...उदयप्रकाशले आफ्नो कविता संग्रह ‘रात मे हार्मोनियम'को एउटा कविताका केही अंश यस्ता छन् :
हजारौं वर्षअघि मरेका केही मान्छे
जसका बारे यो सन्देह छ कि
ती जन्मेकै थिए, थिएनन्
एक दिन तिनैले तय गर्नेछन्
कस्तो जुँगा पाल्नुपर्छ, पुरुषले
कुनकुन सब्जी खानु हुँदैन भलाद्मीले।
...
मरेका मान्छेको अगुवाइमा हुनेछ प्रदर्शन
मरेकै मान्छेका आँखामा हेरिनेछ भविष्य
चुनावमा लगातार विजयी हुनेछन् मरेका मानिसहरू
...
मरेका मान्छेको अनुहार भिरेका युवालाई नै
सुन्दर युवतीहरूले राख्नेछन् प्रेम प्रस्ताव
सम्मानित हुनेछ उही कवि
जसका कवितामा हुनेछन्
मरेका मान्छेको सबभन्दा सुन्दर विम्ब।
व्यवस्थाको खोक्रोपन र त्यसैलाई पछ्याउने मृत चेतनाको धज्जी उडाउने यस कवितालाई उदयप्रकाशको समग्र लेखनको आँखीझ्याल माने हुन्छ। मृत परम्परा, मृत जिजीविषा, मृत मूल्य र मान्यता व्यवस्थामा सजीव भइरहेको प्रसंगमाथि गरिएको उनको कटाक्ष भारतमा मात्र होइन, दक्षिण एसियामै रुचिपूर्वक पढिन्छ। पाकिस्तानी संस्कृतिकर्मीबीच एउटा भनाइ चर्चित छ, ‘पाकिस्तानसँग भारतलाई टक्कर दिने सबै कुरा छन्, केवल मोहमद रफी, लता मंगेशकर र उदयप्रकाश छैनन्।' सन् २००९ मा भारतीय मासिक ‘आउटलुक'ले गरेको सर्वेक्षणमा उदयप्रकाश हिन्दीका सर्वाधिक लोकप्रिय कथाकार घोषित भएका थिए। सन् २०१० मा उनको लामो कथा ‘मोहनदास'लाई दिइएको हिन्दी भाषाको साहित्य अकादेमी पुरस्कार पनि त्यही लोकमतको अनुमोदन थियो। स्थानीयताको अनुपम वर्णन भएको यस कृतिको अनुवाद गरेर फिल्म समीक्षक यज्ञशले नेपाली पाठकका लागि समेत सुलभ बनाइदिएका छन्। किताबमाथि मेरो अनि त्यसमा बनेको फिल्ममाथि विकास बस्नेतको मन्तव्य थियो। सरस्वती प्रतीक्षा, गणेश पौडेल, दीपक समीप, सरस्वती सरु, फडिन्द्र अकिञ्चन, रुपिन्द्र प्रभावी, शिव पौडेल, दीपक पराजुलीलगायत पोखराका नाम चलेका अधिकांश युवा लेखक उपस्थित थिए। कार्यक्रममा यज्ञशको यही अनुवाद हातमा बोकेर कतिपय पाठक मसँग बहसमा उत्रिएका थिए।
‘मजबुरीका नाम महात्मा गान्धी' भन्ने उक्ति भारतमा असाध्यै प्रचलित छ। अहिंसात्मक आन्दोलनबाट भारतलाई संसारकै सबैभन्दा ठूलो साम्राज्यबाट मुक्त गर्ने गान्धी जवाहरलाल नेहरू, बल्लभभाइ पटेल, मोहमद अलि जिन्नाजस्ता नेताको स्वार्थको सिकार भए। तिनकै कारण भारत विभाजित भयो। हिन्दु–मुसलमानबीच भयंकर गृहयुद्ध चल्यो। यसविरुद्ध उनले फेरि सत्याग्रह गरे। त्यसै क्रममा सत्य र अहिंसाका यिनै महान् अनुयायीलाई उनकै समुदायको एक व्यक्तिले सन् १९४८ जनवरी ३० मा गोली ठोकेर मारिदियो। महात्मा गान्धीको खास नाम थियो– मोहनदास करमचन्द गान्धी। तिनै गान्धी आजको भारतमा अझ कति निरीह छन् भन्ने एउटा महान् ट्रेजेडी ‘मोहनदास' कथामा छ। गान्धीका बाबु काबा दास, आमा पुतलीबाई, पत्नी कस्तुरबा नै कथामा मोहन दासका बाबु, आमा र पत्नी तथा महान् भारतीय कवि गजानन माधव मुक्तिबोध न्याय दण्डाधिकारीका रूपमा आएका छन्। कथाको अन्त्यमा उदयप्रकाश सोध्छन्, ‘मोहन दासको गाउँ पुरबनराको नामले तपाईंलाई पोरबन्दरको झल्को दिँदैन?' पोबन्दर अर्थात् गान्धीको जन्मस्थल।
...
