एभरेस्ट एमआईसी एन्ड इभेन्ट म्यानेजमेन्टले पोखराको पाँचतारे होटल, पोखरा ग्रान्डमा फेशन शो आयोजना गरेको थियो। पोखरेलीले लामो सयमदेखि र्याम्प मोडलिङको मज्जा लिन पाएका थिएनन्। यही कुरालाई ध्यानमा राखी एभरेस्टले बिहीवार बृहत् फेशन शो गर्यो।
शोमा नेपालका चर्चित पाँच सेलिब्रिटी सहभागी थिए। अभिनेत्री करिश्मा मानन्धर, नन्दिता केसी, मिस नेपाल–२०१२ सृष्टि श्रेष्ठ, मिस इन्टरनेनल–२०१२ शुभेच्छा खड्का र मिस पोखरा–२०१३ रश्मी अधिकारीले र्याम्प मोडलिङ गरे।
गुलाबी र सेतो सारीमा सजिएर र्याम्पमा उत्रेकी करिश्माको क्याटवाक धेरैले रुचाए। लगत्तै, कालो रङको पातलो पहिरनमा नन्दिता र्याम्पमा आइन्। उनलाई पनि दर्शकले राम्रै स्वागत गरे।

त्यसपछि सृष्टि श्रेष्ठ, शुभेच्छा खड्का र रश्मी अधिकारीलगायत १० जना मोडल पालैपालो र्याम्पमा उत्रिए। 'धेरैपछि पोखरामा गज्जबको फेशन शो हेर्न पाइयो,' फेशनपारखी रोमन शाही भन्दै थिए, 'अहिलेसम्म यस्तो राम्रो फेशन शो पोखरामा भएकै थिएन। मज्जा आयो।'

कुनै बेला पोखरामा साता बिराएर विभिन्न नामका फेशन शो हुन्थे। दुई–चारजना जुट्यो कि संस्था खोलेर इभेन्ट आयोजना गरिहाल्थे। मोडललाई र्याम्पमा उतार्न तँछाडमछाड हुन्थ्यो। तर, केही महिनायता फेशन शो सुस्ताएको थियो। करिश्मासहितका सेलिब्रिटी र्याम्पमा उत्रिएपछि चाहिँ यहाँको फेशन शो पुनः मौलाउने अपेक्षा गरिएको छ।
'पोखरेलीहरू फेशन शोका पारखी हुन्,' एभरेस्ट एमआईसीका निर्मल पहारी भन्छन्, 'त्यही भएर हामी हौसिएका छौँ। सेलिब्रिटी ल्याउन निकै मेहनत गरियो। दर्शकको बाक्लो उपस्थितिले मेहनतको फल राम्रो बनाइदियो।'
पोखराका अन्य केही संस्था पनि फेशन शो गर्न तम्सिएका छन्। परिचय नेपालले फागुनमा 'जंगली थिम' मा शो गर्ने भएको छ। केही दिनअघि मात्रै अपांगता भएका महिलाहरूको फेशन शो गरिएको थियो। ओम इभेन्टका सिद्धार्थ पौडेल सुस्ताएको फेशन शो पुनः जुर्मुराउन लागेकोमा दंग छन्। 'हामी पनि छिट्टै कार्यक्रम गर्नेछौँ,' उनले भने।
पोखरामा मोडलहरूलाई पारिश्रमिक नदिइने भएकाले फेशन शोमा उत्रने मोडलको अभाव हुने गरेको फोटोग्राफर भूपाल गुरुङ बताउँछन्। 'यो कार्यक्रममा चाहिँ सेलिब्रिटीहरू नै र्याम्पमा उत्रिए। यसले पोखरेली फेशन शोलाई मार्यादित बनाउन मद्दत गर्ने विश्वास लिएका छौँ।'
प्रकाशित: १७ पुस २०७१ ११:०८ बिहीबार





