५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

आत्मपुराणको महानायक

अर्थहरूको पछिल्तिर लाग्दा म बारम्बार चिप्लिरहन्छु।
रूपले बोक्ने सारलाई खिचेर लगाम कस्न नपाउँदै रूप बिग्रन्छ र सार बेसार बन्छ। अहम्को पारो बेसरी तात्छ र मेरो आभिजात्य हेजिमोनी 'साहित्यिक खेती पार्टी' माने 'सर्वकालीन परिवारवादी साहित्य उर्फ दम्पती साहित्य संस्था'को एउटा उद्योग खोल्न पुग्छ। पुर्खौंदेखिको आनुवंशिक विद्वत्ता खर्च गर्छु।र्यापप शैलीमा आफ्नै भजन गाएर नेपाली साहित्यलाई नचाउन मन लाग्छ। एउटा विचित्रको अत्याधुनिक भजन गायकको निर्माण गर्छु। नवनिर्मित भजन गायकमा महानायकको भूत सवार गराइदिन्छु। आफ्नै साहित्यिक पार्टीको विपठन गर्छु। 'पत्नीपति साहित्य संस्था' बन्छ। मथिंगल फनफनी घुम्छ। तब मेरो अभिमान सांस्कृतिक ठेक्का विभागको टेबुलमा बजारिन पुग्छ र भन्छ— 'बुझ्यौ, मेरा साना दुःखले आर्ज्याको साहित्यिक पार्टी होइन, सबैलाई चेतना भया।'

मेरो साहित्यिक संस्था सबैथोक हो। साहित्यिक संस्थाहरूको सरकार, सरकारहरूको साहित्यिक संस्था। सम्मान र पुरस्कारको उर्बर खेती? होलाई होइन र होइनलाई हो बनाइदिने एउटा सर्वकालीन डिस्कोर्स? कवि, कथाकार, उपन्यासकार, निबन्धकार, समालोचक, संकृतिविद् जन्माउने एउटा मेसिन र तिनैलाई सफाया गर्ने एउटा नयाँ ग्यासच्याम्बर। भानुभक्तलाई 'मानु भक्त', मोतीरामलाई 'मोटो दाम', लेखनाथलाई 'लेख्–नाप्', बालकृष्णलाई 'मालकृष्ण', लक्ष्मीप्रसादलाई 'लक्ष्मी वर्षात्' बनाइदिने एउटा आभिजात्य हेजीमोनी। स्वदेशी–विदेशी, राजावादी–खाजावादी, वाममार्गी–लाममार्गी, दाममार्गी–माममार्गी सबैको श्रीपेच बनेर नेपाली अनेपाली नटवरलालहरूको पेचकिला घुमाउन सक्ने सर्वतोमुखी पेचकस। पेच खुस्काउनु नै यसको श्रीपेच! कुनै समयका खाँटी जनवादी गायक र अहिले राजावादी वा सो सरह बनेका कतिपय पात्रको क्रान्तिकारी पेच खुस्काएर नयाँ 'दिव्योपदेश' गाउन लगाउने भक्ति संगीतज्ञ। त्यस्ता पात्रमा पृथ्वीनारायणको प्रेतात्मा देख्ने सङ्गीतश्रोताको पेटलाई सारंगी बनाएर बजाउन चाहने गन्धर्व। तिनै जनगायकमा निरोको प्रेतात्मा ट्रान्सप्लान्ट गरेर झ्यारझ्यार पारिदिने भाइरस नेटवर्क प्रालि।

कम्युनिस्टरूपी कर्पोरेसनले तिनलाई सन्तुष्टि दिन सकेन। धम्क्याइरहे तिनले बारम्बार हाकिमलाई— 'पार्टी छोड्छु, साहित्य खेती गर्छु, पृथ्वीनारायणको चिहान उधिन्छु।' कान दिएन तिनका कर्पोरेसनले। विरूपाक्षजस्ता देखिए तिनी। परिस्थितिको विचार गरी म तिनीसामु प्रकट भएँ र एक्काइसौं शताब्दीको पृथ्वीनारायण बन्न प्रेरित गरिदिएँ। तिनले आफ्नो प्रतिबद्ध विचारमा खिया लागेको ठाने। पृथ्वीनारायणले जस्तै एकाध मकवानपुरेसँग दाइजोमा एकदन्त हात्ती र नौलखा हार मागेर, एकाध कीर्तिपुरेका नाककान काटेर, एकाध भक्तपुरेसँग मीतको स्वाङ गरेर नेपालको एकीकरण गर्ने योजना लिएर तिनी सहर्ष मेरो साहित्यिक पार्टीमा आए। काशी पुगी पुनः धारण गरे पहिले फालेको जनै। पाल्न थाले टुपी। मैले गायत्री मन्त्र जपेर बप्तिस्मा दिएँ तिनलाई। श्री १००८ साहित्य महाराज बनाइदिने आस्वासन दिएँ। अनि ती रोबोट रिमोट म! तिनी शरीर आत्मा म, तिनी शब्द अर्थ म। त्यसपछि हरेक साँझ स्याम्पियन पिउँदै हामीले लेखिरह्यौं भोकानांगाका गीत र कविताहरू।