उदयप्रकाश त्यस्ता लेखक होइनन्, जो साहित्यलाई मनोरञ्जनको माध्यममात्र ठान्छन्। त्यस्तो मनोरञ्जन त साहित्यले भन्दा धेरै बढी पर्दामा हिरो–हिरोइनको पारदर्शी रोमान्सले दिन्छ। भारतीय साहित्यिक मासिक हंशको सन् २००५ अगस्ट अंकमा पहिलोपल्ट ‘मोहनदास' पढ्दा हरेक शब्दले मलाई कोर्रा हानिरह्यो। पढिसकेपछि कति दिन म कम्पायमान भइरहेँ। त्यो धेरै हदसम्म संवेदनाशून्य युगको कोर्राले कुटिएका तपाईं–हामीजस्तै न्यायप्रेमी, दलित–उत्पीडितको अन्तरहृदयको कथा थियो। यो भारतीय व्यवस्थाको धज्जी उडाउने त्यस्तो महान् कथा हो, जसमा एक अत्यन्त योग्य दलित युवा मोहनदासको परिचय खोसिन्छ। व्यवस्थाका संरचनाहरूमा जरादेखि टुप्पैसम्म कब्जा गरेर बसेका भ्रष्ट, लुटेरा र अपराधीहरू उसले उत्तीर्ण गरेको जागिरमा उसकै प्रमाणपत्र र परिचय प्रयोग गरेर अर्को कुनै भ्रष्ट युवा विश्वनाथलाई स्थापित गर्छन्। अर्थात् विश्वनाथ नै मोहनदासको परिचयपत्र झुन्ड्याएर अधिकृत स्तरको जागिर खान्छ। सारा गाउँलेलाई थाहा छ, मोहनदास बनेको व्यक्ति विश्वनाथ हो। तर, पैसामा बिकेका साक्षीहरू विश्वनाथलाई नै मोहनदास र मोहनदासलाई विश्वनाथ भनेर बयान दिन्छन्। न्यायालयले समेत त्यही भ्रष्ट कारबाहीलाई स्वीकृति दिन्छ। हरेक सही मान्छेलाई आत्महीनताको मन्दविष दिएर मार्ने यस व्यवस्थामा अन्ततः मोहनदास स्वयं भन्न बाध्य छ, ‘म मोहनदास होइन, मोहनदास अरू नै कोही होला, कृपया मलाई बचाउनुस्।'
कबीरपन्थी समुदायमा मोहनदास विश्वकर्मा बिए पास गर्ने पहिलो व्यक्ति थियो। त्यसमाथि देशभरिमै प्रथम श्रेणीमा दोस्रो टपर भएर उसले आफ्नो समुदायको नाक उँचो राखेको थियो। कैयन् अखबारमा उसका तस्बिर छापिएका थिए। आधुनिक युगमा सफलताका बाधक स्वाभिमान, संकोच र इमानदारी उसका पर्याय थिए। सोर्स–सिफारिस, घुस–सम्पर्क, जालसाजीलगायत जागिरका आधुनिक संयन्त्रसम्म उसको पहुँच थिएन। त्यसैले त लिखितमा सबैभन्दा बढी अंक ल्याए पनि अन्तर्वार्तामा सधैं फालिन्थ्यो। आठ–पास वा बिए थर्ड डिभिजनवाला सजिलै जागिर पाइरहेका थिए।
