४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

योरोको रोमाञ्चक बुढ्यौली

मनखाँदो खेल फुटबल हो उनको। तर उनको जीवनको बुझाइ फुटबलजस्तो चाहिँ छैन। न त कुनै खेलजस्तो छ, जहाँ हार्नु र जित्नुको एकात्मक अर्थ हुन्छ। जीवन यदि क्रिकेटको खेल हुन्थ्यो भने कमेन्टेटरले भर्खरै यसो भन्थ्यो होला- उमेरको सुन्दरतम् एक सेन्चुरी ठोकेर अझै फूर्तिसाथ क्रिजमा छन् उनी। क्रिकेटमा सेन्चरी हान्नु खेल जित्नु होइन, सुन्दर खेल्नु हो। डटेर खेल्नु हो।त्यसो त जीवन भन्ने चिज उमेरले नापिने कुरामात्रै होइन। जीवन एउटा खोज हो आनन्दको। बाँच्नुको अर्थको। तर उनी आनन्द, अर्थ र वर्ष तीनै आयाममा सम्पूर्ण जीवन बाँच्दै छन्। उनी उठ्छन् घाम झुल्कनुअघि। दिनभर परिवारका सदस्यसँग घरमा व्यस्त रहन्छन्। घरायसी धन्दामा हात बाँड्छन्। बारीमा तरकारी गोडमेल गर्छन्, कुखुरा र घरपालुवालाई दानापानी खुवाउँछन्। सायद यिनै सानासाना कामको प्राकृत अनुभवले उनको आँखामा सपना र शरीरमा तागत सदैव रहिरहन्छ। जीवनको यो सरल आनन्द र अर्थ बाँचेका छन्, यी लाहुरेले।

बुढ्यौलीका प्रमाण थरथर काम्ने हात, लरबरिने खुट्टा र प्रस्ट नफड्कारिने जिब्रो हुन् भने उनलाई वृद्ध नभनेकै जाती हुन्छ। प्रस्ट बोल्छन्, ठमठम हिँड्छन् र छ्वाङ्ङ देख्छन्। नाडीको घडी हेरेर समय जाँच्छन्, फुर्सदमा टिभी हेर्छन्। फुटबल र रेसलिङ आयो भने छुटाउँदैनन्। कानको शक्ति भने केही कमजोर भएको छ। दोस्रो विश्वयुद्ध नलडेको भए र बम–गोलीका आवाज सुन्नु नपरेको भए कान पनि तगडै हुन्थे होलान्। उसो त साधारण नेपाली बाँच्ने औसत उमेर ६८ वर्ष हो, उनको भने पेन्सन खान थालेकै त्यति नै वर्ष पुग्न आँट्यो। त्यो पनि १६ वर्षमा भर्ती भएर होइन, २९ वर्षमा।

कास्की सिक्लेसका यारु गुरुङ भर्ती भएपछि भारतीय सेनामा उनको नाम योरो हुन गएछ। त्यसैले जन्ममिति विक्रम संवत १९७३ उल्लेख भएको उनको नागरिकतामा 'नाम : यारु गुरुङ भन्ने योरो गुरुङ' लेखिएको छ। 'हुन त बुवा २९ वर्षको उमेरमा भर्ती हुनुभएको रहेछ,' साइँला छोरा फिमबहादुर बाबुको उमेरको हिसाब लगाउँछन्, 'धेरै बूढो भनेर भर्ती नलेला भनेर गल्लाले दुई वर्ष घटाइदिएछ। पछि त्यसकै आधारमा नागरिकतामा पनि दुई वर्ष थोरै लेखियो।' गुरुङ समुदायमा कसैको उमेर यतिउति वर्ष भनेर होइन, वर्ग अर्थात् उनीहरूकै भाषामा 'ल्हो'का आधारमा गणना गरिन्छ। प्रत्येक वर्ष पुस १५ पछि ल्हो फेरिन्छ, अर्थात वर्ग बदलिन्छ। त्यस्ता वर्ग १२ वटा छन्। मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृगबाट ल्होको नाम राखिएको छ। गुरुङ भाषामा कुरै भनिने गिद्धबाट नामकृत मुप्री वर्गमा जन्मिएका योरो गुरुङ अहिलेको पुसे पन्ध्रमदेखि ल्हु ल्हो (भेडा वर्ग) सुरु भएकाले सय वर्ष पुगे।