तिनको 'असभ्य' जनैलाई 'सभ्य' बनाएर पृथ्वीनारायण र भानुभक्तको भड्किएको आत्मा शान्त गर्न बृहत् श्राद्ध तथा पुराण वाचन सम्मेलनको आयोजना गरियो। मुख्य जजमान र वाचक तिनै बने। बहुमुखी प्रतिभाका धनी तिनले 'पिण्ड' दिएर मन्त्रोच्चारण गरे—

नेपाल राज्यका आदिसरदार पृथ्वीनारायण!

नेपाली साहित्यका आदिमनुवा भानुभक्त!

विश्वविद्यालयका प्राडाहरूबाट श्राद्ध प्रामाणिकता र वाचन प्रवीणको लालमोहर चाहिने भयो। प्राडाहरू नामका अमिर कामका गरिब। नामका अगाडि जति विभूषण थपिन्छन् त्यति नै बढी तिनी गर्तगमनकारी। निम्तोमै पठाइदिएँ तिनको मूल्य। श्राद्ध समारोहबीच नै लगाइदिए तिनले लालमोहर। वाचकको नांगो छातीमा टाँसियो 'वाचन प्रवीण'को सुनढ्याके तक्मा। तिनका शिष्यहरूले तरह तरहका लयमा त्यही मन्त्र गाउँदा मेरो इज्जतको सेयर भाउ ह्वात्तै बढ्यो।

मेरो ढोकामा अँजुली थाप्न नआउने देशभरिका पाका साहित्यिकहरूलाई अन्तर्राष्ट्रिय साहित्यिक महामहिमहरूका आतिथ्यमा साहित्यभत्ता वितरण गरियो। साक्षी राखेर सांस्कृतिक ठेक्का विभागलाई, खोलियो तिनका दौरा सुरुवालका तुना र इजार। देखे तिनले मेरो दातव्यशील महानता। निरूपाय बूढाहरूले लौरो टेकेरै मेरा साहित्यिक पार्टीका क्याडर बनेर मार्चपास गरे। तिनका भित्री मनले के भन्यो मलाई केको सरोकार?

म चक्रवर्ती राजाजस्तै छु, सार्वभौम र सार्वकालिक। मैले मेरा कलाको करामत र शक्तिको शान पञ्चायत, प्रजातन्त्र, गणतन्त्र, माओवादी, एमाले, कांग्रेस सबैका शासन कालमा देखाउन सकेको छु। मेरा पोल्टामा छ भानुभक्त, मोतीराम, लेखनाथ, सम, देवकोटा आदि दिवंगत साहित्यकारको श्राद्ध गर्ने, पुराण लगाउने र तिनको नाम पारेर मेरो स्वस्ती गाउने पण्डित पण्डितनीहरूलाई मनचाहे दक्षिणा भोजन गराउन पाउने सार्वभौम सरकारी लाइसेन्स।

मेरो वशमा छ सांस्कृतिक ठेक्का विभाग। स्वीकार्य छैन मलाई करोड घटीको टेन्डर। पुरस्कारकै करामत! तिनले प्रक्रिया पुर्या्उँछन्, वैधता दिन्छन्। मेरो इन्द्रजालसामु को टिक्न सक्ने! मैलाई पर्छ टेन्डर। जिल खान्छन् अरू। कोटेसन दिने अन्य समूहका केही पण्डितहरू फस्छन् मेरो ललिपपमा। तिनैलाई दिन्छु केही पुराणमा शास्त्रार्थको जिम्मेवारी। तिनका विद्वत्ताको प्रशंसा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रकाशन–प्रसारण गरिदिन्छु। आममनुवा चकित हुन्छन् तिनका तरह–तरहका छविचित्र देखेर। यस्सो आइडिया त लाउनैपर्योद नि! आखिर, चलाउनु नै छ साहित्यको खेती, फलाउनु नै छ बहुमूल्य हरिया पातहरू, बनाउनु नै छ आफूलाई साहित्यिक रंगमञ्चको सदावहार र निर्विकल्प महाअभिनेता!