निराश भएर अन्ततः ऊ बाँसको सामग्री निर्माण र तरकारी खेतीमा लाग्यो। लेनिननगरस्थित ओरियन्टल कोल माइन्सबाट एक दिन अन्तर्वार्ताका लागि चिठी आयो। अन्तर्वार्ता र प्राविधिक परीक्षामा पनि प्रथम भयो। १५ दिनभित्र उसको नियुक्ति हुने पक्का भयो। त्यही खुसीयालीमा ऋणपान गरेरै नयाँ कपडा जोडियो, घरमा मिठोमसिनो पाक्न थाल्यो। बच्चाका लागि नियमित दूधको जोहो गरियो। तर, तोकिएको म्यादभित्र चिठी आएन। तीनपल्ट अफिस पुग्यो, तीनैपल्ट प्रतीक्षा गर्नू भनियो। उसले नियुक्ति पाएन। चार वर्षपछि खबर आयो– बिछिया टोलको जमिनदार नागेन्द्रनाथको छोरा बिसनाथ मोहनदास विश्वकर्माको नाममा कोल माइन्समा डिपो अफिसरको जागिर खाएर आकर्षक तलब, बंगला र गाडीको सुविधा लिइरहेछ। मोहनदास भुंग्रामा फालिएको माछाजस्तै भयो। नियुक्तिका लागि छाडेको सक्कली प्रमाणपत्रमा उसको तस्बिर थिएन। त्यसैको फाइदा उठाएर टेस्ट–फेल बिसनाथले आफ्नो तस्बिर टाँसेर आवश्यक सबै ठाउँबाट प्रमाणित गरायो। बिछिया गाउँको ब्राह्मण बिसनाथ अब कामी मोहनदास, बाबु नगेन्द्रनाथ काबादास, आमा रेनुकादेवी पुतलीबाई, पत्नी अमिता कस्तुरी बाईका भूमिकामा सहरमा आलीशान जिन्दगी बितारहेका थिए।
मोहनदास कोल माइन्स पुग्यो। अन्तर्वार्ता लिने हाकिमले अपमानपूर्वक कोठाबाट निकाल्यो। उसलाई स्नातक टपर भनेर कसैले पत्याएन। सुरक्षाकर्मीहरूले कुटपिट गरेर निकाले। मोहनदासको सहपाठी बिए थर्ड डिभिजन विजय सबइन्स्पेक्टर भइसकेको थियो। जिपमा आइरहेका विजय र गलामा मोहनदासको परिचयपत्र झुन्ड्याएको बिसनाथले रगताम्मे मोहनदासलाई देखे। विजयले बेसरी जिप हुर्र्या यो। बिजुलीखम्बाको छेको लागेर मोहनदास बच्यो। ‘ए बिसनाथ, मर्न मन लाग्यो? किन गाडीअगाडि आउँछस्?' उनीहरूले भने। सहरमा मोहनदासको परिचयमात्र खोसिएको थिएन, उसको निधारमा महाफटाहा बिसनाथको परिचय झुन्डिसकेको थियो। पूरै बजारमा बिछिया गाउँको पागल बिसनाथ आफूलाई कोल माइन्सको डिपो अधिकारी मोहनदास भन्दै हिँड्छ भनेर हल्ला चलाइएको थियो। फेरि अर्कोपल्ट अफिस पुग्दा उसलाई छिर्नै दिइएन।
पछि एक चिनारुमार्फत महाप्रबन्धक एसके सिंहलाई भेटेर उसले वास्तविकता जाहेर गर्योथ। सिन्हाले राम्ररी कुरा सुन्यो। छानबिन गर्न वेयलफेयर अफिसर एके श्रीवास्तवलाई आदेश दियो। बिसनाथले पत्नी अमिताको जवानी प्रयोग गर्योन। जीएम र वेयलफेयर अफिसर दुवै अमिताको उत्तेजक जवानीमा पानीपानी भए। मोहनदास विक्षिप्त भयो। एउटा प्रोजेक्टका लागि कठिना नदीमा बाँध बाँधियो। उसले तरकारी लगाउने जमिन जलमग्न भयो। पीरैपीरले क्षयरोगग्रस्त बाबु काबादास बिते। बिचरा मोहनदास दस दिनसम्म अर्धबेहोस भयो। काबादासको लासमा मोहनदासको नाबालक छोरा देवदासले दागबत्ती दिनुपर्योब।
