३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

चौथो विवाह

'एउटै व्यक्तिसँग तीनपटक विवाह! दोस्रोपटक फेरि सम्बन्ध विच्छेद! यो कस्तो आग्रह हो? कस्तो नियति? वैवाहिक सम्बन्धको पनि के अर्थ रह्यो? विवाह, सम्बन्ध र विच्छेद– खरिपाटीमा लेख्दै मेट्दै गरेजस्तो!' यस्तै कुरा मडारिएपछि सावित्रीको मनले यसपटकको सम्बध विच्छेद स्वीकार्न सकेन। लोग्नेले सोचेर आजै जवाफ दिनु भनेको छ। ऊ रनभुल्लमा परी।दिनभर उसलाई खटपट भइरह्यो। साँझमा घरधन्दा सकी। बच्चाहरूलाई खाना खुवाएर सुताई। उसलाई पटक्कै खान मन लागेको छैन। सत्ताइसौं तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालमा आई। तल हेरी। कहालीलाग्दो भीरजस्तो तल धेरै तल। तुरुन्तै नजर त्यहाँबाट हटाएर अर्कोतर्फ लगाई।

औंसीको रात। धेरै पर देखिएको 'लन्डन ब्रिज' र 'लन्डन आई'मा बलेका चहकिला बत्ती र सडकमा हुइँकिएका गाडीले सहर जागै रहेको संकेत दिइरहेको थियो। सहरभरि बलेका बत्तीलाई हेर्दैगर्दा पूर्णिमाको दिनभन्दा औंसीकै रात राम्रा देखी सावित्रीले।

सडकमा अझै घच्चमघच्चा गरेर कार दौडिरहेका छन्। चौबीसै घन्टा चल्ने डबल डेकर राता बस मान्छे बोकेर ओहोरदोहोर गरिरहेका छन्। कामबाट लोग्नेको फर्कने बेला अझै भएको छैन। फ्याक्ट्रीमा यस हप्ता रातिको ड्युटी छ उसको। रातको बाह्र बज्न लाग्यो। तर सावित्रीको आँखामा निद्रा पटक्कै आएको छैन।

सेप्टेम्बरको अन्तिम हप्ता। दिनमा सूर्यको लुकामारी चल्न थालेपछि चिसो बढ्न थाल्दछ। खुल्ला झ्यालबाट चिसो छिरेपछि बन्द गरेर ओछ्यानमा ढल्की सावित्री।

वायुपंखी घोडा भएर विगततर्फ उसको मन दौडियो। समय यति चाँडो दौडेको उसलाई पत्तै भएन। दस वर्षअगाडि पुगेर ठक्क रोकियो मन। त्यहाँबाट बिस्तारै पछाडिको घटनातर्फ हिँड्न थाल्यो मन।

...

कत्रो चुनौती लिएर चोखो प्रेमलाई जोगाएकी थिई। घरबाट भागेर मन्दिरमा ब्राह्मणको उपस्थितिमा विधि पुर्याटएर विवाह गरेका थिए उनीहरूले। त्यो अन्तरजातीय विवाह कसैले तोड्न नसकून् भनेर अदालतमा दोस्रोपटक विवाह गरेका थिए।

दोस्रो विवाह गरेको दुई वर्ष नपुग्दै पति अमितले बेलायत जाने प्रपञ्च मिलायो। पहिलोपटक एक्लै गयो। गएको छ महिनापछि बाठो अमितले बेलायतको पिआर (स्थायी बसोबासको अनुमति पत्र) प्राप्त गर्ने छोटो बाटो पत्ता लगाएर सावित्रीलाई खबर गर्योा।

अमितले बेलाबेलामा फोनबाट त्यो कठिन बाटोको बारेमा भूमिका बाँधेर, रंगीचंगी सपना देखाएर मानसिक रूपमा उसलाई तयार पारिसकेको थियो। समाज र परिवारलाई चुनौती दिएर गरेको अन्तरजातीय प्रेम विवाह भएकाले अमितले कुनै हालतमा धोका दिँदैन भन्ने विश्वास थियो। अन्ततः अमितको प्रस्तावमा सावित्री राजी भई।

सावित्रीले कानुनी रूपमा नेपालमा सम्बन्ध विच्छेद गरेर उता अमितलाई विवाह गर्ने बाटो खोलिदिई। नभन्दै उसले उता कागजी विवाह गरेर बेलायतमा बस्न पाउने कागज बनायो।

अमित इमानदार देखियो। प्रथमपटक कानुनी रूपमा सम्बन्ध विच्छेद गरेकी सावित्रीलाई फेरि कानुनी रूपमै बिहे गरेर केही वर्षमै बेलायत ल्यायो। यो उनीहरूको तेस्रो विवाह थियो।

बेलायतमै दुई वटा छोरी जन्मिए। दुवै काम गर्दै गरे, बच्चा पनि हुर्काउँदै गए। लन्डनको ब्लाकहिल जस्तो सुन्दर ठाउँमा अपार्टमेन्ट किने। खुब मिलेर बसेका यिनीहरूलाई चिन्नेहरू भन्दथे– छोटो समयमा कति धेरै प्रगति?