योरो सय वर्ष टेकेपछि चार भाइ छोरा बलबहादुर, डिलबहादुर, फिमबहादुर र यमबहादुर मिलेर पोखरा—१२ माटेपानीको सिक्लेस तमु समाज घरमा एउटा भवन निर्माण गरिदिए। ३ लाख ६५ हजार रुपैयाँमा बनेको भवनको चाबी योरो आफैंले समाजका अध्यक्ष गुमानसिंहलाई पुसे पन्ध्रमका दिन हस्तान्तरण गरे। पुसे पन्ध्रम त्यस्तो अवसर पनि हो, जुन दिन गुरुङ जातिको सबैभन्दा ठूलो पर्व ल्होछार मनाइन्छ। गुरुङ भाषामा चिउली पाचे तमु समाज घर भनिने त्यो ठाउँको भवनमा अब गुरुङ पुरोहित अर्थात् घ्याब्रीहरूलाई बस्ने राम्रो बन्दोबस्त मिलेको छ। घ्याब्रीकै लागि भवन बनाइदिनु संयोग या समाज घरको आवश्यकतामात्रै होइन। यससँग योरोको संवेदना जोडिएको छ। किनभने योरो आफैं पनि पुरोहित अर्थात् घ्याब्री हुन्। मर्दापर्दा र कुलपूजाका बेला योरो गाउँघरतिर घ्याब्रीको काम गर्थे। यो कामसँगको सम्बन्ध कति गहिरो छ भने आफ्नो सतायु पुगेको उपलक्ष्यमा आयोजित भवन हस्तान्तरण कार्यक्रमको भोलिपल्टै घरमा उनीहरूले छोरानातिहरूलाई पूजाआजामा बजाइने ढ्यांग्रो बजाउन सिकाए। आफ्ना छोरानातिले घ्याब्रीकै काम गर्न नसके पनि ढ्यांग्रोसम्म ठोकून् र आफूपछि पनि गुरुङ परम्परा र रीतिरिवाज काँधमा बोकून् भन्ने उनको चाहना हो। 'डेढ घन्टासम्म सिकाउनुभयो,' कान्छा छोरा यमबहादुरले भने, 'बा थाक्नुभएन, हामी थाक्यौं। एउटा पनि मिस्टेक नगर्ने गरी सिकाउनुभयो।'

आफ्ना बाबुको सतायु प्रवेशलाई एउटा भवन निर्माण र हस्तान्तरणमा मात्रै सीमित नराखी अझ हर्षाेल्लासका साथ मनाउने तारतम्य मिलाएका थिए छोराहरूले। दुर्भाग्य उनीहरूकी आमा देवीकुमारी गुरुङ पुस १ गते सबैलाई छाडेर गइन्, स्वर्गवासी भइन्। उनलाई घाँटीको क्यान्सर थियो। उनी नबित्दासम्म यदि सबैभन्दा रेखदेख र हेरचाह गर्ने कोही थियो भने त्यो पति योरो नै थिए। राति ३ बजे उठेर बाबुले आमाको जिउ मालिस गरिदिएको, घाममा राखेर मालिस गरिदिएको दृश्यलाई साइँला छोरा फिमबहादुरले मोबाइलबाट भिडियो नै खिचेर राखेका छन्। ती दृश्यले उनैलाई पनि बेलाबेला भावुक बनाउँछ। केही दिनअघि मात्रै पोखरा—१२ माटेपानीको घरको तीन तला भर्याैङ आफैं चढेर योरोले आफू र उनीहरूकी आमा हुँदाका दिनहरू छोराहरूबीच सम्झना गरे। 'म बोकेर लैजान्छु भनेको थिएँ,' कान्छा छोरा यमले सुनाए, 'सकिन्जेल आफैं हिँड्छु, नसकेमात्रै तिमीहरूको भर पर्छ भन्नुभो। तीन तला आफैं उक्लेर आमालाई सम्झनुभयो।' जेठी श्रीमती सारिस्योले विसं २०१४ मा संसार छाडेपछि योरोले देवीकुमारीलाई भिœयाएका थिए। पहिलो बिहे नै पेन्सनमा आएपछि गरेका थिए।

