निबन्धको विमोचन चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती तथा उपकुलपति विष्णुविभु घिमिरेले गरेका थिए। आइतबार भएको विमोचन समारोहमा श्रवणले रचेका गीतलाई गायिका सिम्मा राई र लासमित राईले गाएका थिए।
कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले श्रवणले 'भावालय' निकाल्दै प्रतिष्ठानका अन्य प्राज्ञहरुलाई पनि पुस्तक लेख्न चुनौती दिएको बताए। श्रवण प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन्। 'भावालय'मा समयको इतिहासलाई खुबीसहित प्रस्तुत गरिएको उप्रेतीले टिप्पणी गरे।
उपकुलपति विष्णुविभु घिमिरेले २०४४/४५ सालतिरै कविका रुपमा श्रवणलाई चिनेको बताउँदै कविताबारे बु‰न यो कृति पढ्नुपर्ने सुझाए। कवितामा नअटाएका कुरा यसमा पढ्न पाइने र यो असल लेखनको उदाहरण भएको बताउँदै घिमिरेले अति आत्मप्रशंसा र अति आलोचनाबाट कविहरु विचलित नभई सिर्जनाकर्ममा लागिरहनु पर्ने सुझाव दिए।
कवि स्वप्निल स्मृतिले शब्दकोशमा 'भावालय' अर्थ नपाइने भए पनि पुस्तकमा अर्थपूर्ण राजनीतिक, सामाजिक टिप्पणीहरु अटाएको बताए। उनले २०४७ सालपछिको टालटुले राष्ट्रियताविरुद्ध पुस्तकले प्रहार गरेको उनको भनाइ थियो।
बुद्धिसागरले नाउँ 'भावालय' भए पनि पुस्तकमा कैयौं कविका पुस्तकको भूमिकाहरुलाई ठाउँ दिइएकाले पुस्तकको नाउँ 'भूमिकालय' राखेको भए हुन्थ्यो भनी ठट्टा गरे।
'पछिल्लो समय अखबारी लेखनमा सत्तोसराप गर्ने चलनबाट बच्दै श्रवणले मिठासपूर्ण भाषामा चोट नलाग्ने तरिकाले व्यंग्य गरेका छन्,' बुद्धिसागरले भने, 'यसो गर्दा उनले नयाँपुस्तालाई सम्मान पनि दिएका छन्।' उनले श्रवणको आफैंलाई व्यंग्य गर्न सक्ने खुबीको आफू प्रशंसक रहेको बताए।
बिएन पुस्तक संसारले छापेको 'भावालय'मा ३५ वटा निबन्ध संकलित छन्।
प्रकाशित: २१ पुस २०७१ ००:१५ सोमबार