पैसा कमाउनै त हो नि घरपरिवार र देश छाडेर मानिसहरू विदेश पलायन हुने। उपभोक्तावादी संस्कृति भएको मुलुकमा पैसाले पाउने भौतिक सुविधा, विलासिताले मानिसलाई पैसाको दास बनाउँछ। पैसाकै पछि लागेपछि घरपरिवारलाई समय दिन सकिँदैन। अनि परिवार टुक्रिन्छ, छोराछोरी बिग्रन्छन्। बढी काम र थोरै आरामले असमयमै विभिन्न रोगले आक्रान्त पार्दछ।

अमितको पनि थोरै समयमा धेरै पैसा कमाउने इच्छा पूरा हुन सकिरहेको थिएन। यो र त्यो भन्दै केके जाति काम गरिरह्यो। एक दिन उसले नयाँ जुक्ति निकाल्यो। नयाँ पनि के भन्नु– यहाँ बस्ने पाकिस्तानी, इन्डियन र अन्य विदेशीले गरिरहेको चलाखी। तर सावित्री त्यो फोहोरी खेल खेल्न पटक्कै राजी भइन।

'पैसा जति भए पनि पुग्दैन। हामीलाई नपुग्दो के छ र? मेरो पार्टटाइम भए पनि दुवै जनाको जागिर छ। अपार्टमेन्ट छ। पुरानै भए पनि चलिरहेको गाडी र काठमाडौंमा सानो घर पनि छ। आफू–आफूलाई अलग गर्ने यस्तो काम नगरौं,' सावित्रीले असहमति जनाई।

'हामी बसेको बिल्डिङमा बस्ने पाकिस्तानी रदिफ, बंगाली चटर्जी र मसँगै काम गर्ने नाइजेरियन केभिनले पनि यसै गरेको छ,' सावित्रीलाई मनाउन अमितले प्रमाण देखायो।

'आमाको दूध चुसेर भएन बाउको घुँडा चुस्ने काम! भगवान्ले जति दिएका छन् त्यति खाम,' सावित्रीले फेरि अडान लिई।

'हाम्रो डिभोर्स कागजमा मात्रै हो। बस्न त सँगै बस्ने हो नि। कानुनी रूपमा अलग देखिएपछि तिमी 'सिंगल मम्' हुनेछौ। बच्चा साना भएकाले तिमीले काम गर्नु पर्दैन। बच्चाको लालनपालन र घरभाडा भनेर एकमुष्ट सरकारी रकम महिनैपिच्छे पाउनेछौ। तिमीले र मैले कमाए बराबर रकम एक्लै तिम्रो नाममा आउँछ। मैले कमाएको पैसा अलग्गै बचत। अनि त आराम नै आराम,' अमितले फाइदाको कुरा बतायो।

'तीनपटक विवाह भयो हाम्रो र एकपटक डिभोर्स भइसक्यो। हुन त यो सबै सहमतिमै राम्रोको लागि भएको हो। अब दोस्रो डिभोर्स सरकारका आँखामा छारो हालेर अलिकति पैसा जोगाउनलाई हैन त? वैवाहिक सम्बन्ध भनेको आत्मालाई मनाएपछिको कुरा हो। यसरी पुनः विवाह, सम्बन्ध विच्छेदजस्ता कागजी कुराको नकारात्मक प्रभाव मनमा पर्छ। भोलि साँच्चै कागजमा भत्काइएको सम्बन्ध मनले अस्वीकार गर्दै गयो भने?' सावित्रीले आशंका प्रकट गरी।

'त्यत्रो समाजलाई चुनौती दिएर गरेको विवाह र हाम्रो प्रेम त्यति कमजोर छैन,' अमितले प्रेमको गाँठो झन् धेरै कस्दै भन्यो।

सावित्री मौन रही।

'हुन्छ भन त। यो हाम्रै फाइदाको लागि त हो नि,' अमितले दबाब दियो।

'ठिकै छ नि त, तर पछि आउने दुष्परिणामको जिम्मेवार तपाईं। कानुनको लप्पनछप्पन म जान्दिनँ। सबै तपाईंको जिम्मा,' सावित्रीले सचेत गराई।