आश्चर्यपूर्ण आयुमा हिँडिरहेका योरोको जीवन सुखदुःखका अनेकन आश्चर्यले भरिएको छ। भारतमा उपनिवेश बनाएको ब्रिटिस सरकारले उनलाई छ वर्ष सेवा गरेपछि नै पेन्सनमा पठायो। थुप्रैलाई रिडन्डेन्सी अर्थात् नाम कटुवामा पठाउने गर्थ्याे ब्रिटिस तर उनलाई भने पेन्सन पनि दियो। छ वर्षे लाहुरे जीवनमा उनले विश्वका धेरै कुना चहारे, घुम्दै होइन लड्दैपड्दै। 'लाहुरेको राइफल सिरानी' भन्ने उखानै उनलाई नै हेरेर बनाएजस्तो। भर्ती भएदेखि नै टाउकाको भर राइफलमात्रै भयो। भर्ती भएको अर्काे वर्ष अर्थात् सन् १०४१ देखि नै दोस्रो विश्वयुद्ध सुरु भयो। युद्धमा नगई सुख भएन। इटली, बेल्जियम, पेरु, लिबिया, इराक, इरान, इजिप्ट अनि टर्की पुगेर दुस्मनको इलाकामा पटटट्ट गोली बर्साएको आवाज अझै गुन्जन्छ उनको कानमा। सबैभन्दा नबिर्सने देश भने इटली नै रह्यो, जहाँ उनी छ महिनासम्म युद्धबन्दी भए। दोस्रो विश्वयुद्ध चलिरहेको थियो, बेलायत त्यस युद्धको प्रमुख पात्र थियो। अर्काे थियो, जर्मनी। धेरै देशका धेरै ठाउँमा योरोले धेरै गोली चलाए र धेरै दुस्मन ढलाए। इटलीमा भने समय र परिस्थिति अर्कै भयो। जर्मनीका सेनाले एक्कासि घेराउ गरिहाले। धन्न मारेनन्। अनि छ महिनासम्म थुनेर राखे।

सय वर्षे जिन्दगीमा योरोले भोगेको सबैभन्दा कष्टकर जीवन त्यही युद्धबन्दी हुँदाको हो। भन्छन्, 'भात पनि होइन, ढिँडो पनि होइन, के हो के खान दिन्थ्यो। त्यो पनि एक छाक, एक डाडुमात्रै।' अरू साथीभन्दा भन्दा अग्लो र बलियो अनि टाठो भनेर चिनिएकाले उनलाई थप दुःख आइलाग्यो। अरूझैं बन्दीगृहभित्र थुनिएर मात्रै पुगेन, जर्मनी सेनाका हाकिमहरूको सेवामा हाजिर हुनुपर्ने भयो। बुट पालिस गर्नेदेखि केके–केके नानाथरीका सेवा उनको जिम्मेवारी बन्यो। ती हाकिमहरूको बासस्थानबाट फर्कंदा उनी डस्टबिनतिर फालिएका पाउरोटी समेलेर साथीहरूलाई लगिदिन्थे। चुरोटका ठुटा बटुलेर लैजान्थे। 'म आउने बाटो हेरेर साथीहरू जम्मा भएर बस्थे,' उनी ऊ जमानाका कुरा सुनाउँदा भावुक हुन्छन्। अमेरिकी सेनाले छ महिनापछि उद्धार नगरेको भए योरो र उनका साथीहरूलाई जर्मन सेनाले बाँच्न दिन्थ्यो कि दिन्नथ्यो भन्ने यकिन थिएन।

'लडाइँका दिन कस्ता थिए बाजे?' यो उनलाई सर्वाधिक सोधिने प्रश्न हो। तर जतिपटक उत्तर दिए पनि उनको मन भरिएको छैन। कसैले सोधे सुनाउने जाँगर अहिले पनि लाग्छ। 'लडाइँमा हिँड्दा अहिले देखेको मान्छे भरे देखिन्न,' मृत्युजस्तो डरलाग्दो अनुभूतिलाई यति नजिकबाट व्याख्या गर्छन् उनी, 'भरे देखेको मान्छे भोलि देखिन्न।' युद्ध घटना हो। यसमा भाग लिनु अनुभव। तर यसमा भागलिँदा लिँदै जीवनको अर्थलाई बुझ्नु सायद अनुभूति हो। घटना, अनुभव र अनुभूतिका यी साक्षी मान्छे कताकता दार्शनिकजस्ता सुनिन्छन्। जीवन, संघर्ष र मृत्युका अनेकन व्याख्याले भरिएका वृद्ध दार्शनिक।

योरोले भनेझैं उनकै ज्यान पनि भरे वा भोलि भन्ने अवस्थामा थियो। धन्न दैव संयोग उनलाई दोस्रो विश्वयुद्धको लडाइँले पनि बाँच्न दियो। केही चोट भने लागे। पहिलोपटक नाकमा छर्रा लागेको थियो। त्यसको दाग अझैं छ। दुइटा गोली पुठ्ठामा लागे। त्यसपछि 'यसले लडाइँ लड्न पनि सक्दैन, विश्वयुद्ध पनि सकियो, सेना पनि धेरै चाहिन्न' भनेर योरोलाई ब्रिटिसले पेन्सन पाउने गरी घर पठाइदियो। उनी सन् १९४६ मा घर फर्किए। ब्रिटिस पनि त्यसको एक वर्षपछि भारत छाडेर आफ्नै घर गयो। भारत र बेलायतले सेनाको अंशबन्डा गर्दा बहालवाला र पेन्सनवाला दुवैथरीलाई कुन देशतिर लाग्ने भन्ने मौका दिएका थिए। योरोले भारत रोजेछन्। त्यसैले अहिलेसम्म भारतले नै उनलाई पेन्सन बुझाउँछ। अहिले छ महिनामा एकपटक बुझ्दा पेन्सन एक लाख २३ हजार जति पाउँछन्। त्यस हिसाबले महिनाको २० हजारभन्दा केही बढी पर्न आउँछ। श्रीमती हुँदासम्म पेन्सन बुझेर उनैलाई बुझाउँथे। 'बुवाले आमालाई दिनुहुन्थ्यो, आमाले हामीलाई,' साइँला छोरा फिमबहादुर भन्छन्।

