पुस २६ गते।
बिहान ६ बजे।
राहदानी विभागको मुख्य गेटबाहिर सर्वसाधारणको घुइँचो थेग्न प्रहरीलाई हम्मे परिरहेको छ। अधिकांशका हातमा राहदानी फारम छन्। उनीहरू लाइनमा कोचाकोच गर्दैछन्। पुसको कठ्यांग्रिने जाडोमा शीतले अनुहारै चिन्न मुश्किल परिरहेको छ। ठन्डी छल्न बाक्ला कपडा लगाएका उनीहरू आँखा मिच्दै सोध्दै छन्, 'दाइ, फारम बुझाउने कता?'
झिसमिसेमै लाइन बसेका सेवाग्राही गेटबाट भित्र छिर्न हतारोमा देखिन्छन्। प्रहरी भने उनीहरूलाई झुलाउँदै छन्। गेटको दायाँतर्फ राहदानी लिन आउनेको भीड छ। कोही कार्यालयको छानोबाट चुहिएको शीतले फारम भिजेर अर्को खोज्दै छन्। घडीले साढे ६ बजाइसक्यो। बिहानको ३ बजेदेखि लाइन बस्न थालेका सेवाग्राही कसैले पनि सेवा पाएका छैनन्।
यसैबीच, कोही अलि चर्को आवाज निकाल्दै कराउँछन्, 'रातिदेखि नै लाइनमा बसेको। अहिलेसम्म जाँ'को त्यैँ!'
देशभरका सेवाग्राही एउटै थलोमा लामबद्ध छन्। विभागलाई त्यो लाम थेग्न मुश्किल परिरहेको सहजै अनुमान गर्न सकिन्छ।
सरकारले सर्वसाधारणको सुविधा र मागलाई ध्यानमा राखेर पुस १ गतेदेखि अत्यावश्यक कार्यालयहरू बिहान ६ बजेदेखि खोल्ने व्यवस्था गर्यो । यस्तो प्रावधानप्रति सकारात्मक हुँदै धेरैले सरकार नागरिकप्रति उत्तरदायी भएको महसुस गरेकै हुन्।
राहदानी फारम बुझाएको एक हप्तापछि राहदानी लिन आएका इटहरीका रविकिशोर चौधरी बिहान साढे ४ बजेदेखि लाइनमा छन्। पालो भने कतिखेर आउने हो, अत्तोपत्तो छैन। केन्द्रमा गएपछि चाँडो काम बन्ला भन्ने सोचेर रोल्पादेखि आएका खिमबहादुर विष्ट पनि अत्यासलाग्दो लाइनमै छन्। भन्छन्, 'बिहानैदेखि कार्यालय खुल्छ भनेर हतारमा आइयो। अहिलेसम्म काम सुरु भएकै हैन।' दाङदेखि राहदानी बनाउन रात्री बसबाट भर्खर ओर्लेर राहदानी विभाग आइपुगेका राजन थापा आँखा मिच्दै फारम बुझाउने लाइनमा छन्। 'एक त कर्मचारी नै कम। भएका कर्मचारी पनि समयमा उपस्थित नहुँदा बिहानी सेवा भन्नुमात्रैको,' उनी भन्छन्।
जिल्लामा ढिला हुने हुँदा बरु केही बढी नै पैसा खर्च गरेरै भए पनि केन्द्रमै आएका कपिलवस्तुका राजेश महत यहाँ झन् अलमलमा परेको बताउँछन्। विभागको सोधपुछ कक्ष पनि बिहान ९ बजेपछि मात्र खुल्छ। फारम बुझाउने कक्ष र वितरण कक्ष बिहान ६ बजे खुल्ने भनिए पनि एक वा आधा घण्टा ढिला मात्र खुल्छन्।
आफ्ना अनेकौँ काम थाती राखेर टाढादेखि काठमाडौँ आएका सेवाग्राहीहरूको गुनासो कसले सुन्ने? चार–पाँच घण्टा लाइनमा बस्दा पनि आफ्नो पालो नआएको गुनासो गर्छिन्, दाङ, बिजौरीकी सावित्री खड्का। उनीसँगै आएका अन्य चारजना साथी पनि लाइनमा बस्दा–बस्दा हैरान भएको र सोधपुछका लागि कुनै कर्मचारीलाई नभेटेको सुनाउँछन्। बिहानको सेवा सुरु भए पनि प्रभावकारी हुन नसक्दा दिउँसोको भीड कम हुन सकेको छैन। विशेषगरी सरकारी बिदाको भोलिपल्ट बिहानदेखि साँझैसम्म भीड लाग्छ। ताप्लेजुङबाट आएका माधव गौतम दिउँसो चिसो कम हुने भए पनि काममा भने ढिलाइ हुने गरेको बताउँछन्।
बिहानैदेखि सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक ईश्वर अधिकारीका अनुसार सकेसम्म प्रहरीले नै सेवाग्राहीलाई परामर्श दिन्छ। 'सरकारले प्रशासन खुल्ने समय ६ बजे तोके पनि त्यो कर्मचारीमा लागू हुन सकेन। दुईतीनजना कर्मचारीमात्र बिहानी सेवामा उपस्थित हुन्छन्,' प्रहरी नायव निरीक्षक राजन श्रेष्ठले भने।
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा जनशक्तिको कमीले समस्या भएको बताउँछन्। 'बिहानको समयमा प्रहरीले काउन्सिलिङ गर्छ। पहिला तीनटा मात्र काउन्टर थिए। अहिले नौवटा छन्,' उनले भने, 'काउन्टर थपिए पनि सबै कर्मचारी उपस्थित नहुने समस्याले एकैपटक सबै काउन्टर सञ्चालनमा छैनन्। बिहानैदेखि सेवामा खटिए पनि तलब र सुविधा उही भएपछि कर्मचारी बिहानै चिसोमा आउन गाह्रो मान्छन्।'
थापा प्रक्रिया नपुर्याएर आउने सेवाग्राहीले मात्र दुःख पाइरहेको बताउँछन्। 'हाल देखिएको कार्यालयभित्रको आन्तरिक कमजोरीलाई हामी स्वीकार गर्छौँ,' उनले भने, 'त्यसलाई समाधान गरी सेवाग्राहीलाई सुविधा प्रदान गर्नेछौँ।'
(प्रशिक्षार्थी)
प्रकाशित: १ माघ २०७१ ११:५० बिहीबार