'त्यो सब म मिलाइहाल्छु नि,' अमितले विश्वास दिलायो।

कानुनी रूपमा अब अमित र सावित्री पति–पत्नी रहेनन्। कागजी रूपमा हेर्दा अमित अर्कै ठाउँमा बस्छ। अर्थात् उसको ठेगाना अर्कै ठाउँमा छ। तर बसाइ भने सँगै।

बच्चा हुर्काउनु र पढाउनु पर्ने 'सिंगल मम्' भएको नाताले बेलायतको कानुनअनुसार सावित्रीको बैंक खातामा सरकारी सुविधाको पहिलो किस्ता आयो। सो रकम देख्दा छक्क परी ऊ। लोग्ने–स्वास्नीले काम गरेर कमाए बराबरकै रकम थियो। अब भने सावित्रीलाई उसले गरेको निर्णय गलत लागेन। धेरै खुसी भई।

'कस्तो लाग्यो त हाम्रो चलाखी?' कामबाट फर्केर आएपछि अमितले सोध्यो।

'गज्जब राम्रो। म त त्यसै डराएकी रहेछु। कस्ती सोझी हगि म पनि,' सावित्रीले अज्ञानता प्रकट गरी।

'अब अर्को गेम आएको छ। पैसा कमाउने,' अमितले भन्यो।

'कस्तो?' मेहनत नगरी आउने पैसा देखेकीले ऊ लालची हुँदै सोधी।

'कानुनी रूपमा तिमी र म अब अविवाहित। मसँग काम गर्ने पाकिस्तानीको एक जना महिला आफन्त छे रे। त्यससँग मैले कागजी विवाह गरिदिएबापत पन्ध्रहजार पाउन्ड दिने रे,' अमितले सुनायो।

'अरूसँग विवाह गर्ने कामचाहिँ नगर्नू। लोग्ने मान्छेको मन थाहा हुँदैन। कागजमा नाम जोडिएपछि मन पनि जोडिन बेर लाग्दैन। मन जोडिएपछि अरू थोक पनि जोडिन्छ,' सावित्रीको आशंका प्रकट गरी।

'मेरो मनको ढोका त्यति कमजोर छैन। फेरि त्यसमा तिमीले लगाएको भोटे ताल्चाको चाबी तिमीसँगै छ नि। त्यहाँ अरूलाई प्रवेश निषेध छ,' अमितले मनको ढोका सुरक्षित रहेको प्रमाण दियो।

'खै के भन्नू? त्यति धेरै पैसा आउने रहेछ। ...ल ठिकै छ नि त। तर बेइमानीचाहिँ नगर्नू नि। त्यस आइमाईलाई भेट्दै नभेट्नू,' पैसाले पगाल्यो सावित्रीलाई।

अमितले पाकिस्तानी महिलासँग पैसाको लागि कागजी विवाह गरिसकेको थियो। पाकिस्तानी महिलासँग विवाह गर्दा आएको पैसा र आफूसँग भएको पुरानो कार बेचेर आएको पैसा थपेर नयाँ कार किन्यो। अब उसको नयाँ कार चलाउने सोखले उसलाई अल्छी, फजुलखर्ची बनाइदियो। नयाँ कारअनुसार आफूलाई पनि अपडेट गर्यो। ब्रान्डका कपडा र सामान खरिद गर्न थाल्यो।

उता कामै नगरी महिनैपिच्छे पैसा आउन थालेपछि त्यो पैसा सावित्रीले निजी ठान्न थालिसकेकी थिई। बिस्तारै त्यो पैसाउपर अमितको हक नलाग्ने गरी अलग्गै बैंक खातामा जम्मा गर्न थाली।

उनीहरूको घर चलाउने बजेट गोलमाल हुन थाल्यो। बिस्तारै पैसाको मामलमा उनीहरूबीच असमझदारी बढ्दै जान थाल्यो। असमझदारी बढेर भनाभनमा पुग्यो। त्यसको केही समयपछि हातपात पनि भएपछि सावित्री गम्भीर भई।

आखिर लोग्नेको कमाइबेगर मात्र होइन आफूले पनि कामै नगरी खर्च कटाएर बचतसमेत हुने गरी सरकारी रकम आउने देखेपछि उसमा आत्मविश्वास जाग्यो। त्यो आत्मविश्वासले लोग्ने के हो र? भन्नेसम्म पुर्याोयो। आर्थिक चिन्ता भएन। बच्चा नहुर्कुन्जेल सरकारले पालिहाल्दो रहेछ। आखिर ऊ पनि बेलायतकै नागरिक भइसकेकी थिई।

