा मुश्किलले दुईतीन सय कमाउँछु,' उनले भने, 'अरूका दुःख नबुझ्ने यो शहरमा बाँच्नै मुश्किल हुन लाग्यो।' मेहनतको सही मूल्यांकन नगर्ने मान्छेहरूको प्रवृत्तिसँग उनी दिक्क छन्। आफैसँग संवाद गर्छन्, 'जाने ठाउँ नै कहाँ छ र?'
महँगीलाई उनले पनि सम्बोधन गरेका छन्। भित्तामा सूचना टाँसिएको छ, 'महँगीका कारण आजैका दिनबाट प्रतिकैँची पाँच रुपैयाँ मूल्य वृद्धि भयो।' २०६९ असोज १ गतेको सूचना हो यो। त्यसपछि उनले भाउ बढाएका छैनन्। 'भाउ बढाएको बढायै गर्योा भने ग्राहक हच्केलान् भन्ने डर लागेर फेरि सूचना गरेकै छैन,' उनी बाध्यता बोल्छन्। उनी आफू पनि महँगीदेखि आजित भइसके, 'महंगी त कुन धुरीमा पो पुगिसक्यो नि! हाम्रो मूल्य कहिले होला त्यसरी बढ्ने?'
पाँच छोरी र दुई छोराका पिता हुन् उनी। छोरै चाहने सामाजिक मूल्यमान्यताले उनलाई यत्रो हुल सन्तान बनाउन बाध्य बनायो। आफू कैँचीको मात्र डाक्टर भए पनि छोरालाई मान्छेकै उपचार गर्ने डाक्टर भएको देख्न चाहन्छन्। 'हामीले बाउबाजेको काम सिक्यौँ। हाम्रो जीवन त यसै गुज्रिगो। छोराहरू मेरो काममा नआऊन् भन्ने चाहन्छु,' उनी यो पेशाको आम्दानीदेखि सन्तुष्ट छैनन्। यो पेशाको अब भविष्य पनि देख्दैनन् उनी। भन्छन्, 'बाँच्न मुश्किल पर्ने काम पनि कसले गर्छ? बरु भारी बोक्ने खच्चरले धेरै कमाउँछ।'
दिनमा पाँच रुपैयाँको पान मुखमा च्याप्छन्। उनको भाषामा यो तनावको ओखती हो। 'पान खाएर थुकेपछि पिर पनि थुकिइन्छ' उनको मौलिक तर्क छ।
काठमाडौंमा केही गाउँलेसँग मिलेर भाडाको कोठामा बस्छन्। कमाइको थोरबहुत हिस्सा घर पठाउँछन्। ठाकुर समुदायको पुर्ख्यौली पेशा हो, हजाम (कपाल काट्ने)। तर, उनी त्यही कपाल काट्ने कैँची बनाउँछन्। 'सबैले एउटै काम गर्न लागे कसरी कमाउने पैसा?' आफूले कैँची बनाउने काम रोज्नुको कारण बताए उनले।

प्रकाशित: १ माघ २०७१ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App