२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

सामरिक भूमिको त्रासदी

कर्मचारी आवास क्षेत्रमा रहेको पुरानो एकतले पुन्टे घरमा भित्रिँदै गर्दा जिल्लाराम परेको थिएँ। उक्त घर राणाकालमा सिकार खेल्न चितवन जाँदा बडाहाकिमले मुकाम गर्थे रे। अहिलेसम्म त्यसैमा रहेछ सीडीओ निवास।
'किन यस्तो फोहोरी क्वार्टर?' पुग्नेबित्तिकै स्टोरकिपरलाई सोधेँ।
'यहाँ सीडीओ साहेब नबसेको झन्डै दुई वर्ष भयो सर।''कहाँ बस्थे त उनी?'
'आर्मी ब्यारेकमा। यहाँ त बिहान खाना खानमात्र आउनुहुन्थ्यो। बेलुकी सम्साँझै रोटी खाएर उतै लाग्नुहुन्थ्यो। बाँकी समय कि अफिस कि त ब्यारेक। त्यसबाहेक अन्त कतै पाइला नसार्ने,' उनले यसो भन्दै गर्दा छिँडीको भान्साकोठा छिरेँ। प्रतीक्षालयको रूपमा निवासअगाडि गोलघर बनाउने पुरानो चलन यहाँ पनि रहेछ।

राजाको सरकार र माओवादीबीचको द्वन्द्वले जटिल मोड लिइरहँदा विभिन्न भागमा दुई पक्षबीच सांघातिक भिडन्त बढेका थिए। माओवादी आक्रमणका घटना पहाडी क्षेत्रबाट तराईतर्फ घनीभूत बनिरहेका थिए। ब्यारेक, थाना र सशस्त्र सुरक्षा क्याम्पमा दिनदहाडै चुनौतीसाथ माओवादी आक्रमण हुँदै थिए। बजारमा हिँडिरहेका राष्ट्रिय अनुसन्धानका एसपी मोहन केसी र डिएसपी विष्णु पोखरेलको थोरै दिनको अन्तरालमा पोखरा र जनकपुरमा माओवादीले हत्या गरेका थिए।

यता देखावटी सत्ता हातमा भए पनि संसदवादी दललाई साथ लिन नसकेर देशको मूलधारको राजनीतिबाट राजा ज्ञानेन्द्र टाढिँदै थिए। उनीमाथि अन्तर्राष्ट्रिय समुदायको विश्वास पनि गुम्दै गएको थियो। संसदीय व्यवस्था पुनर्बहालीको डेढ दशक नपुग्दै दोस्रो जनआन्दोलनको उपलब्धि तुहिने लक्षण देखियो। माओवादी सफलतातर्फ बढ्दै थियो भने निरंकुश राजशाहीविरुद्ध संसदवादी पार्टी पनि एकजुट भएर विरोधमा खनिँदै थिए। माओवादी र संसदवादी दललाई मिलाउने साउथ ब्लकको योजना तयार हुँदै रहेछ। सञ्चारमाध्यमले फेरि एकपटक राजतन्त्रसँग प्रत्यक्ष मुठभेडको सामना गर्नुपर्ने बेला आएको पूर्वानुमान गर्न थाले। यस्तो अवस्थामा चितवनजस्तो संवेदनशील र सामरिक विन्दुको रूपमा रहेको ठाउँको सुरक्षाव्यवस्था साँच्चिकै चुनौतीपूर्ण हुने नै भयो।

लामो समयअघिदेखि चितवनलाई सेल्टर एरिया बनाएका थिए, माओवादीहरूले। दाङ, अर्घाखाँची, सिन्धुली, सिराहा, जुम्ला सोलुमा जस्तो आक्रामक गतिविधि देखाएका थिएनन्। अन्यत्रको सफलताबाट हौसिएपछि फ्ल्यागमार्च, चन्दा, अपहरण, बैंक डकैतीजस्ता विध्वंसलीला भने एक्कासि बढाए। जिल्लाको पहाडी क्षेत्रमा कब्जाको शैलीमा हैकम जमाएका थिए। दारेचोक, चण्डीभञ्ज्याङ, दाहखानी, कोराक, सिद्दीजस्ता ठाउँमा छापामार तालिम चल्दो रहेछ। महाभारत पर्वतका ओडार र गुफामा बमबारुदका गोदाम रहेछन्। ठाउँठाउँमा हतियार भण्डारण गर्ने काम खुलाजस्तै भएछ। आक्रमण–प्रत्याक्रमणका योजना तयार गर्न पहाडी गाउँमा उच्चस्तरीय नेताहरूको आवागमन खुला भइसकेको रहेछ। टाँडी, पर्सा, भण्डारा, पिप्लेजस्ता राजमार्ग किनारका सहरबजार पनि चन्दा, अपहरण, साङ्घातिक हमलाबाट अछुतो रहन सकेनन्। निर्वाचित प्रतिनिधि नहुँदा जिल्ला, गाउँ र नगरपलिका तहमा पनि संसदीय व्यवस्था पंगु साबित हुँदै गएको थियो। प्रतिनिधिविना कर्मचारी र राजशाहीका टीके नेताले चलाएका स्थानीय निकायमा भित्रभित्रै धमिरा लागिसकेका थिए।