मलाई बन्नुछैन कालो घोडामा चढ्ने प्रतिनिधि 'आर्टिस्ट'। म सेतै हात्तीमा सन्तुष्ट छु। सानोतिनो भूमिकाकै वजनदार पारिश्रमिक दिएर सरकारी पार्टीका निर्माता निर्देशकलाई आफ्ना वशमा पार्ने ध्याउन्न मेरो हुन्छ। पहिले छापेका हजारौं किताब कुहाएर भए पनि केही तुजुकवाला स्रष्टा–द्रष्टाका किताब फेरि छाप्न लगाएर तिनलाई हरितन्नम बनाउनु जत्तिको आनन्द केमा हुन्छ र! तिनका केही कारिन्दाको गोजी र गोजेरो गरम गरी सरकारी संस्थाहरूलाई क्रमशः ठिङ्गुरामा हालेर फलिफाप हुने कला मैलेजति कसले पो जानेको छ? कोमामा पुगेका केही सरकारी प्रकाशनगृहको नामोनिशाना मेटाउने प्रयत्न गर्ने थुप्रै मेराजस्तै परिवारवादी साहित्य दललाई मेरो सलाम छ!

नेपालका नाट्यघरहरू विनासित्ति सांस्कृतिक ठेक्का विभागमा आक्रोश पोख्न पुग्छन्। तिनलाई पहिचान चाहियो रे! वाइहात कुरा! नाट्यघर ±२ कलेज जस्तै त हुन् नि! अझ त्यहाँका कलाकार त ±२ पढाउन र उत्तरपुस्तिका कोरेर आफ्नो दीक्षा बढाउन हेडक्वार्टरमा स्वाभिमान बन्दकी राख्ने हेलमेट कार्यकर्ताजस्तै त हुन् नि! तिनलाई किन चाहियो पहिचान? तिनलाई थाहा छैन, म र मजस्तैले सांस्कृतिक ठेक्का विभागको कानमा नोटको ठेडी कोचिदिएको, आँखामा नोटको पट्टी बाँधिदिएको! तिनलाई कसले भनिदेओस्, घुम्ने कुर्चीमाथि अन्धो मान्छे झैं प्रत्येक सरकार फेरिँदा त्यहाँ पुग्छ मेरै धनान्ध विश्वास पात्र!

मलाई भाउन्न हुन्छ सामूहिक चेतना र परिवर्तनको कुरा गर्ने कवि लेखकदेखि। म भित्रभित्रै लल्याकलुलुक हुन्छु तिनलाई देखेपछि। डर लागिरहन्छ, कहिले चामेको भैंसीले जस्तै मेरो कलकलाउँदो साहित्यिक मकैबारी सखाप बनाउने हुन् तिनले। तर विश्वस्त छु, तिनका नाइकेलाई पुरस्कार सम्मान दिने मभन्दा अर्को यो देशमा को छ र! प्रत्येक श्राद्ध अनि पुराणमा तिनका नाइकेलाई बोलाएर दोसल्ला ओडाएकै छु, दक्षिणा संकल्प गरेकै छु।

मनको बाघले खाएको मात्रै! लछारपाटो लाउन सक्दैनन् एकादुई कराएर। काग कराउँदै जान्छ पिना सुक्दै जान्छ! जबसम्म छ संास्कृतिक ठेक्का विभाग, तबसम्म म छु ढुक्क! मलाई छुन, हल्लाउन सक्दैन कसैले। अख्तियार भन्ने जन्तु पो सल्बलाउन थालेको छ अचेल! मैले देखेको छु त्यसका पनि चपाउने र देखाउने दाँत। पुर्याजएकै छु प्रक्रिया, मिलाएकै छु वासलात। अख्तियारले त साना माछालाई मात्र खान्छ! म त सानो माछो होइन नि! आइहाल्यो भने त्यसलाई पनि यस्सो...!

चमत्कारी भइसकेको छ मेरो अहम्। बढेको छ तेज हजार सूर्यका जस्तो। अब छैन चिन्ता। घुम्दैन दिमाख, हुँदैन भाउन्न। मुक्त भइसकेको छु अर्थहरूको चिप्ल्याइबाट। मेरै हातमा छ रूप र सार दुवैको लगाम। ब्रह्मलोकको परमाधिपति ब्रह्मा, स्वर्गलोकको परमाधिपति इन्द्र भएजस्तै अब म नै हुँ नेपाली साहित्य लोकको परमाधिपति। 'स्कन्ध पुराण'को नायक शिव, 'भागवत पुराण'को नायक नारायण भएजस्तै अब म नै हुँ आत्मपुराणको महानायक!

म नै सत्व, म नै रजो, म नै तमो। म नै कर्ता, म नै हर्ता। ॐ अमोहमस्मि!

प्रकाशित: २५ पुस २०७१ २३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App