पूर्वीय संस्कारले मान्छेको आयु अधिकतम सय वर्षको हुने बताउँछ। नेपालको कानुनले पनि कुनै पनि व्यक्ति अधिकतम सय वर्ष बाँच्ने कल्पना गरेको छ। यसैले धर्म र कानुनमा उनी अधिकतम बाँचेका छन्। तर योरो गुरुङ जसरी सतायु बाँचेका छन् त्यसरी बाँचेका मान्छे भेट्न मुस्किलै पर्छ।

योरोको लामो जीवनको पहेली के होला त? उनका छोराहरूलाई छुट्टाछुट्टै भेटेर यही प्रश्न राख्दा एउटै उत्तर आउँछ। कान्छा छोरा यम भन्छन्, 'बुवाको विचारले बचाएको छ।' अर्थात् उनलाई लाग्छ योरोको विचार सधैं सकारात्मक हुन्छ। आहार, विचार र विहारले मानिसलाई स्वस्थ राख्छ भन्ने कुराको उदाहरण योरोलाई मान्न सकिएला। खानपानमा उनी रोजालु छैनन् तर अहितकरमा रुचि राख्दैनन्। 'रक्सी त्यति खानुहुन्न,' फिमबहादुर भन्छन्, 'सँगै बसेर आकलझुकल खाइयो भने पनि अब यसले हामीलाई खान सक्छ है भन्दै थोरैमा नै चित्त बुझाउनुहुन्छ।' चुरोटसँग पारपाचुके गरेको ३० वर्ष भइसकेको छ। एकपटक क्षयरोग लागेर उपचार गरेयता चुरोट पिएका छैनन्। यसबाहेक कुनै रोगका विरुद्ध गोली चलाउनुपरेको पनि छैन।

लाहुरेहरूमा देखिने विसंगतिबाट आफ्ना पिता सधैं टाढा बसेको छोराहरू सुनाउँछन्। 'बाजेको पालादेखि नै 'जुवा कभी नही हुवा' भन्दै कहिल्यै नखेल्नुभएको रहेछ,' फिमले भने। 'अरूको सम्पत्तिमा आँखा नलगाउनू र लोभ नगर्नू। बरु आफ्नो केही छोड्नू,' बाबुको यो अर्ति हरेकपल्ट घर आउँदा सुन्छन् बेलायत बस्ने कान्छा छोरा यमबहादुर। आसक्ति नै दुःखको कारण भएको सत्यबोध गर्ने यो गहिरो अभिव्यक्ति बुझ्न धम्मपद नै पढ्नु परेन उनलाई।

योरो स्वयंलाई सय वर्षे जीवनको रहस्य के होला भनेर सोध्दा उनी भेडी र भैंसीगोठलाई जस दिन्छन्। पेन्सनमा आएपछि उनले पाँच वर्ष भैंसी र भेडीगोठमा बिताएका थिए। 'भैंसीको घिउले मलाई बलियो बनायो,' उनी भन्छन्, 'अब भगवान्ले जति भन्छन् त्यति समय बाँच्छु।' उनी भन्छन् अब जीवनमा आफ्नो कुनै इच्छा र चाहना बा"की छैनन्।

हो, उनी उठ्छन् घाम झुल्कनुअघि। दिनभर परिवारका सदस्यसँग घरमा व्यस्त रहन्छन्। घरायसी धन्दामा हात बाँड्छन्। बारीमा तरकारी गोडमेल गर्छन्, कुखुरा र घरपालुवालाई दानापानी खुवाउँछन्...। सायद उनले भनेको इच्छा र उनले भनेको चाहना यिनै ससाना घरेलु कामका लयमा बाँकी छन् र बाँकी छैनन्। बरु उनको एकथान सुकिलो बुढ्यौली सपना छ। 'मेरो कुनै इच्छा छैन। मेरा छोरानातिको समाजलाई सुख होस्। मलाई सन्तोक छ।'

प्रकाशित: १८ पुस २०७१ २२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App