जेठ २३ गते बिहान नौ बजेतिर कसरा ब्यारेकबाट कर्नेल अजित थापाले फोन गरे, 'माडीको बाँदरमुढे खोलामा चलिरहेको यात्रुबसमा माओवादीहरूले सांघातिक आक्रमण गरेछन्। बसको तलमाथि खचाखच यात्रु भरिएर बगहीबाट आएको थियो रे। खोलाकिनारमा अरू यात्रु थपेर चल्दै गरेको अवस्थामा भयानक विस्फोट भएछ। कति मान्छे मरे पत्ता लाग्न सकेको छैन। बस अझै जल्दै छ रे। म हिँडेँ।' हतारहतार खबर गरेर उनी उद्धारका लागि घटनास्थलतर्फ हिँडे।

उति बेरै अस्पताल विकास समिति र रेडक्रसका अधिकृतलाई एम्बुलेन्सका लागि खबर गरियो। अस्पताल, मेडिकल कलेज, क्यान्सर अस्पतालका चिकित्सक एम्बुलेन्स लिएर तत्काल प्रस्थान गरेका थिए। जंगलको कच्ची बाटो भएकाले मोटरबाट जानु हाम्रा लागि जोखिमपूर्ण थियो। घटनास्थलमा प्रहरी प्रशासनका मान्छे जाने अनुमान गरेर बाटैभरि धराप थाप्न सक्थे। त्यसैले ब्रिगेड गुहारेर हतारहतार हेलिकोप्टर मगाउने काम गर्दै थिए, कर्णेल सन्तोष ढकाल। करिब दुई घन्टाको प्रतीक्षापछि सैनिक हेलिकोप्टर भरतपुर आइपुग्यो। राष्ट्रिय निकुञ्जको अटव्य जंगल पार बाँदरमुढे खोलाकिनारको चउरमा उत्रियांै। त्यति बेरसम्म घाइतेलाई भरतपुरका विभिन्न अस्पतालमा भर्ना गरिसकिएको रहेछ। कर्णेल थापाको टोलीले मृतकको लास जम्मा गरिसकेको रहेछ। घटनास्थलमै पोस्टमार्टम गर्ने व्यवस्था मिलाइयो। वरपर मृतकका आफन्तजन अलापविलाप गर्दै थिए। भरतपुरदेखि गएका सञ्चारकर्मीहरू र हजारौं स्थानीयवासी खोलाकिनारमा धुइरो लागेका रहेछन्।

चुरे पर्वतबाट उत्तर बग्दै आएको बाँदरमुढे खोलामा ढुंगाको कज्वे भर्खरै बनेजस्तो लाग्थ्यो। त्यही कज्वेको किनारमा सिट, बारा, छत जलेर बसको अस्थिपञ्जरमात्र बाँकी रहेछ। वीभत्स त्यो दृश्य देख्दा बसभित्रका यात्रु बाँच्ने कल्पनासम्म गर्न सकिन्नथ्यो। संयोग, त्यस दिन बगहीबाट तीन वटा बस चल्नुपर्नेमा एउटामात्र चलेको रहेछ। त्यसैले तीन वटै बसका यात्रु एउटैमा खाँदिएका रहेछन्। साठीभन्दा बढी यात्रु त छतमै रहेछन्। अठतीस जनाको घटनास्थलमै मृत्यु भएको थियो। शाहीसेनाका तीन जवानसहित अरू दस जना गम्भीर घाइतेलाई तत्काल हेलिकोप्टरबाट काठमान्डू लगिएको थियो। साठी जना घाइते भरतपुरका विभिन्न अस्पतालमा भर्ना गरिएका थिए।

०००
दोस्रोपल्ट रात्रिकालीन कर्फ्यु सुरु भइसकेको थियो। कारागारअगाडिबाट हाकिमचोक निस्कने मोटरबाटोमा यातायात बन्द गरिएको थियो। बेलुकी सातदेखि बिहान चार बजेसम्म कायम गरिए पनि राजनीतिक पार्टी र व्यापारीको अनुरोधमा कर्फ्युको समय धेरथोर तलमाथि गर्दै गयौं। प्रशासनिक कार्यालय परिसरको सुरक्षाका लागि चेकजाँच कडा पारिए पनि सर्वसाधारणको सेवाप्रवाहमा कमी हुन दिइएको थिएन। बसपार्क चोकमा रहेको जिल्ला प्रशासन कार्यालय परिसर चुनौती र जोखिमपूर्ण थियो। मूल्य अभिवृद्धिकर, मालपोत, नापी कार्यालय पनि पूर्वपश्चिम राजमार्गछेउमै थिए। करमा भने बारम्बार बम विस्फोट भइरहन्थ्यो। कोका कम्पनी परिसरमा त झन् हप्तैपिच्छे बम पड्किन्थ्यो।