'लोग्ने वास्तवमा बच्चा जन्माउनमात्र चाहिँदा रहेछन्। अरू बेला आवश्यकता परे लोग्ने मानिस भेटिहालिन्छ,' युरोपियन हावाको प्रभावले यस्ता विचार उत्पन्न भएर सावित्रीको दिमागमा पट्टा खेल्न थालिसकेको थियो।

उता अमितले पनि बिस्तारै सावित्रीमा परिवर्तन आएको देख्यो।

'यी स्वास्नी मानिसहरू अलिकति धनसम्पत्ति र बच्चा भएपछि आफूलाई पूर्ण नारी ठान्दछन्। लोग्नेको आवश्यकता महसुस गर्दैनन् र वास्ता गर्न छाड्छन्,' विस्तारै सावित्रीप्रति नकारात्मक धारणा बढ्दै गयो उसको मनमा।

घरमा पैसाको कारणले शान्ति हरायो। घरमा अशान्ति र मनमुटाव बढ्न थालेपछि घरमा बिताउनुपर्ने समय बाहिर साथीभाइसँग र 'पब'मा जान थाल्यो। बेलाबेलामा घर ढिला आउन थाल्यो। किन ढिला आएको भनेर सोध्दा झर्कोफर्को गर्ने र अनेक बहाना बनाएर उम्कने प्रयास गर्थ्याे। नारी मन त हो– ऊ घर ढिला आउनाको कारण त्यही पाकिस्तानी महिलासँग उठबस ठानी। अमितले सौता ल्याउन आँटेको ठहर गरी।

त्यस घरमा शान्ति हराएको कुरा बिस्तारै नेपाली समुदायमा पुग्यो। बस् के चाहियो। समाजका केही कुरौटे र खराब व्यक्तिहरूले त्यस घरमा खेल खेलेर मज्जा लिन थाले।

एउटा धूर्त तथा चतुर नेपालीले सावित्रीसँग सम्पर्क बढाउन सफल भयो। बस् त्यहाँबाट खेल सुरु भयो। र, सुरु भयो नयाँ कहानी।

त्यो चतुरले पहिले त सावित्रीको 'ब्रेन वाश' गर्यो। बेलायतमा प्राप्त नारी अधिकार, सामाजिक सुरक्षाजस्ता कुरा पढाएर सावित्रीलाई मानसिक रूपमा सशक्त बनायो। त्यसपछि बिस्तारै मायाजाल बिछ्यायो। उसको जालमा परी सावित्री। आखिर ऊ जवान थिई। जवान हुनुको अर्थमात्र सम्झाएन त्यसले सावित्रीको जवानी नै पुनर्ताजगी गराइदियो।

सावित्री कानुनतः अविवाहित थिई। बाह्र वर्ष बेलायत बसेको त्यो चतुरे पनि अविवाहित थियो। फुट्टी पैसा जोगाउन नसकी बेलायतमा अवैध रूपमा बसेको तन्नम आप्रवासी। तर कुराले मख्ख पार्न सक्ने एक नम्बरको बाठो। सावित्रीले ऊसँग विवाह गरे बीस हजार पाउन्ड दिने भनेर फकाउन सफल भयो। अमित भन्दा पाँच हजार बढी फाइदाकै कारोबार हुने ठानी सावित्रीले। हत्त न पत्त बैनाबापत एक हजार पाउन्ड सावित्रीको हातैमा थमायो। सावित्री एक हजार पाउन्ड थापेर दंग परी।

सावित्री उसका रसिला कुरा भुलिसकेकी थिई। र, पैसा कमाउने उसका ठूलाठूला प्रोजेक्ट सुनेर दंग थिई। भित्रभित्रै आफूलाई ती प्रोजेक्टका पार्टनर ठान्न थालेकी थिई।

सावित्रीले त्यस चतुरेसँग पैसामा विवाह गरेको अमितले केही समयपछि थाहा पायो। भनाभन हुँदाहुँदै आवेशमा अमितले सावित्रीलाई कुटपिट गर्यो । रुवाबासी चल्न थालेपछि ठिकको अपार्टमेन्टमा बस्ने गोरेले ९९९ मा फोन गरेर प्रहरीलाई खबर गरिदियो।

साइरन बजाउँदै आएको प्रहरीले भ्यानमा हालेर अमितलाई लग्यो। सावित्रीले केही भनिन। अमितलाई पक्रेर लगेको कुरा सावित्रीसँग छिनछिनमा फोनमा सम्पर्क रहने नवपति अर्थात् चतुरेले पनि थाहा पायो। बस् ऊ यही मौकाको ताकमा थियो।