न्यायप्रेमी वकिल हर्षवर्द्धन सोनीले आफ्नै खर्चमा मोहनदासको मुद्दा लड्यो। बिसनाथले मजिस्ट्रेट, पटवारी र साक्षीहरूलाई घुस दिएर आफ्नो पक्षमा पार्योस। मोहनदास हार्ने पक्कापक्की भयो। न्यायिक दण्डाधिकारी गजानन्दमाधव मुक्तिबोध न्यायिक फैसलाका लागि प्रख्यात थिए। आपत्कालीन सुरक्षित न्यायिक अधिकार प्रयोग गरी उनी आफैंले जाँचबुझ गरे। जालसाजीमा मुछिएका सबैलाई थुनाइदिए। मोहनदासलाई क्षतिपूर्ति दिलाउनमात्र बाँकी थियो। तर, अचानक मस्तिष्कघात भएर मुक्तिबोधको मृत्यु भयो। बिसनाथको वकिल रासबिहारी सत्ताधारी पार्टीको खेलाडी थियो। सारा अनुपपुरलाई थाहा थियो, कबीरपन्थी समुदायको मोहनदासको नाममा बिसनाथले जागिर खाइरहेछ। तर, सरकारी कागजमा मोहनदास अब मोहनदास छैन। उसको पक्षमा साक्षी बस्न कोही तयार छैन। जमानतमा बिसनाथ र नागेन्द्रनाथ तुरुन्तै छुटे। सइ विजयको सहयोगमा बिसनाथले प्रहरीलाई हातमा लियो। मोहनदासको हातखुट्टा भाँचियो। उसको बाह्र वर्षे छोरा गायब पारियो। छोराको हालत सहन नसकेर अन्धी आमा पुतलीबाईले आत्महत्या गरिन्। मोहनदास बहुलायो।
...
‘मोहनदास' सुखान्त वा मनोरञ्जक भाषा भएको साहित्य होइन। यो पढ्दा कुनै पनि व्यक्तिको हृदय र दिमाग दुवै आन्दोलित हुन्छ। ब्राह्मणवादको एउटा मुख्य मन्त्र यस्तो छ– ‘भाग्यम् फलती सर्वत्र, न च विद्या न च पौरुष्यम्।' भाग्य सर्वत्र फलिरहेको छ, त विद्या र पुरुषार्थको कुनै आवश्यकता छैन। ब्राह्मणवादी अर्थात् ठालूवादी समाजको अल्पपठित बिसनाथका हकमा यही लागू भयो। त्यहाँ अल्पसंख्यक वा सामाजिक रूपमा तल्लो मानिएका जातको कुनै सम्मान र सम्भावना हुँदैन। यसरी सत्य, न्याय र समताको घाँटी निमोठिन्छ। भारतमा जस्तै नेपालको पनि राजनीतिक परिवर्तनको विडम्बना यही छ। देशमा थरीथरीका राजनीतिक परिवर्तनहरू भए। जनताले खोजेकै व्यवस्था पनि पाए। मौलिक हकका कुरा चम्किला अक्षरले कागजमा लेखिए। तर, राजनीति र सामाजिक जीवनमा सधैं ब्राह्मणवादको अभ्यास गरियो। जतिसुकै खराब, पाखण्डी र नैतिकताविहीन भए पनि ठालू, लुटेरा र भ्रष्टहरूले राज्यका संरचनाहरूमा कब्जा जमाए। शासन संयन्त्रबाट सामाजिक न्याय र समता रगतपच्छे हुनेगरी उखेलियो। सही मानिस मोहनदासकै दशा भोग्न बाध्य भयो। मानवशास्त्री डोरबहादुर विष्टले ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट'मा पनि यसैलाई नेपालमा विकासको बाधक मानेका छन्।