प्रशासन घरघरै पुगेर पर्याप्त शान्तिसुरक्षाको व्यवस्था मिलाउन सक्ने अवस्थामा थिएन। तैपनि टाँडी, भण्डारा, भरतपुर, मुग्लिन, नारायणगढ लगायत क्षेत्रका औद्योगिक, शैक्षिक र व्यावसायिक प्रतिष्ठानमा सेनाप्रहरीको निरन्तर गस्ती–पेट्रोलिङ भइरहन्थ्यो। हप्तैजस्तो भइरहने सवारी दुर्घटनाको तनाव अर्कै थियो। जस्तै अनकन्टार ठाउँ र कुबेला भएका सवारी दुर्घटनामा पनि सेनाप्रहरीको द्रुतसेवा कायम थियो।

केही दिनअघि मंगलसेनमा भएको भीषण आक्रमणमा बन्चराले टाउको चिरेर सीडीओ मोहनसिं खत्री मारिएका थिए। उनको क्षतविक्षत शव निकै ढिलो धनगढी पुर्याबइएको थियो। काठमान्डूमा बस्दै आएका उनका परिवारलाई किरियाकाष्ठाका लागि कैलाली पठाउने व्यवस्था सरकारले गरेन। श्रीमती र छोराछोरी रात्रिबस चढेर लुरुलुरु फर्किएका थिए। जुम्लाका सीडीओ दामोदर पन्त र सोलुका सीडीओ बुद्धिसागर त्रिपाठी पनि माओवादीको आक्रमणमा निवासभित्रै मारिए। सरकारले उनीहरूका शव काठमान्डू ल्याइदिनसमेत ढिलासुस्ती गरेर सान्त्वनाको सट्टा शोकसन्तप्त परिवारजनको बिचल्ली बनाएको थियो। आमजनता र राष्ट्रसेवकमा पनि सरकारको व्यवहार तथा सामर्थ्यप्रति भरोसा र विश्वास डगमगाउँदै गएको थियो।

०००
२०६२ मंसिर ७ गतेको बाह्र बुँदे दिल्ली सम्झौतापछि माओवादीसहितका राजनीतिक दल राजाविरुद्ध आन्दोलन गर्नेमा पुगे तर माओवादीले सशस्त्र आक्रमण छोडेको थिएन। विस्तारै पूर्वपश्चिम फैलिँदै समग्र देश निर्णायक जनक्रान्तिमा होमिएको थियो। विशेष गरी सहरी क्षेत्रमा आन्दोलनले सघन रूप देख्न सकिन्थ्यो। संसदवादी दलका नेताहरू थुनिँदै थिए। आमजनता भने झन्झन् सडकमा निस्किएर जनआन्दोलनको बिगुल फुक्न थालिसकेका थिए। सडकमा दिनदिनै अपार जनलहर उर्लिन थाल्यो। दमनमा उत्रिएको सुरक्षा निकायले हतियारको शक्ति प्रयोग गर्न थाल्यो। आन्दोलनकारी भकाभक सहिद बन्न थाले। त्यति बेरै हामी विभिन्न मन्त्रालयका प्रथम श्रेणीका बाइस जना अधिकृत भने उच्चप्रशासकका लागि दिइने स्टाफ कलेजको तालिममा भाग लिँदै थियौं। जागिरको उत्तरार्द्धमा काँचा विद्यार्थीको तालमा पुस्तक च्यापेर कलेज–घर र घर–कलेज धाउँदै थियौं। जनआन्दोलनका बन्दहडताल र चक्काजामसँगै हाम्रो तालिम विनाअवरोध चल्दै गयो। दिनदिनैको लाठीमुंग्री, गोली र कर्फ्युको आतंकले राजधानीको दैनिकी बढी सकसपूर्ण बन्दै थियो। मर्ने–मारिने क्रम बढेर आन्दोलनले सघन र निर्णायक मोड लिँदै गएथ्यो।
पौडेलको संस्मरण 'सीडीओका १७ वर्ष'बाट। कथालय प्रकाशनले छापेको पुस्तक पुस गते सार्वजनिक हुँदैछ।

प्रकाशित: १८ पुस २०७१ २३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App