त्यसपछि सावित्रीको घरमा उसले डेरा सार्योन।

अमितप्रति सावित्रीको रिस मर्नुको साटो झन् पलाउँदै थियो। घृणा बढ्दै थियो। चतुरेले आगोमा घिउ थप्ने काम गर्दै रह्यो।

अमितलाई पक्रेर लगेको तेस्रो दिन त्यस चतुरेले सावित्रीसँग दुई हजार पाउन्ड सापटी माग्यो। जरुरी काम परेकोले उतिखेरै चाहिने समस्या देखायो। साँझ फर्कंदा पैसा वापस गर्ने वचन दियो। सावित्रीले उसको कुरामा विश्वास गरेर दुई हजार पाउन्ड दिई।

पैसा लिएपछि अमितको गाडीको चाबी पनि माग्यो। साँझमा गाडी र पैसा सँगै लिएर आउने कसम खायो। सोझी सावित्रीको मन पग्लियो र विश्वास गरी। गाडीको चाबी र पैसा लिएर चतुरे निस्कियो।

साँझ बितेर मध्यरात भयो। चतुरे आएन। उसको मनमा अनेक शंका–उपशंका पलायो। रातभर राम्ररी सुत्न सकिन।

बिहानको उज्यालोले झ्यालबाट चिहायो। त्यो उज्यालो त्यति शुभजस्तो लागेन। बिहानीपखको निद्रामा नराम्रो सपना देखेकी थिई। मनमा नराम्रा कुरा खेल्दै थिए। बिहान करिब नौ बजेतिर कसैले डोरबेल थिच्यो। इन्टरकम फोनमा को हो भनेर माथिबाटै सोधी।

'प्रहरी।'

प्रहरीको नाम सुन्नेबित्तिकै मनमा झन् सन्त्रास फैलियो। प्रहरीलाई भेट्न लिफ्टबाट तल उत्री।

'मिस्टर अमितको नाममा दर्ता भएको गाडी विना लाइसेन्सका मिस्टर चतुरमानले चलाएर दुर्घटना गरेको छ। उसैले दिएको ठेगानाअनुसार हामी यहाँ आएका हौं। कृपया गाडीवाला अमितलाई प्रहरीमा सम्पर्क गर्न खबर गर्नुहोला। प्रहरीले एउटा टेलिफोन नम्बर लेखेको कागज थमाउँदै भन्यो।

टेकिरहेको उसको पाइताले एक्कासि भूकम्पको धक्का महसुस गर्योत। खुट्टा लुला भए। कसरी यो खबर सुनाउन थुनामा रहेको अमितलाई भेट्न जानू? त्यो चतुरे कहाँ होला? समस्यामाथि समस्या आइलाग्दा साढे सातको दशा लागेको ठानी।

अन्ततः अमितलाई भेट्न जानैपर्ने निर्णय गरी। कुन मुख लिएर जाऊँ? साना बच्चा लिएर कसरी जाने? सोच्दै थिई। फेरि डोरबेल बज्यो।

'को हो?' सावित्रीले माथिबाटै इन्टरकम फोनमा सोधी।

'पोस्टम्यान। रजिर्स्टड लेट्टर।' घन्टी थिच्नेले जनाउ दियो।

हत्त न पत्त सत्ताइस तलामाथिबाट लिफ्टमा तल आई। पोस्टम्यानबाट हस्ताक्षर गरेर चिठी बुझी।

फेरि लिफ्टभित्र छिरेर सत्ताइस नम्बरको बटन थिची। सरकारी निकायबाट आएको चिठी भएकोले पढ्न आतुरता थियो। लिफ्टभित्रै चिठी खोली।

'तपाईंले पुनर्विवाह गर्नुभएकोमा बधाई छ। तपाईंको सफल दाम्पत्य जीवनको लागि शुभकामना छ। तपाईं अब 'सिंगल मम्' नरहेकोले राज्यबाट प्राप्त हुने 'सिंगल मम्'लाई दिइने सुविधा अब उप्रान्त नपाइने जानकारी गराइन्छ।'

चिठीको व्यहोरा पढेर उसका शरीर लल्याकलुलुक भए। खलखली पसिना आयो। लिफ्टको ढोका खुल्यो। बाहिर निस्की। ऊ त भुइँतलामै रहिछ। सत्ताइसौं तलामा लिफ्ट पुगेपछि कतिखेर ढोका खुलेर बन्द भई फेरि तलै पुगेको उसलाई पत्तै भएन।

प्रकाशित: २५ पुस २०७१ २३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App