‘मोहनदास' पढिसकेपछि मलाई केही प्रश्नले लगातार सताइरहे। जस्तो कि, मोहदास यस्तो चरम अत्याचारमा पर्दा बन्दुक बोकेर किन जंगल छिरेन? बिएको दोस्रो टपर भइसकेको र विभिन्न अखबारमा त्यो खबर छापिइसकेको प्रमाण उसले अदालतमा किन पेस गरेन? तर, जिन्दगीको वक्ररेखा साधारण पाठकले सोचेजस्तो सरल हुँदैन। न्याय व्यवस्था भ्रष्ट भइसकेको मुलुकमा कुनै पनि प्रमाण निकम्मा भइदिन्छन्। ‘मोहनदास' नेपाली प्रगतिशील लेखकहरूले पनि अत्यन्तै सराहेको कृति हो। तर, यस्तो चरम दुःखान्त हामीले लेखेको भए त्यसलाई प्रतिक्रियावादी, निराशावादी भएको गम्भीर आरोप लगाइन्थ्यो। उदयप्रकाशका हृदयस्पर्शी कथा पढेपछि ठूला मानिएका धेरै साहित्यकार फिका लाग्छन्। और अन्तमे प्रार्थना, भाइका सत्याग्रह, तिरिछ, वारेन हेस्टिङ्सका साँढ, पालगोमराका स्कुटर, टेपचु, छपन तोलेका करधन, अरेवा परेवा, दिल्लीका दिवार, मैंगोसिल, पुतला, हत्या, दरियाई घोडा, मौसीलगायत उनका कथा लोकप्रिय छन्। भारतीय पाठकबीच तिनको व्यापक अन्तर्क्रिया भएको छ।
भारतका उच्चवर्गीय साहित्यकारले ईर्ष्यावश उदयप्रकाशमाथि अनेक आरोप लगाएका छन्। जस्तो तिरिछलाई मार्खेजको ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड', टेपचुलाई लुसुनको ट्रु स्टोरी अफ आह क्यु, र छपन तोलेका करधनलाई एउटा टेलिफिल्मको नक्कल भन्ने आरोप लगाइयो। तर, निरन्तर शक्तिशाली कथामार्फत उनले यी हल्लाको जवाफ दिइरहे। अंग्रेजी छाप्न रुचाउने रूपाजस्तो संस्थाले श्रेष्ठ कथाका रूपमा हिन्दीमा उनका दुई कथासंग्रह अरेवा परेवा र मैंगोसिल, अनि पेन्गुइनले अंग्रेजीमा ‘द गर्ल विथ गोल्डेन प्यरासोल', ‘द वाल अफ दिल्ली' छापेको छ। टेपचु छापिएपछि उनले तीन सय पत्र पाए। राँचीको मोटर वर्कसपमा काम गर्ने एक सिख युवकले लेखेका थिए, ‘अचानक तपाईंको यो कथा नपढेको भए म हिजो आत्महत्या गर्नेवाला थिएँ।'
तिरिछको प्रशंसामा बिहारकी डा. पुनम बर्माले उनलाई सेप्टेम्बर ८, १९८७ मा पत्र लेखिन्। मार्च २३, १९८८ मा आलोक रञ्जन नामका एक अपरिचितले उदयप्रकाशलाई पत्र लेखे। त्यसमा आकस्मिक किड्नी फेल भएर उनकी बहिनी पुनमको निधन भएको सूचना थियो। उदयका लागि त्यो आफैंमा विडम्बनामूलक कथा थियो। दुवै पत्र उनको कथासंग्रह तिरिछमा छापिएका छन्।
प्रकाशित: ११ पुस २०७१ २३:४९ शुक्रबार





