रामचन्द्र अधिकारी (५९), कलाकार
गरिब किसान परिवारमा जन्मेको म। दुई कक्षासम्म मात्र पढ्न पाएँ। खेतीपातीमै सघाओस् भन्ने चाहनुहुन्थ्यो आमाबुबा। तर, मेरो मन खेतीतिर कहिल्यै गएन। सानैदेखि काम गरेर पैसा कमाउनुपर्छ भन्नेतिर सोचियो। १४–१५ वर्षकै उमेरमा गाउँलेहरूको पछि लागेर लाहुर (भारत, वनारस) गइयो। त्यहाँ एक वर्षभन्दा धेरै बस्न सकिएन। पछि घरतिरै आएर काम खोज्न थालियो।
बुवाको चिनजानबाट नेपाल टेलिकममा १६ वर्षकै उमेरमा पियनको जागिर पाएँ। उतिबेला जागिर खाँदा नागरिकता खोजिन्थेन। जागिर पाएको दुई महिना नबित्दै एउटा घटनाले मलाई पीडा दियो। कति वर्षपछि किनेको नयाँ सर्ट स्टोरमा काम गर्ने बेला च्यातियो। एकदमै मन रोयो। त्यही पिरमा मामाघरतिर लागेको म अफिस गइनँ। बुबाले थाहा पाएर करबल गरेर अफिस पठाउनुभयो। बुबाकै आग्रहमा अफिसले इन्जिनियरिङ शाखामा काम लगायो।
२०३४ सालमा बिहे गरेँ। भक्तपुर, गोठाटारको म काभ्रे, दाप्चा केटी हेर्न गएँ। गाउँले हजुरबाले चिनेका केटी मलाई देखाउनुभो। तीन ठाउँमा हेर्दा केटी मन परेन। चौथो ठाउँमा मन परेर झ्याइँ पारियो। जागिरे केटो म जस्तातस्तामा कहाँ लाउँथेँ आँखा ? उनलाई लुरी भन्थे सबैले। पछि मैले नै सीता नाम राखिदिएँ।
बिहेभन्दा पहिला एउटीलाई प्रेमपत्र पठाएको थिएँ। बंगलादेशी राजदूतको निवासमा रेखदेखको काम गर्ने बेला किचेनमा काम गर्ने केटी साह्रै मन परेकी थिइन्। उनले त त्यो पत्र मिल्काइदिइन्। पहिलो प्रेमपत्रले नै फेल खायो। सोझो केटो म, केही बोलिनँ। त्यसपछि कहिल्यै प्रेमपत्र लेखिएन। कमै पढे पनि लेख्न र पढ्न त राम्रै आउँथ्यो नि।
सानैदेखि अभिनयमा रुचि थियो। अफिसमा पनि राम्रै छाप थियो। बम्बईतिर केही चान्स पाउन्थ्यो कि भनेर अफिसले 'राम्रो अभिनय गर्न सक्ने' भनेर एउटा कम्पनीलाई लेखेको चिठी रिजेक्ट भयो। तर, म आत्तिइनँ। २०३६ सालमा नाटक खेल्ने अवसर पाएँ। त्यसको दुई वर्षपछि फिल्ममा पनि अभिनय गर्न थालेँ। सुरुकै नाटकमा अभिनेत्रीको काका भएर खेलेको थिएँ। हरेक फिल्ममा पाकै भएर खेल्नुपर्यो। १६ वर्षकै उमेरमा दाह्री झप्प आइसकेको थियो मेरो। त्यसैले पनि सबैले पाकै रोल दिए।
मलाई झगडादेखि सधैँ डर लाग्ने। मिलनसार छ भन्थे सबैले। अफिसमा इमर्जेन्सी भनेर बोलाउँथे। रातो साइकल किनिदिएका थिए। जसले जहाँ भन्यो, त्यहीँ पुग्ने। अनि अचेल काजीबा भनेर बोलाउँछन्। २०४४ सालमा 'टाढाको बस्ती'मा पुन्टे दमार्इं भएर खेलेको थिएँ। त्यसपछि धेरै समय मलाई अभिनयमा मात्र चिन्नेले दलित भनेर घरभित्र छिर्न दिएनन्। धेरै ठाउँमा जनै देखाएर छिरेँ। कतिले पत्याएनन्।
प्रकाशित: १७ पुस २०७१ ११:२५ बिहीबार





